You are here

कन्फेसनः इट्स वेरि हार्ड टु से गुड्बाइ

शैलीका छेत्री


कस्मिक नृत्य र जीवन

घोर अन्धकार। शून्यदेखि शून्यसम्मको विशालता। यस्तोमा विधातालाई बह्माण्डको रिक्त क्यान्भसमा जीवन भर्न कति गाह्रो थियो होला?

केही क्षण त उनलाई आफ्नै सृष्टिबाट वाक्क-दिक्क पनि लाग्यो होला। अनि हरेक कथाको अन्तमा कथाकारले रचेको रोचक ट्विस्ट झैं गजबको रहस्यमय ट्विस्टको परिकल्पनामा उनले ब्रह्माण्डको शून्य आयतनमा विष्फोटको अनौठो प्रक्रियाद्वारा ‘जीवन’ भर्ने व्यापक चक्रको शुरूआत गरे होलान्।

कल्पना गर्नुहोस् त, ब्रह्माण्डमा कस्मिक कणहरूको लगातार घर्षण चलिरहेछ। आकर्षणको बेजोड़ नृत्य चलिरहेको छ। यो कस्मिक नृत्यले ब्रह्माण्डमा स्वतन्त्र घुमिरहेका ती हजारौं, लाखौं, करोडौं कस्मिक कर्णलाई उत्तेजित पार्दैछ।  ब्रह्माण्डको समग्र ताप एकत्रित हुँदैछ अनि त्यो विशाल शुन्यतामा भयो एउटा ठूलो विष्फोट।

त्यही विष्फोटपछि ब्रह्माण्डको बृहत् आयतन फैलियो। त्यसभित्र गाभियो करोडौं नूतन ग्रह-नक्षत्रगण।

मलाई लाग्छ, अन्तरिक्षको यही जीवन्त सानो बिन्दुतिर अड़ेसिएर बसेको देखिन्छ, हाम्रो जीवन्त सुन्दर घर, जसलाई हामी ‘पृथ्वी’ नामले सम्बोधन गर्छौं।

तर, यो पृथ्वीको जीवन्त पृष्ठभूमिमा पनि पल-प्रतिपल विष्फोट भइरहन्छ। मानौं त्यो हो, विधाताको जीवन प्रक्रियाको विस्तारित ग्राफ। यो ग्राफमा सम्मिलित छन्, नयाँ शुरूवात अर्थात् जन्मको अनि पुरानो अन्त अर्थात् मृत्युको उतार-चढ़ावको नाटक।

त्यसैले विधाताले रचेको यस नाटक सूत्रको निरङ्कुश झम्टाइभित्र नाँचिरहेको हुन्छ प्रत्येक कठपुतली मानवको कच्चा अनि पक्का जीवन डोरीको भरमा।

 

स्मृति प्रवेश

यस्तै एउटा विधाताको दु:खान्त नाटक मञ्चन भयो, त्यो  देवेन्द्रकै अधूरो प्रेम कथा थियो। पख्नुहोस्, म त्यही कथातिर फर्किरहेछु-

 

पढ्ने दिनचर्या

बाबा (शरद् छेत्री) साहित्य सृजनाको धूनमा चुर्लुम्म डुब्थे। त्यसैले हाम्रो घरको वातावरण नै साहित्यमय बन्थ्यो। पितालाई यसरी प्राय: सृजना साहित्यभित्र गम्भीर अनि अध्ययनरत् रहेको देख्दा मेरो अबोध युवा मनमा गहिरो छाप बस्यो। लाग्थ्यो, पढ्नु नै जीवनको एकमात्र कार्य हो। अनि सधैं मरूञ्जेल पढ़्नु नै मेरो दिनचर्या बनिसकेको थियो।

साक्षी र म

मैले बीएससी जीव विज्ञान लिएर स्थानीय कलेजमा भर्ना लिएँ। त्यहाँ मेरो भेट साक्षीसित भयो। साक्षी जीव विज्ञान विभागमा मसित पढ़्ने सहपाठी थिई। उ नै अहिले मेरो जीवनको सबैभन्दा मिल्ने आत्मीय साथी पनि हो।

कलेजमा कुनै बेला म अनुपस्थित रहेको खण्डमा साक्षीले त्यतिञ्जेल कलेजमा पढ़ाएका पाठ्यक्रमलाई सधैं मेरो निम्ति घरैमा उपलब्ध गराइदिन्थ्यो। त्यसैले म उसको प्रेममा बिस्तारै पर्दै गएँ।

देवेन्द्रको इन्ट्री

समय बित्दै गयो। अनि घनिष्ठ बन्दै गयो मेरो अनि साक्षीको मित्रता। त्यस्तै एकदिन साक्षी ज्वरोले थलिई। कति दिन भइसकेको थियो, उ कलेज आन नसकेकी। म आत्तिएँ। उसको हालचाल सोध्नु उसैको घरमा टुप्लुक्कै पुगें। साक्षीको घरको दैलो खुल्लै देखेर म सरासर उसलाई सम्बोधन गर्दै घरको एउटा कोठाभित्र स्वाट्ट पसें।

अहो! त्यो कोठामा लम्पसार परेर एकजना युवक पो सुतिरहेको थिएछ। म उनलाई देख्नसाथ सङ्कोचले आत्तिएँ। लाजले टमाटर जस्तो रातो बनेँ।

आत्तिएकै स्वरमा सोधेँ- ‘दाजु, साक्षी खै?’

तब त्यो युवक हत्तारिँदै ओछयानबाट जुरूक्कै उठे र बड़ो सङ्कोचित स्वरमा उत्तर दिए। ‘म साक्षीको दादा देवेन्द्र! साक्षी, आमासित डाक्टरकहाँ गएकी छ। तिमी एकैछन बस है, साक्षी आउँदै होला।’

यति भनेर देवेन्द्र सरासर गुसलखानातर्फ हात-मुख धुनु गइहाल्यो। मचाहिँ ट्वाल्ल परेर त्यही घरको बैठक कोठामा साक्षीलाई परिर्खरहें। केहीक्षणमा साक्षी पनि घर आइपुगी। त्यहीबेला फुत्त भान्साघरबाट देवेन्द्र पनि ट्रेमा चियाखाजा बोक्दै मकहाँ आइपुग्यो।

यो दृश्यमा कुन्नि किन वाल्ल परेको थियो साक्षी! अनि अनौठो खुशीको लहरमा साक्षीको आमाले मलाई, ‘नानी अबउसो सधैं घर आउनु है’ भनेर मायाले सुम्सुमाएकी थिइन्।

यस घटनापछि साक्षीको मप्रति प्रेम अझ बढ़ेर गयो। अबउसो उसले मलाई फकाई-फुस्लाई कलेजका बिदाका दिनहरूमा पनि घर मात्रै बोलाउँथी।

प्राय: म साक्षीलाई भेट्नु उसको घर जान थालें। मेरो आगमनमा अचम्मले विस्तारै देवेन्द्रभित्र एकप्रकारको सकारात्मक परिवर्तन आउनु थाल्यो। जसलाई साक्षीको घरका सदस्यले पनि अनुभव गरेका थिए। त्यस्तरी ओछ्यानमा लम्पसार लड़िरहने व्यक्ति अचेल चिटिक्क परेर घरको विविध कार्यमा व्यस्त देखिन्थे।

जसमा सबैभन्दा खुशी थिइन् साक्षीकी आमा।

समयक्रममा कलेजको परीक्षा पनि समीप आयो। यसर्थ मैले साक्षीको घर जान बन्द गरें। अनि तन्मयतापूर्वक परीक्षाको निम्ति पढ़्न थालें। तर मलाई लाग्छ, साक्षीको घर एकाएक जानु बन्द गर्दा, मेरो यस निर्णयबाट सबैभन्दा ज्यादा प्रभावित बनेको कोही थियो भने उ देवेन्द्र नै थियो।

विवश देवेन्द्र अत्तिँदै मलाई हेर्न प्राय: मेरो घरमै आइपुग्थ्यो। मचाहिँ उसलाई देख्नेसाथ वाक्क-दिक्क मान्थेँ। आमालाई, ‘घरमा छुइनँ हरे’ भन्न लगाउँथे। तब, देवेन्द्र त मलाई भेट्ने अनुमानमा व्याकुल बनेर कलेजतिर जाने बाटोमै कुरेर बस्थे।

एकदिन कलेज पुग्ने बाटो मन्तिर मेरो देवेन्द्रसित जम्काभेट भयो।

देवेन्द्रको प्रेम

त्यसबेला देवेन्द्रको अनुहारमा मप्रतिको प्रेम अभिलाषा स्पष्ट झल्किन्थ्यो। यो प्रेम आभासमा उसको हालत प्राय: विह्वलझैं बनिसकेको थियो।

उसले मेरो पाखुरालाई च्याप्प समात्यो।

उसले भनेको थियो, ‘उफ्, यतिका दिनसम्म कता थियौ? मलाई तिमी गुम्ने हो कि भनेर डर लाग्छ। यसरी मदेखि यसरी टाढ़ा नजाउ न शैलिका। म तिमीलाई प्राणभन्दा पनि अधिक प्रेम गर्छु। आइ लव यू।’

देवेन्द्रको यो प्रस्तावले हल्लिएको थिएँ। हज्जार प्रश्नले मलाई घेरिरहेको थियो। मैले उसको हात छुटाएँ र भने, ‘प्रेम???……. प्रेम भन्ने कुरा यस भौतिक संसारमा हुँदैन। आखिर प्रेमको सबै कुरा आकर्षण अनि वासनामा आएर सकिन्छ। देवेन्द्र, मलाई प्रेमसित घृणा छ। त्यसैले,  म तपाईलाई प्रेम गर्दिन, यो कुरालाई राम्ररी बुझ्नुहोस्।’

यति भनेर त्यहाँबाट हिँडे, तर देवेन्द्र चाहिँ प्रेम आघातमा पऱ्यो। उ त्यहीँ मौन उभिरहेको थियो।

साइड इफेक्ट

तर, यस घटनाले मलाई साक्षी अघाड़ि कुन्नि किन लज्जित बनायो। त्यसैले उसको आँखामा आँखा जुझाएर मैले कति दिनसम्म हेर्न सकिनँ। उता देवेन्द्रको स्थित खराब थियो। यता मेरो। तर देवेन्द्रले दिनचर्या छोडेन। उ त्यसरी नै बाटोमा मलाई कुरिरहन्थे। म संधै झर्किन्थेँ, तर्किन्थेँ।

दिनहरू बित्दै गए। र सायद देवेन्द्रको प्रेमको पनि मृत्यु भइसकेको थियो।

मलाई बल्ल ढुक्क लाग्न थालेको थियो। म यी घटनालाई युवा मनले उब्जाएको आकस्मिक दुर्घटना सम्झन्थेँ। र मैले यी सबै कुरा भुल्दै गएँ।

र बीएससी पार्ट वानको परीक्षा निम्ति तयारीमा निमग्न बनें।

एकदिन

एकाएक मेरो ध्यानलाई झस्काउने गरी घरको ल्याण्डलाइन फोन बज्यो। म हत्तारिँदै बाबाभन्दा अघि नै फोन रिसिभ गर्न दौडिएँ।

तर फोनमा जसको स्वर थियो, उ देवेन्द्र नै थियो।

उसको आवाज सुन्नसाथ मैले झर्किँदै भने-‘ देवेन्द्र, अब फेरि के भो? किन फोन गरिरहेको? सबैकुरा मैले स्पष्ट गरिसकें। म तपाईंलाई कुनै शर्तमा पनि प्रेम गर्नु वा दिनु सक्दिनँ।’

प्रत्युत्तरमा देवेन्द्रले रूञ्चे स्वरमा भनेको थियो, ‘ठिकै छ। मैले बुझें। तिमी मलाई प्रेम गर्दैनौ। तर प्रेमप्रति तिम्रो दृष्टिकोण किन यस्तो सङ्कुचित छ?’

उसका सारा कुराहरूको भाव थियो-

-वास्तवमा, शैली! प्रेम पानीजस्तो हो, जसको स्पर्श मात्रले आत्मालाई रहस्यमय आनन्दको संसारमा लैजान्छ। अहिले तिम्रो हृदयको प्रेमलाई अज्ञानताको तुँवालोले ढाकेको छ। जुनदिन यो तुँवालो हट्छ, त्यो दिन तिमीले प्रेमको गुलाबी आयतनलाई छुनेछौ।

यति भनेपछि चुप थियो देवेन्द्र। तर मलाई भने उसको प्रेम टिप्पणीमा हुनसम्मको रिस उठ्यो। मैले पनि भनिदिएँ,-‘भो दार्शनिक कुरा। यथार्थको कुरा गर्नुहोस् देवेन्द्र। वास्तविकतामा प्रेम विवाह सूत्रमा मात्रै फलित हुन्छ। यस बाहिरको प्रेमचाहिँ उद्देश्यविहीन हुन्छ, वासाना मात्रै केवल आकर्षण।’

देवेन्द्रलाई मेरो कुरा कस्तो लाग्यो होला, थाहा छैन तर उसले पनि भनेको थियो, ‘ल ठिक छ। तिमीलाई विवाह सूत्र ठूलो लाग्दो हो। त्यसैले तिमीलाई भविष्यमा म विवाह गरेर नै पाउँछु। तिम्रो निम्ति सबल व्यक्ति बन्छु। त्यसपछि त मेरो प्रेमलाई नाईं भन्दैनौ होला नी!’

यो झर्को दिक्क लाग्दो थियो। उसलाई पन्साउने भेउ पक्रेर मैले भनेको थिएँ, ‘धत्तेरी देवेन्द्र, विवाह हुनु वा जीवनसाथी बन्नु, यो भविष्यको कुरा हो, अहिलेलाई तपाईं आफ्नो भविष्य सोच्नुहोस्।’

सायद, प्रेम प्राप्तिको सपनासितै  देवेन्द्रले अचम्मले इञ्जिनियरिङ प्रवेशिका परीक्षा पास गरेको थियो। समयान्तरमा भविष्यमा सफल इञ्जनियर बन्ने सुगम पथमा देवेन्द्र कानपुरतिर लाग्यो। यो उसको उपलब्धि थियो, तर मेरो मनमा उप्रति श्रद्धा बाहेक प्रेमको कुनै ठाउँ नै थिएन।

यसरी समयसाथ बीएससी पार्ट वानको परीक्षा पनि शुरू भयो। बीएससी परीक्षाको प्रथम दिन थियो, परीक्षार्थीहरूको भीड़ कलेजमा थुप्रिएको थियो। तर यस भीड़मा साक्षी कत्तै थिएन। मैले साक्षीलाई परीक्षा हलमा पनि देखिनँ। त्यसैले परीक्षा सकिने बित्तिकै त्यहाँबाट हत्तारिँदै म साक्षी भेट्न उसको घरतिर दगुरें।

उसको घरको दैलोमा ठूलो ताला झुण्डिरहेको थियो। मैले छेउ घरको छिमेकीबाट साक्षीको विषयमा पत्तो पाउने चेष्टा गरें। तब थाहा लाग्यो, कतिदिन अघाडि साक्षी सपरिवार कानपुर गइछ।

परीक्षालाई यसरी बिचैमा छोडे़र, कानपुर हिँड़ेको साक्षीको निर्णयमा म त्यसक्षण चकित बनेको थिएँ। यसरी बिस्तारै कलेजको परीक्षा पनि एक-एक गर्दै सकियो, तर साक्षी चाहिँ परीक्षा दिन आइन।

रहस्योद्घाटन

समय बित्दै गयो।

एकदिन अचानक घरको ल्याण्डलाइनमा साक्षीको रिङ आयो। यतिका दिनपछि साक्षीको स्वर फोनमा सुन्न पाउँदा म एकाएक खुशी बनें। तर साक्षी त फोनमा सुँक् सुँक् रून पो थाली।

‘धत्! साक्षी, परीक्षा त हो अब फेरि अर्को वर्ष मज्जाले पढ़ेर परीक्षा बस्नु नि। किन रून्छौ? भयो नरोऊ यसरी’ , मैले भने।

तर साक्षी त अझ जोर-जोरले ग्वाँ-ग्वाँ रून थाली। ‘शैली, देव….देवेन्द्र…..दा….. देवेन्द्र दालाई ब्लड क्यान्सर भएछ। उनी भयानक पीड़ामा थिएछ। ओछ्यानमा लडिबस्थे नी? त्यो त्यही पीडाको कारण थिएछ, शैली। जीवनको सजाय थिएछ देवेन्द्र दालाई। तर तिम्रो प्रेममा कसरी हो कसरी उनले क्यान्सरको दु:खदायी पीड़ालाई पनि पन्साएका थिएछन्। र पुन: जीवन जिउने चाहले सञ्चारित बनेका थिएछन्। उसको जीवनको एउटै लक्ष्य केवल-केवल तिमी थिएछौ। लौ अब अन्तिमपल्ट देवेन्द्र दासित बात गर है, प्लिज!’

हजारपल्ट मेरो हृदयलाई ग्लानिले चिमोट्यो। तर अन्तिमपटक देवेन्द्रसित बोल्ने केवल एउटा अवसर थियो। मैले आफूलाई सकेसम्म सम्हालेँ।

र देवेन्द्रलाई भने,- ‘हेर्नुहोस् है देवेन्द्र, तपाईं क्यान्सरको घातक मारबाट चाँड़ै निको हुनुहुनेछ। म विधातासमक्ष तपाईंको जीवन निम्ति गुहार चढ़ाउँछु।’

मेरो कुरामा धेरै भावुक बनेको थियो देवेन्द्र। अनि मसिनो स्वरमा भनेको थियो, ‘ यसपल्ट विधाता पनि विवश छन् शैली, उनले तिम्रो गुहार सुन्दैनन्। म ब्लड क्यान्सरको अन्तिम पीड़ादायक चरणमा पुगिसकेको छु। मेरो मृत्यु निश्‍चित छ। मलाई पल-प्रतिपल मर्दैछु भन्ने बोध हुन्छ। साँच्चै शैली, विस्तारी, विस्तारी म त मर्दैछु…।’

देवेन्द्रको पीड़ा र ग्लानिले मलाई निमोठ्यो।

भित्तामा अडेसिएर म पनि ग्वाँ ग्वाँ रुन थालें।

मेरो मनले देवेन्द्र अनि देवेन्द्रको प्रेमलाई कहिले पनि फील गर्ने कोशिश गरेन। देवेन्द्रको प्रेम प्राप्ति बिनै मरिरहेको थियो।

अन्तिम शब्द

अत्यन्त संवेदनशील क्षण थियो त्यो। देवेन्द्रको अन्त! जसलाई सम्झेर म रुनसम्म रोएँ। म रोएको सुनेर देवेन्द्रले बढ़ो गम्भीर भावमा अन्तिमपल्ट भनेको थियो, ‘हेर न,  म मृत्युको द्वन्द्व भोग्दैछु। अहिले मलाई मृत्यु  जीवनको एकमात्र सत्य लाग्दैछ। जबसम्म ब्रह्माण्ड छ त्यसबेलासम्म यहाँ जन्म-मरण चक्रको श्रृङ्खला चलिनै रहनेछ। यसैले ब्रह्म सत्ताको प्रमाणिकता हो मृत्यु। मोक्ष हो मृत्यु। जीवात्मा पञ्चमहाभूतबाट उत्पन्न भएकोले यसैमा बिलिन हुनु नै एक शाश्‍वत घटना हो। मलाई याद छ,  मृत्युले मभित्रको मलाई देवेन्द्र भनेर चिनाउने अद्वैत चेतनालाई सधैंको निम्ति शून्य बनाउनेछ।

यसैले मृत्युपछि म एउटा यस्तो लोकमा पुगेको हुनेछु, जहाँ न सूर्य छ, न चन्द्र, न तारा, न अग्नि। त्यहाँ छ त केवल अन्तत परमात्माको उज्ज्वल प्रकाश किरण। त्यही समाविष्ट भएर नै मैले पनि चीर शान्ति पाएको हुनेछु। तर, जबसम्म मेरो चेतना मभित्र बाँकी रहन्छ, त्यसघड़ीसम्म मेरो हृदयले तिमीलाई मात्रै प्रेम गरिरहने छ। आइ लव यू एण्ड गुड्बाई। गुड्बाई माइ लाइफ गुड्बाई।’

अहो। अन्तिम क्षणमा पनि देवेन्द्रको दृष्टि सधैं जस्तो दार्शनिक नै रह्यो। अचम्मको भावुक व्यक्ति थियो देवेन्द्र।

यी देवेन्द्रका अन्तिम शब्दहरू थिए, अनि मेरो अन्तिम मौनता।

मैले देवेन्द्रलाई कुनै प्रत्युत्तर दिइनँ।

बस्, म एक्लै रोइरहेँ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares