विशेष व्यक्ति/ अनिल तेलैजाः शब्द, संवाद र तस्वीर

शब्द/ मनोज बोगटी


अनिलनामा


 


नेपालमा एमआर (मेडिकल रिप्रेजेन्टेटिभ) गरिरहेको बेला यिनको चर्चा रोङ्गोमा ‘होनाहार लेखक र उद्घोषक हराएको’-भनेर चल्थ्यो। नेपाल छोडेर आएपछि नेपालमा पनि यिनी हराएको चर्चा पक्कै चल्दो हो।

एउटा क्षेत्रमा आउने, जम्ने र त्यसपछि हराउने पानी थोपा झैं एक्टिभिस्ट हुन् अनिल तेलैजा। 4 वर्ष पत्रकारितामा आए, छाए अनि हराए।

धेरैलाई थाहा छैन किन हराए?

तर हराए अनिल तेलैजा।

विमल गुरूङले आन्दोलन गरेको समय पाँचजना शहिद बनेका थिए। थालेको आन्दोलन थियो-गोर्खाल्याण्डको, गुरूङले थापे जिटीए।

उतिखेर गोर्खाल्याण्डमा कति मौजा? भन्ने चर्चा थियो। छुट्टै राज्यमा सयभन्दा अधिक मौजा थपिनुपर्ने दाबी थियो आन्दोलनकारीको, यसैको निम्ति सरकारले बसाएको एउटा समितिले भने गरे पाँच मौजा सिफारिस्।

यता गोर्खाल्याण्ड छोडेर गुरूङले थापे जिटीए, उता जनता हेरेकोहेरेकै।

त्यसपछि अनिलले विश्लेषण लेखे-‘पाँच सहिदः पाँच मौजा’।

अनिलको दाबी थियो, नेताले एक सहिदको साटो एक मौजा पाए।

अनिलको प्रश्न थियो, सहिदको रगत लागेको कुर्सीमा कसरी हाँस्न सकेका विमल गुरूङ?

हाँक्की लेख्ने, प्वाक्क बोल्ने, गिदीमा नै आक्रमण गर्ने, रानीमासुमा नै कलम गाड्ने यिनको पत्रकारिताले पाठकमा जन्माएको एउटै कुरा थियो-आशा।

आशा, अर्थात अब नेपाली पत्रकारिताको पनि दिन आए, जसले राजनैतिक चलखेल र उनीहरूले बोकेको जालसाजको झोला खोतलेर जनतालाई देखाइदिन्छ।

समाचारैमा पनि व्यङ्ग्य मुछेर सम्बन्धितको गरिब बौद्धिकता, लुते रणनीति र अन्तर्यमा लुकेको ‘एजेन्डा’ खोतलिदिने हिम्मत राख्थे यिनी।

केन्द्रले दार्जीलिङलाई हेर्ने आँखामा राज्य सरकारको कचेरा लागेर कसरी धमिलो बन्दैछ पहाड, त्यो बुझ्न अनिलकै समाचार, विश्लेषण र लेख पर्खिन्थे पाठक।

यिनको कलम ‘अफ दी रेकर्ड’-को अर्कै स्वाद थियो। पुराना विम्बमा वर्तमानको ‘इमेज’ राखेर समय र समाजलाई हेर्दा कस्तो देखिन्छ, त्यो बुझ्न ‘अफ दी रेकर्ड’-मा रेकर्ड गरिएका रेकर्डहरू नै खोतल्नुपर्ने बाध्यता पाठकलाई थियो।

अनिल भन्थे, ‘जबसम्म रचनात्मक पत्रकारिताबारे सम्पादकलाई ज्ञान पलाउँदैन, हामीले गरेको काम खोलाको गीत नै हुनेछ।’

खासमा अनिलमा पीडा शुरुदेखिकै हो।

भारतीय नेपाली पत्रकारितामा छाएको जडसूत्रताबाट माथि उठ्न नसक्ने मानिसलाई सम्पादक बनाउने मिडिया हाउसको मालिकलाई नेपालीपन/गोर्खालीपन, जातीय भावुकता पनि व्यापार नै थियो। अनिल चाहन्थ्यो, नेपाली पत्रकारिताको प्याट्रन नै चेञ्ज हुनुपर्छ।

तर प्रिन्ट हाउसहरूलाई थियो हिमालचुली मार्काकै ह्याङओभर।

डा. कुमार प्रधानले थालेको ‘सुनचरी’ र सिक्किमबाट चन्द्र खालिङले थालेको ‘हाम्रो पहाड’-ले खनेको बाटोमा हिँड्ने हिम्मतको त के कुरा, आइडिया नै नभएकाहरूले सञ्चालन गरिरहेको हाउसमा अनिलको रचनात्मकता टिक्ने कुरा त आएन नै, फिट हुने कुरा पनि आएन।

जुन लोभले वेगसित अनिल पत्रकारितामा आए, ‘लोप’ भइरहेको पत्रकारिताले त्यही वेगमा खेदाइदियो। कालेबुङको डम्बरचोकमा बसेर केही फरक सोचिरहने अनिल कालेबुङबाट हराएपछि सबैको मनमा एउटै प्रश्न हुन्थ्यो, ‘के गर्दैछ त्यो बजिया अचेल?’

सोध्नेलाई होस् वा नसोध्नेलाई अनिलले फेसबुकमा फोटा हालेर क्याप्सने उत्तर लेख्थ्यो- ‘सुङ्गुरलाई चारो पो हालदैछु।’

बडेमानको खोरमा भोकले रन्थनिएका सुङ्गुरहरूलाई चारो हाल्दैगर्दा अनिलको दिमागमा के थियो होला?

पैसा?

वास्तवमा चिन्तनशील मानिसलाई पैसाले पुग्दैन। अनिलको दिमागमा पैसाभन्दा ठूलो अक्षर नै छ। तर अक्षरले पेट भरिन्न। प्राप्ति (छोरीलाई) एभेञ्जरमा हालेर विहानै स्कुल पुऱ्याउनु, बाटामा भेटिएकाहरूसित हात हल्लाईहल्लाई गफ लाउनु, हतारसित घर पुग्नु र दोकानमा आइरहेका ग्राहकलाई नुनतेल तौलिनु अनि त्यसपछि ‘सेवान्ने होमस्टे’-मा रमाइलो गर्न आएका बङ्गाली टुरिस्टहरूको लागि मेन्यु तयार पार्नुमात्र अनिलको दिनचर्या होइन।

यी जम्मै व्यस्तताबीच पनि अनिल डम्बरचोकमा झुत्रेर गफ लाइरहेका पत्रकार साथीहरूलाई फोन घुमाउँछ र भन्छ- ‘के लेखेको त्यस्तो? अलिक खोजखाज गरेर लेख, भाषा बना, पढ्दै अल्छिलाग्दो लेखेर टार्ने हो भने के पत्रकारिता गरिरहने?’

साथीहरू सबैलाई थाहा छ- अनिल के भन्न खोजिरहेका मानिस हुन्?

जो त्यही पत्रकारिता छोडेर सुङ्गुरलाई चारो हालिरहेका छन्, उ आफ्नो सपना ती नै डम्बरचोकमा अलपत्र परिरहेका पत्रकारहरूको हातमा छोडेर हिँडेका भुक्तभोगी हुन्। सपना आफै पुरा गर्न नसकिने कुरा हो, कहिले काँही सपना सेयर गरिनुपर्छ। अनिलको सपना भनेकै रचनात्मक पत्रकारिता हो, तर छ पत्रकारिता जो टिपोटकारिता मात्र।

अनिललाई पनि थाहा छ, फोनमा गाली खाने पत्रकारसित त्यो सपना पुरा गर्ने क्षमता छैन।

अनिल भन्थ्यो, ‘पत्रकारको समाचार हुँदैन, हुनु हो, त्यही समाचारले समाचारिता नै बदल्ने थियो।’

अनिल ठान्थ्यो, चल्तीमा रहेको पत्रकारितालाई परिमार्जन गरिनुपर्छ। हाउसले पत्रकारलाई मनग्गे फेर्न पुग्ने सास (तलब) दिउन्। पत्रकारलाई दायित्व दिउन्, बोझ होइन। पत्रकारलाई सपना दिउन्, निरासा होइन।

दार्जीलिङे समाज जुन अतिभावुकताले बाँचिरहेको छ, त्यो नेपाली पत्रकारिताले निर्माण गरेको सामाजिक मनोविज्ञानको कारण हो। हरेक दिनको समाचारपत्रमा नेपाली समाजले सिक्ने कुरा केही पाइरहेको छैन, बुझ्ने कुरा केही पाइरहेको छैन, देख्ने कुरा केही पाइरहेको छैन, सोच्ने कुरा पाउनु त आठौं आश्चर्य भइगयो।

जुन हाउसले पत्रकारहरूलाई दासमात्र सम्झिन्छ, उसले समाजलाई के दिन्छ?,- सधैँ अनिलको मनमा उब्जिएको प्रश्न यही थियो। अनि दास पत्रकारले समाजलाई केही दिनसक्छ त?

पत्रकारको पनि जीवन छ, परिवार छ, भविष्य छ, जाबो ‘पाँच हजारे’ बिना नियुक्तिको पत्रकार बनेर अनिल कति दिन टिक्न सक्थ्यो त?

कति दिन उ सुरक्षित रहन सक्थ्यो त?

हो, अनिलले पत्रकारिता त छोड्यो, उ गयो सुङ्गुर पाल्न तर अनिलको कोटामा फेरि आयो कुनै सुङ्गुर।

जसलाई हाउसले चारो हालिरहेको छ।

भर्खरै कालेबुङका केही लोकल च्यानलहरूले जिटीएमार्फत क्षतिपूर्ति थापे। नाम जिटीएको तर पैसा नेताको गोजीको।

खबरम्यागजिनले यसको समाचार बनायो। वास्तविकता अघि ल्यायो।

तर यो घटनाले पनि धेरै केही भनिराख्यो। कालेबुङको मिडिया दुइखेमामा छुट्टियो। सँधै जो, दुइखेमामा नै जो थियो।

वाहना मिल्यो, पैसा खाने-पैसा नखाने। छुट्टियो।

दार्जीलिङमा चल्ने पत्रकारिताको दोरी कुनै न कुनै नेता, पार्टी र व्यवस्थासित जोडिनु स्वाभाविक नै होला। जोडिनुको आयाम फरक फरक होलान्। तर जो पनि जोडिएका छन्, पत्रकारितामा उनीहरूकै दबदबा रह्यो भने उनीहरूले निर्माण गर्ने समाजकोरूप कस्तो होला त?

हो, अनिललाई पत्रकारहरूले आङमा बोकेका पत्रकारिताको पहेंलो रङले पनि विरक्त बनायो। उ भन्छ, ‘जतिखेर पत्रकारिता भात खान खोलेको दोकान बन्छ, उतिखेर पत्रकारिता त खतरामा पर्ने नै भो, समाज पनि धरापमा पर्छ।’

पहेंलो रङले समाचार लेख्नेहरूले निर्माण गरिरहेको समाज सम्झेर अनिल रुन त रोएन होला, तर सँधै भावुक भने बनिबस्यो। पीडित भने बनिबस्यो।

पत्रकारितालाई दोकान बनाउँ कि कर्तव्य? अनिलभित्र चलिबस्ने द्वन्द्व यही थियो।

अनिलले पत्रकारितालाई दोकान बनाएको हुँदो हो, उ अहिलेको सत्तावाला नेताको दाहिने गोजीमा नै हुन्थ्यो। अहिलेको सत्ताको गधा नै हुन्थ्यो। अहिलेको पैसावाला पार्टीको कुनै ठेकेदार पनि हुन्थ्यो। अनिल धनाढ्य पत्रकार बन्थ्यो। उसको पनि कार हुन्थ्यो। गतिलो बिल्डिङ हुन्थ्यो।

सबै कुरा अनिलको बसमा हुन्थ्यो। बस्, हुँदैन थ्यो त अनिल आफ्नै बसमा।

दुर्भाग्यबस्, अनिलले पत्रकारितालाई दोकान बनाएन।

त्यसैकारण त उ सुङ्गुरलाई चारो हाल्छ, कि त बङ्गाली पर्यटकहरूलाई रोङ्गोको रायोको साग बेच्छ। उ ठूलोठूलो गफ गरिरहेका पत्रकारहरूको झुण्डलाई देखेर फिस्स हाँस्छ र भन्छ- ‘साङ्लाभित्र समाजको चौथो स्तम्भलाई कति सुन्दर देखिएको….’

नेपाली पत्रकारितामा जे देखिन्छ, त्यो छैन, जे देखिँदैन त्यो छ।

अनिल बेलाबेला कठोर प्रश्न गर्छ,  ‘पत्रकार रातारात कसरी गाडीको मालिक बन्छ?

कुनै एकान्तमा बुङबुङ सिगरेट तानेर टोलाइबस्ने अनिलले अहिलेसम्म त त्यसको जवाब पाइसकेको छ। पत्रकार साथीहरूको जुनै पनि ‘गेटटुगेदर’-हुँदी धेरैपल्ट हातमा गिलास बोकेर अनिल कराएको छ, ‘नेपाली पत्रकारिता गर्नु आत्मसन्तुष्टिको कुरा मात्र हो मित्रहरू, यसमा भविष्य छैन।’

कुनै नयाँ अनुहार हातमा क्यामेरा बोकेर प्रेस कन्फरेन्सतिर कुदिरहेको जब देख्छ, तब अनिल बर्बराउँछ, ‘कुन व्यापारी हो यो?

खासमा भन्नुपर्दा, नेपाली पत्रकारितालाई कालेबुङमा बसेर अनिलले जे देख्यो, त्यसको रूप बेदह रौद्र थियो।

सानातिना पकेट मनि, एक प्लेट चाउमिन र एक गिलास चिया, दुइ बोतल वियर र एक प्लेट सितन अघि राखेर नेता अघि ‘तपाईँको समाचार भोलि हेडलाइनमा आउँछ’-भनेर घोषणा गर्ने पत्रकार देखेर अनिललाई कतिपल्ट लाज लाग्यो होला?

खासमा अनिल तेलैजा पत्रकारितामा घुसेको विसङ्गतिसित लड्नै नसकेर भागेका हरुवा पनि हुन्।

जो निरन्तर पत्रकारितालाई समाजको आवाज बनाइरहन्छ, उसले पत्रकार समाजको त्यो रुढ्तासित पनि लड्नैपर्छ। अनिलले यो समाजसित लड्ने कोसिस निरन्तर गरेकै हुन्।

तर मेजोरिटी आलु बिग्रिएको बोराभित्र बसेर अनिलले कतिदिन लड्न सक्थ्यो र?

उसले निर्णय गऱ्यो, ‘बरू पत्रकारिता छोड्छु, म कुहिन्न।’

कमसेकम अनिललाई कोही पनि इमान्दार मानिस दलालहरूको समाजमा टिक्न सक्तैन भन्ने कुरा थाहा छ।

जुन दिन हाउसमा थियो र कुनै पेजमा उसको समाचार थियो, त्यो दिनसम्म मात्र उ सबैको पत्रकार थियो। जुन दिन उ यो पेसाबाट निस्कियो, उ सारा शुभचिन्तकको मनबाट पनि निस्कियो।

उ न त गोजीबाट लाखौं निकालेर पत्रकारको हातमा थमाउने नेतासित लड्न सक्यो, न त यस्तो लेनदेनले निर्माण गर्ने समाजको चिन्ताले नै मर्न सक्यो।

पत्रकारहरू चरम आर्थिक अभावमा छन्, किन भने उसको हाउस बलियो छैन। हाउस बलियो छ तर गाँठ बलियो छैन। जब घरबाट रित्तो गोजी कुनै पत्रकार बजार निस्कन्छ र डम्बरचोकमा उभेर सबैको अनुहार एकपल्ट हेर्छ, अनिललाई उ सिकारको खोजमा निस्किएको भोका गधाबाहेक केही लाग्दैन।

अनिललाई लाग्छ, जुन पेसा उसको लागि नै होइन, जसलाई पत्रकारिताबारेको सामान्य ज्ञान नै छैन, उ बजारका चल्तीका पत्रकार छन्। किन भने उ नेतालाई रिझाउँछ, हाइलाइट गरेर समाचार, फोटो छाप्छ र बेलुकी उही नेतासित बसेर वियर पिउँछ, आँखै अघि पत्रकारको यो दुर्गति देखेपछि अनिल के गरोस्?

राम्रै भो, अनिल अहिले पत्रकारितामा छैन।

होइन, राम्रो भएन, किन भने अनिल तेलैजाजस्तो विचारशील मानिस पत्रकारितामा छैन।

पत्रकारिताले अनिल गुमायो कि अनिलले पत्रकारिता गुमायो।

जे होस, अनिलले आफ्नो बाटो घुमायो।

अहिले घरैमा बसेर जीविकोपार्जनको आफ्नै बाटो खोजिरहेको अनिल तेलैजासित पत्रकारिताबारे गरिएको छोटो कुराकानी यहाँ राखेका छौ- सम्पादक।


संवाद

पैसा खोज्नेहरूले पत्रकारिता गर्दैननः अनिल तेलैजा


पत्रकारिता छोडेपछिको अनुभव कस्तो छ?

म जीवनलाई च्याप्टो राख्न नसक्ने मान्छे। पत्रकारिता गर्न अघि यस्ता धेरै काम गरियो जसले जीवनलाई केही न केही शिक्षा दिएर गयो। पत्रकारिता पनि यही हाँचमा पर्छ। पत्रकारिता छोड़ेपछि जीवनलाई सार्वजनिकदेखि हटाएर परिवारिक-मा रूपान्तर गर्ने प्रयासमा छु। तर जहाँ गए पनि स्वतन्त्र विचारले समाउने ठाँउ खोज्न गाह्रो कुरा रहेछ। म त्यही गाह्रो बाँचिरहेको छु।

किन आइएको थियो, पत्रकारितामा?

केही लेख्न सक्छु जस्तो लाग्थ्यो निर्धक्क। केही बोल्ऩ सक्छु जस्तो लाग्थ्यो सत्य। यसको निम्ति सही ठाउँ पत्रकारिता नै लाग्यो।

जे सोचेर आइएको थियो, त्यही रहेछ त पत्रकारितामा?

खाने मुखलाई जुङ्गाले छेक्दैन। हरेक क्षेत्रमा चुनौती उस्तै छ। फरक यति हो त्यो चुनैतीलाई पार गर्ने तिमीसित हिम्मत, ज्ञान र इच्छा शक्ति कत्ति छ, यसैले फरक पार्छ।

यताका नेपाली पत्रकारिताका समसयाहरू के कस्ता रहेछन त?

भारतेली नेपाली पत्रकारिताको मुख्य समस्या भनेकै जड मानसिकता हो। समायानुकूल परिवर्तन नहुनु र पुरानै परिपाटीमा बसिरहनाले यसले आमपाठकबाट मात्रै होइन पत्रकारिता गर्न चहाने नयाँ पिँढीबाट पनि आकर्षण हराइरहेको स्थिति छ।

सबैले भन्छ नेपाली पत्रकारितामा पैसा छैन। म भन्छु पैसा खेज्नेहरूले पत्रकारिता गर्दैन। पत्रकारिता दायित्व हो। सामाजिक धर्म हो। स्वंयलाई समाज, देश र मानवताको निम्ति उपयोगी सावित गर्ने मञ्चहरूमा पत्रकारिता पनि पर्छ। यहाँ आएर पैसा र पावरको मात्रै मोह पाल्नेहरूले पत्रकारिता गर्न गर्न सक्दैन।

पत्रकारिता एउटा सृर्जनात्मक फाँट हो। यहाँ इच्छा मात्रले केही हुन्न। आफूमा समाचार र घटनालाई हेर्न सक्ने क्षमता पनि हुनु पऱ्यो। तर दुर्भाग्य त्यही छ। पावर र पैसाको मोहमा पत्रकारिता गर्ने जमातले भारतेली नेपाली पत्रकारिता ढाकेको छ। उनीहरूबाट भइरहेको पत्रकारिताबाट अब के आशा गर्ने?

कोही राजनैतिक दलको पदमा बस्ने र पत्रकारिता गर्ने, कोही कुनै सङ्घ संस्थाको पदमा बसेर उनै संस्थाको सुविधा अनुरूप समाचार लेख्ने, कोही व्यापार गर्ने र व्यापारिक नाफा नोक्सान हेरेर समचार बनाउन लगाउने।

पत्रकारिता नभएर चाटुकारिता भारतेली नेपाली पत्रकारिताको अनुहार हुन लागेको स्थिति छ। यसैमाथि भलिबलमा गोल हाल्नेहरूलाई खेल मन्त्री बनाए झैं हाम्रा नेपाली पत्रकारिताको आगुवाई गर्नेहरूको स्थिति छ। 105 दिनको लगतार बन्दले जनजीवन स्त व्यस्त छ, विश्व जल सङ्कट र पर्वावरणमाथि सम्पादकीय छाप्छन हाम्रा सम्पादकहरू।

यो स्थितिलाई के भन्ने।

सुध्रिएला त यो पत्रकारिता?

दुइ चार राम्राले केही हुन्न। यो सिस्टममा परिवर्तन जरूरी छ। हाल सोसल मिडियाको आमपाठकमा बढ्दै गरेको विश्वासनीयताले भने केही उर्जा दिन्छ।

पत्रकारिता गर्दाबेलाका त्यस्तो कुनै घटना, जो मनमा गाडिएको छ।

कालेबुड पीएचईका अभियन्ता अनिल छेत्रीले उनकै अफिसमा बोलाएर गर्नु गाली गरे। विश्व जलदिवसको दिन किन कालेबुङ नगरपालिकामा पानि छैन? भनेर समाचार लेख्यो भनेर। अब पानी नआएको हप्ता- पन्ध्र दिन भइसकेको थियो। यस्तोमा आज विश्वजल दिवस हो, भनेर पानी आयो भनेर, कसरी समाचार लेख्नु?

हुन त उनले त्यो दिन ठूलै कार्यक्रम गरेका थिए। स्कूले नानीहरूलाई पानीको महत्वमाथि चित्र पनि बनाउन लगाएका थिए। तर पानी चित्र बनाउँदा आउने कुरा होइन। हामी कार्यक्रममा पुगेका पत्रकार साथीहरूलाई बढ़ो मानसित चिया खाजा पनि खुवाएका थिए। उनले मलाई पनि चिया खाजा मै भुलिए भनेर ठानेछन्।

भोलीपल्ट समाचार पढ्दा उनी आत्तिए। दुइ चार गाली उनले गरे, थप मैले। त्यसपछि उनले मलाई सोझो नजरले कहिले हेरेनन्। कालेबुडको पत्रकारिता कुन पानीमा बग्दो रहेछ, त्यसपछि विस्तारै थाहा पाउदै गएँ।

पत्रकारिता गरेर जीवन धान्न किन सकिएन?

उसो त जीवन नै धान्ने हो भने केही नगरे पनि पुग्छ। एक पेट त कागले पनि भर्छ। जीवन धान्न पत्रकारिता गरिनँ अनि जीवन धान्न सकिन्न रहेछ भनेर सक्रिय पत्रकारिता छोड़ेको पनि होइन। पत्रकारिता गर्ने माहोल नै भएन यसैले छोड़ें।

हाउस र पत्रकारबीचको समस्या कस्तो हुँदोरहेछ?

हाउसले सबैभन्दा पहिला व्यापार हेर्दोरहेछ। त्यसपछि हाउससित चाटुकारिता गर्ने मान्छे। यता पत्रकारहरू स्वतन्त्र पत्रकारिता गर्न चाहन्छन्। अनि समस्या त्यहीँ जन्मिन्छ। पत्रिका निकाल्नु, त्यो पनि नेपाली पत्रिका, गाह्रो कुरा हो।

यो गाह्रोसितै पत्राकारिताको नीति र सिद्धान्तमा अडिग रहेर काम गर्नु पनि अर्को गाह्रो कुरा हो। यसैले पत्रकारिता र पत्रिकाको व्यापारलाई नितान्त फरक सोच्न सक्ने हाउस आजको आवश्यकता हो।

पत्रकारहरूको समस्या के रहेछ?

पत्रकारको समस्या दुइ थरीका छन्। एउटा कम वेतन अर्को कम ज्ञान। भारतेली नेपाली पत्रकारिता रिपोर्टरदेखि टिपोटरमा रूपान्तर हुनलागेको स्थिति छ। जसले जे भन्छ, लेखिदियो भइ गयो पत्रकारिता। किन भन्यो ,कसरी भन्यो, कुन अवस्थामा भन्यो, यसभन्दा अघि के भनेको थियो भन्ने जस्त प्रश्नहरूको उत्तर खोज्दैनन् नेपाली पत्रकारहरू।

हाइवेमा धुलो उडेको समाचार पनि सूत्रद्वारा थाहा पाउने पत्रकारहरू छन्। के भन्ने। अर्कोतिर जो साच्चै मनबाटै पत्रकारिता गरिरहेको छन् उनीहरूलाई आर्थिक समस्या छ। तर पत्रकारिता पैसा कमाउने काम होइन भन्ने सत्य उनीहरूलाई नपच्न सक्छ।


तस्वीर

अनिलको संसार

उद्घोषणा गर्दै

गायक र पत्रकार साथीहरूसित

छोरी प्राप्तीसित

पत्रकारहरूसित रमाइलो गर्दै

सुमन राई (पत्नी) प्राप्ति छोरी-सित

अनिलको परिवार

सेवा-सहयोगमा

जीवन गाँस्दै सुमनसित
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares