You are here

भ्रम पहाड़बाटः अर्थात नयाँ काव्यिक युग खडा गर्ने पागलपन

छेवाङ योञ्जन


‘6 मिनट 26 सेकेन्ड’

मैले जीवनमा पाएको एउटा अर्थपूर्ण समय। यो 6:26 सेकेन्डको भिडियोले पुरै शरीर थकाइ दियो। पाइतलादेखि टुप्पीसम्मै झन्झन्। शरीरका रौंहरू ठाडा। हेर्दाहेर्दै आँखामा बादल अनि पात्ला आँशुका केही थोपाहरू।

भिडियो सकिन साथ फोन गरेर भनें, ‘राजा दा, के गर्नु भएको त्यस्तो?’

साच्चै उनी मेरो छेउमा हुँदो हो त कत्ति घुस्सी हान्ने थिएँ। तर फोनमै भनिदिएँ,-‘तपाईको केश जगटेर सप्पै झारी दिन्छु!’

खासमा भ्रम पहाड़बाट-को भिडियो हेरिसकेपछि ‘राजा दा’-लाई अङ्गालो मारेर रून मन लागिरहेको थियो। तर उनी सिलगड़ीमा छन्, म कालेबुङमा। अङ्गालो हालेर रून पाइनँ। त्यसैको रिसमा थिएँ म।

अहिले कुल-डाउन भएर सोच्दैछु। यो 6:26 सेकेन्डको भिडियो भ्रम पहाड़बाट नहेरेको भए मबाट जीवनको एतिहासिक समय छुट्ने थिएछ। किन कि, कवि राजा पुनियानीको भ्रम पहाड़बाट-ले कविता विधाको नयाँ अध्यायको श्रीगणेश गऱ्यो। नयाँ अध्याय अर्थात ‘मल्टिमिडिया पोयट्री’।

ग्राफिक, एनिमेशन, साउन्ड इफेक्टहरूले एउटा कवितालाई पनि प्रभावशाली फिल्महरूकै दर्जामा पुऱ्याउन सक्छ भन्ने दावीको साथमा कवि राजा पुनियानीको भ्रम पहाड़बाट अहिले युट्युबमा छिरेको छ।

कवितामाथि अनेकौं प्रयोग गरिहिँड्ने कवि राजालाई भ्रम पहाड़बाट तयार गर्नुमा कतिको चुनौति थियो, थाहा छैन। तर उनले नयाँ पुस्तालाई भने एउटा कलात्मक चुनौति दिएका छन्।

कराण भ्रम पहाड़बाट केवल नयाँ टेक्निक मात्र होइन, फगत प्रयोग मात्र होइन। विचारको गहिरोबाट निस्किएको कलालाई तकनिकि सहयोगले मात्र पनि कसरी प्रभावशाली बनाउन सकिन्छ, त्यसैको उदाहरण हो भ्रम पहाड़बाट।

नयाँ पुस्तामा तकनीकि ज्ञान र क्षमता भरपुर छ तर ‘विचार र कला’ भने खोज्नुपर्ने स्थिति। समाज नटेकेको अडियो-भिडियो र फिल्महरू तक्निकीय रूपले त धेरै माथि छन्, नयाँ पुस्ताले कोशिश गरिरहेकै छ।

उनीहरूका निम्ति भ्रम पहाड़बाट ‘टच एण्ड पास’ झै हुनेछ। तर ‘कवितालाई सड़कमा ल्याउनु हुँदैन, साहित्यको मर्यादा भत्किन्छ’ भन्नेहरूलाई भ्रम पहाड़बाट चिलाई न कन्याइ पनि हो। अहिले हामीसँगै भए भन्थें. ‘राजा दा केही नयाँ गरौँ भन्नेहरूलाई गजबको उर्जा दिँदो रहेछ भ्रम पहाड़बाट-ले।’

कालेबुङ टाउन हलमा ‘गुमानसिंह’ कविता सुनेर तीन खेप सुइया पारें’थे। पछि फेरि ‘दुइपात एक सुइरो’ ऱ्याप सुने मरिमरि हाँसे। कार्यक्रमबाट फर्किँदा मनमनै सोच्थें ‘कवि भएर कविता नै गर्नु नि के को ऱ्याप/स्याप गरिरहेको?’

बेला बेला च्याटमा प्याच्चै भनिदिन्थें पनि, ‘कवितामाथि नानाभाती गरिरहनु ठीक हो र?’

रिप्लाई आउँथ्यो ‘तिमीलाई रिस उठ्छ भने गर्दिनन्त।’

यस्तो गर्दिन र भन्दिन भन्ने शब्दमा अड़िक बस्ने कवि होइनन्, राजा पुनियानी। कविताको प्रस्तुति शैलीमाथि स्थिर बस्दैनन् उनी। कविता वाचनको स्टाइल फेर्दै हिँड्छन्। उनलाई फिरन्ते शैलीको कवि भन्दा हुन्छ।

त्यही अनेक थरि गरिहिँड़्ने कवि राजा पुनियानी आज ‘मल्टिमिडिया पोइट्री’-को जेम्स वाट बन्न पुगे, अर्थात अविष्कारक।

उनले कविता विधामा भित्र्याएका शैलीहरू(ऱ्याप/पप/आदि) मल्टिमिडिया पोयट्रीमा पुग्ने सिँड़ी थिएछ। तर मल्टिमिडिया पोयट्री नै राजा पुनियानीको अन्तिम काव्यिक शैली हो भनेर भन्ने कन्फिडेन्ट मसँग अहिले पनि छैन।

कविता विधाको एतिहासमा मल्टिमिडिया पोयट्री नयाँ अध्याय त जरुर हो। तर के थाहा, यो अध्यायलाई पनि उनले अर्को अध्याय पुग्ने सिँड़ी नै पो बनाइरहेका छन् कि!

राजा दा तपाईको भिडियोले जन्माएको भुट्भुटि अझै पनि सेल्लिएको छैन!

ह न के के पनि गर्न सकेको हाँ?

भिडियोमा चुरोट तान्दै बुङ-बुङ धुवा उड़ाएको देख्दा राजा दा को नयाँ पागलपन सोचेथेँ! तर सुनमाया पात्राको जीवनदेखि शुरू गरिएको उनको कविताले यस्तरी तान्यो कि 6:26 सेकेन्डमा म 104 दिन बन्दको महाभारतभित्र डुबिरहेँ। उसै त गोर्खाल्याण्ड आन्दोलनको 104 दिन बन्दमा मौन दर्शकहरू थुप्रै छन्।

कति दर्शकहरूले अहिले नेतालाई गाली गर्दैछन्। कोही जनतालाई गाली गर्दै छन्। तर त्यसै बन्दमा मौन दर्शक बनेका कवि राजा पुनियानी भने आन्दोलनको काव्यिक समिक्षा लिएर युट्युबमा पसेका छन्।

फेसबुकमा चौतर्फी हल्ला छ भ्रम पहाड़बाटको। यसको अर्थ हो ‘मल्टिमिडिया पोयट्री’ आम मान्छेले रुचाए। पोयट्रीले भन्दै गरेको कथा, दिँदै गरेको सन्देश सप्पै सप्पै एकै साथ जनतामा पुग्दैछ।

किटान गरेर भन्न सक्छु ‘जोजो मिसिनले यो भिडियो हेर्दैछन्, उनीहरूले अहिले आफू मान्छे हुँ? भन्ने फिल गर्दा हुन्।’

विश्वास छ दर्शकहरूले यो भिडियो यतिसम्म सेयर गर्ने छन् कि ‘आमाको गलामा बन्दुकको नोक ताक्ने छोराहरू’ले आफ्नो असली अनुहार देख्नेछन्।

कविताको पङ्क्ती, शब्द, शैली अनि कविको भोइज (स्वर) सँग मिल्ने भिडियो इफेक्ट, साउन्ड इफेक्टहरूले भ्रम पहाड़बाटलाई प्रभावशाली बनाएको छ। तर सबै भन्दा प्रभावशाली र आकर्षक छ कविको कविता भन्ने शैली र अभिनय।

एउटा अर्थपूर्ण फिल्म हेरेर जसरी दर्शकहरू मौन बस्छन्। चाँइचुइ बोल्दैनन्। स्वास फेर्न पनि डराउँछन्। ठीक त्यस्तै मुडमा पुऱ्यायो भ्रम पहाड़बाटले। अब महिनौ कुनै फिल्महरू नहेरे पनि पुग्छ मलाई।

यी सप्पै गरेपछि अब राजा पुनियानी केवल कवि मात्र रहेनन्। पाठक अघि कवि। दर्शक अघि अभिनेता। श्रोता अघि ऱ्यापर। कविता विधाको इतिहासमा मल्टिमिडिया पोयट्रीको बाउ। तर विश्वास छ कवि राजा पुनियानी कवि भएरै बस्नेछन्। कविताको वाचन शैलीसँग पालगपना देखाइरहनेछन्।

हुन त कवि पुनियानीलाई चिनाउने उनका धेरैवटा कविताहरू छन्। लेखहरू छन्। सङ्ग्रह नै छ ‘अर्को लश्कर।’ तर यतिबेला पुनियानीसँगै उनका तमाम कविता र लेखहरू भूलिरहेको छु। बस दिमागमा भ्रम पहाड़बाटमात्र रिपिटिसन भइरहेको छ।

भ्रम पहाड़बाटले यतिसम्म घायल बनेको छु कि, कवि राजा पुनियानी मेरो दुश्मन नै हुन गएपनि भ्रम पहाड़बाटलाई आफूसँगै जीवनभर सुरक्षित राख्नेछु।

सिलगड़ीमा कतै भेट भए राजा दा-लगायत भ्रम पहाड़बाट टोलीका समीर शर्मा, पल्लविब, अभिषेक गुरूङ अनि अक्षयलाई ‘नेताजी क्याबिन’-मा एक-एक कप लाल चिया पिलाउनेछु।

‘यु गाइज हेड डन असम वर्क।’


भ्रम पहाड़बाट-हेर्न चाहनुहुन्छ? यहाँ क्लिक गर्नुस्-

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares