हिल डेभलोपमेन्ट काउन्सिलको विरोधः गोरामुमो जनताले डस्टबिनमा फ्याँकेको टिस्यु हो-गोर्खालीग

खरसाङ, ८ नोभेम्बर: पश्चिम बङ्गालको मन्त्री मण्डलद्वारा दार्जीलिङ हिल डेभलोपमेन्ट काउन्सिलको सिफारिस गरेको र यसको अध्यक्ष मन घिसिङ र उपाध्यक्ष महेन्द्र छेत्री रहेको कुराले पहाडको राजनीतिक हावा निक्कै तताएको छ।

विशेष गरी सोसल मिडियामा यो खबरले निकै जोड पक्रेको छ। यसै विषयमा अखिल भारतीय गोर्खा लीगको पक्षमा सभापति एसके प्रधान र प्रवक्ता एंव साङ्गठानिक सचिव सुदर्शन राईले खरसाङमा पत्रकार सम्मेलन डाकेर दार्जीलिङ हिल डेभलोपमेन्ट काउन्सिलको विरोध गरेका छन्।

दुवैले गोर्खाल्याण्डबाहेक जुनै व्यवस्था भएपनि गोर्खा लीगले विरोध गर्ने बताउँदै जीटीए बोर्डको विरोधमा पनि भारतको गृहमन्त्रीलाई पत्रचार गरेको अनि दार्जीलिङ हिल डेभलोपमेन्ट काउन्सिलको पनि विरोध गर्दै एक साताभित्र नै गृहमन्त्रीलाई लीगले पत्रचार गर्ने उनीहरूले बताएका छन्।

‘जसले यस्तो व्यवस्थामा सहमति जनाउँछन्, उनीहरू सबै जाति र माटो विरोधी हुन्। पहाडको कुनै पनि राजनीतिक दलले यस्ता अन्तरिम व्यवस्थालाई स्वीकार गर्छ, उनीहरूलाई पहाडबाट खेदाउनुपर्छ,’ एसके प्रधानले खबरम्यागजिनसित भने, ‘गोर्खा जातिको जनाकांक्षा पूरा हुनुपर्छ यसलाई बेचेर खानु दिनु हुँदैन। गोर्खाल्याण्डको आन्दोलनलाई सरकारसित बेचेर खाने दलालहरूलाई सम्पूर्ण गोर्खाले जवाब दिनु पर्छ।’

अभागोली सभापति एसके प्रधानले गोरामुमोले जीटीए बोर्डको सदस्य स्वीकार नगर्ने तर दार्जीलिङ हिल डेभलोपमेन्ट काउन्सिलको स्वीकार गर्नुले गोरामुमोको असलियत थाहा लागेको पनि उनले बताए। ‘अब जनताले बुझ्न पर्छ, को साँचो गोर्खाल्याण्डप्रेमी र को झूटो नेता हो,’ उनले भने, ‘गोर्खा लीगले दागोपापको चौकीमा राल चुहाएको भए त्यतिबेला नै चौकीमा हुने थियो तर मदन तामाङले सिद्धान्तको राजनीति गरेको कारण गोर्खालीगले जनताको आकांक्षा पूरा गर्न त्यो प्रस्तावलाई अस्वीकार गरेको थियो। पहाडका नेताहरूले साँचो रूपमा गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्न चाहान्छन् भने सबैले चौकी छोड्नुपर्छ।’

प्रवक्ता एंव साङ्गठानिक सचिव सुदर्शन राईले लीगले गोरामुमो र गोजमुमोको कर्तुत जनतामा ल्याउन दार्जीलिङमा जनसभा गर्ने कोशिश गरे पनि प्रशासनले अनुमति नदिएको जनाए।

‘बिनय तामाङ र अनित थापाले गरिरहेको सरकार पक्षको दलाली जस्तै गोरामुमोले पनि गर्दैछ। यसको शुरूवात गत २९ अगस्तदेखि भएको थियो, जतिबेला वार्ताको लागि गोरमुमोले ममतालाई पत्र लेखेको थियो। मुख्यमन्त्रीले त्यो पत्रलाई आन्दोलन बिथोल्ने माध्यम बनाइन्,’ प्रधानले भने, ‘पत्रपछि गोरामुमोको उद्देश्य उदाङ्गो भएको हो। यसले गोरामुमोलाई ड्यामेज गरे पनि गोरामुमो प्रवक्ता एंव अधिवक्ता निरज जिम्बाले ढाकछोप गरे।’

प्रधानले गोरामुमोले  १९८६, २००५ र यसपाली २०१७ मा राज्य सरकारलाई पत्रचार गरेर विष पिएको पनि बताए। ‘गोरामुमो पार्टी भनेको डस्टबिनमा फ्याँकेको टिस्यु हो, जनताले फ्याँकेको टिस्यु अब फेरि प्रयोगमा आउन सक्दैन,’ राईले भने, ‘गोरामुमो काम लाग्दैन भन्ने कुरा यसपल्ट पनि पुष्टि भयो। गोरामुमो इमान्दार छ भने गोर्खाल्याण्डको प्रस्ताव पारित गरोस्।

दुवैले दार्जीलिङ हिल डेभलोपमेन्ट काउन्सिलको निर्णय अनुसार पहाडमा लागु हुन्छ र गोरामुमोले यसलाई स्वीकार गर्छ भने अखिल भारतीय गोर्खा लीगले घोर बिरोध गर्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन