ज्योतिकुमारले पनि विनयलाई जनाए समर्थन, विमललाई धक्का

दार्जीलिङ, 9 नोभेम्बर।

गोर्खा जनमुक्ति मोर्चाका संस्थापक सदस्य एवं जीटीएका पूर्व सभासद ज्योतिकुमार राई पनि अन्ततः विनय-अनितपन्थी गोजमुमोमा सामेल भए। उनले दार्जीलिङ पहाड़मा गोर्खाल्यान्ड आन्दोलन हिंसात्मक  भएको कारणनै आफूले विमल गुरूङपन्थी गोजमुमो छोड़ेको बताए भने केन्द्र सरकारले गोर्खा जातिको लागि केही गर्छ कि भन्ने आशामा बसेको कारण यता आउन केही विलम्ब भएको बताए।

उनले भने-गोजमुमो अध्यक्ष विमल गुरूङको अगुवाईमा वर्ष 2007-मा गान्धीवादी र गणतान्त्रिक ढङ्गमा गोर्खाल्यान्डको आन्दोलन गर्ने उद्देश्यले गोजमुमोको गठन गरिएको थियो। यसैकारणनै मैले पनि यस पार्टीमा सामेल भएर गोर्खाल्यान्डको आन्दोलनमा सहभागिता जनाएको थिए, तर गत जून महीनादेखि शुरू भएको गोर्खाल्यान्ड आन्दोलन हिंसात्मक भयो, जसलाई म कुनै पनि स्थितिमा समर्थन गर्दिनँ। यसैले गोजमुमोका मुख्य समन्वयक विनय तामाङको नेतृत्वमा गणतान्त्रिक ढङ्गमा गोर्खाल्यान्डको आन्दोलन गर्ने सोंचलाई पूर्ण समर्थन जनाउँदै आजदेखि विनय तामाङको अगुवाईमा हुने आन्दोलनलाई साथ दिने निर्णय लिएको छु।

उनले अझै अघि भने-हिंसात्मक आन्दोलनले सफलता हात लाग्दैन, यो स्पष्ट छ। यसैकारण पनि यसपालीको गोर्खाल्यान्ड आन्दोलन विफल भएको हो। हिंसात्मक आन्दोलनको कारणनै गोर्खाल्यान्डको आन्दोलन गर्ने नेतृत्वहरू सड़कमा आउन सकेनन्। यति मात्रै होइन, पूर्व सभासद ज्योतिकुमार राईलाई केन्द्रको भाजपा सरकारले पनि गोर्खा जाति वा गोर्खाल्यान्डका आन्दोलनकारीहरूलाई महाधोका दिएको लागेको छ। यसैले उनले भने-केन्द्रको भाजपा सरकारमाथि ठूलो आशा थियो, यो सरकारले गोर्खा जातिलाई न्याय दिन्छ भन्ने आशा थियो। यसै आशाको फलस्वरूपनै पहाड़का जनताले दुइ-दुइपल्ट दार्जीलिङ लोकसभा आसनबाट भाजपाका उम्मेद्वारहरूलाई सांसद बनाएर संसद पठाएका हुन्। जसमध्ये 2014-मा सांसद बनेर गएका एसएस आहलुवालिया केन्द्रिय राज्यमन्त्रीनै बनेका छन्। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भनेर गोर्खा जातिलाई सपना देखाएकै हुन्। तर गोर्खाको सपना गोर्खाल्यान्डको लागि पहाड़मा 104 दिन बन्द हुँदा दार्जीलिङबाट सांसद बनेर केन्द्रिय मन्त्री बन्न पुगेका एसएस आहलुवालियाको पार्टी एक शब्द पनि बोलेन। यसैकारण मैले आज विनय तामाङपन्थी गोजमुमोमा सामेल हुने निर्णय लिएको हो।

नागरी-धजे समष्टिका पूर्व सभासद एव गोजमुमो अध्यक्ष विमल गुरूङका दाहिने हात मानिने ज्योतिकुमार राईले पनि गुरूङको साथ छोड़ेको विषयलाई पहाड़का जनताले गम्भीरतासित लिएका छन् अनि उनको यो निर्णयले गोजमुमो अध्यक्ष विमल गुरूङलाई गतिलै धक्का लागेको स्पष्ट छ। स्मरण गराइन्छ, यसअघि गोजमुमो केन्द्रिय समिति सदस्य दिवाकर गुरूङ, दावा लामा आदिले पनि विनय तामाङपन्थी गोजमुमोलाई समर्थन जनाइसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन