विवादहरूको जड़मा हुन्छ आफू बाँच्ने आत्मपरक अवधारणाहरू, तर्कहरू- इन्द्रबहादुर राई

तेस्रो आयाम-बारे इन्द्रबहादुर राईसित सञ्जय वान्तवाको कुराकानी


तेस्रो आयामको शव परीक्षा-मा प्रा. चन्द्रेश्वर दुबेले लेख्नु भएको छः इलियटका लेखहरू पढ्दै गएँ र वेन जोन्सन शीर्षक लेखमा थर्ड डायमेन्सन लाई फेला पारेँ। तेस्रो आयामको सूत्र अब मेरो हातमा थियो। के तेस्रो आयामको सूत्र यहाँहरूले इलियटको त्यही लेखबाट लिनुभएको हो?

इलियटले त्यस लेखमा शेक्सपियरका नाटकका चरित्रहरूको तेस्रो आयाम हुन सकेको र जन्सनका नाटकका चरित्रहरूको तेस्रो आयाम हुन नसकेको कारणहरूको चर्चा गरेका छन्। हामीले प्रस्तावित गरेको तेस्रो आयाम नाटकको चरित्रहरूको तेस्रो आयाम थिएन। नाटकीय चरित्रहरूको तेस्रो आयाम हुनलाई भावावेगहरूको थात (रेञ्ज) फराकिलो र भावहरू बढ्ता गहन तथा दुर्बोध्य (अफ्सक्युर) हुनुपर्छ, इलियटले भनेका छन्। हाम्रो तेस्रो आयाम वैचारिकताको थियो। भिन्नता प्रष्ट छ।

प्रा. दुबेले यो पनि भन्नुभएको छः तेस्रो आयामको मूल परिकल्पना नै भ्रामक सिद्धान्तमा आधारित छ। सर्वप्रथम साहित्य कुनै ठोस वस्तु होइन र यसको नाप्न सकिने तेस्रो आयाम हुँदैन, वहाँले भन्न खोज्नुभएको छ।

गहिरो निद्रा, गहिरो माया, गहिरो सोंच सबले भनिरहेका छन्। गहिराई (तेस्रो आयाम) ठोस पदार्थको मात्र हुँदैन देखाउने अरू अनेक दृष्टान्त थप्न सकिन्छ। शेक्सपियरका चरित्रहरूको तेस्रो आयाम छ भन्ने कुरामा उहाँको सहमति देखिन्छ, नाटकीय चरित्रीकरण ठोस पदार्थ नभए पनि। वास्तवमा संवेद, भाव, अनुभूति, अनुभवको रूप हुन्छ (स्पेस फम, टाइम फम) जसका आयाम हुन्छन्।

‘अनुभूति भौतिक हुन्छ’, भनेका थियौँ। घटित हुने र अनुभाव्य/चेत्य सब भौतिक हुन्छन्; पादार्थिक भौतिक होइन, मानसिक बौद्धिक वा चिन्मय भौतिक आयामहरू सहितका। गहिराईको धारणा भौतिक पदार्थ माप प्रणालीबाट जन्मिएको होइन। सम्भवतः यो दार्शनिक कान्टले बताएको ज्ञानको ‘सांश्लेषिक प्रागनुभव’ (Synthetic a priori) वर्गमा पर्छ।

 आयमेली साहित्यबाहेक अरू सम्पूर्ण नेपाली काव्य परम्परा चेप्टो र आयामहीन छ भनेर तपाईँहरूले घोषणा गर्नु भएको छ। तपाईँहरूले के त्यस्तो घोषणा गर्नुभएको थियो?

तेस्रो आयाम (अङ्क 4-5) को सम्पादकीयमा 1962 मै यसको उत्तर छ। त्यसमा सम्पादक तिलविक्रम नेम्बाङले प्रष्टसँग लेख्नुभएको थियो- “आजसम्म लेखिएको सबै उच्चस्तरीय विश्व साहित्यमा यो ‘तेस्रो आयाम’ छ। विश्व साहित्य आयामिक छ।” के विश्व साहित्यमा भानुभक्त, लेखनाथ, सम, देवकोटा आदि पर्दैनन्? के विश्व साहित्य भन्दा यूरोपीय साहित्य मात्र बुझिन्छ?

‘हाम्रो प्रेरणास्रोत भानुभक्तलाई यस जन्मजयन्तीमा (1963) आयामिक सृजना साहित्यका पक्षपाती हामी यसरी श्रद्धाञ्जली अर्पण गर्छौँ।’ तेस्रो आयाम (अङ्क 3) मा तिलविक्रम नेम्बाङले सम्पादकीयमा लेख्नुभएको छ।

आयामिक तीनका सिद्धान्त लेखनमा भिन्नताहरू देखिन्छ, भन्छन्। तीनजनामा एकदम समानता नभई यस्तो भिन्नता किन भएको हो?

1976 मा प्रकाशित भएको ‘सन्दर्भमा ईश्वर बल्लभका कविता’ पृष्ठ 51 मा यस प्रश्नको उत्तर हेर्न सक्नुहुन्छ। थप्छु : हिन्दु, बौद्ध, इस्लाम, इशाई प्रत्येक धर्महरू भित्र पनि के विभेदहरू छैन? मार्क्सवादीहरू के विभिन्न थरिका भएका छैनन्? साम्य रहेकै हुन्छ, केही वैभिन्य पनि हुँदछ नै।

आयामिक लेखनको घोषणा स्वप्रचार, स्टन्ट आदिको लागि गरेका हुन् भन्नहरू पनि थिए, अझ पनि छन्।

साहित्यिक चिन्तनकै निम्ति चिन्तन गर्नेहरू हुनसक्छन् भनेर कतिले विश्वासै गर्न सक्दैनन्। लेखनभित्र पस्न सकेनन् र हाम्रो नियत अङ्कल्न थाले। जुन थोक कारण होइन त्यसलाई कारण (हेतु) देख्नुलाई हेत्वाभास भनिएको छ। उनीहरू नियत आरोपी हेत्वाभासका अभ्यासी।

ईश्वर बल्लभले इलियटको नकल गरेका छन् भनेर लेखेका छन्। ईश्वर बल्लभले यस दोष्याईको उत्तर पनि गर्नुभएको छ। तपाईँको विचारमा साँचो कुरा के होला?

अमेरिकाका एक प्रमुख समालोचक हेरोल्ड ब्लूमले एक अन्तर्वार्तामा भनेका छन्- ‘झण्डै 1960 सम्मै अमेरिकाका विश्वविद्यालयहरूमा सबका सब इलियटका अघि घुँड़ा टेकेर अभ्यर्थनामा खड़ा थिए।’ भारतको उत्तरी एक कुना दार्जीलिङमा 60 को दशकमा पनि इलियटलाई हामीले मननीय मानिरहेका थियौँ भने समकालीन साहित्यिक एक मुख्य धारासँगको साचेत्यको उद्योग थियो यो।

ईश्वर बल्लभमा इलियटको प्रभाव छैन भन्नु ताथ्यिक कुरो नहोला, तर ईश्वर बल्लभले लेखेका सब कुरा इलियटमा पाइन्छन् भन्नु पनि ताथ्यिक कुरो होइन। ‘एन्गजाइअटि अफ् इन्फ्लोअन्स’ समालोचनामा जसलाई भनिएको छ सशक्त कवि त्यसमा सङ्घर्षरत् र पारगत बन्छन्।

आयमिक कविहरूको कवितामा अस्तित्ववादी कवि भनाउने प्रयास र महत्त्वाकांक्षा देखिन्छ भन्ने समालोचक पनि छन्। यो कतिसम्म प्रमाणनीय कुरो हो?

आयामिकहरू जीवनवादी हुन्छन्। अस्तित्ववादले पनि जीवन र जिउनुमाथि प्रशस्त प्रकाश पारेको छ। जीवनलाई सम्पूर्ण रूपले बुझ्न आयामिकहरूले अस्तित्ववादी दार्शनिक र लेखकहरू अध्ययन गरे त्यो एउटा गर्नुपर्ने नै काम थियो। आयामिकहरू आफ्नै जीवन चिन्तन गर्दै पनि अघि बढ़ेका छन्। यसरी पनि अस्तित्ववादी विचारहरूसँग मिल्न पुगेका छन्।

आयामिक समालोचना भन्न सकिने अलग समालोचना प्रणाली बन्न सकेको देखिएन। कठिनाईहरू के थिए?

ईश्वर बल्लभ र तिलविक्रम नेम्बाङका आयामिक कवितामा आमायिक लेखन सिद्धान्तहरू कसरी लेखिएका छन् देखाउने केही समालोचना लेखियो। कृतिमा आयामिक दृष्टि हेर्नु र कृतिलाई आयामिक दृष्टिले हेर्नु दुइ भिन्न काम हुन्। कृतिमा आयामिक दृष्टि हेर्दै, कृतिलाई आयामिक दृष्टिले हेर्दै दृष्टिअनुरूप आयामिक भाषामा लेख्नु आयामिक समालोचना हुन्थ्यो। पूर्ण रूपले यो कार्य गरिएन। दृष्टिअनुरूप भाषामा लेखाईको थालनीसम्म ‘नेपाली उपन्यासका आधारहरू र सन्दर्भमा ईश्वर बल्लभका कविता– मा गरिएको थियो।

 कठपुतलीको मन’-मा लीला लेखनको चर्चा छ। लीला लेखन किन आवश्यक मान्नुभयो? लीला लेखनको सार तत्व के हो?

आनुविक युद्धमा जित्ने, हार्ने, नलड़्ने सबै मर्छन्। युद्ध र हत्याहरूले विवाद छिन्ने चालाको कुनै पनि सत्य स्थापित हुँदैन। चाहिने भयो सहनशीलता र सहअस्तित्व। विवादहरूको जड़मा हुन्छ आफू बाँच्ने, आफू बढ़्ने स्वार्थसँगको आत्मपरक अवधारणाहरू, तर्कहरू। भाव, भावना, धारणा, विचारणा, दृष्टि सबै यसरी आत्मपरक भ्रम र भ्रान्तिका लीला हुन्छन्। यो संचेतनाबाट हामी विवादको विकट स्थितिहरूमा समेत सहलशीलताको आचरण र सहअस्तित्वको व्यवहार राख्न सकौँला। लीला लेखनको नैतिक र सामाजिक सन्देश यही छ।


विवेचनबाट साभार

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares