चालक महासङ्घ पनि विनय-अनित समुहमाः चालकहरूको समस्या समाधान गर्छौँ-अनित थापा

कालेबुङः कालेबुङ चालक महासङ्घ विनय-अनित समूहमा समावेश भएको छ। चालक महासङ्घको कार्यालयमा जिटीए बोर्ड अफ एडमिनिष्ट्रेशनका भाइस चेयरम्यान अनित थापाले उपस्थिति दिँदै महासङ्घलाई आफ्नो समूहलाई समर्थन गरेकोमा आभार जनाए।

‘हामी चालकहरूको सङ्घहरूलाई आफ्नो विचार थोप्दैनौं, चालकहरूलाई आन्दोलन अवधि पनि गाह्रो थियो, आन्दोलन सकेर पनि गाह्रोमा छन्,’ चालकहरूलाई सम्बोधन गर्दै थापाले भने, ‘यी सबै समस्याको सामाधानको निम्ति लालकोठीमा चेयरम्यानसित बैठक गर्नेछु। हामी शीघ्र नै चालकहरूको सम्पूर्ण समसयाको सामाधान गर्नेछौँ।’

उनले चालकहरूलाई जिटीएको ट्रान्सपोर्ट विभागमा लिखित गुनासो दर्ता गर्ने सुझाव पनि दिए। उनले आफूहरूले आन्दोलन गर्ने तरिकाको विरोध गरेको तर गोर्खाल्याण्डको विरोध नगरेको भन्दै जनतालाई बुझाउन समय लागे पनि अहिले सबैले कुरा बुझेर आफूहरूलाई समर्थन गरिरहेकोमा हर्ष व्यक्त गरे।

यता चालक महासङ्घका अध्यक्ष महेन्द्र गुरूङले आज विनय-अनित समुहमा चालक महासङ्घ अन्तर्गत 62 वटा सङ्गठनले समर्थन गरेको बताएका छन्।

‘पहाडमा जुनै पार्टी सत्तामा आउँछ, उसैलाई समर्थन गर्ने निर्णय महासङ्घले पहिलेबाट नै लिएको हो,’ गुरूङले भने, ‘त्यसै कारण आज महासङ्घ अन्तर्गत 62 सङ्गठनले समर्थन गरेको हो।’

जिटीए भाइस चेयरम्यानलाई महासङ्घले आज चालकहरूको विविध समस्याबारे 12 बुँदे ज्ञापन चढाएको पनि बताए। ज्ञापनमा महासङ्घ कार्यालय नजिक एक सभाकक्ष निर्माण, नोभेल्टी नजिकको थाँतीमा रहेको मोटर स्ट्याण्ड पूरा गरिदिने, प्राइभेट नम्बर ट्याक्सीहरूलाई ट्याक्सी नम्बर उपलब्ध गराइदिने, २०१२ देखि सरकारी रेटमा चलिरहेको गाड़ी भत्तामा बृद्धि, जिटीए क्षेत्रका कार्यालयहरूमा चालकहरूलाई नियुक्ति प्रदान गरिनुपर्ने, चालकहरूलाई मेडिकल भत्ता, चालकका अब्बल दर्जामा उत्तीर्ण नानीहरूलाई भत्ता, सुव्यवस्थित पार्किङ, पेदोङ, अलगड़ा, गोरुबथानका वाहनहरूका लागि स्ट्याण्ड, यातायात विभागको समितिमा महासङ्घको प्रतिनिधि राखिनुपर्नेजस्ता मागहरू ज्ञापनमा उल्लेख गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन