You are here

वरूण मृत्यु मामिलामा धेरैवटा सनसनीपूर्ण खुलासा: “मोर्चाको अर्को गुटले भनेको थियो, ‘तेरो दाजुलाई जेलबाट निकाल्नु छ भने हाम्रो गुटमा आइज, तर हामीले सम्झौता गरेनौँ’

विरेनलाई लाग्छ, वरूण जुन अवस्थामा थियो उसलाई त्यहाँबाट बचाउन सकिन्थ्यो। राम्रो अस्पताल लान सकिन्थ्यो। राम्रो उपचार दिन सकिन्थ्यो। तर कानूनले बरुनलाई राम्रो उपचार गर्ने अनुमति पनि दिएन।


कालेबुङ।

जेलबन्दीकै समय मृत्यु भएका वरूण भुजेल सम्बन्धी धेरैवटा नयाँ खुलासा भएको छ। यो खुलासा अरू कसैले नभएर बरूणका आफ्नै भाइ विरेन भुजेलले गेरका हुन्। 14 जुनका दिन उनलाई पक्रिएको देखि उनको मृत्युसम्मका कथा सुनाउँदै विरेन भुजेलले योबीच भएका राजनैतिक ब्ल्याकमेलिङ र पुलिसी अत्याचारको घटना उदाङ्गो पारेका छन्।

जब मिडियाकर्मीहरू यहाँको इस्टमेनरोडमा अवस्थित वरूण भुजेलको घरमा पुगे तब उनका भाइ विरेन भुजेल(जो एकजना सक्रिय मोर्चा कार्यकर्ता पनि हुन्) ले आफ्नो दाजुको स्थितिबारे बताउँदै कसरी आफूहरू राजनैतिक गुटबाजी र प्रशासनिक हेपाइको शिकार हुनपगे सो खुलासा गरेका छन्।

आँखाभरि आँसु पार्दै विरेनले सुनाए, ‘14 जुनको दिन दाजुलाई पक्रिएको थियो। त्यसैदिन पुलिसले धेरै कुटपिट गरेको थियो, खुनले लछेप्रै भइसकेको थियो। दाजुलाई जेल लगियो। त्यसपछि पक्रा परेको झण्डै ढेढ महिनापछि दाजुलाई हस्पिटल एडमिट गरेको छ भन्ने सुन्यौँ। हामी परिवारले यो खबर अरूतिरैबाट सुन्यौ, हामीलाई कुनै आधिकारिक खबर गरिएन।’

त्यसबेला वरूणलाई उत्तर बङ्गाल मेडिकल कलेजमा भर्ना गरिएको थियो। विरेनहरू वरूणलाई हेर्न गए। वरूणलाई जनवारसरह राखिएको थियो। टट्टीपिसाब लुगामै थियो, अवस्था दिन प्रतिदिन सोचनीय भइरहेको थियो, हट्टाखट्टा बरूण धेरै कमजोर, धेरै लाचार भइसकेका थिए।

‘त्यसपछि हामीले चरैतिर हारगुहार लगायौँ। न्याय पाउने ठाउँमा न्याय माग्यौँ। अस्पतालमा ठिकसित उपचार भइरहेको थिएन। हामीले प्राइवेट डाक्टर देखाउन कोर्टमा पिटिसन फाइल गऱ्यौँ, तर कोर्टले हामीलाई अनुमति दिएन। हामीले न्याय पाएनौँ’-विरेन भुजेलले भन्दै गए, ‘पेनक्रिअज बिग्रेको, लिभर ड्यामेज हुँदैगरेको, फोस्कोमा पानी चड्दैगरेको हामीले थाहा पायौँ तर डाक्टरहरूले थाहा पाएनन्।’

वरूणको अवस्था दिन प्रतिदिन खराब हुँदै गइरहेको थियो। वरूणका परिवार न्याय पाउनसक्ने हरेक ठाउँमा कुदिरहेका थिए।

‘हामीले न्यायालयबाट पनि न्याय पाएनौँ एमपी एमएलेहरू पनि हाम्रो लागि बोलिदिएन्’, वरूणले रूँदै सुनाए, ‘अरू डाक्टरसित पनि कन्सल्ड गरेर ठिकसित ट्रिटमेन्ट गरियोस् भनेर बिन्ती गर्दा पनि हाम्रो कुरा सुन्ने कोही भएन, बरूणलाई राजनैतिक कैदी होइन एकजना हत्यारालाई सरह व्यवहार गरियो।’

विरेनलाई लाग्छ, वरूण जुन अवस्थामा थियो उसलाई त्यहाँबाट बचाउन सकिन्थ्यो। राम्रो अस्पताल लान सकिन्थ्यो। राम्रो उपचार दिन सकिन्थ्यो। तर कानूनले बरुनलाई राम्रो उपचार गर्ने अनुमति पनि दिएन।

‘हैदाराबादका डाक्टरहरूसित पनि सल्लाह भइसकेको थियो, उसलाई अरू राम्रो अस्पताल लान सकिन्थ्यो’-विरेनले भने, ‘म मर्दैछु भन्ने थाहा पाउँदा पाउँदै राम्रो उपचार नपाइँ दाजु मरे।’

कानुनले न्याय दिएन। जनप्रतिनधिहरू बोलिदिएनन्। तर आफ्नै पार्टीका नेताहरूले पनि गुटबाजी गरेर आफूहरूलाई ब्ल्याकमेलिङ गरेको पनि विरेनले खुलासा गरे।

“हामीले निःस्वार्थ भावनामा गोर्खाल्याण्डको निम्ति खट्यौँ, दाजुले प्राण दिए। तर हाम्रै पार्टीहरूमा गुटबाजी भयो। अर्को गुटले भन्यो, ‘तेरो दाजु निकाल्नु छ भने हाम्रो गुटमा आइज’, तर हामीले सम्झौता गरेनौँ”-विरेनले भने, ‘सोच हेर्नुहोस् नेताहरूको, हाम्रो दाजु गोर्खाल्याण्ड माग्दा जेल पसेका हुन्, नेताहरूको सोच राम्रो थियो भने दाजुलाई मानवताको नातामा पनि निकाल्नपर्थ्यो, उनीहरूको सोचको पारदर्शिता झल्किन्थ्यो।”  

आफ्नो दाजु त कसै गरेर पनि फर्केर आउने होइनन्। यसैले अब जतिजना बन्दी छन् उनीहरूलाई लिएर विरेनलाई चिन्ता छ। किनभने वरुण जसरी मरे त्यसरी नै अरू बन्दीहरू पनि मारिनसक्छ भन्ने विरेनलाई लागेको छ।

‘अब फेरि अर्को बरूण नहोस्, कसैको घर उजाड नहोस्’-विरेनले भने, ‘सबैले बन्दी आन्दोलनकारीहरूलीई जेलबाट निकाल्ने पहल गर्नुपर्छ।’

‘बरू गोर्खाल्याण्डको गोली खाएको भए त्यस्तो पीडा हुन्थेन होला’-विरेनले रूँदै भने, ‘तर बरूणलाई दिन प्रतिदिन तड्पाएर मार्ने काम भएको छ।’

वरूण भुजेलको शव पोष्टमर्टमपछि कलकत्ताबाट सडकमार्ग हुँदै कालेबुङ ल्याइँदैछ। आज  उनको पार्थिव शरीर कालेबुङ ल्याएपछि शुक्रबारका दिन उनलाई श्रद्धाञ्जली अर्पण गर्न शव शहर परिक्रमा गराइनेछ। भुजेलले आफूपछि आमा-बुबा, दाजु-भाइ, पत्नी अनि 13 वर्षिय र 4 वर्षीय दुई छोरीहरू छोडिगएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares