गोरामुमोको गाउँ निम्तो अभियान, पार्टीलाई बढ्दैछ जनसमर्थन

दार्जीलिङ, 10 नोभेम्बर।

गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-को गाउँ निम्तो अभियान तीव्ररूपमा अघि बढ़िरहेको छ। यसै क्रममा पार्टीले भोलि पुल-बिजनबारीअन्तर्गत कोलबुङमा एक जनसभाको आयोजना गर्ने चाँजो मिलाएको छ।

वर्तमानमा पार्टीका पुराना सदस्यहरूको पनि घर फर्किने अभियान जारी रहेको पार्टीका केन्द्रिय कार्यालय सचिव वाई. लामाले भने-गोरामुमोले आफै गाउँ पसेर राजनैतिक कार्यक्रम गरेको छैन, स्वयं गाउँले जनताले पार्टालाई निम्तो दिने कार्य गरिरहेका छन्। यसैले भोलि पार्टीको कार्यक्रम कोलबुङमा हुनेछ। यति मात्रै होइन, कालेबुङका जनताले पार्टीमा आउन अधिक चासो देखाइरहेको बताउँदै लामाले आज मात्रै कालेबुङका 8 वटा समष्टिबाट 200 भन्दा अधिक प्रतिनिधिहरू पार्टीमा सामेल हुन आएको बताए।

गोरामुमोमा सामेल हुन आएका पार्टी प्रतिनिधिहरूलाई नेतृत्व दिएर आएका कालेबुङ निवासी सेवास्टिन प्रधानसित सोध्दा उनले 1 वर्षको अवधिभित्र सम्पूर्ण कालेबुङ जिल्लामा गोरामुमो पार्टी 1 नम्बरको पार्टी बन्ने ठोकुवा गरे। उनले भने- “अहिले कालेबुङ जिल्लामा पुलिसमा मुद्दा हुनेहरू मात्रै जबर्जस्ती गोजमुमो वा तृणमूल कांग्रेसमा सामेल भइरहेका छन्। उनीहरू मनले  चाहेर गोजमुमो-2-मा गएका होइनन्। यसैले आज हामीले गाड़ीमा गोरामुमोको झण्डा लगाएर दार्जीलिङ आइरहेको समय धेरै जनताले हात हल्लाइरहेका थिए। यसबाट कालेबुङका साधारण जनताले अझै गोरामुमोलाई माया गर्छन् भन्ने स्पष्ट भएको छ।”

उनले छैटौं अनुसूचीको वकालत गर्दै भने-आप्पाको सपना छैटौं अनुसूची थियो र यसको लागि त्रिपक्षीय सम्झौता पनि भइसकेको छ। यसैले गोरामुमो पार्टीलाई दह्रिलो बनाउनको लागि जनताले यस पार्टीलाई साथ दिनुपर्छ। यदि यो पार्टी दह्रिलो बन्नसके छैटौं अनुसूचीको माग अवश्यै पूर्ण हुनेछ। यसैबीच, एक प्रश्‍नको उत्तरमा गोरामुमो केन्द्रिय कार्यालय सचिव लामाले भने-गोरामुमोको स्थायी राजनैतिक समाधाननै अलग राज्य गोर्खाल्यान्ड हो, यसैको लागिनै सन् 1980-मा गोरामुमोको  गठन भएको थियो। यसै मागको लागिनै पार्टीले 1986-देखि 28 महीनाको आन्दोलन गरेको थियो। यसैकारण छैटौं अनुसूची अस्थायी व्यवस्था हुनसक्छ, तर स्थायी राजनैतिक समाधान अलग राज्य गोर्खाल्यान्डनै हो।

उनले दार्जीलिङ पहाड़को वर्तमान राजनैतिक स्थितिको कारण कालेबुङका सर्वसाधारण जनतामा अन्यौलता छाइरहेको बताउँदै यसैको कारण जनताले विकल्पको रूपमा गोरामुमोलाईनै रूचाइरहेको जनाए। यसै समय कालेबुङबाट गोरामुमोमा सामेल हुन आएका पार्टी समर्थकहरूसित पार्टी अध्यक्ष मन घिसिङले केही समय वार्तालाप पनि गरे।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन