बङ्गालसित मिलेर नै जीटीए चलाउने अनितको घोषणा ‘कालेबुङ नगरपालिकाले पनि मिलर काम गर्ने सोच बनाइसकेको छ’

प्रज्ज्वल छेत्री, कालेबुङ:

ढाँटेर राजनीति नगर्ने

‘हामीले बङ्गालभित्रको व्यवस्था थापेका छौँ, बङ्गालसित मिलेर नै चलाउछौँ’-कालेबुङमा आयोजित पहिलो जनसभालाई सम्बोधन गर्दै जीटीए उपाध्यक्ष एवं मोर्चा नेता अनित थापाले भने, ‘हामी बङ्गालसित मिलेर नै जीटीए बोर्ड अफ् एडमिन्सट्रेसन चलाउँछौँ।’

आज विनय तामाङ पक्षको गोजमुमो कालेबुङ जिल्ला समितिको आयोजनामा कालेबुङ मोटरसट्याण्डमा पहिलो जनसभा थियो। करीब 5 हजार समर्थकहरू भेला भएको उक्त जनसभामा प्रमुख वक्ताका रूपमा रहेका अनित थापाले आफूहरूले ढाँटेर राजनीति नगर्ने भन्दै बङ्गाल सरकारसित मिलेर काम गर्ने अनि गोर्खाल्याण्ड आफ्नो आइडियोलोजी(विचारधारा) रहेको बताए।

त्रिलोक देवानसित सम्पर्कमाः हर्कबहादुरलाई मागे सुझाउ

अनित थापाले अहिले पूर्व मोर्चा नेता त्रिलोक देवानसित पनि सम्पर्क गरिरहेको खुलासा गरेका छन्। उनले गोर्खा जनमुक्ति मोर्चाले धेरै राम्रो मानिसहरू गुमाएको बताउँदै भने, ‘हर्कबहादुर सरको पनि तर्क मान्नैपर्छ। उनीसित पनि गुण छ। हामीले सुखमान मोक्तानलाई पनि भन्यौँ। हर्कबहादुर छेत्रीलाई पनि भन्छौँ, विचार सेयर गर्नुहोस्, सुझाउ दिनुहोस्।’

उनले त्रिलोक देवानसित पनि यसविषय कुराकानी भइरहेको बताए। यसबाहेक गोजमुमो कालेबुङ जिल्लाका संयोजक डा. आरबी भुजेललाई पनि अघि आइदिने आह्वान गर्दै भने, ‘आरबी सरले शुरूदेखि साथ दिनुभएको हो। साह्रो नचोच्नुहोस्, हिम्मत गर्नुहोस्। आगोको बेला सँगै हुनुहुन्थ्यो अहिले पानी भइसकेको छ।’

नगरपालिकाको पायो साथ

अहिलेसम्म अचल बसेको कालेबुङ नगरपालिकाले विनय-अनित पक्षलाई समर्थन गर्ने निर्णय गरेको छ। कालेबुङका 23 जना नगरपार्षद्मध्ये वरूण भुजेलको मृत्यु भइसकेको छ भने रहल 22 जना सभासद्हरू आफूहरूको पक्षमा आइसकेको आज अनित थापाले घोषणा गरे।

‘हिजो नगरपालिकाका अध्यक्ष-उपाध्यक्षसित बैठक भइसकेको छ, उनीहरूले पनि सरकारसित मिलेर काम गर्नुपर्छ भन्ने सोच बनाइसकेका छन्’-थापाले भने, ’22 जना नगरपार्षद्ले हामीलाई समर्थन दिइसकेका छन्।’ सम्भवतः भोलि उनीहरूले पत्रकार सम्मेलन डाकेर समर्थन जनाउने पनि थापाले बताए।

कालेबुङको पानीको समस्या समाधान गरिदिने

अनित थापाले कालेबुङको दीर्घमियादी पिउने पानीको समस्या समाधान गरिदिने वचन दिएका छन्। उनले चाँडै पिउन पानी सम्बन्धमा यहाँका सङ्घ-संस्था, राजनैतिक दल, विभाग आदिसित बैठक गर्नेछन्। सबैसित बसेर प्रोजेक्ट तयार गर्नेछन्। उक्त प्रोजेक्ट पूर्ण हुन डेढ-दुई वर्ष लाग्नसक्ने थापाले बताए।

कालेबुङले उन्मुक्ति पाएको छ

‘पहिले कालेबुङले जहिले गाली खान पर्थ्यो। कालेबुङले अहिले उन्मुक्ति पाएको छ’-थापाले भने ‘तपाईँहरू आफ्नो खुट्टामा आफै उभिनुहोस्।’ उनले पहिलेका मोर्चा नेताहरूले सँधै कालेबुङ आएर यहाँका नेताहरूलाई गाली गर्ने गरेको बताउँदै कालेबुङले उन्मुक्ति पाएको बताएका हुन्। विगतमा कालेबुङका नेताहरूलाई गाली दिने मात्र होइन यहाँका सभासद्हरूको क्षमता र शक्ति समेत छिन्ने काम भएको थापाले बताए।

तयार हुँदैछ गोर्खाल्याण्ड रिसर्च टीम

‘विनय तामाङले गोर्खाल्याण्डको लागि रिसर्च टीम बनाउँदैछन्’-थापाले भने, ‘भीड देख्नेबित्तिकै गोर्खाल्याण्ड भन्नु हुँदैन, दिमागको लडाईँ दिमागले नै गर्नुपर्छ।’ उनले गोर्खाल्याण्ड केवल शहीद बनाउने शब्द जस्तो मात्र भइरहेको बताए।

‘नजान्नेले गोर्खाल्याण्ड माग्दा यो गति भएको हो’-थापाले भने, ‘गोर्खाल्याण्ड मागेको 120 वर्ष भयो भन्दैछ अझ पनि जानेन भने यो समय अझ बढ्छ।’ उनले आफूहरूले पनि गोर्खाल्याण्ड माग्न नजान्ने भएको कारण नै अनुसन्धान दल बनाइरहेको बताए।

गोजमुमो केन्द्रीय समिति सदस्य नोर्देन लामाको अध्यक्षतामा सम्पन्न जनसभालाई कालेबुङ संयोजक सञ्चवीर सुब्बा, केन्द्रिय समिति सदस्य छिरिङ दाहाल, खण्ड-3 का संयोजक सन्दीप कुलुङ, व्यापारी सङ्गठनका एडी सिंह आदिले सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन