काव्यसंवाद-मा विपल घले

संवाद

कविता जिउन सिकाउने एउटा कला हो


विपल घले, रोङ्गो


कविताको परिभाषा कविताको समूर्णता होइन। कवितालाई केही परिभाषाहरूमा बाँधेर राख्न सकिन्न। कविता बेग्लाबेग्लै समयमा (जमानामा ) बेग्लाबेग्लै किसिमले लेखिएका छन् / लेखिन्छन्। आआफ्ना ज्ञान,अध्ययन ,अनुभूति र मतानुसार कविताका परिभाषा पनि एकार्काका परिभाषासँग पृथक छन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता कोमल वनिता भनेका छन्। त्यसैगरी नाटककार, कवि बालकृष्ण समले भावनाको बौद्धिक कोमलता कविता भनेका छन्। नेपालकी प्रगतिवादी कवि सरिता तिवारीले कविताबारे एकठाँउ भनेकी रहिछन्, कविता आफ्नो समयप्रतिको कलात्मक सरोकार हो।

मलाई लाग्छ कविता सत्यताको निरन्तर खोज हो। सत्यताको कलात्मक अभिव्यक्ति हो। कविताले सत्य जाहेर गर्ने प्रयास गरिरहेको हुन्छ भन्ने मलाई लाग्छ। कविता प्रेम जताउने एउटा माध्यम पनि हो अन्यायको विरूद्ध उठने मुट्ठी पनि।

कविताले विभिन्न वान्की बोक्छ विविध भाव बोक्छ। कविता प्रशिक्षण केन्द्रबाट तालिम पाएर गरिने व्यवसाय होइन र कविता कुनै एउटा निर्दिष्ट फर्म्याटमा हुनपर्छ भनेर किटान गर्न पनि मिल्दैन।

कविताको क्षेत्र व्यापक छ। कविता जिउन सिकाउने एउटा कला पनि हो। साहित्य र समाज एकार्काका पर्याय हुन्। कविता पनि साहित्यकै एक विधा भएकोले समाज केन्द्रमा हुनपर्छ कवितामा पनि।

सचेत कविद्वारा सृजित कविताले जहिल्यै समयलाई सम्बोधन गरेको हुन्छ। समयलाई सम्बोधन गर्नु भनेको वास्तवमा यथासमयमा समाजको यथास्थितिमाथि परख गरेर लेख्नु हो। कविताको सर्वप्रमुख कर्म र धर्म पनि यही हो।

वर्त्तमान कविताको केन्द्रिय स्वर सत्ताको ज्यादती ,चलखेल, घृणित राजनीतिको विरूद्धमा उभिएर त्यसको पर्दाफास गर्नु हो। सत्ताले जनजीवनमा गरेको हस्तक्षेपमाथि प्रतिहस्तक्षेप गर्नु हो।


रमिता

भाषण सुनेर राशन थापी

खुशीसाथ घर फिरेको छ

यसपाला पनि

रनबहादुर।

 

जत्तिनै चोकमा उभिएर

क्रान्तिको कविता सुनाउन कविज्यू

यो समाजको बोधो चेतनामा

लाग्दै लाग्ने होइन।

 

भाका फेरिबस्ने

अनुहारको रङ अदलबदल गरिबस्ने

भूतहरूको दबदबा छ।

 

शहिदको मासु गिँडेर

कमिशनमा भाग लगाई

तितेपातीले मुख चोखाँउदै हिँडिबस्छन्

बजियाहरू।

 

मूलबाटोको किनारमा उभिएका छन्

नाम्लो गाडिएको थाप्लो

चाउरिएको अनुहार

नशा निस्किएको हातगोडा

पट्पटि फुटेको कुर्कुच्चा

अनि मुटु नभएको लुइरो छात्ती

मूलबाटो भएर हिँडिरहेछ

सिन्टेक्स भुँडीहरूको लस्कर।


चुपचाप

तिम्रा सपनाहरूमाथि धावा बोल्नेहरूले

तिम्रा ढुक्कुरझैं सोझो जिन्दगीलाई

गुलेली ताक्नेहरूले

तिम्रा मुहारमा बाँचेको एक ओठ मुस्कान चोर्न तम्सिनेहरूले

च्यातेर धुजा धुजा पार्दा पनि

तिम्रो स्वाभिमानको कमिज

 

तिमी झुठो मुस्कानको विज्ञापन

अनुहारको भित्ताभरि टाँगिबस्छौ।

 

कहिलेदेखि सिक्यौ

यसरी चुपचाप बस्नु

के अर्थमा बुझ्यौ

यस्तरी मौन रहनु

 

आखिर जन्मेपछि मान्छेले

मान्छेसितै जिन्दगीभर

लड्नु पर्दोरहेछ मृत्युपर्यन्त

जिन्दगीको लडाइँ।

 

शीत युद्ध चलिरहन्छ

सबभन्दा बढी आफ्नो प्राणको माया गर्नेहरूबीच

तर तिमीझैं निरिहनै हुन्छ

पिसिने त्यहाँ पनि

पिल्सिने त्यहाँ पनि।

 

काँडैकाँडाको घारीमा

तिमीभने फूल हुन खोज्छ्यौ

छात्तीभरि कायरता पालेर।

 

तिम्रो निरीहतालाई लातेभकुण्डो बनाएर

जमाना भने गोलपोस्टमा छिराइरहन्छ तिमीलाई बारम्बार

हस्तक्षेप गरिरहन्छ तिमीमा लगातार

चुपचाप।


जुम्राको यात्रा

आकार खोज्छ समाज जहिल्यै

चित्त नपरेको अनुहार पारेर

किन खोज्छ आकार जहिल्यै

यसरी!

 

आँगनको डिलमा बस्छ समाज

र फलानोको बुहारीको छात्तीमा

सजिइएको सिटिगोल्डको मङ्लसुत्र

खिस्याइएका आँखाहरूले हेर्छन्

ढिस्काको ज्वाईंलाई

काले न काले देखेर उपहासको हाँसो हाँस्छन्

मङ्लसुत्रले भिरेको विश्वासको सुत्र

कालोभित्रको सेतो दिल

किन नियाल्दैन समाज !

 

छिमेकीको जुम्रा सँगसँगै

कुरा फुटाइरहेको हुन्छ समाज

कुनै आदर्श व्यक्तित्वलाई धरी

नाङ्गोझार पारिरहेको हुन्छ समाज।

 

समाज जहिल्यै आकार खोज्छ

आफ्नै पूर्वाग्रहले निर्मित

आकार हुलियाको

तर मनको आकार एउटै भनेर

किन बुझ्दैन समाज!

 

समाज आफ्नो आङमा हात्ती बोक्छ

र अरूको आङमा देख्छ जुम्रा

आँखाअघि ठिक्क पार्छ

र पिठपछि काट्छ कुरा।

 

समाज आफै तासको घर ठड्याउन खोज्छ

आफूभने नशाको दहमा डुब्न खोज्छ

स्वास्नीलाई छलेर चोर पाकेटमा

कण्डोम बोकी हिँड्छ

बाउलाई चुरोट मागि हिँड्छ

जुम्रा मारेर फुर्सद काटिरहेको हुन्छ

यस्तो खतरनाक यात्रामा हिँडेर

यस्तो निराकार आकारमा रहेर

आकार खोजिरहेको हुन्छ समाज।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया