नारी मोर्चा केन्द्रिय कार्यालय उद्घाटन, आशा गुरूङलाई नारी मोर्चाबाट हटाइने

दार्जीलिङ, 9 नोभेम्बर।

गोर्खा जनमुक्ति मोर्चाले नारी मोर्चा प्रमुख आशा गुरूङलाई नारी मोर्चाबाट हटाउने निर्णय लिएको गोजमुमो कोर कमिटी सदस्य दिनेश गुरूङले जानकारी गराए।

आज यहाँको चौकबजारमा नारी मोर्चा केन्द्रिय कमिटीको कार्यालय उद्घाटन गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै दिनेश गुरूङले भने-प्रथमतः आशा गुरूङलाई कसले नारी मोर्चा प्रमुख बनाए, यसको जानकारी नारी मोर्चा सदस्यहरूलाईनै छैन। यसैले उनलाई अब शीघ्रै गठन हुने नारी मोर्चामा सामेल गरिनेछैन अर्थात उनलाई नारी मोर्चाबाट हटाइनेछ। उनले आज नारी मोर्चा केन्द्रिय समितिको कार्यालय उद्घाटन कार्यक्रममा पुरानो नारी मोर्चा केन्द्रिय समितिबाट 4 जना सदस्य उपस्थित रहेको जानकारी गराउँदै आजदेखि उनीहरूलाईनै नारी मोर्चा केन्द्रिय समितिको जिम्मेवारी दिइएको पनि बताए। जसमा क्रमैले निलम लामा, लक्ष्मी सुब्बा, मीरा ठकुरी अनि डुकलमु तामाङ सामेल थिए, यसैबीच आज केन्द्रिय समितिमा सुषमा तामाङलाई पनि सामेल गरिएको गुरूङले बताए।

एकतर्फ गोजमुमोका पार्टी कार्यालयहरू एकपछि अर्को गर्दै बन्द हुँदै गइरहेको छ अर्थात जिल्ला प्रशासनले अवैध घोषित गर्दै तालाबन्दी गरिरहेको छ। अर्कोतर्फ नयाँ पार्टी कार्यालय खोल्ने कार्य भइरहेको छ, तब के बन्द गरिएका कार्यालयहरू पनि खोल्ने पहल गर्नुहुन्छ? भन्ने प्रश्‍न गर्दा गोजमुमो कोर कमिटी सदस्य दिनेश गुरूङले भने-सिंहमारीको पार्टी कार्यालय पूर्णरूपले अवैध ढङ्गमा निर्माण गरिएको थियो, जसको कारण यस कार्यालयमा प्रशासनले तालाबन्दी गरेको हो। यसैले यसमाथि पार्टीलाई भन्नु केही छैन। यसबाहेक दार्जीलिङ बजार पोष्ट अफिसको माथिल्लो तलामा निर्माण भएको पार्टी कार्यालयबारे केही थाहा नै छैन।

यसका साथै उनले आज उद्घाटन भएको पार्टी कार्यालय पूर्णरूपले वैध र यसको भाड़ा दार्जीलिङ नगरपालिकालाई तिर्दै आइरहेको बताए। उनले भने-गोरामुमोको पालामा पनि यहाँ पार्टी कार्यालयनै थियो अनि 2007-मा यसलाई गोजमुमो टाउन कमिटीको कार्यालय बनाइएको थियो। अहिले पुनः यसलाई गोर्खा जनमुक्ति नारी मोर्चा केन्द्रिय कमिटीको कार्यालय बनाइएको हो। अब आज यस कार्यालय उद्घाटन कार्यक्रममा उपस्थित भएका नारी मोर्चा सदस्याहरूलाई शीघ्रै गोजमुमो केन्द्रिय समितिका मुख्य समन्वयक विनय तामाङ र अनित थापासित भेट गराएर कमिटीलाई अनुमोदन गराइनेछ।

उनले नारी मोर्चा केन्द्रिय समितिलाई अहिलेनै गठन नगरिएको जानकारी गराउँदै 19 नोभेम्बरअघिनै नारी मोर्चा केन्द्रिय समितिको गठन गर्ने योजना बनाइएको पनि गुरूङले बताए। स्मरण गराइन्छ, आगामी 19 नोभेम्बरको दिन गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङमा एक जनसभा गर्ने योजना बनाएको छ, जसमा विनय तामाङ, अनित थापा आदि मुख्य वक्ताका रूपमा उपस्थित रहने जानकारी पाइएको छ। यसैबीच, नारी मोर्चा केन्द्रिय समिति सदस्या मीरा ठकुरीसित सोध्दा उनले भने-पार्टीलाई सेवाको भावनाले सञ्चालन गर्नुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन