You are here

के हो डेङ्गी ?

डेङ्गी (गल्तीले डेङ्गु पनि लेखिने) ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो। यो रोग डेङ्गी भाइरसका कारणले लाग्ने गर्दछ।

सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्। यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्। यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ।

केही बिरामीहरूमा यो रोग विकसित (डेङ्गी हेमोरेजिक फिबर) भएर रक्तस्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ। यो अवस्थामा रक्तस्राव हुने मात्र नभइ रगतमा प्लेटेलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ। त्यस्तै डेङ्गीको अर्को विकसित रूप डेङ्गी सक सिन्ड्रोम पनि हो। यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ।


कसरी लाग्छ डेङ्गी?

डेङ्गी धेरै प्रजातिका लामखुट्टेहरूका माध्यमबाट मानिसहरूमा सर्न सक्छ। यो रोगका भाइरसहरू पाँच प्रकारका छन्। यी मध्ये कुनै एकको सङ्क्रमण भएपछि हाम्रो शरीरले जीवनभरका लागि त्यस प्रजातिको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्दछ। तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिका भाइरसका विरुद्ध छोटो अवधिका लागि मात्रै काम गर्छ। एकपछि अर्को गरी लगातार हुने सङ्क्रमणले गम्भीर जटिलताको खतरालाई बढावा दिन्छ। डेङ्गीको पहिचानको टुङ्गो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन्। यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेङ्गीको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आरएनएपत्ता लगाउने गरिन्छ।


कसरी बच्ने डेङ्गीबाट?

Aedes aegypti mosquito

केही देशहरूमा डेङ्गीको सङ्क्रमणबाट बचाउने एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन। डेङ्गीबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ। यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावस्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ। भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेङ्गी छ भने मुखबाट वा नसाबाट(इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ। गम्भीर खालको डेङ्गीको उपचार गर्न बिरामीलाई रगत दिनु आवस्यक हुन सक्छ। यो रोगका कारण प्रत्येक वर्ष करीब पाँचलाख मानिसहरू अस्पताल भर्ना हुने गरेका छन्। डेङ्गी लागेको बेलामा इबुप्रोफिन जस्ता नन्स्टेरोइडल एन्टि इन्फ्लामेटरी औषधिहरू प्रयोग गर्नु हुँदैन।


डेङ्गीको इतिहास

दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी समस्या बनेको हो डेङ्गी। हाल यो रोग विश्वका ११० देशहरूमा व्याप्त छ। प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिसहरू बिरामी पर्ने गरेका छन्। जसमध्ये करीब दसहजारदेखि बीसहजार मानिसहरूको मृत्यु हुने गरेको छ।

डेङ्गीको महामारीको बारेमा सन् १७७९ लिखित तथ्य भेटिएको छ। यो रोग भाइरसका कारणले लाग्ने र लामखुट्टेका कारणले मानिसमा सर्ने गरेको तथ्य बीसौँ सताब्दीमै पत्ता लागेको थियो। लामखुट्टेको निर्मुल पार्न असम्भव जस्तै भएकोले सिँधै भाइरसलाई नियन्त्रण गर्ने औषधिहरूको बारेमा पनि अध्ययन भइरहेको छ।


डेङ्गीका लक्षणहरू

सfमान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएका करीब ८० प्रतिसत मानिसहरूमा रोगका कुनै लक्षणहरू देखिँदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छन्।

सङ्क्रमित मध्ये करीब ५ प्रतिसत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गी लाग्ने गर्दछ भने ती मध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन्।

यो रोग छिप्पिन ३ – देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले ४ देखि ७ दिनमै पूर्णता पाउँछ। त्यसैले डेङ्गीको जोखिममा रहेका स्थानहरूमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षणहरू देखापर्ने सम्भावना हुँदैन।

प्रायजसो बालबालिकाहरूमा डेङ्गीको सङ्क्रमण हुँदा सामान्य रुगा तथा सङ्क्रामक पखाला (ग्यास्ट्रोइन्टेराइटिस) भएको जस्तै लक्षणहरू देखिने गर्दछन्। त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ। सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्छ।

(सूचना स्रोत – विकिपिडिया)

(चित्र स्रोत- इन्टरनेट)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares