एसएफआई विश्‍वविद्यालयको निम्ति आन्दोलन गर्दै

दार्जीलिङ, 8 नोभेम्बर।


माकपाको विद्यार्थी सङ्गठन एसएफआई दार्जीलिङका विद्यार्थीहरूका विविध समस्यासँगै दार्जीलिङमा विश्‍वविद्यालय निर्माण गर्ने माग लिएर आन्दोलन गर्ने कार्यक्रम बनाएको छ। यसैको जानकारी गराउँदै अल इण्डिया एसएफआईका महासचिव मयुक विश्‍वासले यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरेर भने-दार्जीलिङ पहाड़मा विश्‍वविद्यालय नभएको कारण यहाँका विद्यार्थीहरूले उच्च शिक्षक ग्रहण गर्न धेरै असुविधा झेल्न परिरहेका छन्, यसैले दार्जीलिङ पहाड़का विद्यार्थीहरूलाई उचित सुविधा प्रदान गर्नको लागि पहाड़मानै एउटा विश्‍वविद्यालय निर्माण गर्न आवश्यक छ।

यसको लागि एसएफआईले केन्द्रिय मानव संशाधन विकास मन्त्रालयसँगै सम्बन्धित विभागलाई पत्राचार गर्ने साथै आन्दोलननै गर्ने योजना बनाइएको विश्‍वासले बताए। उनले दार्जीलिङ पहाड़मा केन्द्रिय विश्‍वविद्यालय अहिलेसम्म निर्माण हुन नसक्नुमा केन्द्रको वर्तमान भाजपा सरकार पनि जिम्मेवार रहेको आरोप लगाउँदै शिक्षाको क्षेत्रमा केन्द्र सरकारले बजेट घटाएको विरूद्ध पनि संघर्ष गर्ने चेताउनी दिए।

उनले राज्यका अन्य क्षेत्रसँगै दार्जीलिङ पहाड़मा पनि स्कूलहरूले विद्यार्थीहरूबाट अत्यधिक मासिक शुल्क असुल गरिरहेको पनि आरोप लगाउँदै यस विरूद्ध पनि आन्दोलन गर्ने चेताउनी दिए। उनले भने-पहाड़का स्कूलहरूले वर्षेनीनै विद्यार्थीहरूको शुल्कमा बढ़ोत्तरी गरिरहेका छन्, जसको फलस्वरूप विपन्न परिवारका अभिभावकवर्गलाई आफ्ना छोरा-छोरी पढ़ाउन धेरै समस्या परिरहेको छ।

यसैले पहाड़का प्रत्येक स्कूलले मासिक शुल्क घटाउनैपर्छ, उनले माग गरे। यसरीनै गत 6 नोभेम्बरको दिन एसएफआईको सम्मेलन सिलगढ़ीको कञ्चनजंघा स्टेडियममा आयोजना भएको जानकारी गराउँदै उक्त सम्मेलनमानै एसएफआई दार्जीलिङ जिल्ला कमिटीको गठन गरिएको एसएफआई नेता सागर शर्माले बताए। उनले पनि उक्त सम्मेलनमा दार्जीलिङ पहाड़का विद्यार्थीहरूले भोगिरहेका विविध समस्याबारे पनि व्यापक चर्चा-परिचर्चा भएको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन