भूपाल कौशिकको कविता कृति मनका सुसेली लोकार्पितःअब भारतीय नेपाली साहित्यले अध्ययनको निम्ति सामाग्री आयत नगर्दा पनि पुग्छः प्रा. प्रताप चन्द्र प्रधान

 भारतीय नेपाली साहित्यले अब उसो अध्ययन निम्ति पनि आवश्यक सामाग्री बाहिरबाट आयत नगर्दा पनि पुग्ने पर्याप्त साहित्य सिर्जना गरिसकेको छ।


सिङताम, 10 नोभेम्बर।


सिक्किमका इमान्दार कविको रूपमा चिनिने कवि भुपाल कौशिकको दोस्रो कविता संग्रह मनका सुसेली लोकार्पण भयो। यहाँको सामुदायिक भवनमा चिया कविता समूहद्वारा आयोजिक कार्यक्रमका मुख्य अतिथि सिक्किम केन्द्रिय विश्वविद्यालयका नेपाली विभागका प्रमुख प्रा. प्रतापचन्द्र प्रधान र विशिष्ठ अतिथिहरूको बाहुलीबाट कविता सङ्ग्रहको लोकार्पण गरिएको थियो।

“भारतीय नेपाली साहित्यले अब उसो अध्ययन निम्ति पनि आवश्यक सामाग्री बाहिरबाट आयत नगर्दा पनि पुग्ने पर्याप्त साहित्य सिर्जना गरिसकेको छ।” प्रा. प्रधानले मुख्य अतिथिको वक्तव्य राख्दै यसप्रकारको मन्तव्य व्यक्त गरेका छन्। प्रा. प्रधानले भारतमा नेपाली साहित्यमा गरिएको कामहरूको लेखाजोखा अघि सार्दै यस प्रकारको मन्तव्य व्यक्त गरेका हुन्।

उनले अघि देश बाहिरबाट अध्ययन सामाग्री आयत गरेर अध्ययन पुरा गर्नुपर्ने तथा पाठ्यक्रममा पनि देश बाहिरको सन्दर्भमा लेखिएका साहित्यलाई अध्ययनको निम्ति चयन गर्नुपर्ने स्थितिबाट अहिले माथि उठेर भारतमै नेपाली साहित्यमा प्रसस्त लेखन कार्य भइसकेको बताए। उनले सिक्किम केन्द्रिय विश्वविद्यालयले नै स्नातक देखि विद्यावारिधिसम्मको पाठ्यक्रममा भारतीय नेपाली साहित्यलाई प्राथमिकता दिएर लगभग 90 प्रतिशत पाठ्यक्रममा भारतीय नेपाली साहित्यकै अध्ययनको प्रावधान बनाएको बताए।

उनले भने, अब नेपाली भाषामार्फत नै विद्यार्थीहरूले विश्व चिहाउन सक्छन् त्यत्ति पर्याप्त लेखन र अध्ययन सामाग्री तयार पारिएको छ। यसैगरि उनले आफ्नो सम्बोधनमा अहिले नेपाली भाषाको निम्ति दुइवटा केन्द्रिय विश्वविद्यालय र एउटा राज्य विश्वविद्यालय चलिरहेको हुनाले यसबाट नेपाली भाषाको विकास कार्य पनि भइरहेको बताए। आफ्नो कुरा राख्दै प्रा. प्रधानले भूपाल कौशिकलाई पहिले आफ्नो अध्ययनको समयमा पनि पढेको र उनी एक निरन्तर लागिरहने कविको रूपमा स्थापित भइसकेको बताए।

यसैगरि उनले भारतीय नेपाली साहित्यमा आयमेली, संक्रमणकालिन, विचलन, हस्तक्षेप र समावेशी लेखन जस्ता साहित्यिक आन्दोलनहरू सफलतासित सञ्चालित भएको र अहिलेसम्म यस्ता आन्दोलनबाट पर्याप्त अध्ययन सामाग्रीको सिर्जना भएको कुरालाई रेकर्ड गराइ राख्ने काम गरे। यसैगरि पुस्तकको समिक्षा सम्बोधन कवि तथा विचारक प्रवीण राई जुमेलीले राखेका थिए।

उनले कविता लेखनमा भूपाल कौशिकलाई उनले 1999 सालमा प्रकाशित कृतिबाट चिने यताका वर्तमान अवस्थासम्मलाई केलाए। उनले भने कविता पाठकसमक्ष पुग्दा सेकेण्डहेन्ड अवस्थामा पुग्छ किन भने पहिलो अवस्था कविको मनले भोगेको अवस्था हो भने त्यसपछि त्यो शब्दमा अनुवाद भइसकेको अवस्था दोस्रो अवस्था हो जुन मौलिक मनको अवस्थामा भन्दा भिन्न हुनसक्छ।

उनले शब्दले अर्थ नबोक्ने कुरा पनि बताए जसले गर्दा कविले मनले भोगेर लेखेको कुरा सबै शब्दले व्यक्त गरेर पाठक समक्ष पुऱ्याउन नसक्ने पनि बताए। कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा सिङ्ताम नगर पञ्चायतका अध्यक्ष सावन प्रधान, उपाध्यक्ष विष्णुमाया शेर्पा, पार्षद रजनी सिंह, राम नरेश प्रसाद, नेपाली साहित्य परिषदका उपाध्यक्ष टीबी चन्द्र सुब्बा, कथाकार परशु शर्मा, मोहन प्रधान निरज, साथै स्थानीय सामाजिक कार्यकर्ताहरू रहेका थिए।

यसैगरि कार्यक्रममा कवि भूपाल कौशिक र संगीतकार देवकुमार राई दुमी अनि अरूण सुब्बाले नेपाली गीत गाएर कार्यक्रमलाई रोचक बनाएका थिए। अर्कोतिर काव्य सङ्गममा बिजनबारीका कवि निमेश सुब्बा सिकारू, सुधा एम राई, विणाश्री खरेल, अमर बानियाँ लोहोरो, अम्बर लाछिकाठी, एसबी कार्की, दीपा राई, शिव दर्नाल, एसएन पाण्डे, महेश दाहाल, राम फिर्के,टार्जन कट्टेल र जय नारायण शर्मा आदिले स्वरचित कविता वाचन गरेका थिए। कार्यक्रममा सिक्किमका दक्षिण,पश्चिम र पूर्व जिल्लाबाट साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन