माध्यमिक शिक्षक सङ्गठनले समस्याहरूको समाधानार्थ जीटीएको दैलो ढकढकाउने

खरसाङ, ११ नोभेम्बर।


आउँदो साता दार्जीलिङ पहाड़भरिका समस्त अधिकारच्युत शिक्षक-शिक्षिकाहरूको आवाजको प्रतिनिधित्व गर्दै माध्यमिक शिक्षक सङ्गठन (माशिस)-ले गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए)-का बोर्ड अफ एडमिनिस्ट्रेटर (बीओए)-का अध्यक्ष साथै सम्बन्धित विभाग समक्ष विभिन्न समस्याको शीघ्र समाधान गरिदिने अपीलपत्र सुम्पिने चुड़ान्त निर्णय लिइएको छ।

गत ४ नोभेम्बरमा नवगठित माशिस-को खरसाङ महकुमा समितिको पहिलो आधिकारिक कार्यकारी सभा आज खरसाङस्थित गोर्खा जन पुस्तकालय भवनमा श्रीमती सञ्जुली छेत्रीको अध्यक्षतामा भएको छ।

सभाको आरम्भमै सङ्गठनका मुख्य संयोजक अनिल शर्माले सभाको एजेण्डाहरू विस्तृत रूपमा प्रस्तुत गरेका थिए।

आन्दोलनकालमा दार्जीलिङ पहाड़भरि सेवारत सम्पूर्ण शिक्षण – अशिक्षण कर्मचारीहरूको तीन महिनाको वेतन अझसम्म भुग्तान नगरिएको विषयमा सभामा जोड़तोड़ले चर्चा गरिएको थियो। यो विषयलाई शीघ्र समाधानको बाटोमा अग्रसर गराउन जीटीएमाथि चाप निर्माण गर्ने सर्वसम्मतिले फसेला गरेको छ।

यससाथै, ४४२ जना शिक्षक शिक्षिकाहरूलाई डीआईद्वारा रोजगारको अनुमोदनपत्र दिलाउनको निम्ति पनि समुचित आधिकारिक पहल गरिदिन जीटीए समक्ष अपील गरिने फेसला लिइएको छ।

३१ वटा लिस्टेड नन रिकोग्नाइज्ड स्कूलका सम्पूर्ण शिक्षण अशिक्षण कर्मचारीहरूलाई चाँड़ै आधिकारिक रूपमा नियुक्ति पत्र दिइनु पर्ने मुद्दा पनि अघि ल्याउँदै यो समस्याको समाधामनार्थ जीटीएलाई नै अपील गरिने फसेला लिइएको छ।

पहाड़भरि ज्यादाजसो स्कूलमै प्रधानाध्यापकको शून्यपद टीचर इन चार्जले लिएर स्कूल चलिरहेको हुँदा शिक्षक शिक्षिकाले धेरै किसिमको असुविधाको सामना गर्नु परिरहेको विषय उठान गरिएको थियो। यसोसले उक्त समस्त प्रधानाध्यापकका पदहरू शीघ्र पूर्ण गरिनु पर्ने विषयलाई पनि अघि बढ़ाइने निर्णय लिइएको छ।

अद्यावधि नियुक्ति नपाउने समस्त स्वयंसेवक शिक्षक-शिक्षिकाहरूलाई पनि चाँड़ै आधिकारिक नियुक्तिपत्र दिलाउने दिशामा सङ्गठनले पहल गर्ने फसेला पनि लिइएको छ।

उपर्युक्त मुद्दाहरूको उठान गर्दै ती समस्याहरूको शीघ्र समाधान गरिदिने अपील गर्दै जीटीए बीओएका अध्यक्ष, उपाध्यक्ष एवम् शिक्षा विभाग अधिकारीलाई आउँदो साता भेटेर सङ्गठनको पक्षमा ज्ञापनपत्र सुम्पिने निर्णय आजको सभाले सर्वसम्मतिमा लिएको जानकारी प्रचाप्रसार सचिव विशाल मणि प्रधानले एक विज्ञप्तिमार्फत् दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन