कवि नोर्जाङ स्याङ्देनको ‘फजल’ कन्फेसन

भूमिका

मैले त अझै पनि गजलको नाममा फजल लेख्दै आइरहेको थिएँछु

नोर्जाङ स्याङदेन


साहित्यका सबै विधासँगसँगै मलाई गजल पनि मनपर्थ्यो। हिन्दी पत्रिका, समाचारपत्र आदिमा देखापर्ने गजलको आस्वादन स्कूले बेलादेखि नै मैले लिँदै आएको हुँ। उर्दू शब्दको बहुल प्रयोग भएका कतिवटा गजलहरू भावले नबुझे तापनि त्यसमा निहित लय र माधुर्यले गर्दा मलाई गजल पढ़्न मनपर्थ्यो। सन् 1970 सालमा म दशौँ श्रेणीको छात्र थिएँ। स्येण्ट राँबटर्स् उच्चतर विद्यालयमा।

त्यसबेलातिरै हो हाम्रा एकजना मुस्लिम शिक्षक यासिन सरले विश्वकवि रवीन्द्रनाथ टेगोरका कवितालाई उर्दूमा उल्था गरेका थिए जुन कविता स्कूलकै वार्षिक पत्रिकामा छापिएको थियो। उर्दूमा अनूदित त्यो कविता मैले कण्ठस्थ गरी यताउता सुनाइहिँड़्थेँ। लाग्छ मेरो मोह गजलप्रति पलाएको त्यतिबेलादेखि नै हो।

सन् 2000 सालदेखि यता मैले पनि गजल लेख्दै आएँ। गजलमा अन्त्यानुप्रास मिलेको हुनुपर्छ भनेर मैले जानेको त्यति थियो, जुन गलत रहेछ। सन् 2003 सालमा ‘तेस्रो नेपाल-भारत नेपाली लेखक सम्मेलन’ नामक कार्यक्रममा भाग लिन दार्जीलिङबाट वाराणसी जाने दलमा म पनि एउटा थिएँ। उक्त कार्यक्रमअन्तर्गत कवि गोष्ठीमा मैले पनि एउटा गजल पाठ गरेँ।

ऐले बुझ्दा त्यो गजल फजल थिएछ। कार्यक्रमपछि भएको चियाचमेनामा एकजना साहित्यिक सज्जनसित बातचित भयो मेरो। सो वार्तालापबाट गजलको सैद्धान्तिक पक्ष, इतिहास एवम् समकालीन गतिविधि आदिबारे मलाई केही पनि ज्ञान नभएको कुरा उक्त सज्जनलाई थाह भइहाल्यो। आफू बसेका होटलको कोठामा उहाँले मलाई लैजानुभो अनि तीन/चारवटा मंजुषा नामका पत्रिकाहरू मेरो हातमा थमाउँदै भन्नुभो- ‘‘लिनुहोस् यो पढ़्नुहोला, तपाईंलाई काम आउँछ।’

केही बेरपछि थाहा भयो उहाँ त प्रख्यात गजलकार ज्ञानुवाकर पौडेल पो हुनुहुँदोरहेछ। भेटी खुशी लाग्यो अनि बिस्मात् पनि। दार्जीलिङ फर्किएपछि मैले ती पत्रिकाहरू समय दिएर पढ़्न थालेँ अनि जति बुझ्दै गएँ आफूलाई त्यति नै ग्लानि भएको अनुभूत गरेँ। बहरविहीन गजलमात्रै पनि रच्न दुरूह कुरा रहेछ झन् बहर आधारित गजल त कोशौँ टाढ़ाको बात।

सन् 2010 सालतिरको यस्तै मार्च/अप्रेल महिनातिर भाइ कवि विमल राईबाट मलाई सौगातमा नेपालबाट प्रकाशित गजलविषय पत्रिका पल्लव 13 प्राप्त भएको थियो। त्यो पत्रिकाले पनि मलाई गजलको दुनियाँ हेर्न, बुझ्न धेरै सहयोग गऱ्यो। गजलमा मिसरा-ए-उला, मिसरा-ए-सानी, काफिया, रदीफ, मतला, मकता, तखल्लुस भन्ने तत्त्वहरू हुँदारहेछन्।

यी तत्त्वहरूले नै गजललाई गीत र कविताबाट फरक बनाई गजलको छुट्टै चिन्हारी स्थापित गर्दारहेछ। सैद्धान्तिक रूपले गजल निकै कठिन र अनुशासित विधा हो अरे। गजल बहरमा लेखिँदारहेछन्। बहर भनेको छन्द अरे। स्कूलमा एघाह्रौँ श्रेणीको पाठ्यपुस्तकमा छन्द भन्ने त पढ़ेको हुँ केही। तर छन्दलाई पहिल्याएर कविता लेख्नुजस्तै बहरमा गजल लेख्नु गाह्रै काम हुँदोरहेछ। सकेसम्म गजल शास्त्रीय बहरमा लेखेको उत्तम अरे। शास्त्रीय बहरमा सकेन भने मात्रिक छन्दमा रच्नु अरे। मात्रिक छन्दमा पनि सकेन भने स्वनिर्मित छन्दमा स्वर समता मिलाएर लेख्नु अरे। किनभने लयबिनाको शेर हुँदैन अरे।

गजलविषय पढ़्दै जाँदा यो पनि बुझियो कि काफिया, रदीफको उचित प्रयोगले मात्र गजल गजल नहुँदोरहेछ। गजललाई गजल बन्ना आन्तरिक तत्त्वहरू चाहिन्छन् अरे। जस्तै, 1) अन्दाज-ए-बयाँ (अभिव्यक्ति कौशल), 2) तासिर (प्रभावकारिता), 3) कलाम-ए-मौजूँ (लयात्मकता), 4) तगज्जुल (चोटिलो र चमत्कारपूर्ण उक्ति)। यी आन्तरिक तत्त्वहरूको अभावमा बाह्य संरचनाले सुगठित भएको गजलसमेत प्राणबिनाको अस्थिपञ्जर मात्र हुन्छ अरे।

विद्वान्हरूले भनेका रहेका छन् कि स्रष्टामा लयचेतना नभएसम्म छन्द सूत्रको ज्ञान निरर्थक हुन्छ अनि बहरबद्ध गजलहरू हेर्दा बहरमात्रै मिलाउनका लागि ती गजलहरू लेखिएका प्रतीत हुन्छ। मैले पनि प्रस्तुत सङ्ग्रहमा एउटा बहरबद्ध गजल समावेश गरेको छु जुन गजलभन्दा बढ़ी कविता बने भन्ने मलाई लागेको छ। बहरबद्ध गजल लेख्न मलाई चाहिँ गाह्रै पर्छ भन्ने एउटा व्यावहारिक प्रमाण पनि हो यो। यसै अन्य बहरविहीन गजलहरू पनि गजलै भएका छन् भनेर म दावी गर्न सक्तिनँ।

गजलविषय पढ़ेका पत्रिका आदिले मलाई धेरै ज्ञान दिएपछि अनि दर्जनभर गजलहरू प्रकाशित गराइसक्दापछि पनि म अझै पनि गजलको नाममा फजल लेख्दै आइरहेछु भन्ने ज्ञान मलाई तब मात्र भयो जब म आफ्ना प्रकाशित/अप्रकाशित गजलहरू लिएर भाइ कवि मिलन बान्तवाकहाँ डीटीपीका निम्ति गएँ। कति गजलहरू सरसर टाइपिङ भए तर कति गजलहरू मलाई देखाएर भाइले भन्नुहुन्थ्यो- ‘‘सर यो गजलमा कुन अंशलाई रदीफ भन्नु, कुनलाई काफिया। यहाँ अलिक मिलेको छैन।’

उदाहरण प्रस्तुत गर्नका लागि भाइले एक/दुईवटा हिन्दी गजल सङ्ग्रह निकालेर एक एक पृष्ठ पल्टाउँदै मलाई देखाए। म ट्वाल्ल परेर हेरिरहेँ। हो त गजल लेखनको त्यो विशेष क्षणमा अन्त्यानुप्रासमाथि मात्र ध्यान केन्द्रित हुने हुँदा काफियाको खयालै नगरिँदोरहेछ। मिलन बान्तवा भाइ स्वयम् एक कवि/गजलकार। मैले उहाँका कुरालाई विश्वासले लिएँ अनि हामी लाग्यौँ गजलमा रदीफ र काफिया मिलाउन। त्यतिखेरै भाइले मिलाइदिए कति अनि कति म आफैले।

काफियादोषयुक्त गजलहरूलाई घरमा ल्याएर धेरै मेहनत गरी मैले दोषहरू हटाएँ। परिमार्जित गजल पुनः टाइप भए अनि केही नयाँ गजलहरू पनि थपेँ। गजलको आधार आनुप्रासिकता, लयात्मकता अनि छन्द/बहर मात्रा भएकोले गजलकारले छानेर, तौलेर, वर्ण गनेर शब्द राख्ने गर्दछन्। कुनै पनि शब्दका पर्यायवाची शब्द अनेक हुन्छन् तर गजलको संरचनामा कुनै एउटा शब्दको आनुप्रासिकता, लयात्मकता अनि मात्रा हेरेर मात्र प्रयोग गरिने हुन्छ। यही आधारमा मोतीराम भट्टलाई उर्दू, हिन्दी शब्द चलाएछन् भनेर आलोचना गर्न सक्तैनौँ। उनको यो विवशता बहरको जरूरत हो। आनुप्रासिकता र लयात्मकता ध्वनिको माग हो। म पनि अपवाद रहिनँ यसमा।

मान्नैपर्छ, अभ्यासकाल अथवा प्रारम्भिककालमा रचिएका गजलहरूले गजलको सम्पूर्ण परिधानमा सजिएर गजक्क बस्न सक्तैनन्। केही कमी, केही अपुग त अवश्य हुन्छ नै। तथापि यस्तै उस्तै गजलहरूलाई एउटा किताबमा बाँधी तपाईं विज्ञ पाठकसमक्ष प्रस्तुत गरेको हुँ।

कुनै गजलकारले भनेका रहेछन्-

गजल में बन्दिशे अल्फाज ही काफी नहीं

जिगर का खून भी चाहिए कुछ असर के लिए।

(गजल रच्नुको लागि शब्दहरूलाई नियमपूर्वक बाँध्नुमात्र पर्याप्त हुँदैन। गजललाई प्रभावकारी, चोटिला अनि मर्मस्पर्शी बनाउनलाई आफ्नो शरीरको खून पनि चाहिन्छ।)

जिगरका खून भनेको जीवनको दुःखसुखको भोगाइ हो, सङ्घर्ष हो, जीवन बाटोमा ठेसहरू खाएर लरखरिएको अनुभव हो। अब यस्ता भोगाइ, जीवाइका भारी अनुभवहरूलाई लयात्मक, चोटिला, प्रभावकारी शब्दशैलीमा सही बाह्य संरचनासित सिर्जना गरिएको गजलले हलचल त ल्याउने नै हो। गजलको मानमर्यादा उकास्ने नै हो। बस् यो लक्ष्य केन्द्र गरेर हाम्रो गजल सिर्जनाको यात्रा रहोस् सबैसित।

 


नोर्जाङ स्याङदेनका केही गजलहरू


1.

नयाँ कुरो होइन मान्छेको हत्या, कति गर्दन छाँटेको देखियो

थप कीर्ति शहरको, भरी बजारमा भवन काटेको देखियो

 

पक्ष विपक्ष हुन्छ जहीँ जेमा पनि, अचम्म यो शहरमा

लक्ष्य एउटै छ, लक्ष्य राख्नेहरू आपसमा फाटेको देखियो

 

जसले मह काढ़्छ उसले हात चाट्छ, मान्नै पर्छ हामीले

जिन्दाबाद कहिले मुर्दाबाद दुवैतिर हात चाटेको देखियो

 

राजनीति हो तप गरिन्छ, वरदानमा सत्ता शक्ति पाइन्छ

यै शहरको एउटा शक्ति उटपट्याङ मातेको देखियो

 

अनाथ होइन यो शहर, थिए यिनका पनि राजदरबार, वंश

कुन विवशताले हो कुन्नि सस्तोमै साटेको देखियो

 

कसलाई आफ्नो भन्नु कहाँ विश्वास राख्नु यो शहरमा

जसलाई पुजियो मुटु राखेर उसैले आज ढाँटेको देखियो


2.

लहरमा उभेको छु कहिलेदेखि पालो पाउनु बाँकी नै छ

पर्खंदापर्खंदै युग बिते कति काम धाउनु बाँकी नै छ

 

बाटो दोबाटो छैनन् कुनै जहाँ पर्खिनँ मैले तिमीलाई

कति मोड़ आए जिन्दगीमा मञ्जिल आउनु बाँकी नै छ

 

प्रतीक्षामै बितेको दीर्घ अपेक्षा अझै पनि यो प्रतीक्षामै

कतै भुलेँ कि गीत त्यो स्वागतमा जुन गाउनु बाँकी नै छ

 

घामले डढ़ेँ कति झरीले भिजेँ उभिँदा यो लहरमा

कहाँ थियो छाना खै शिरमाथि खर छाउनु बाँकी नै छ

 

पाई पालो गइसके सब, कहाँ अलमलिस् ‘नोर्जाङ’ तँ

पाइनस् पालो भने सम्झी कि मुख बाउनु बाँकी नै छ


3.

घड़ी देवलको अचेल बन्द छ मेरो

पाइला सुस्त सास यसै मन्द छ मेरो

 

बाजी छ जोर, आबाद र बर्बादमाझ

छ कमजोर, आबाद अधिक कन्दछ मेरो

 

गजल मात्र होइन हर चीज बेसीप बेढङ्ग यो

जिन्दगी नै बेबहर बेछन्द छ मेरो

 

छन् खुशी मसँग पनि केही हजुर पाइएका

धेरै अरूका नि तर केही चन्द छ मेरो

 

नमरी जानु भो मलाई न नगरी खानु भो

जीवन मझधारमा छ जरासन्ध छ मेरो

 

के देखाउँला बाटो मलाई जमाना कपट

टेक्ने कदममै खाड़ल खन्दछ मेरो

 

निःशब्द छ मौसम अनि ‘नोर्जाङ’ मौन, मूक

बरू यो गजल रोई रोई हाल भन्दछ मेरो


4.

दुःखमा छु मलाई कहिल्यै सुख हुँदैन नसम्झनू

बाँच्दा कर्म गरिन्छ फल जसको फल्दैन नसम्झनू

 

अँध्यारोदेखि उज्यालोमा पुग्ने मार्ग छ खोजे धेरै

बाक्लै किन नहोस् पापको दाग धुइँदैन नसम्झनू

 

भारी बिसाई कसरी हुन्छ मृत्यु? राग तृष्णा बोक्नेहरू!

यो जिन्दगी सकेपछि फेरि अर्को हुँदैन नसम्झनू

 

दुःखमा पनि शान्ति सुख हुन्छ, सुखमा बरू नहोला

दुई दिने चोला जब, दुखसुख दुई तुर्दैन नसम्झनू

 

भरे भोलि भन्दाभन्दै हाल हुन्छ अकाल यसै

चाल् पाइला आजै मार्गतिर, भोलिले छुँदैन नसम्झनू

 

जन्म आफ्नो भाग्य हो, कर्म तर सधैँ स्वतन्त्र छ

आकाशमा पनि फुल्छ कमल त्यो फुल्दैन नसम्झनू


5.

उसलाई पनि एकचोटि यो ठाउँमा आऊ भन

बाँची हेरी जीवन हाम्रो आफै थाहा पाऊ भन

 

कस्ता हुन्छन् काँड़ाहरू, नाक ठोक्किने डाँड़ाहरू

हामीले झैँ हजार ठेस हर कदममा खाऊ भन

 

झुक्दो गर्दन खोक्रो जीवन बाँची हेरोस् हामीले झैँ

आधारातमा हामी जस्तै पँधेरा धाऊ भन

 

अभाव भर्दै कति रङ्ग उड़्छ गुलाब झैँ उमेरको

लामो लहर भाबरमुनि उभिन खड़ा जाऊ भन

 

मिठास खोज्न यो जिन्दगीमा मृगतृष्णा भने हुन्छ

सिर्पळ एकबार गीत खुशीको सके यहाँ गाऊ भन

 

वेळ आउँथे र कुनै देव अभाव अकालको यो ठाउँमा

सके डाँड़ा चढ़ी कुनै अग्लो, थान एउटा लाऊ भन


6.

केही भनूँ भन्दाभन्दै अड़्किगा’को बात छ

कतिपल्ट कुरा पोख्ने मरिगा’को आँट छ

 

नबढ़ा’को होइन मैले हृदयभरिका हात यी

जोड़्दाजोड़्दै कति मेरा चुँड़िगा’को साथ छ

 

ठूला ठूला अपराधमा जमाना नै मौन छ

मेरो सानु भूलमा भने लागिगा’को बात छ

 

हातमा मेरो हावाबाहेक अरू के पो पऱ्यो र

कि धेरैचोटि मेरो नाउँको खोसिगा’को भाग छ

 

इमानसित, वचनसित जीवन बाँच्दै आएँ, ज्यू!

लाटाजस्तो लुगा पनि लागिगा’को दाग छ

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares