You are here

हिमालको सन्तान, कमरेड चे-लाई खुकुरी र समानताको प्रश्न

भुइँकुरा


चेग्वेभारा अहिले जिउँदो हुँदा हुन् त खुकुरी बोक्ने हिमालको सन्तानको पीड़ाले सम्वेदनशील हुन्थे होलान्। एउटा बोलिभिया, एउटा अर्जेन्टिना र एउटा ल्याटिन अमेरिका भारतमा लड्नुपर्ने आह्वान गर्थे होलान्। अनि उनले थाहा पाउँथे होलान्, वीरलाई सम्मान गर्न दिइएको वीरताको चिनो खुकुरीले भारतको इज्जत त्यत्तिबेला पनि राखेकै थियो अहिले पनि राखेकै छ।


 

प्रवीण खालिङ


आफ्नो आमाको कोखबाट निस्किएर यो माटोमा उभिँदादेखि नै खुकुरीको धारसित मितेरी लगाएर त्यसैको भरमा संसारलाई हेर्ने हिमालको सन्तान जीवन ढुङ्गामा वीरता उध्याउने गर्छ।

आफ्नो नाभी काट्ने खुकुरीले बैरीलाई काट्ने समुदायको खुकुरीको धार भने अरूकै सानमा उध्याइनाले भने वीरताको गाथा पनेलो हुने गरेको छ। देखेको बाघ त के बाघ, भेटेको बाघ पो बाघ भनिन्छ।

त्यस्तै दापको खुकुरी के खुकुरी दाप बाहिर निस्केको धारिलो कञ्चनजङ्घा जस्तो कौडी उठेको खुकुरी जहाँ खिया नपरेको होस् त्यो पो खुकुरी हुन्छ। अहिले चिडियाघरमा राखेको बाघ जस्तो देखेको खुकुरीमात्रै हामीसित छ।

अरूको सानमा टल्किने। अरूको मानमा झल्किने। अरूकै सिमानाको रेखी जोगाउन सधैं दापबाहिर निस्कने। दापमा धेरै लामो समयसम्म बसेको छ हिमालको खुकुरी। खिया परेको तक्मा र दाप भित्रको खुकुरी सिरानीमा राखेर सुतेको धेरै भयो हिमाल।

जातीय हतियार र हिमालको सन्तानको चिन्हारीको रूपमा रहेको खुकुरीको इतिहास अहिले दन्ते कथाजस्तो भइरहेको छ। लोक कथा जस्तो त्यो खुकुरीमा पाइन सकिएको छ। विश्व वीरताको गाथामा कहीं कतै हिमालका छोराहरूको युद्धको गाथा कसैले कोरिदिएको भए त्यहाँ निश्चय नै खुकुरी उन्माद ( Khukri Mania) को झल्को उल्लेख छ की।

यहाँ सबैभन्दा धेरै देशलाई माया गर्नेको गाथाको कुरा गर्नुपर्दा भारतदेश र यसको सुरक्षाको निम्ति हिमालको सन्तानले चलाएको खुकुरीको धारले प्रत्येक सिमानामा आफ्नो छाप कोरेको छ। देशभक्तिको गीतमा हिमालका सन्तानले नाचेको खुकुरी नृत्यले देशवासी सञ्चोले बाँच्छन्।

त के प्रत्येक सीमानामा खुकुरी डान्स गर्नेका सन्तानले भने आफ्नै माटोको सीमाना कोर्न कहिले सक्ने? भारत देशको निम्ति खुकुरी जति प्यारो छ त्यो भन्दा धेरै माया यसले माटोलाई गरेको छ। देशको पहिलो प्रधानमन्त्री पण्डित जवहारलाल नेहरूले खुकुरीलाई वीरताको प्रतिक स्वीकार गर्दै भारतमा आधिकारिक भ्रमणमा आएका विश्व क्रान्तिका महानायक कमेरेड अर्नेष्टो चे ग्वेभारालाई हिन्दुहरूका आराध्य दुर्गा माताको प्रतिमा खोपिएको दापयुक्त खुकुरी उपहार चढाएको इतिहास साक्षी छ।

तर देशको सीमानाको सुरक्षा सँगै देशले एउटा वीरलाई सम्मान गर्नको निम्ति दिने उपहार समेत बन्न सक्ने एउटा हिमालको सन्तानको सिर्जनलाई प्रयोग मात्रै गरियो, उनलाई न्याय दिने कार्य भने नेहरू र अहिलेसम्मको उनको परिवारले पनि गर्न सकेन। हावानाको सेन्ड्रो दी इस्तुदियोस चे ग्वेभारा-मा अझै पनि हिमालको सन्तानको पवित्र हतियार सुरक्षित छ।

प्रधानमन्त्री नेहरूलाई चे ग्वेभाराले 1 जुलाई 1959 मा उनको तीन मूर्ती आवासमा पुगेर क्युबाली प्रसिद्ध सिगारको प्याकेट चढाएपछि कमरेड चेको वीरतालाई कदर गर्ने भारतमा अरू सायदै उपहार थियो। त्यसैले भारतका पहिलो प्रधानमन्त्रीले हिमालको सिर्जना, हिमालको सान र हिमालको सन्तानले अर्जेको बीरताको चिन्हारी खुकुरी रोजे।

कमरेड चेलाई खुकुरी उपहार दिए। वीरताको कदर गर्ने उपहार यो भन्दा ठूलो के हुनसक्थ्यो ? अहिले तिस्ता-रङ्गीतमा धेरै पानी बगिसकेको छ। उस्तै देशको मुटु भएर बग्ने गङ्गा-जमुनाको पानी पनि उत्तिकै बगिसकेको छ। अहिले आएर भने वीरताको प्रतिक खुकुरीको गरिमाबोधलाई बचाइराख्ने र कमरेड चेलाई उपहारको निम्ति हिमालको सन्तानको जातीय हतियार चयन गर्ने प्रधानमन्त्रीका नयाँ पुस्ताहरूले हिमालको सन्तानको आफ्नै घर हुनुपर्छ।

उनीहरूले देशको शान राख्ने उपहार सिर्जना गर्ने छुट्टै आरन पाउनुपर्छ। उनीहरूको आफ्नै घरको ओछ्यानको सिरानीमा सिरुपाते र बुदुने खुकुरी निर्धक्क निदाउनु पाउनुपर्छ भन्न किन हिचकिच्चाई रहेका छन्?  किन न्याय दिन सकिरहेका छैनन् ?

जहिले पनि देशको मान बचाउनको निम्ति खुकुरी र खुकुरीधारी हिमालका सन्तानहरू अघि आएका छन्। चाहे युद्धमा होस् कि चे ग्वेभारा जस्ता वीरको सम्मानमा दिनुपर्ने कुनै उपहारको रूपमा होस् खुकुरी सर्वप्रिय छ। तर जब कञ्चनजङ्घाले उभिएको माटो मेरो हो भन्छ। जब महाकालले हेरेको भूभाग हाम्रो हो भन्छ अनि जब देश मेरो घर हो मलाई एउटा कोठा चाहिन्छ भन्छ। किन तिमी त छिमेकीको छोरो भनिन्छ।

किन तिमी खेताला भनिन्छ? सोध्ने मन हुन्छ। दापबाट खुकुरी झिक्न मन हुन्छ। कमरेड चेले सोचेजस्तो उनको सिद्धान्त र समाजवादी व्यवस्थामा हिमालको सन्तान पनि फिट छन्। चे भन्थे, ‘मानव हुनुको अर्थ हो- श्रमशील हुनु, संवेदनशील हुनु, विवेकशील हुनु र क्रान्तिकारी हुनु।’ हिमालका सन्तान पसिना बगाउछन्, सीमानामा रगत बगाउँछन्, संवेदनशील छन् र नै धेरैपल्ट गलत निर्णय गरिपठाउँछन्, विवेकशील भएर पनि अरूको बुद्धिलाई धेरै महत्व दिन्छन्।

क्रान्तिकारिता त रगतमै छ तर आफ्नोमा भएको विचारलाई समेत खुकुरी दापमा हालेजस्तै खिया पारिञ्जेल गुम्साउने प्रवृत्तिबाट भने मुक्ति चाहिएको छ। मुक्ति भनेपछि मरिमेट्ने क्रान्तिकारी चेबारे ज्याँ पाल सार्त्रले भनेको कुरा व्यावहारिक लाग्छ। उनी भन्थे “Che is not only an intellectual but also the most complete human being of our age.”

पूर्ण मानवको रूपमा युगमा अघि आएका चे ग्वेभाराले यो युगलाई असमानताको विरूद्ध क्रान्ति गर्नको निम्ति माटो र राष्ट्रियताको तथाकथित विभिन्नतालाई अवहेलना गर्न सिकाए। अहिले कञ्चनजङ्घाका सन्तान एउटा युगदेखि असमानताका विरूद्धमा छ, माटो र राष्ट्रियताको निम्ति उभिने प्रयास गर्दैछ।

जवहारलाल नेहरूको हातबाट जब कमरेड चे ग्वेभाराले हिमालका सन्तानको प्रिय हतियार तथा चिन्हारीको प्रतिक खुकुरीको उपहार ग्रहण गरे। त्यत्तिबेला भारतको एउटा वीर समुदायको गाथाबारे चर्चा गरे गरेन्। त्यो इतिहासमा उल्लेख नभएको कुरा। उपहारले भारतको प्रधानमन्त्रीको इज्जत निश्चितरूपमा बढ्यो। एउटा वीरको सम्मानमा एउटा वीरताको प्रतिक उपहार दिन पाउँदा।

तर त्यो उपहारको मौलिक सर्जक र त्यो उपहारसितै सधैं वीर मुटु लिएर हिँड्ने हिमालको एउटा समुदाय भने त्यत्तिबेला पनि माटोको मुक्तिको कुरा गर्दैथियो। असमानताको विरोधको निम्ति मुट्ठी उठाउँदै थियो। अहिले हावानाको त्यो सेन्ड्रो दी इस्तुदियोस चे ग्वेभारामा विश्व पर्यटकहरूको दर्शनको एउटा अमूल्य निधीको रूपमा स्थापित भइसक्दा पनि त्यो खुकुरी बनाउऩे जाति, त्यो खुकुरी भिर्ने वीरको सन्तानले माटोको स्वाद चाख्न पाएको छैन।

समानताको हाँसो हाँस्न पाएको छैन्। कमरेड चेग्वेभारा अहिले जिउँदो हुँदा हुन् त खुकुरी बोक्ने हिमालको सन्तानको पीड़ाले सम्वेदनशील हुन्थे होलान्। एउटा बोलिभिया, एउटा अर्जेन्टिना र एउटा ल्याटिन अमेरिका भारतमा लड्नुपर्ने आह्वान गर्थे होलान्। अनि उनले थाहा पाउँथे होलान्, वीरलाई सम्मान गर्न दिइएको वीरताको चिनो खुकुरीले भारतको इज्जत त्यत्तिबेला पनि राखेकै थियो अहिले पनि राखेकै छ भन्ने कुरा।

यद्धपि, चे को विचार र खुकुरीको धार कहिले मेटिने छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares