रेसिडेन्सियल सर्टिफिकेटको लागि 1950 देखि यताको दस्तावेज बुझाउनुपर्ने फारमः मुख्यमन्त्रीले पुरानै नियम लागू गर्ने आश्वासन दिएको विनय तामाङको दाबी

दार्जीलिङः रेसिडेन्सियल सर्टिफिकेट अनि गोर्खा सर्टिफिकेट प्राप्त गर्नुमा जुन प्रकारले नयाँ प्रशासनिक मापदण्डहरू लागू भएको चर्चा विभिन्न सोसल साइटहरूमा भाइरल भइरहेको थियो उक्त विषयलाई लिएर गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनका अध्यक्ष विनय तामाङले मुख्यमन्त्री ममता व्यानर्जी अनि पश्चिम बङ्गालका मुख्यसचिवसित फोनवार्ता गरे।

उक्त फोन वार्ताको क्रममा जीटीए अध्यक्ष विनय तामाङले दार्जीलिङ महकुमा प्रशासनको तर्फबाट लागू गरिएको नयाँ नियम अनि मापदण्डहरूले दार्जीलिङ महकुमा क्षेत्रका गोर्खा युवा अनि मानिसहरूले धेरै दुःख अनि समस्याहरू भोग्नु परिरहेको  र अन्योलता सृजना भइरहेको मुख्यमन्त्रीलाई जनाए।

उक्त नयाँ नियम दार्जीलिङ जिल्लाको अन्य कुनै महकुमा क्षेत्रहरूमा लागू नभएर केवल दार्जीलिङ महकुमा क्षेत्रमा मात्रै लागू गरिएको पनि तामाङले मुख्यमन्त्रीलाई जनाए।

तामाङको उक्त कुरा सुनेपछि मुख्यमन्त्रीले दार्जीलिङ महकुमा क्षेत्रवासीको हित अनि सुविधाको निम्ति कुनै नयाँ नियम लागू नहुने  तथा जुन पुरानो प्रक्रिया थियो सोही प्रक्रिया लागू हुने आश्वस्त गराइन्।  पुरानो नियम भोलिदेखि नै लागू हुने पनि मुख्यमन्त्रीले जानकारी गराएको विनय तामाङले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

उल्लेख्य, दार्जीलिङ महकुमा क्षेत्रवासीहरूले रेसिडेन्सियल सर्टिफिकेट बनाउको निम्ति 1950 देखि यताको दस्तावेज बुझाउनुपर्ने तथा गोर्खा सर्टिफिकेटको लागि आफ्नो जात विशेषको लिपिमा आवेदन बुझाउनुपर्ने नयाँ नियम लागू गरिएको विभिन्न सोसल साइट अनि जनसाधारणमा भाइरल भएको थियो भने अब उप्रान्त आजको मुख्यमन्त्री अनि मुख्य सचिवको आधिकारिक घोषणापछि उक्त नयाँ नियम रद्द हुने सम्भावना रहेको छ।

यसको निम्ति गोर्खा जातिको तर्फबाट मुख्यमन्त्री ममता व्यानर्जी र मुख्य सचिव डा. मलय कुमार देलाई अध्यक्ष विनय तामाङले कृतज्ञता प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन