You are here

आख्यानमा दार्जीलिङे अर्ग्यानिकता

राजा पुनियानी


 

सिलसिलाको सुरुआत

फेरि सल्किएको छ दार्जीलिङ। र, फेरि निभेको छ दार्जीलिङ। सन् १९८६ पछि एकपल्ट फेरि। सन् २००७ पछि एकपल्ट फेरि। माटोको दाबीमा।

सन् १९०७ को ब्रिटिस पालोदेखि चर्किएको दार्जीलिङको सामाजिक भुइँ सन् ८६ मा पटपटी फुटेको हो। दार्जीलिङको उत्तप्त राजनीतिक भूगर्भले सन् ८६ मा आफ्नो उत्ताल रूप देखाएको सारा विश्वले देख्यो। त्यो थियो भारतीय सार्वभौमिक राज्यभित्र अलग स्वायत्त राज्य गोर्खाल्यान्डको सशस्त्र दुईवर्षे आन्दोलन।

त्यतिबेलाको समाजले ठीक गरेको नेता सुवास घिसिङ। नसामा मार्सल नशा भरिएका घिसिङले नेतृत्व गरेको आत्मनिर्णयको उग्र आन्दोलनले भारतको केन्द्रलाई समेत हल्लाए पनि पछि गएर राज्यसत्ताको कूटनीतिक चाप र नेतृत्वको नवधनाढ्य वर्गचरित्रको कारण त्यो आन्दोलनलाई सत्ताले सहजै आफ्नो काबुमा लिएको हो।

सरकारी आँकडाअनुसार आन्दोलनकालमा १२ सय मान्छे मारिएका। तर बेसरकारी हिसाबमा त्यसभन्दा बढी मारिएका। धेरै मानिस घाइते भएका। लुटिएका। बलात्कृत भएका। अपांग पारिएका। विधवा र टुहुराटुहुरी पारिएका।

घर, स्कुल, कार्यालय जलाइएका। खेत मासिएका। सबैभन्दा बढी क्षति मानसिक, सामाजिक, आर्थिक र शैक्षिक जीवनले भोग्नुपरेको सो आन्दोलनको सरकारी र बेसरकारी जति पनि लेखाजोखा अद्यावधि भएका छन्, तिनको निगूढ सत्यापन हुन बाँकी नै छ।

१ सय ५ दिनको हडतालपछि राज्यले बलजफ्ती खोलाएको छ हडताल। दार्जीलिङ फेरि आन्दोलनको आगोमा होमिएको छ। हडताल, जुलुस, नारा, पोस्टर, अनशन, गोलीबारी, राज्यशक्तिको दमनमाझ गोर्खाल्यान्डको मुद्दा चर्किएको छ।

यसपालि यो आन्दोलनले जनान्दोलनको रूप लिइसकेको छ। आशा गरौँ, कथाकारहरू अहिलेको आन्दोलनलाई कथामा उतार्दै छन्। दार्जीलिङबाट शैलिका छेत्रीले वर्तमान आन्दोलनमाथि ‘सिलसिला’ कथा लेख्न भ्याएकी छन्।

बर्सेनि सयौँ साहित्यिक किताब निस्कने गरेको यो जडप्राय: भूगोलको टुक्रामा जनताको आँट्टी बलिदानको न कुनै खाँट्टी साहित्यिक मूल्यांकन योजनागत साहित्यिक अभिलेखनमार्फत् हुनु जरुरी हुन जान्छ। विधागत वैशिष्ट्य र पठनगत सुविधाको चारित्रिक गुणका कारण कथातिरै यो ‘सामाजिक अभिलेखन’ को अपेक्षा बढी थुरिएको हुन्छ।

यता लेखिने कथालाई अब सोध्ने दिन आएको हो– हाम्रा कथा कति ‘जिम्मेवार’ छन् त? हाम्रा कथामा कति छ त हाम्रो कथा ? कथा समयको विकल्पहीन सिर्जनात्मक अभिलेखन हो। दार्जीलिङको सन्दर्भमा कथाले यो भूमिकाको जोहो कति गरेको हो, त्यसको कैरन हुन जरुरी छ।

 

अबको कथाको प्लट

सामाजिक घटनाहरूको कच्चा मालमा ‘र्सिजनात्मक भ्रम’ को रसायन फिटेर तयार भएको उत्पाद नै कथा हो। कथा कथा हो। इतिहास इतिहास। तथापि, इतिहासमा केवल घटनाको सपाट वर्णन हुन्छ भने कथामा आख्यान हुन्छ। सबभन्दा खास कुरा, कथाको अन्डरकरेन्टमा हुन्छ संवेदना।

र हुन्छ ‘सामूहिक स्मृति’ र ‘सर्जक निर्मित भ्रम’ को कलात्मक अन्तर्घुलन। कथाको यही कम्पोनेन्ट गतिशील हुन्छ, जसले पाठकलाई उसको आफ्नै चिन्तन जगत्मा पठित कथाको पराकम्पनको घेरादेखि बाहिर निकाल्छ।

पाठक आफैंले पठित कथाको पुनर्सिर्जन गर्छ। पठित कथा जहाँ मर्छ, त्यहीँ जन्मन्छ कथाको संसार। एउटा सार्थक कथाको सार कथाको यही ‘रचना पुनर्जन्म’ को क्रम हो। खासमा कथाकारले कथामार्फत् केवल इसारा गरेको हुन्छ।

कथा जन्मन्छ कथाकारको सिर्जनात्मकता र पाठकको अनुभूतिमाझको सक्रिय अन्तक्र्रियाले। कथाकारको ‘भ्रामक’ सिर्जनात्मकता तबसम्म जीवन्त हो जबसम्म उसले पाठकको ‘वास्तविक’ अनुभूतिको संरचनालाई आफ्नो कथाको पाठमा खडा गरिराख्छ। कथामा पाठकको उपस्थिति यसैले पनि जरुरी छ।

शताब्दीकै आख्यान जादुगर मानिने मार्खेजले युगान्तरकारी रचना प्रविधि ‘जादुई यथार्थवाद’ (म्याजिक रियलिजम) मा पनि ‘जादू’ वा ‘भ्रम’ को प्रयोग ‘सामाजिक यथार्थ’ को सिर्जनात्मक उदात्तीकरणकै खातिर गरेका हुन्। त्यो उदात्तीकरणले मान्छेलाई आत्मविक्षण, आत्मालोचना र आत्मबलको स्तरमा उकास्न सघाउँछ।

कथा यसै र कथाकारको निगूढ स्मृतिचेत, समय अनुभूति र हेत्वाभासको व्यापार हुँदा हुँदै पनि यथार्थको जमिनमै गुड्ने आख्यानको गाडी हो। जसको गन्तव्यमा छ पाठकको मानसिक र सामाजिक समय।

कथा समयको सक्रिय प्रतिविम्बनको सूक्ष्म शिल्प हुन जान्छ त्यसैले। समय नसमातिएका, समयदेखि पछारिएका र समयबाट पछाडएिका कथा केवल छापिने कागजको नास, मसीको खर्च र पाठकको फजुल खर्च हुने गर्छ।

कुण्ठाका कथा, विछोड र धोकाका कथा, स्त्री–पुरुष सम्बन्धका कथा, हत्याका कथा, डकैतीका कथा, जासुसी कथा, यौनका कथा, फ्यान्टासीका कथा, भूत–भगवान्का कथा अब घिसापिटा हुन पुगे। कथामा अब मान्छेको संघर्षको आख्यान आउनु जरुरी छ।

प्रकृति, आफ्नै समाज र आफैंसँगको मान्छेको अन्तर्घात अबको कथाका टड्कारा प्लट हुन्।

यसैले पनि यताका कथामा अब सोधिनुपर्ने अर्को प्रश्न हो— हाम्रा कथामा कति छ त हाम्रो कथा?

 

आन्दोलनको कथा : प्रतिफलन 

गोर्खाल्यान्ड आन्दोलन सुरु हुँदै गर्दा ज्ञानेन्द्र खतिवडाद्वारा मैदानसिंह गोर्खा छद्मनाममा लिखित कथा ‘द गोर्खास’ (सन् १९८६) एउटा महत्त्वपूर्ण कथा हो। एउटा रोगी पात्रलाई डाक्टरले चिकित्साको नाममा सपनै नदेख्ने बाध्यतामा हालेको स्थितिलाई गोर्खाहरू सपना देख्न र साकार तुल्याउन नसक्ने विवश स्थितिको सदृश कथानकमाथि आधारित यो कथा खतिवडाले जेम्स जोयसको आख्यान प्रविधि ‘स्ट्रिम्स अफ कन्सियस्नेस’मा लेखेका छन्। समीरण छेत्री प्रियदर्शीको एउटा कथा छ ‘आत्महत्या’ (निर्वाणको रात, सन् १९९६)।

यी दुईवटा कथा दार्जीलिङका पप उपन्यासकार प्रकाश कोविदद्वारा गोर्खाल्यान्ड आन्दोलनकै सेरोफेरोमा रचित उपन्यास ‘चालीस दिन’पछि देखा परेको दार्जिलिङे साहित्यिक अभिलेखनका नमुना हुन्।

कथानकको स्तरीयता कसीमा ‘आत्महत्या’ बेजोड उभिन्छ। विश्वस्तरीय कथाको स्वाद दिलाउने यो मास्टरपिस कथामाथि कथाकार समीरण छेत्री प्रियदर्शी आफैंलाई पनि निकै सन्तुष्टि भएको स्विकार्छन्। पाठकले निकै रुचाएको उनको ठहर छ।

दार्जीलिङमा गोर्खा समूहको आगमनको औपन्यासिक इतिहास र गोर्खाहरूको भारतीय मूलधारा निर्माणमा योगदानको लेखाजोखा रहेको भगीरथ रावतको ‘बास सल्किरहेछ’ (सन् १९८१) तथ्यआधारित महत्त्वपूर्ण कृतिको रूपमा लिन सक्छौँ, जुन आन्दोलनअघि लेखिएको थियो।

असित राईको ‘नयाँ क्षितिजको खोज’ (सन् १९८७) समेत उल्लेख गर्न लायक आख्यान कृति हो, जसले सन् १९८६ को गोर्खाल्यान्ड आन्दोलनको साहित्यिक लेखाजोखा गर्ने मेधावी काम गरेका हुन्।

गोर्खाल्यान्ड आन्दोलनको दोस्रो संस्करण विमल गुरुङको नेतृत्वमा सुरु हुन्छ सन् २००७मा। अवसरवादी रणनीतिमा अघि बढेको यो आन्दोलन पनि पहिलो चरणझैँ राज्यसत्ताकै नियन्त्रणमा जान्छ।

दोस्रो चरणको असफल आन्दोलन भोगिसकेपछि उत्पन्न नयाँ सामाजिक चेतना र ताजा अन्तर्विरोधहरूलाई समकालीन पात्रहरूद्वारा अभिव्यक्ति दिनसक्ने आसलाग्दा कथाकारहरू मनोज बोगटी, नीरज थापा, सञ्जीव छेत्री, लक्ष्मण दाहाल, निमा निची शेर्पाहरूको डफ्फामा प्रकाश हाङ्खिम एउटा छुट्टै नाम हो।

‘ह्याङ्मेनको चिठ्ठी’ (सन् २०१४)मा समाविष्ट यिनका तीन कथाहरू‘मिसन एसएलजी’, ‘आफ्नो हिस्साको जिम्मेवारी’ र ‘प्रजातन्त्रको हार’ यसका दह्रिला दृष्टान्त हुन्। मनोज बोगटीको कथा ‘मृत्यु उपत्यका’ (सन् २०१५) सिब्सु गोलीकाण्ड प्रकरण, मंगलसिंह राजपूत आत्महत्या काण्ड वरिपरि घुम्छ।

 

पहिलो पहरका कथाहरू

पहिलो चरणको आन्दोलनलाई केन्द्रिय विषयवस्तु बनाइएका उल्लेखनीय कथाहरू हुन् (‘आत्महत्या’ एवं ‘साँघु’ (निर्वाणको रात, समीरण छेत्री प्रियदर्शी, सन् १९९६), ‘उत्पीडन अस्मिता’ (कालाग्नि, शरद छेत्री, सन् १९९८), ‘कथा जो दोहोरिने हुन्छन्’ (सूर्यस्नान, शरद छेत्री, सन् २००३), ‘आत्मनिर्णय र बलिदान’ (गैरीगाउँकी चमेली, समीरण छेत्री प्रियदर्शी, सन् २००७) ‘पुल’ एवं ‘राजयोग नभएका युवराज’ (अस्ताचलतिर, सञ्जय विष्ट, सन् २००७), ‘पराकाष्ठा चिह्नारीको’ र ‘समय र मान्छे’ (समयका प्रतिविम्बहरू, गुप्त प्रधान, सन् २०११), ‘आन्दोलन ८६’ (सत्ता ग्रहण, नन्द हाङ्खिम, सन् २०१२), ‘आन्दोलन’ (आन्दोलन, बी योञ्जन, सन् २०१२), ‘१९८६’ (१९८६, छुदेन काबिमो, सन् २०१५)।

‘पराकाष्ठा चिह्नारीको’मा गुप्त प्रधानले भएकै घटनालाई अघि सारेका छन्। गोर्खाल्यान्ड आन्दोलनकालमा एक लापता (अपहृत) युवकको मासुको तरकारी तिनलाई खोज्दै भट्किएका बाबालाई अपहरणकारीहरूले खुवाएको मार्मिक कथा हो यो।

मानवीय मूल्यहरूको अकल्पनीय ह्रासमान स्थितिको हिँड्दो चित्र खिँचेका छन् उनले यो कथामा। विशेषत: मानवीय सम्बन्धहरूलाई विषय बनाएर सरल कथा लेख्ने सूरज धड्कनको आउँदो कथा संग्रह ‘भूतको रङ’मा प्रतिनिधि कथा ‘भूतको रङ’ गोर्खाल्यान्ड आन्दोलनको विकृत पाटा लिएर लेखिएको कथा रहेको छ।

यस कथा राजनीतिक दलसँग सम्बन्धै नभएको निर्दोष मान्छे मारिएको साँचो र काल्पनिक कथानकको ब्लेन्डिङ रहेको कथाकार बताउँछन्।

दोस्रो आन्दोलनसम्म पनि खटिरहेका थिए डुवर्सवासी। पहाडवासी सँगसँगै डुवर्सवासीले पनि छुट्टै राज्यप्राप्तिको लडाइँमा ज्यानको आहूति दिएका हुन्। पहिलो चरणको आन्दोलनलाई अन्तर्वृत्तमा राखेर डुवर्सबाट लेखिएका कथा ‘नफुटेको सपना’ (नफुटेको सपना, डीबी राई, सन् २००३), ‘एउटा कुण्ठित दिन’ (बिरिमफूल, प्रदीप गुरुङ, सन् २००७) र ‘जंगल’ (निमित्तहरू, श्रीनारायण प्रधान, सन् २०१३) हुन्।

यी कथाले आन्दोलनमा डुवर्सवासीको सक्रिय सहभागिता र नेतृत्वबाट ठगिएको अन्तर्विरोधलाई आँकेका छन्। डुवर्सको त्याग र सपनाको सांगोपांगो चित्रण कथामा हुन अझ बाँकी नै छ।

कथाकै विस्तारित जटिल रूप हो उपन्यास। बद्रीनारायण प्रधानको उपन्यास ‘भुमरी’ (सन् २००२) गोर्खाल्यान्ड आन्दोलनद्वारा सिर्जित सामाजिक स्थितिमाथि आधारित छ। इन्द्रमणि दर्नालले पहिलोआन्दोलनलाई नै विषयवस्तु बनाएर उपन्यासै लेखिन् ‘अद्र्धविराम’ (सन् २०१४)।

 

आन्दोलनको टेक्निकल पतन र लीलाकथा 

गोर्खाहरूको राष्ट्रिय मुक्ति आन्दोलनले राज्यसत्ता सामु समर्पणको घुँडा टेकेर ‘दार्जीलिङ गोर्खा पार्वत्य परिषद्’ (सन् १९८८) थापिसकेपछिको थकुवा, हरूवा र समर्पणवादी जनमनोविज्ञानले साहित्यमा प्रतिफलन पाएको हो। सबैले मानेका सर्जक इन्द्रबहादुर राईको आयामिक लेखनपछिको साहित्यिक धारणा लीलालेखन आधारित कलात्मक उत्कर्ष छोएको कृति ‘कठपुतलीको मन’ यसको सबल दृष्टान्त हो।

आन्दोलन तुहिरहेकै अवस्थामा सन् १९८९ मा इन्द्रबहादुर राईले आन्दोलित वातावरणदेखि अस्पृश्य पृष्ठभूमिमा लेखिएका ‘भ्रान्ति’ का कथाहरूको संग्रह दार्जीलिङको ‘पराजित पुस्ता’ लाई पस्किएका हुन्।

दार्जीलिङमा बसेर निकै वर्षदेखि स्तरीय कथाकारी गर्दै आएका तर सदा ‘लो प्रोफाइल’ मा रहनरुचाउने कथाकार हुन् गुप्त प्रधान। सामाजिक मुद्दाहरूमाथि कथालाई अड्याउनु उनको विशेषता हो। एकताका जब समाजलाई कथाको अति खाँचो थियो, त्यसताका प्रतिनिधि कथाकारहरू सामाजिक मुद्दाहरूदेखि अन्तै मोडिएर कोरा दार्शिनकता, असान्दर्भिक सैद्धान्तिकता र अप्रासंगिक शब्द प्रपञ्चमा भुलिएको विचार एउटा वार्तालापमा व्यक्त गर्छन्।

उनी यस प्रवृत्तिलाई ‘सिद्धान्तवाद’ भन्न रुचाउँछन्। आफू ‘यथार्थवादी’ कथाकारको कित्तामा पर्ने स्विकार्दै को–को ‘प्रयोगवादी’थिए, नाम नलिए तापनि ‘प्रयोगवादीहरू’ ले नै कथा लेखनलाई बिगार गरेको मत राख्न उनी हिच्किचाउँदैनन्।

संयोगवश, ‘कठपुतलीको मन’ सिद्धान्त (पश्चिमी विनिर्माण र पूर्वीय अध्यात्मवाद), टेक्निक (विपठन) र प्रस्तुति (विधाभञ्जन) को आधारमा हेर्दा प्रयोगवादी कथाहरूकै किताब हो। समाज गइरहेको थियो एकातिर, लीला–कथाहरू बगिरहेका थिए अर्कोतिर।

समाजले आपत्काल भोगिरहेको अवस्थामा सामाजिक मूल यथार्थलाई छुँदै नछोएर एब्स्ट्रयाक्ट साहित्य कोचर्न खोज्नु आफैंमा एउटा योजनाबद्ध ‘साहित्यिक राजनीति’ हो।

लीलालेखन दार्जिलिङे राष्ट्रिय मुक्तिको आन्दोलनको टेक्निकल पतन हुँदै गर्दा नै दार्जिलिङे भूमिमा अवतरित हुनु सञ्जोग मात्र हो भने पनि त्यसताकको सामाजिक हकिकतको सन्दर्भमा यसको समाजशास्त्रीय अध्ययन गरिनु जरुरी लाग्छ, जुन आजसम्म भएको छैन।

 

कमजोर कडी

भारतीय नेपाली कथा लेखनको ‘कमजोरी कथाको सिर्जनात्मक मापदण्डलाई समयअनुरूप निश्चित गरेर लैजान नसक्नु’ मान्छन् कथाकार सूरज धड्कन। मापदण्ड तब नै निश्चित हुनसक्ने हो, जब सिर्जना समाजका नसाहरूबाट प्रवाहित हुन्छ।

कथाकार समीरणको ‘आत्महत्या’ मा सामान्य एउटा बर्खे रात–बिहानको वर्णन छ जसमा एउटा पार्टीको सदस्य कालीकोटेले आफ्नो भाइको हत्या गर्नेवाला छ। उसको मानवीय मूल्य र राजनीतिक प्रतिबद्धतामाझको अन्तर्संघातको सिर्जनात्मक चित्रणले पाठकलाई चिमोट्छ।

सिंगो गोर्खाल्यान्ड आन्दोलनलाई चियाउन यो कथाको झ्याल उदांगो छ। कथाभूमिमा छरिएको एकान्त, कोलाहल, सन्त्रासले गोर्खाल्यान्ड आन्दोलनको बीभत्सतालाई दक्षतासाथ आँकेको देख्न सकिन्छ। आन्दोलन सँगसँगै प्रभावित हुने गरेको मानवीय प्रतिमान र सामाजिक गतिको साहित्यिक अभिलेखन गर्न समर्थ केही कथाहरूको सत्यापन, यथार्थीय मात्राको परीक्षणका सवालमा आलोचना नआउनु

गोर्खा समाजको जडता र बौद्धिक दिवालियापनको एउटा जीवन्त प्रमाण हो। कमजोर राजनीतिक धरातलको मानसिक व्यावहारिकता पनि हो यो।

 

सिलिभरफिसको खाजा

उक्त आन्दोलनको नेतृत्वको उग्र अडानले तथाकथित बुद्धिजीवी र लेखकहरूलाई आन्दोलनको मूल परिदृश्यबाट ओझेल पारिदिएको पनि सत्य हो। अर्कोतिर यसअघि अगमसिंह गिरीहरूले सन् १९६० र ७० को दशकतिर आफैंलाई साहित्यिक परिधिबाट विस्तृति दिँदै लेखनलाई व्यापकता दिन्छन्।

आम जनताको इलाकासम्म फैलावट दिइएको त्यसताकको साहित्य जनसरोकारको जरुरी काम थियो ।साहित्य आफ्नो वास्तविक औकातमा थियो त्यसताका। तर गिरीहरूको घुम्ती कटेपछिको साहित्यिक दृश्य अर्कै देखा परेको हो।

आन्दोलनको जरुरी समयकालमा साहित्यजस्तो समाजको सबैभन्दा संवेदनशील र आवश्यक क्रियाकलाप लेउ जमेको पोखरी हुन पुग्छ। एकताकाको सक्रिय दार्जीलिङमा साहित्य यसरी विस्तार समाजको मूल हिस्सा ‘जुन साहित्य आफ्नै पनि मुहान हो’ बाट कट्दै–कट्दै गएको थाहा पाउनु हो भने त्यसताकको साहित्यिक गतिविधिमाथि सामान्य नजर हाल्नु काफी छ।

आफ्नो असल भूमिका गुमाएको त्यसताका प्रकाशितबहुलांश किताबहरू सरकारी पुस्तकालय र कान्छा दाजुको दोकानमा सिल्भरफिसको खाजा बने होलान्। पाठकको स्मृतिमा त्यसताकाका केही लेखकका कृति छाडेर बढीजस्ता कृतिको नामसमेत अंकित रहेन।

जनतालाई मनोबल दिने, दिशा देखाउने र संघर्षको प्रेरणा दिनेजस्ता कालबोधी दायित्वको त कुरै नगरौँ, साहित्यले सामान्यसपाट वर्णनको कामसमेत गर्न सकेन ।साहित्य समाजको अपांग सदस्य बन्यो।

 

कथाको जरा

राजनीतिक आन्दोलनकै चित्रण गर्दा मात्र कथाको उत्तरदायित्व पूरा हुने हो। यस्तो पनि होइन। यो एकप्रकारले आदर्शगत कट्टरपना वा आइडियोलजिकल अर्थोडक्सी हुनजान्छ। जुन समाजमा राजनीति जीवन–मरणको सवाल भएको हुन्छ, जहाँ समाजका सिंगै–सिंगै दुई–दुई दशक राजनीतिक जडताको घुनले खाइदिन्छ, जसको मूल आख्यान राजनीतिबाहेक अरू थोक गौण हुन्छन्, त्यहाँ राजनीतिक स्पिरिटबिनाको साहित्य उत्तरदायित्वविहीन हुन्छ।

साहित्यलाई समाजबाट काटेर एकान्तवासी बनाउने पद्धतिविरुद्ध सबैजसो धारका सर्जकहरू लागिपरेका हुन्। त्यो खाले साहित्य कामचोर साहित्य हुन्छ। कथाले समाजको राजनीतिक अन्तद्र्वन्द्वलाई टिप्न सकेन भने त्यो कथा चियागफ हुन्छ। घिसापिटा बजारुसाहित्य। यस्तो साहित्यले समाजलाई खासै केही दिने अपेक्षा गर्नु नै मूर्खता हो।

समाजको वर्तमानका तानाबाना र सम्भावित भविष्यको काल्पनिक बुनोट कथाको कथानकलाई अघि बढ्ने बाटो हुन्।

गुप्त प्रधान कथामा सामाजिक सरोकार हुनुपर्ने दह्रो मत राख्छन्।‘के कथा कथाकार बसेको र बाँचेको समाजदेखि बाहिरको विषय हुन्छ?’ यस्तो सोधाइ छ सूरज धड्कनको। समाजका तात्कालिक मुद्दाहरूदेखि आँखा चिम्लने कथाले कालजयी बन्ने दिवास्वप्न देख्लान् तर कुनै पनि कालजयी कथाले समेत आफ्नै समयकै ‘वास्तव’ लाई सम्बोधन गरेको हुन्छ।

मानवीय सूक्ष्म संवेदना, सामाजिक सामान्यता र मनोविज्ञान कथाका विषय हुनैसक्छन्। तर हुँदाहुँदै समाजको गतिकी वा डाइन्यामिक्सलाई सम्बोधन कुनै पनि समयको लेखनको आवश्यकता हो। त्यो गतिकीको हाँगाबिगामा राजनीतिक जराबाटै पानी र खनिज पुग्ने गरेको हुन्छ।

अब सोध्नुपर्ने सवाल हो— यताका कथामा हाँगा कता छ, जरा कता?


साभारः कान्तिपुर दैनिक/कोसेली

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares