चालकहरूलाई नै मन परेन नयाँ ट्राफिक नियम

दार्जीलिङ, 11 नोभेम्बर।


दार्जीलिङमा शुरू भएको नयाँ ट्राफिक व्यवस्थापनबाट असन्तुष्ट बनेपछि प्रशासनसित यसको समाधान सूत्र खोज्ने विषय लिएर अचानक डाकिएको बैठक गाड़ी चालकहरूको छाता संगठन अल ट्रान्सपोर्ट जोइन्ट एक्शन कमिटीको विघटन गरेर समाप्त भयो अनि अब आगामी 18 नोभेम्बरको दिन यसको नामनै परिवर्तन गर्ने निश्‍चय भएको छ।

दार्जीलिङमा हिजोदेखि ट्राफिक समस्या समाधान गर्ने उद्देश्य लिएर दार्जीलिङ सदर ट्राफिक पुलिसको पहलमा नयाँ ट्राफिक व्यवस्थापन शुरू गरिएको छ, जसबाट दार्जीलिङका धेरैवटा चालक संगठनले असन्तुष्टि जाहेर गरेका छन्। यसै विषय लिएर आज अल ट्रान्सपोर्ट जोइन्ट एक्शन कमिटीले यहाँको मारवाड़ी सहायक समिति भवनमा आपतकालीन बैठकको आयोजना गरेको थियो।

यस बैठकमा अल ट्रान्सपोर्ट जोइन्ट एक्शन कमिटीका अध्यक्ष नर्बु लामा, महासचिव प्रमोद श्रीमलका साथै अन्य पदाधिकारीवर्ग पनि उपस्थित भएका थिए। यस बैठकमा गोजमुमो विनयपन्थी कोर कमिटी सदस्य दिनेश गुरूङ मुख्य अतिथिका रूपमा उपस्थित थिए, जसले अल ट्रान्सपोर्ट जोइन्ट एक्शन कमिटी आज विघटन भएको घोषणा गरे।

यसका साथै उनले यस बैठकलाई सम्बोधन गर्दै भने-अल ट्रान्सपोर्ट जोइन्ट एक्शन कमिटीको पुरानो कमिटीलाई आज विघटन गरिएको छ, अब शीघ्रै यस कमिटीलाई पुनर्गठन गर्नुपर्छ अनि यसको नाम पनि परिवर्तन गरेको उत्तम हुनेछ।

यसैबीच, भर्खरै गठन भएको चालकहरूको नयाँ को-अर्डिनेशन कमिटीका समन्वयक परशु हिङ्माङले आगामी 18 नोभेम्बरको दिन एक बैठक गरेर चालक संगठनको नाम परिवर्तनसँगै कार्यकारी सदस्यहरू पनि परिवर्तन गर्ने योजना बनाइएको बताए। यसरीनै दार्जीलिङका सम्पूर्ण चालकवर्गले आजदेखि विनय तामाङ र अनित थापालाई समर्थन जनाएको पनि घोषणा गरे।

एक प्रश्‍नको उत्तरमा हिङ्माङले भने-दार्जीलिङको ट्राफिक समस्यालाई समाधान गर्नको लागि ट्राफिक पुलिसले सराहनीय कार्य शुरू गरेको छ, तर यसमा कतिपय सिण्डिकेटलाई अन्याय भएको छ। किनभने, जुन सिण्डिकेटमा बेसी गाड़ी छन्, ती सिण्डिकेटले गाड़ी राख्ने ठाउँ कम्ति पाएको छ भने कम्ति गाड़ी भएको सिण्डिकेटले बेसी ठाउँ पाएको छ।

यसैले ट्राफिक पुलिस र सम्बन्धित विभागले यसमाथि उचित ध्यान दिनुपर्छ। यस सम्बन्धमा गाड़ी चालक संगठनले शीघ्रै ट्राफिक पुलिससित भेट गर्ने भएको हिङ्माङले बताए। हाल दार्जीलिङ शहरी इलाकामा 56 वटा सिण्डिकेट छन्।

ज्ञात रहोस्, गत केही दिनअघि मात्रै जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-ले दार्जीलिङ ट्राफिक पुलिस, दार्जीलिङका गाड़ी सिण्डिकेटका प्रतिनिधिहरूसित एक बैठक गरेर दार्जीलिङको ट्राफिक समस्या समाधान गर्ने विषयमा चर्चा गरेको थियो साथै यसै महीनाभित्र दार्जीलिङका नवनिर्मित दुइवटा कार पार्किङको उद्घाटन गर्ने अनि 1 जनवरी 2018-देखि रोहिणीमा टोल ट्याक्स उठाउन बन्द गर्ने निर्णय लिएको थियो।

जसअनुसार, दार्जीलिङको ट्राफिक समस्या समाधान गर्नको लागि ट्राफिक पुलिसले हिजोदेखि ट्रायल  शुरू गरेको छ। जसअनुसार, दार्जीलिङमा निर्माण भएका दुइवटा कार पार्किङमा हिजोदेखि विशेष सड़क किनारहरूमा राखिएका गाड़ीहरू राख्न शुरू गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन