पर्फ्युमः प्रश्नहरूको ऐँठन

गुरुङ सुशान्त


राजकुमार बानिया अनि दीपक सापकोटाको सम्पादनमा  इन्डिगो इन्क-ले प्रकाशित गरेको प्रेम कथाहरू सङ्ग्रह- ‘पर्फ्युम’-को भूमिका यहाँ राखेका छौँ- सम्पादक


फेसबुकको भित्ता राताम्मे भएपछि थाहा हुने नै भो, सहरमा मौसमी प्रेमको चर्चा चुलियो। मौसमी व्यापारको मनसायले होला, समकालीन प्रेमकथाको सङ्ग्रह ‘पर्फ्युम’ निकाल्ने भएछ इन्डिगोले। भ्यालेन्टाइन्स दिवसको सङ्घारमै पर्फ्युम–पाण्डुलिपि मेरो हात परेको छ।

पाण्डुलिपि झोलामा कोचेर स्वयम्भूको डाँडा उक्लिएको थिएँ, गुदगुदीसहित। पश्चिमी पहाडको थाप्लोबाट चिप्लिरहेको सूर्यले मसिना हात हल्लाएको हेरिरहेँ एक्लै। प्रेमकथा पढ्ने उत्सुकता साँचेर साँझको जून पर्खंदै थिएँ म। बिस्तारै सहरका घरहरूले झ्याल–झ्यालबाट ताराहरूको आकाश खुम्च्याउन थाले। लजाउँदै–लजाउँदै अङ्गालोमा बाँधिन आइपुगेको जूनले शीतका थोपा खसाउन थाल्यो मेरो मफलरमा। म मौनताको पोखरीमा डुबिरहेँ।

रातको सघनताले लखेटेपछि स्वयम्भूका चिसा सिँढीमा गोडाहरू लत्रिँदै झर्न थाले। पूर्णिमाको उज्यालोमुन्तिर छायाँले जस्तै मेरो हात पक्रिरह्यो अस्तित्वले। उसलाई पनि थाहा थियो, मसँग प्रेमकथाको पाण्डुलिपिमात्र होइन, सिङ्गो उपन्यास छ अलिखित प्रेमको।

 

०००

विधा: कथा /सम्पादक: राजकुमार बानियाँ/दीपक सापकोटा प्रकाशक : इन्डिगो इन्क पृष्ठ : २६५ मूल्य : ३९९ रुपैयाँ

रातको प्रगाढतालाई मधुरो प्रकाशले चिर्दै पाण्डुलिपि पढ्ने गैरआख्यानिक योजना झुन्डिएको छ घाँटीमा। आकाशमा प्रेम र आत्महत्या सराबरी उदय–अस्त भइरहेको याम हो यो। प्रेमलाई प्रेम गर्नु नै सर्वोच्च प्रेम ठान्छु म। प्रेम शब्द सबैभन्दा आत्मीय लाग्छ सधैं। लाग्छ— मृत्यु जीवनकै एक अंश हो र आत्महत्या पनि मृत्युको ऐच्छिक बाटो।

आत्महत्याको समर्थक प्रवर्धक नभए पनि आत्महत्याकर्तालाई सत्तोसराप गर्ने कित्ताको मनुवा होइन म। आत्महत्या मनोरोग मात्र नभई सामाजिक संरचनाको असफलता पनि हो भन्ने मतको पक्षपाती हुँ। धेरैले आफूभित्रको आत्महन्तालाई पटकपटक स्थगित गरेका हुन्छन् सायद। धेरैमध्येको एक म होइन भनी झुठ बोल्ने सुविधा छ मलाई पनि। चाहन्छु, यो पाण्डुलिपि–पठनले मेरो निजी जिन्दगीका केही मिठा पलको हत्या नहोस्। सन्देह जिउँदै रहे पनि राजकुमार बानियाँ र दीपक सापकोटालाई विश्वास गर्ने लत बसिसकेको छ मलाई। बानियाँका गद्यले मलाई सधैं प्रिय ऊर्जा दिन्छन्। दीपकले कविताभन्दा निबन्धमै आफ्नो श्रम र सिप खर्च गरोस्, लाग्छ।

पढ्ने उधारो वाचा गरेको छु सम्पादक–प्रकाशकसँग। वाचा यत्ति आक्रामक हुन्छ— मनमा जगजित सिंहका गजल गुन्जिरहेको हुन्छ, ऊ डेटलाइनको कर्कश अलार्म बजाइरहन्छ। मित्रताको आत्मीय वाचा यत्ति घाती हुन्छ— मनको पन्छी स्वतन्त्र उडेको उड्यै छ, ऊ तनलाई अँध्यारो कोठामा ल्यापटपअगाडि निहुरीमुन्टी पारेको पाऱ्यै छ प्रेम–दिवसमा पनि।

शास्त्रीहरू भन्छन्, लेखपढ गर्नुअघि काखमा प्रश्नको तरबार चम्काउनू। बूढो र भुत्ते देखिए पनि प्रश्न यत्ति छ, सम्पादकद्वयले प्रेमकथाको बनोट–बुनोटमा कथाकारलाई कति सघाए? प्रश्नको स्वभाव नै यस्तो छ, उत्तर पाएपछि पनि उही उत्तरको गर्भमा पुरक प्रश्न अङ्कुरण भइहाल्छ। एक ढङ्गले हामी प्रश्नहरूको मलामी जाँदाजाँदै वास्तविक उत्तरहरूको लयबाट चिप्लिदा रहेछौं। यही अभिशप्तताको आँखीझ्यालबाट हेर्दा मनमा उब्जिन्छ, प्रेमकथाको आवश्यकता किन पऱ्यो? के हामीसँग असली प्रेम–कथा थिएन? छैन? पर्फ्युमले प्रेमकथाको दार्शनिक गरिमालाई धान्न सक्छ? सम्पादक–प्रकाशकका फुर्सदिला रहरको आंशिक उपयोग मात्र त होइन पर्फ्युम?

पर्फ्युमको सुगन्ध लामो समयसम्म टिक्छ भनेर कसैले दाबी गरेमा म शङ्काको बाटोमा हिँडिदिनेछु। पठन–प्रभावको आयतनले नै रचनाको आयु निर्धारण गर्दछ। महान् रचनाले पाठकको दिलदिमागमा कस्तो तरङ्ग दिन्छ? पटकपटक पढ्नको लागि रचना स्वंयले उक्साइरहोस्, रचना पाठकीय मनको भित्तामा ससम्मान सजियोस्, हर–पठनमा नवीन अर्थका तरेली खुलून् र लागोस्— शब्दहरूको बीचमा अर्थ–सम्प्रेषणका लागि प्रशस्त खाली ठाउँ बाँकी छन्।

तब न रचना र पाठकबीच दीर्घायुको पुल गाँसिदै जान्छ। पर्फ्युममा अटाएका कथामा यस्तो सामथ्र्य भेट्न मुस्किल पऱ्यो मलाई। कतै मेरो पाठकीय बोध–क्षमता बिस्तारै मर्दै पो छ कि?

सम्पादकले नयाँ लेखकबाट कथा लेखाउनुलाई साथीसङ्गाती रिझाएको मानिदिनु चरम भूल हुनेछ। नयाँ कलमको प्रवेशलाई फरक स्वाद–अन्वेषणको आकाङ्क्षा–प्रतिबिम्बन मानिदिनु श्रेयष्कर हुनेछ। तर, प्रश्नहरूको लस्करमा फेरि एउटा पुच्छरे प्रश्न थपिदिँदा हुन्छ, लेखकहरू मात्र नयाँ छन् कि लेखन पनि नवीन छ? अपवादलाई पन्छाएर भनौं— पुरानै सङ्गीतको भाषालाई भाँचभुच पारी रिमिक्स भर्सन तयार गरेजस्ता छन् कथाहरू।

 

०००

हामी समयका अनेकन जटिलतायुक्त घुम्ती पार गरेर वर्तमानमा आइपुगेका छौं। तर, हाम्रो कथा–लेखनमा किन केही नवीनता छैन? पात्र तथा घटनाका रङ्ग त नयाँ देखापरे। फेरि पनि कथा–स्वाद उस्तै किन लाग्छ? पात्र र घटनाको योगफललाई मात्र कथा मानिदिने गल्ती बारम्बार गरिएको छ। अभिव्यक्ति र शिल्प–कौशललाई प्रयोगको नयाँ गोरेटो पहिल्याइदिने कसले? हाम्रो चासो त्यतै छ अहिले।

हाम्रो साहित्यको सरदर दृश्य यस्तो छ— मार्क्सवादीहरू विचारको कन्दनीमात्र अँठ्याइबस्ने। उत्तरआधुनिकतावादीहरू शरीर उदाङ्गो भइसक्दा पनि प्रयोगै–प्रयोगको टोपीमात्र ढल्काइबस्ने। एउटा भन्छ, तिमीसँग समाजबोधको हेक्का छैन। अर्को भन्छ, नारा लेख्नु हाम्रो ठेक्का होइन। परिणाम नेपाली साहित्यको हालत छ—  एउटा पाङ्ग्रा टुटेको रथजस्तो।

वर्षौंदेखि रटिआएको सामान्य सूत्र छ, कला र विचारको सुसंयोजन भएको साहित्य नै असल हो। तर, हामीले सूत्रको अन्तर्यलाई बुझेनछौं सायद। आफ्नो एकाङ्गी विचारको प्रदूषणलाई नै अन्तिम सौन्दर्य भनेर बेचिरहेछौं। नबिके बाँडिरहेछौं निःशुल्क।

असमयमै रक्तचाप बढाउने त्यस्ता पुस्तकहरू माइक्रोबसको अन्तिम सिटमा पूर्ण होसहवासमै रहेर भुलिदिनु राम्रो होला। चटपटे व्यापारीलाई सहर्ष दिनसके अरूको नभए पनि आफ्नै कल्याण होला। फ्रेब्रुअरी आसपास प्रेमी–प्रेमिकालाई सप्रेम दिइएको ‘पर्फ्युम’ पनि टेम्पो माइक्रोको सिटमा बेबारिसे लासझैं पल्टिरहेको भेटिए नव–आश्चर्य नहोला।

प्रेम–विषयमा नेपाली साहित्य निकै निम्छरो देखिन्छ। समाजको मुख्य रसायन प्रेम नै रहेको मधुर सत्य भुलिरहेका छन् लेखकहरू। कथित क्रान्तिकारी लेखक प्रेम लेखेमा रातारात समाज भाँडिन्छ झैं गर्छन्। अर्काथरी लेखक पोर्नोन्मुख रोमान्सलाई प्रेमको लेबल टाँसेर बेच्दै हिँड्छन्। कहिलेकाहीँ सोचिल्याउँदा मेरोजस्तै अरू पाठकको दिमागको कचौरा पनि तात्दो हो। सोच्छु, के नेपाली समाज यत्ति प्रेमहीन छ? प्रेमको गरिमालाई यति विद्रूपीकरण गर्ने अनुमतिपत्र कसले थमायो जिम्मेवार लेखकको हातमा? कतै हामी प्रेमलाई नजरअन्दाज गर्दै त छैनौं?

०००

प्रेम र कलाको निम्ति जीवन ज्यादै छोटो लाग्छ। खलिल जिब्रान भन्छन्, प्रेमबिनाको जीवन फूल–पातबिनाको रुखजस्तो हुन्छ। रुग्ण रुखजस्तो जीवनले भरिएको साहित्य कति पट्यार लाग्दो हो? हाम्रा साहित्यमा पनि प्रेमको चर्चा खुब हुने गर्छ। तर, कलात्मक–काव्यिक प्रेमको उचाइतिर हाम्रो कलमको रुचि नै छैन। प्रेम–साहित्यमा जानकार मानिएका एक युवाले हिन्दी सिने–जोडीको भव्य चर्चा गर्दै मिडियामा एकाध पङ्क्ति प्रवचन दिए केही समयअघि। पुस्तक प्रदर्शनीको एक भेटमा ती युवालाई मैले सोधेँ, ‘तपाईंले त्यो जोडीको प्रेम–प्रसङ्ग कुन पुस्तकमा पढ्नु भो?’

खासमा म सन्दर्भ–पुस्तकबाट ती सेलिब्रिटी प्रेमजोडीको प्रेमका अन्तर्य पढ्न चाहन्थेँ। तर, ती युवाले टाउको कन्याउँदै भने, ‘मैले किताबमा पढेको होइन, मलाई थाहा थियो। सुनेको थिएँ।’ त्यसपछि उनको खोक्रो गफको औपचारिक सम्मान गरेरै मैले संवाद टुङ्ग्याइदिएँ। यति छिपछिपे गफ दिने मान्छेले लेखेको कथित प्रेम–साहित्य अबदेखि किन पढूँ म?

ती युवाले लेखेका आख्यान र युवामैत्री नेपाली फिल्मले देखाउने कुरकुरे प्रेमले हाम्रो समाजको युवा–मनोविज्ञानमा मन्दविष भरिदिएको छैन? समाज नै भाँडेको छ, छैन भन्नलाई अध्ययन–अनुसन्धान नै गर्नुपर्ला। तर, यत्तिचाहिँ भन्न सकिन्छ, प्रेमलाई दैहिक आकर्षण पर्यायको रूपमा चित्रित गर्छन् तिनले।

 

०००

हाम्रो समाज प्रेममैत्री नै छैन। विवाहजस्तो वैधानिक संस्थाको औपचारिकतामा प्रेम खोज्छ समाज। सम्पत्तिको हक–हस्तान्तरणसँग प्रत्यक्ष लगनगाँठो जोडिएको विवाह बन्धनमा प्रेमको घाँटी बिस्तारै थिचिँदै जान्छ। आत्मीय रसायन टुटिसक्दा पनि कैयौं सम्बन्धहरू जबरजस्ती टाँसिइरहेका हुन्छन्। यस्ता बनावटी सम्बन्धले मानसिक तनाव र आपराधिक घटनालाई मौन आह्वान गरिरहेको हुन्छ।

प्रेमको आवरणमा शोषण गर्ने सहज र कानुनी हतियार भएको छ, विवाह। स्वभावले नै हामी परम स्वतन्त्रताको चरम उपभोग गर्न चाहन्छौं। तर, हामीभित्रको स्वतन्त्र पन्छीलाई विवाह र नातागोताप्रदत्त सम्बन्धका जालोले अल्झाइराखेको हुन्छ।

धेरै शास्त्रीहरू प्रेमलाई दुःखको कारक ठान्छन्। ती शास्त्रीहरू कि रेशमी भ्रममा छन् कि झुठको शानदार खेती गरी ठग्न चाहन्छन्। दुःख प्रेममा छैन, छँदैछैन। दुःखको अनन्त स्रोत नक्कली प्वाँख हालेर उडेको विद्रूप अभिनय गर्ने संस्थाका सहीछाप र औंठाछापहरूमा छ।

प्रेमको उडान चार पर्खालभित्रको सीमित आकाशमा हुनै सक्दैन। यो त स्वतन्त्रताको बेगवान पखेटाले दिने अनन्त गतिमा निर्भर हुन्छ। बुर्जुवा समाजमा महिलालाई दास बनाएर दीर्घ शान्ति खोजिन्छ। यस्तो समाजमा जोडीहरू अनौठो भयको चौघेरामा पेन्डुलम भइरहेका हुन्छन्। पुरुषवादी सामाजिक संरचनामा नारी त लुटिएकै हुन्छन्।

पुरुष पनि नारीलाई नियन्त्रणमा राख्ने र आफू सत्तामा टिकिरहने विधिबारे आफ्नो मूल्यवान् समय नष्ट गरिरहेको हुन्छ। यस्तो संरचनाले कसरी प्रेम गर्न प्रेरित गर्छ? सम्मान र समानतामा मात्र प्रेमको फूलको सुगन्ध गाढा हुन्छ।

प्रेम एक प्रकारको कलात्मक पागलपन पनि हो, जहाँ सबै खाले अहङ्कारका पहाडहरू डुब्छन् ध्वनिशून्यताको सागरमा। जबसम्म ‘म पुरुष हुँ’ भन्ने अहम्ले दिमागलाई हाँकिरहन्छ, तबसम्म नारीको हृदयलाई प्रेम गर्न सकिँदैन। जीवनलाई ‘लिबिडो’को केन्द्रीयतामा व्याख्या गर्ने फ्रायडले भनेका छन्, ‘त्यो महान् प्रश्न, जसको उत्तर दिन सकिएको छैन। र, तीस वर्षको शोधपश्चात् पनि उत्तर फेला पार्नै सकिएन कि नारी के चाहन्छ?’

धेरैले नारीलाई रहस्यको खानी ठानेर विश्वासको लायक देख्दैनन्। मलाई लाग्छ, नारीसँग कुनै ठूलो रहस्य छैन। हामीले नारीभित्रको प्रेमको काव्यिक गहिराइलाई बुझेको पल अर्को कुनै सुदूर रहस्य बाँकी रहनेछैन। भक्तिमा डर र स्वार्थको मानसिक दबाब हुन्छ, त्यहाँ प्रेमको अंश पनि हुन्न।

प्रेममा समर्पण खोज्ने हो भने प्रेमीको र आफ्नो सिङ्गो अस्तित्वलाई बोध गर्नैपर्छ। आफैंतिर फर्किएर प्रश्न गरौं— शासक र शाषितबीचको सम्बन्ध प्रेमको हुन्छ कि शोषणको? ढुक्क भए हुन्छ— हाम्रो समाजका हामी पुरुषहरू महान् प्रेमी बन्नै सकेका छैनौं। हामी प्रेमीभन्दा धेरै पीडक नै हौं। प्रेमी हुने पहिलो सर्त हो, समान अस्तित्व हुनु। के हामीसँग प्रेमी बन्ने आँट छ? आँट नभए पनि हामी शोषक कित्तामै रहेछौं भनी स्वीकार्न सक्छौं?

धेरै प्रेम–कथाका जोडीहरूको अन्तिम गन्तव्य आमाको लागि सुशील बुहारी भित्र्याउने हुन्छ। असल श्रीमतीको खोजीमा युवाहरूको मुखबाट बडो मधुर साउतीमा निस्किरहेको हुन्छ, ‘लभ यु!’ शब्दमा त प्रेमको सुकोमल वाणी फक्रिएकै हुन्छ।

तर, बिहे गरेको भोलिपल्ट बिहानदेखिको गृहस्थीको कार्यविभाजनमा हिजोको वाणीको प्रतिध्वनिसमेत विलिन हुन्छ। हिजोको प्रेमी मालिकमा कायाकल्प भइदिएपछि प्रेमिका कि दासी हुन्छिन् कि ‘घर गरेर नखाने आइमाई’ करार हुन्छिन्। त्यहीँबाट प्रेम–सपनाको घाँटी थिचिन्छ।

अतः हाम्रो सामाजिक बनोट प्रेमविरोधी कित्तामा दौडिरहेको छ। यही बनोटको चौघेरामा हुर्किएको वैचारिकीको सिँयालमा बसी लेखिएका  रचना कति प्रतिशत प्रेम–कथा भए होलान्?

आकर्षण र शारीरिक भोकको व्याकुलतालाई मात्र पनि कोही प्रेम ठानिदिन्छन्। भ्रामक अनुभूतिको पातलो पर्दा खसेपछि ती अन्त कतै भौंतारिन थालिहाल्छन्। जुन प्रेममा फ्यान्टासी र कला छैन, त्यहाँ पात्रहरू इन्द्रियजन्य रत्यात्मक भोकभन्दा माथि उठ्नै सक्दैनन्। आशय यो होइन, प्रेममा शरीरको कहीँ कतै स्थान छैन। हार्दिक प्रेममा रहेका जोडीमात्र काव्यिक र कलात्मक सम्भोगको तहमा उक्लन सक्छन्। प्रेमरहित यौन भोकको पाशविक संस्करण हो। र, प्रेमपूर्ण सम्भोग हृदयको जीवित अभिव्यक्ति हो। सायद प्रकृतिको मौलिक स्वभाव हो प्रेम। हामी त्यही स्वभावको आलम्वन चाहिरहन्छौं। कतिकति पात्रमा हामी प्रेमको पराकाष्ठा खोजिरहन्छौं।

र, भौंतारिरहन्छौं–भौंतारिरहन्छौं। भनिन्छ, प्रेमको आफ्नै सुगन्ध हुन्छ। जब आफूअनुकूलको सुगन्धसँग एउटा प्रेमिल हृदयको सहयात्रा हुन्छ ,जीवनको तार उसैउसै झङ्कृत हुन्छ। र, यात्रा सङ्गीतमय हुन्छ।

प्रेम कुनै भाँडामा साँचिराखेको मदिरा होइन, जो केही घुट्को रमरमसँगै सकियोस्। प्रेम त नदीको प्रवाह हो, बगिरहन्छ। प्रेम कुनै सूत्र, शर्त या नियममा बाँधिदैन। यो एक पटक अङ्कुरण भएपछि हुर्कंदै–बढ्दै जान पनि सक्छ या टाक्सिएर मर्दै जान पनि सक्छ। प्रेम पटकपटक उम्रिन पनि सक्छ। प्रेमको आयु प्रेमी–प्रेमिकाको चिन्तनप्रक्रिया, विचारधारा र व्यवहारपद्धतिमा पनि निर्भर हुन्छ।

र, प्रेम जीवनको यति स्वभाविक सिकाइ पनि हो, जहाँ कोही गुरु हुँदैन।

सामाजिक संरचनाले नै प्रेमको आयतनमा प्रत्यक्ष असर पारिरहेको हुन्छ। हाम्रो प्रेमका अभ्यास र आयाम कस्ता छन्? हामी भावुकता र संवेदनशीलतामध्ये कुनलाई बढी जोड दिएर प्रेमलाई हेर्छौं? यतिखेर मेरो मानस–प्राङ्गणमा केही दृश्यहरू परेड खेलिरहेका छन्;

—हिजो साँझ मेरो झ्यालबाहिर नौ–दस वर्षका बालकहरू चुङ्गी खेलिरहेका थिए। उनीहरू एक–अर्कालाई ‘गर्लफ्रेन्ड ब्यायफ्रेन्ड’ को नाम जोडेर जिस्किरहेका थिए। यत्तिकैमा एक बालिकाले अलि जङ्गिँदै भनिन्, ‘मेरो साँच्चै ब्यायफ्रेन्ड छैन है। हाम्रो म्याम कस्तो स्ट्रिक हुनुहुन्छ। थाहा पाउनु भो भने? आबुई !’

—भ्यालेन्टाइन्स डेको साँझ एउटा क्याफेको भित्री कोठामा तीन जोडी किशोरकिशोरी कलेज ड्रेसमै थिए। उनीहरूको एउटा हातमा प्लास्टिकको गुलाफ र अर्को हातमा चकलेट थियो। उनीहरूको हाउभाउ बिन्दास–बिन्दास थियो। त्यही क्याफेमा अर्को कुनामा एक जोडी साउतीमा गफ्पिmइरहेका थिए। तिनको कुराकानीबाट थाहा लाग्थ्यो, ती विवाहेत्तर प्रेममा छन्। मास्क नखोलेरै बसेकी महिला भित्तासँग पनि डराइरहेजस्तो देखिन्थ्यो।

—एक कुनामा बसी साथीलाई पर्खिबसेको थिएँ म। फेसबुकमा एउटा स्टाटस देखेँ, ‘चिया दे, भात दे, जुत्तामा पालिस लाइदे, लुगामा आइरन लाइदे, ह्याप्पी भ्यालेन्टाइन डे!’ अनेक प्रश्नयुक्त प्रतिक्रियाको ओइरो लागेपछि यो स्टाटस शेयर गर्ने मित्रले केही मिनेटको अन्तरालमा लोग्नेसँगको फोटो पोस्ट गर्दै लेख्न भ्याइछिन्, ‘तिमी नै मेरो जीवन, तिमी नै मेरो सबथोक। ह्याप्पी भ्यालेन्टाइन डे डियर!’

—गिनेचुनेका एक पाका कविले कुनै उदास दिनको चिया–गफमा गम्भीर मुद्रामा मलाई भने, ‘हेर गुरुङ, मभित्र प्रेमको महासागर छ। घरेलु जीवनमा मेरो लेभलको प्रेम न पाउन सकेँ, न दिन सकेँ। एकाधपटक घरबाहिर प्रेममा परेको अनुभूति पनि भयो। तर, पनि के मिलेन के। म प्रेम त गर्छु गर्छु। तर, साठी वर्ष पुगेपछि मात्र। बूढेसकालको मान्छेलाई समाजले पनि उति चियोचर्चा गर्दैन।’ कविको प्रेमिल–फ्यान्टासीको सम्मान गर्दै उनको ‘तीन बीस’ पर्खिरहेछु।

यी दृश्य–कोलाजलाई अलिकति व्याख्याको चस्मा लगाइदिएमा हाम्रो समाजको अनुहार, फेरिँदो विचार–यात्रा र प्रेम–परिधि दृष्टिगोचर होला। यी र यस्तै यथार्थ, अर्धयथार्थ र सम्भावित यथार्थको सेरोफेरोमा पर्फ्युमका कथाहरूले आफ्नो जरा फैलाएका छन्।

 

०००

प्रेमका किस्साको नाममा चर्चित मिथकीय पात्रहरूप्रति कहिल्यै अनुराग रहेन मेरो। मलाई त आफैंले पढेका लेखकका अफबिट प्रेम–प्रसङ्गले आकर्षित गरेका छन्। अमृता–इमरोज, सिमोन–सात्र्रजस्ता लेखक जोडीको काव्यिक प्रेमको घनघोर फ्यान हुँ म।

शङ्कर लामिछाने, पारिजात, कुमार नगरकोटीजस्ता लेखकले हिँडेका सम्बन्धका गल्लीहरूको ओसिलो गन्ध मन पर्छ मलाई। के हाम्रा कथाकारहरूसँग त्यस्ता भोगाइकै प्रेम–अनुभव छन्? या कलात्मक कल्पनाको त्यो विराटता छ? छैन भने प्रेमकथाको नाममा कनीकनी लेखिएका अन्टसन्ट शब्दविलास गनीगनी किन पढ्ने?

सङ्ग्रहका धेरै कथामा पाठकीय उत्सुकता उमार्न सक्ने प्रसाद–गुणको सर्वथा अभाव छ। लाग्छ, हाम्रा अधिकांश लेखक हतार, दबाब र तन्द्राको ओदानमुनिको भुङ्ग्रोमा छन्। उनीहरूलाई धेरै लेख्नुमा नै अतिरेक आनन्द प्राप्त भइरहेको छ। यति हतारमा न प्रेम गर्न सकिन्छ, न प्रेमसाहित्य लेख्न नै। हाम्रा अर्गानिक र गम्भीर लेखकहरू फास्टफुड शैलीमा शब्दको पसल थापिरहेका त छैनन्?

 

०००

घटना÷विवरणमाला मात्र होइन कथा। सानो घटना पनि काव्यिक प्रस्तुतिले ज्यानदार कथा हुन सक्छ भन्ने हेक्का राखियो भने विचार र विषयका ठूल्ठुला पहाड उचाल्ने लेठो लिनै पर्दैन कथाकारले। पर्फ्युमका कथाहरूसँग मेरा अपेक्षा धेरै थिए सायद। स्थापित, विस्थापित उन्मुखदेखि नवआगुन्तकको कलमबाट विविध स्वादको पकवानको खोजेछु। एकाधबाहेकका कथाको ढप–ढङ्ग र ‘स्टोरी टेलिङ’ उस्तैउस्तै लाग्छ।

वर्णनमा कुतूहल उमार्ने कुनै आकारको जाँगर छैन। मृतप्रायः शब्दका चाङ छन्। ती हिँड्न मान्दैनन्, चलमलाउँदैनन्। पाठक हाइ काढ्दै घिस्रिरहन्छन्, अनुच्छेदका हुलहुज्जतबाट आफूलाई जोगाउन खोज्छन् कि आँखा चिम्लेरै पाना पल्टाउँछन्। र, अन्त्यमा किताब हु¥याउँछन्। लाग्न थालेको छ– मेरोमात्र होइन, मेरा प्रिय लेखकका शब्दभकारीमा पनि डुहुरे मुसाको जन्ती छिरेछन्। नयाँ पुस्ताबाट कम्तीमा मैले यस्ता कमजोर कथाहरूको अपेक्षा गरेको थिइनँ।

सङ्ग्रहका अधिकांश कथालाई प्रेमकथाको ब्रान्डिङ गर्नु सेता बादलले ढाकेका नाङ्गा डाँडाहरूलाई देखाउँदै ‘लौ, हेर्नुहोस्! सुन्दर हिमालका पङ्क्ति’ भन्नुजस्तै हो। कथाहरूको पहिलो साझा गुण हो, प्रेमविहीनता। यहाँ प्रेमको नाममा आकर्षण छ। रोमान्स छ। विवाहसम्म पुग्ने योजना छ। सफलता छ। असफलता छ। अरूअरू थोक छन् धेरै। छैन त केवल प्रेम छैन। म कथामा यस्तो पढ्न चाहन्थेँ— विवाह वा प्राधिकारजन्य सम्बन्धभन्दा पर उडिरहेको कुनै बेनामी नाता होस् प्रेम, जो स्वाधीनताको उद्घोषक बनोस्। तर, म अर्कैअर्कै थोकको झाडीतिर पो अल्झिन पुगेँझैं लाग्यो।

पुरुषभन्दा नारीहरू स्वभावैले प्रेमप्रति ज्यादा संवेदनशील हुन्छन् नै। नारी लेखकले कथाहरूमा प्रेमको गहिराइ छोएका होलान् भन्ने मेरो विशेष अनुमान पनि भग्न बनाइदियो सङ्ग्रहले। फेरि पनि लाग्छ, हामी प्रेमप्रति किन यत्ति धेरै सतही हुँदै छौं? थाहा छैन, प्रेमप्रति उदासीन लेखक अन्य सामाजिक सरोकारसँगचाहिँ गम्भीर हुन्छन् कि?

बारम्बार आत्मसमीक्षाको गर्न खोज्दै छु— साहित्य नै नबुझ्ने गरी कतै म भुत्ते पो हुँदै छु कि?

पर्फ्युमले प्रेम र हाम्रो विश्वदृष्टिबारे एक उचाइ छलफल ल्याउनेछ भन्ने कुरामा आशावादी छु म। यस कथासङ्ग्रहले निराशा दिएको छैन। प्रश्नहरूचाहिँ अवश्य जन्माएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares