डिस्कोर्सः के हो जाति?

गणेशलाल सुब्बा


साधारणतः ‘जाति’ शब्दले एक विराट जनसमुदाय बोध गराउँछ। तर कस्तो जनसमुदाय? जनसमुदाय आकाशका तारामण्डल र समुद्रका अगणित बालुवाकण बराबर संसारमा पाइन्छन्; यदि प्रत्येक जनसमुदाय जाति हुँदो हो, संसारमा जाति पनि अगणित सङ्ख्यामा – आकाशमा तारामण्डल र समुद्रका बालुवा जति नै पाइने थिए।

तर जातिको सङ्ख्या सिमित छ। जाति शब्द धेरै कुरो बुझाउन प्रयोग गरिन्छ। साधारणतः जाति शब्दको लोकप्रिय प्रयोग अनुसार ‘अङ्ग्रेज’ एक जाति हो, ‘युरोपियन’ पनि जाति नै हो, भारतवासी पनि हिन्दु, मुसलमान, सिख, गोर्खा इत्यादि सब अलग जाति नै हुन्।

यहाँसम्म मगर, गुरुङ, छेत्री, नेवार, किरात सब अलग-अलग जाति नै हुन्। साधारण लोकप्रिय जातिको परिभाषा यस्तै छ। भिन्न-भिन्न राजनीतिक दलहरूको पनि ‘जाति’ शब्दको सम्बन्धमा आपस्तमा गहिरो मतभेद छ र उनीहरू आफ्ना-आफ्ना मतानुसार जातिको परिभाषा पनि भिन्नै-भिन्नै दिन्छन्।

आज हाम्रो देश भारतमा ‘जाति’ शब्द सम्बन्धमा जति मतभेद र झगड़ा अरू कुनै देशमा छैन होला। यसकारण ‘जाति’ शब्दलाई एउटा निर्धारित सिमानाभित्र राख्नु पर्छ, त्यसको एक वैज्ञानिक परिभाषा दिनुपर्छ।

अब ‘जाति’ शब्दलाई विश्लेषण गरौँ। विश्लेषण गरी त्यसको प्रत्येक अङ्गको सम्पूर्ण वृतान्त गर्नाले परिभाषा तैयार गर्न सजिलो हुन्छ। हठात् एउटा परिभाषा दियौँ भने त्यो अप्राकृतिक औ भ्रमपूर्ण हुने सम्भावना हुन्छ।

‘जाति’ शब्दबाट जुन समुदाय बोध हुन्छ त्यो एउटा ऐतिहासिक जनसमुदाय हो, त्यो एक नसल (वंश Race) अथवा कबीला (कुल, Tribe)-बाट उत्पन्न भएको वस्तु होइन। संसारमा जति भिन्न-भिन्न जातिहरू पाइन्छन् तिनीहरूको मूल पैलाउँदै जाँदा एउटा कुरो प्रमाणित हुन्छ : कुनै जाति पनि एउटै नसलबाट उत्पन्न भएको छैन, तर संसारको कुनै पनि जाति विभिन्न नसल, विभिन्न कबीलाहरू (जो एक-अर्कासँग मिसिन्छन्)-बाट उत्पन्न भएको छ अर्थात् कुनै जाति पनि चोखो (पवित्र ‘Pure’) छैन।

(हिटलरले दाबी गर्थ्यो जर्मन जाति संसारमा आर्य नसलबाट पैदा भएको संसारको एकमात्र चोखो जाति हो, तर यसबाट हिटलरको इतिहास सम्बन्धी अज्ञानता मात्र प्रमाणित हुन्छ) संसारका विभिन्न नसलहरूमध्ये यिनीहरू मुख्य हुन्:- आर्य, मङ्गोल, ककेशीयन, सेभाइट र निग्रो। यिनै नसलहरूबाट, जो मानव जातिको इतिहासको शुरू देखिनै, हजारौँ वर्ष अघिदेखि एक-अर्कासँग मिसिँदै आएका छन्, आजका विभिन्न जातिहरूको जन्म भएको हो।

उदाहरणको निमित्त अङ्ग्रेज जाति हेर्नुहोस्। वर्तमान अङ्ग्रेज जातिका पिता-पुर्खाहरू अनेकौँ भिन्न-भिन्न कुल र भिन्न-भिन्न नसलका मानिसहरू थिए। एङ्गलिकन स्येकस्, ट्युटन, ब्रिटन्स् इत्यादि। त्यस्तै फ्रेञ्च जातिका पिता पुर्खाहरू अनेक भिन्न-भिन्न वंशका मानिसहरू थिए – गल् (Gauls), रोमन, ब्रिटन्स्, ट्युटन्स् इत्यादि।

वर्तमान इट्लियन जातिका पिता पुर्खाहरूमध्ये रोमन, ट्युटन, इट्रस्कन्, ग्रीक, अरबहरू मुख्य थिए। आज भारतमा एक मात्र जाति र दुइ अलग-अलग जाति अथवा धेरै जातिहरू छन्, यो झगड़ा जीवित छ, यसको फसेला भएको छैन।

तर यहाँका मानिसहरूका पितापुर्खाहरू पनि विभिन्न नसल औ विभिन्न जनसमूहका मानिसहरू थिए। यहाँका आदिम निवासीहरूमध्ये कोल, भिल, द्राविड़हरू मुख्य हुन्। द्राविड़हरू पछि आर्यहरू आए, मङ्गोली जनसमूह पनि आए, अरब आए अर्थात् यस महादेशका हजारौँ वर्षको इतिहासमा अनेकौँ भिन्न-भिन्न नसल औ कुलका मानिसहरू बराबर एक-अर्कासँग मिसिँदै आएका छन् र तिनैका सम्मेलनबाट आजका बङ्गाली, मराठी, गुजराती इत्यादि जनसमुदायहरू उत्पन्न भएका हुन्।

हाम्रै गोर्खालीहरूका पितापुर्खाहरू पनि अनेकौँ कुल र नसलका मानिसहरू थिए – तिब्बती, मङ्गोली, इण्डो-एरयेनी इत्यादि। हामीहरू आधुनिक गोर्खालीहरू यिनै भिन्न-भिन्न कुलहरूबाट उत्पन्न भएका जनसमुदाय हौँ।

(भारतका बङ्गाली, बिहारी, मराठी इत्यादि एउटै जाति हुन् कि अलग अलग जाति हुन्, यो प्रश्न पछि आलोचना गरिनेछ)।

माथि आलोचना गरिएका घटनाहरूबाट यस परिणाममा पुग्छौँ : हजारौँ वर्षका ऐतिहासिक परम्पराका सुत्रले बाँधिएका जनसमुदायलाई मात्र जाति भन्न सकिन्छ – जाति एक कबिली अथवा एक नसली समुदाय होइन।

भुत र वर्तमानकालमा भिन्न-भिन्न देशहरूका इतिहासमा अशोकको साम्राज्य, अलेक्जेण्डरको साम्राज्य, अकबरको साम्राज्य, रूसी जारको साम्राज्य, ब्रिटिश साम्राज्य, हिटलरको अस्थायी यूरोपियन साम्राज्य जस्ता अनेक विशाल साम्राज्य पाइन्छ।

यी साम्राज्यहरू पनि भिन्न-भिन्न नसलबाट उत्पन्न भएका हुन्; यिनीहरू पनि कैयौँ शताब्दीका ऐतिहासिक परम्पराले बाँधिएका थिए र छन् तर यिनीहरू प्रत्येकलाई एक जाति हो भन्न सकिन्न। यी साम्राज्यहरू एक शक्तिशाली महान् व्यक्तिको व्यक्तिगत शक्तिका जोरले बाँधिएका, एकत्रित भएका, समूह मात्र थिए र ती महान् व्यक्तिको उदय र पतनमाथि यिनीहरूको अस्तित्व निर्भर थियो।

अशोकको साम्राज्य तिनको मृत्युपश्चात् छिन्न-भिन्न भयो, अलेक्जेण्डरको साम्राज्य पनि तिनको मृत्युपश्चात् सूर्यास्त भयो, यसरी नै अरू साम्राज्यहरूको पनि उदय र पतन भयो। यी राज्य समूहहरू एक शक्तिशाली व्यक्तिको सामर्थ्यमाथि निर्भर हुनाले अस्थायी भए, स्थायी रहन सकेनन्। जाति एक अनिश्चित जनसमूह होइन तर एक सुनिश्चित जनसमूह हो।

तर प्रत्येक सुनिश्चित जनसमूह पनि जाति होइन, किन? आधुनिक भारत हेर्नुहोस् अथवा पहिलो महायुद्ध (1914-18) – मा रूस र अस्ट्रियाको अवस्था हेर्नुहोस्। रूसमा जार राजाको समयमा ‘रूस’ अथवा ‘अस्ट्रिया’ स्थायी समूह थिए तर तिनीहरू जाति कहलाइएनन्।

आधुनिक भारत पनि एक स्थायी समूह हो तरै पनि सारा भारतलाई एक जाति भन्नु पण्डित जवाहरलाल नेहरू जस्ता भारतीय एकता-प्रेमी नेताले पनि महसुस गर्दैनन्। 1945 साल जून महीनामा जेलबाट मुक्त भएपश्चात् पण्डित नेहरूले भने : “India is a multinational state” अर्थात् ‘भारत एक बहुजातीय राज्य हो।’

जाति शब्दको अर्थ राम्ररी बुझ्नलाई ‘जातीय समूह’ (national community) र ‘राजनीतिक समूह’ (Political Community) – को भिन्नता बुझ्नुपर्छ। एक राजनैतिक समूह विभिन्न भाषाहरूले बनिएको हुनसक्छ तर एक जाति एउटै भाषाबिना असम्भव हुन्छ। पहिलो महायुद्धको समयका रूस र अस्ट्रियामा पनि विभिन्न भाषाहरू थिए – पोल, जर्जीयन, ककेशियन, युक्रेनियन भाषा रूसको सिमानाभित्र र चेक भाषा अस्ट्रियाभित्र। त्यस समयका रूस र अस्ट्रिया विभिन्न जातिहरूका लागि एउटा जेल थियो (“Tsarist Russia was a prison of peoples” – Lenin)।

त्यस समयको रूस (जार साम्राज्य) –भित्र पोल जातिको अस्तित्व रहने थिएन यदि तिनीहरूको आफ्नो स्वतन्त्र भाषा नहुँदो हो। तर त्यस समयका रूस र अस्ट्रियाको एकतालाई अर्थात् ती रूसी राजनैतिक समूह अथवा अस्ट्रियन राज्यसमूहको अस्तित्व ती भिन्न-भिन्न भाषाहरूका अस्तित्वले गर्दा कति पनि छिन्नभिन्न गर्न सकेन।

आधुनिक भारत एक बहुजातीय देश हो – यसको एक प्रमाण हो यस देशमा विभिन्न भाषाहरूको अस्तित्व – बङ्गाली, हिन्दी, आसामी, मराठी, गुजराती, तामिली, गुरूमुखी, नेपाली इत्यादि। सारा भारत एक जाति हुँदो हो ता यो भिन्नभिन्न भाषाहरू हुने थिएनन्। आधुनिक भारतीय ब्रिटिश राज्यभित्र यी भाषाहरू अङ्ग्रेजहरू उनभन्दा अघिदेखि नै थिए।

यिनीहरूको जन्म भइसकेको थियो र यिनीहरूको विकास पनि हुँदै थियो। तर भाषाको एकताको अर्थ यो होइन – भिन्नभिन्न जातिहरूले सब जग्गामा सधैँ अलग-अलग भाषा बोल्छन् अर्थात् एउटै भाषा बोल्ने मानिसहरू एकत जातिको सदस्य हुन्। भाषाको एकताको अर्थ हो – प्रत्येक जातिको एउटै भाषा हुनुपर्छ तर भिन्नभिन्न जातिहरूका अलग-अलग भाषा हुनुपर्छ भन्ने नियम छैन।

अर्थात् प्रत्येक जातिले एउटै भाषा बोल्छन् तर अर्को जातिले पनि त्यही भाषा बोल्न सम्भव छ – जस्तै अङ्ग्रेज जातिको अङ्ग्रेजी भाषा अर्को जाति अमेरिकन अथवा अर्को जाति आयरिशहरूले पनि बोल्छन्, उनीहरूको भाषा पनि अङ्ग्रेजी नै हो, यद्यपि अङ्ग्रेज र अमेरिकन अथवा अङ्ग्रेज र आयरिशहरू अलग-अलग जाति हुन् तर उनीहरू एउटै भाषा बोल्छन्।

किन अमेरिकन र अङ्ग्रेज अथवा नर्वेजियन र डेनहरू एकै भाषा बोल्ने समुदाय भए पनि अलग-अलग जाति हुन्? पहिलो कारण हो- अङ्ग्रेज र अमेरिकन अथवा नर्वेजियन र डेनहरू एउटै भूमिमा बस्दैनन्, उनीहरू अलग-अलग देशमा बस्छन्।

कैयौँ युगको आपसी सम्बन्ध र संसर्गले एक जनसमुदायलाई एक जातिको रूप दिन्छ अर्थात् जाति युग-युगको आपसी सम्बन्ध र संसर्गबाट उत्पन्न हुन्छ। आधुनिक अमेरिकन जातिका पितापुर्खा अधिकांश अङ्ग्रेज नै हुन् – एक समयमा यिनीहरू एउटै जाति थिए कारण यिनीहरू एउटै भूमि इङ्ग्ल्याण्डमा बस्थे।

तर कालान्तरमा एक हिस्सा अङ्ग्रेजहरू आफ्नो देश छोड़ी अमेरिकामा गए र त्यहाँ कैयौँ शताब्दीसम्म बस्दा रहँदा एक अलग जाति भए। भिन्न-भिन्न भूमिमा बास गर्नाले भिन्न-भिन्न जातिहरूको जन्म भयो। वासभूमि (वासस्थान)-को एकता जातिको अर्को मुख्य चरित्र (गुण) हो।

तर वासस्थानको एकताले मात्र पनि एक समुदाय जाति हुन सक्दैन। जातिको भिन्न-भिन्न अंशहरूलाई एक सूत्रमा बाँध्ने एक आन्तरिक आर्थिक जीवनको एकता पनि हुन आवश्यक छ। इङ्ग्ल्याण्ड र अमेरिका अथवा नर्वे र डेनमार्कको आपस्तमा यस्तो आर्थिक जीवनको एकता छैन यसैकारण यी देशका जनसमूहहरू भिन्न-भिन्न जाति हुन्।

अमेरिकन संयुक्त राष्ट्रका भिन्न-भिन्न सङ्घहरूलाई एउटै पूँजीवादी आर्थिक एकताले नबाँधेको भए अमेरिकनहरू एकै जाति, एकै राष्ट्र हुने थिएनन्। पूँजीवादी विकासको दृष्टिले अमेरिका पूँजीवादी देशहरूमध्ये सर्वोच्च श्रेणीमा पुगेको छ।

48 भिन्न-भिन्न सङ्घहरू (states) प्रत्येकमा औद्योगिक विकास पूर्णरूपले भइसकेको छ, जुन अरू कुनै पुँजीवादी देशमा भएको छैन। फेरि यी 48 सङ्घहरूलाई वर्तमान वैज्ञानिक आविष्कारका वस्तु, रेल, तार, जहाज, हवाइजहाजले एक विशाल अमेरिकन सङ्घका एक सूत्रमा बाँधेर राखेका छन् – यस सङ्घको एक कुनादेखि अर्को कुनासम्म एक विस्तृत पुँजीवादी आर्थिक जीवनको एकता देखिन्छ।

पूँजीवादी युगमा पुरानो सामन्तवादी समाजका काबिली अनैक्य शेष हुन्छ र विभिन्न कुलहरू आर्थिक जीवनका एक सूत्रले बाँधिन लाग्छन्। भूतपूर्व जारशाही रूसी साम्राज्यमा भिन्न-भिन्न अनेकौँ जातिहरू बस्थे, तिनीहरूमध्ये जर्जीयनहरूका जातीय विकास निरीक्षण गरी हेर्दा यो देखिन्छ : उन्नाइसौँ शताब्दी र बीसौँ शताब्दीको प्रारम्भमा यद्यपि यिनीहरू एउटै भूमिमा बस्थे, एकै भाषा बोल्थे तर पनि यिनीहरू त्यस समयमा पूर्णरूपले एक जाति (राष्ट्र)-मा परिणत भएका थिएनन्।

अर्थात् त्यस समयमा यिनीहरूलाई जाति (आधुनिक जाति – राष्ट्र) भन्नु योग्य ठहरिँदैनथ्यो। कारण त्यस समयमा यिनीहरू सानातिना अलग-अलग राज्यमा छुट्टिएर बस्थे र एकै किसिमको आर्थिक जीवनको एकताले यिनीहरूलाऊ बाँधेको थिएन। यतिमात्र होइन, यिनीहरू आपस्तमा लड्थे र एकअर्काका विरूद्धमा बाहिरी शक्तिको मद्दत लिन कति पनि हिच्किचाहट गर्दैनथखे – यिनीहरूले तुर्की, पारसीहरूलाई आफ्ना देशमा आउन निमन्त्रण गर्थे – यिनीहरूलाई एकअर्काको विरूद्ध लड्नलाई बाहिरी शक्तिको सहायता आवश्यक पर्थ्यो।

उन्नाइसौँ शताब्दीको प्रथम 70/80 वर्षसम्म जर्जियामा दास प्रथा जारी थियो, खाली त्यसको अन्तिमकालमा र बीसौँ शताब्दीको प्रारम्भमा मात्र पुरानो सामन्तवादी समाज र दास प्रथाको अन्त्य भयो र आधुनिक पुँजीवादी समाजको जन्म भयो।

पुँजीवादी समाजको शुरू भएपछि समाजमा भिन्न-भिन्न वर्गहरूको जन्म हुन्छ र श्रम जीवनमा हिस्साहुन लाग्छ; जस्तै : पुँजीवादी वर्गस मध्यम् वर्ग, मजदूर वर्ग इत्यादि र प्रत्येक वर्गको समाजमा एक निश्चित काम हुन्छ; पुरानो सामन्तवादी समाजको आर्थिक जीवनमा एक कायापलट हुनजान्छ।

जब जर्जियामा पनि पुँजीवादको जन्म भयो समाजमा श्रम जीवनको हिस्सा शुरू भयो, भिन्न-भिन्न जिल्लाहरू (स्वतन्त्र राज्य) जो अघि एक अर्काको विरूद्ध बराबर लड़्थे, जो आर्थिक जीवनको एक सूत्रले बाँधिएका थिएनन्, अब सो जिल्लाहरू एक-अर्कासँगै आर्थिक जीवनको एक सूत्रमा बाँधिए; वर्तमान पुँजीवादको जन्मदाता वैज्ञानिक आविष्कारका उत्पादन रेल, तार, कल-कारखाना, बिजुली इत्यादि – ले सारा जर्जियाका भिन्न-भिन्न अङ्ग (जिल्ला) – हरूलाई एक-अर्काको नजिक ल्याई एक गराउन लागे।

अर्थात् जर्जियामा पनि आर्थिक जीवनको एकता पूर्णरूपले शुरू भयो र वर्तमान जर्जियन जातिको जन्म भयो। आर्थिक जीवनको एकता जातिको एक मुख्य चरित्र (गुण) हो।

जातिको अझ अर्को एउटा चरित्र (गुण) छ जस्लाई एक अलग ‘आत्मिक चरित्र’ अथवा ‘जातीय चरित्र’ भन्न सकिन्छ। हुन ता त्यो चरित्र उक्त चरित्र (गुण) – हरू झैँ प्रत्यक्ष रूपमा प्रकट हुँदैन तर पनि त्यो एक समूहको स्नतन्त्र संस्कृति, स्वतन्त्र रीति-थीतिमा देख्न सकिन्छ।

जुन सनसमूहलाई जाति भनिन्छ त्यसको एक विशेष आत्मिक रूप हुन्छ जो अरू जनसमूहको भन्दा भिन्न हुन्छ र सो रूप त्यस जातिको स्वतन्त्र संस्कृति, रीति-थीतिमा झल्कन्छ; जसलाई देख्न पनि सकिन्छ।

विभिन्न देशमा कति युगसम्म बस्नाले, विभिन्न आर्थिक अवस्थाको प्रभावले गर्दा विभिन्न जातिहरूले आफ्ना-आफ्ना स्वतन्त्र मनोवृत्ति धारण गर्छन् अर्थात् जातिहरूमा खालि भाषा, आर्थिक जीवन इत्यादिको एकता मात्र पनि हुन्छ।

‘जातीय चरित्र’ – को परिभाषा दिनु कठिन छ तर यसको रूप एक स्वतन्त्र संस्कृति, रीति-थीति रक मनोवृत्तिमा प्रत्यक्षरूपले देखिन्छ। इङ्ग्ल्याण्डबाट अमेरिकामा गई बस्ने अङ्ग्रेजहरू कालान्तरमा एक अलग जाति भए कारण अर्को देशमा भिन्न अवस्थाको प्रभावले गर्दा उनीहरूले एक अलग संस्कृति मनोवृत्ति, रीति-थीति, चाल चलन धारण गरेका छन् यद्यपि उनीहरू अङ्ग्रेजी भाषा नै बोल्छन् तर उनीहरूको संस्कृति, रीति-थीति, चाल चलन अर्थात् ‘आत्मिक चरित्र’ अङ्ग्रेजहरूको भन्दा अलग छ, यसैकारण अङ्ग्रेज अमेरिकन र आयरिशहरू एकै भाषाको एक सूत्रले बाँधिएका भए पनि अलग-अलग जाति हुन्।

तर ‘जातीय चरित्र’ पनि प्राकृतिक परिवर्तन (अदल बदल)-को नियम पालन नगर्ने एक अचल वस्तु होइन। कालान्तरमा जसै आर्थिक जीवनमा हेरफेर हुन्छ ‘जातीय चरित्र’ पनि त्यसरी नै बद्लन्छ।

आधुनिक जाति (सष्ट्र)-का सब चरित्र (गुण)-हरूको आलोचना गरियो। उपर्युक्तक 6 वटा चरित्रहरूमध्ये प्रत्येकको विशेषता समान छ; एकले अर्कालाई पूर्णता दिन्छ, एउटा चरित्र पनि अनुपस्थित भए जाति जाति हुन सक्तैन – ‘जाति’ शब्द नै लोप हुन्छ र खालिएक या दुई चरित्रले मात्र पनि ‘जाति’ शब्दको परिभाषा पूर्ण हुन सक्तैन।

6 वटै चरित्रहरू जातिका अभिन्न अङ्गहरू हुन् जसले एक जनसमूहलाई एकत्रित गराई उसलाई एक जातिमा परिणत गराउँछ। अब जातिको परिभाषा यसरी दिन सकिन्छ :

जाति एक ऐतिहासिक सुनिश्चित जनसमुदाय हो जो भाषा, वासस्थान, आर्थिक जीवन औ एक स्वतन्त्र संस्कृतिमा प्रकट हुने मनोवृत्तिका एक सूत्रले बाँधिएको हुन्छ।


यो निबन्ध डा. मोहन पी. दाहालद्वारा सम्पादित गणेशलाल सुब्बाको पुस्तक ‘साहित्यिक समालोचना र अन्य लेखहरू’-मा समावेश छ। सम्पादक दाहालको सौजन्यमा खबरम्यागजिनले सुब्बाका लेखहरू धारावाहिक प्रकाशित गर्नेछ-सम्पादक

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares