भुँइ कुरा /अलेकजाण्डर सिण्ड्रोम

भुइँकुरा


प्रवीण खालिङ


विजेताहरू सधैँ हार्नेहरूको हारको प्रतिफलको रूपमा रहेका हुन्छन्। उनीहरूको खुसी जहिले पनि हार्नेहरूको पीड़ामाथि कुदिएको हाँसो मात्र हो। हामी सधैं जित्नेको पक्षमा उभिएर उनीहरूले हार्नेहरूबाट लुटेका खुसीको छाकमा सरिक हुन रमाउने गर्छौं।

तर समयले नयाँ दृष्टिको अपेक्षा गरिरहेको अवस्था छ अहिले। जित्नेहरूकै पक्षमा उभिने र भीड़को पछिल्तिर उभिएका अनुहारहरूको कुनै मोल हुँदैनको बौद्धिक सोचले ग्रस्त समयलाई हार्नेहरूको पछिल्तिरको जीतको मार्ग निर्माणको एउटा अर्को पक्षलाई पनि सम्बोधन गर्नुपर्ने हुन्छ।

इतिहास सधैँ जित्नेहरूकै लेखिएको भए पनि के सबै इतिहास विश्वास गर्न योग्य हुन्छन्? अनि त्यसरी जितिएको इतिहास लेखिँदा के त्यो इतिहास नायकले साँच्चै जितेकै हुन्छन्? अर्थात उनलाई इतिहासकारले अमर बनाउन जिताइएको मात्र त हुँदैन? त्यो विषय अहिलेसम्मको मान्यताको बाहिरी रूपलाई हेरेर विश्वास गरिएको सत्य हो।

तर अबको अवस्थामा भनेको त्यो इतिहासको पछिल्तिर पनि केही छ की भन्ने धारणलाई पनि उत्तिकै मान्यता दिनुपर्छ। इतिहासहरूले सधैँ विश्व विजेता उभ्याउँदै आएका अलेकजाण्डरको इतिहासलाई आफ्नो पर्यायमा उभ्याउने हाम्रा सिकन्दरहरूले युनानी इतिहासकार मेगाजस्थिनिज र अन्यहरूले लेखेका कुरामा आफ्नो इतिहासको खेस्रा तयार पार्दै नहार्नेको प्रतिक “जो जीता वही सिकन्दर” सम्झिरहने गरेको स्थितिलाई अब अलेक्जाण्डरवादले ग्रस्त रोगीको रूपमा हेर्नुपर्ने स्थिति छ।

उनीहरू साँचै सिकन्दर सिन्ड्रोमले ग्रस्त छन्। उनीहरू आफूले जितेको कुरालाई मात्र स्वीकार्य ठान्दै आफू कहिले हार्न नजानेको सुन्दर अभिनय गरिरहन्छन्। अनि उनीहरूको कृतिम जीतलाई मेगाजस्थिनिजहरूले आफ्नो मालिकको गाथा अमर राख्न सधैँ गलत इतिहासहरू लेखिरहन्छन्। त्यहीँ इतिहास पढेर एउटा समयले सिकन्दर महान र कहिले हार्न नजान्ने व्यक्तित्वको रूपमा स्वीकार्ने गरेको छ।

तर उनीहरूले लेखेका इतिहास त उनीहरूको पक्षमा लेखिएको इतिहासमात्रै हो। त्यो त जित्नेको पक्षमा लेखिएको गाथा हो, जसले पुस्तौं पुस्ता समाजलाई जितेको खुसी र इतिहास पढाउने गरेको छ। कुनै मुक्त बहरमाथि जबरजस्ती इतिहासको जुवा नारेर जित्नेको पक्षमा बाली जोत्नुपर्ने तथा बाध्यताको मलो मुखमा लगाएर तिनीहरूको जितको गह्रौं हलो तानिरहनुपर्ने स्थिति सिर्जना गरिन्छ।

जब राजाको मात्र कुरा गरिन्छ। राजाको मात्रै इतिहास लेखिन्छ। त्यसबेला त्यो राजा मान्ने र राजाको मान्यतालाई बँचाइ दिने प्रजा अर्थात जनताको पक्षमा कुनै अक्षर कोरिँदैन। ती नकोरिएका अक्षरहरू हार हुन। राजाको नाममा कोरिएको अक्षरमात्रै जीतको इतिहास हो भन्ने मानसिकतालाई अहिले आएर आफ्नो राजाको महानता बचाइ राख्ने गलत इतिहास कोर्नेहरूको अर्थ भने कुनै शब्दकोषले व्याख्यान नगरेको हुनसक्छ।

तर के उनीहरूले लेखिदिएनन् हार्नेहरूको इतिहास भन्दैमा त्यो इतिहासै थिएन भनेर स्वीकार गर्न सकिन्छ त? यहाँ आएर त्यो अलिखित इतिहासको चिहान कोट्याएर हेर्ने सहासको खाँचो पर्छ। यसरी अलिखित इतिहासको पाटोलाई स्वीकारिँदैन। राजा ठान्नेहरू कहिले हार्नुको कुरालाई स्वीकार गर्दैनन्। तर अस्वीकृत कुराहरू पनि कालान्तरमा गएर लेखाजोखा हुँदा सधैँ जितेको ठान्नेहरूको कथामाथि पनि विपठन भने हुन्छ।

राजाको कुरा मात्रै सत्य हुने र उसले हारेको गाथा नै नलेखिने सत्यलाई पनि समयले भने गलत साबित गर्नेछ। मिर जाफर पनि आफ्नो समयमा राजै थिए। उनको आफ्नै सत्ता र शासन थियो। तर के अहिले आएर उसको इतिहास कुन थन्कोमा पढिन्छ त? उनी राजाको रूपमा हामी बीच स्थापित छन्?

यो कुरालाई जीतको मात्र इतिहास लेख्न चाहनेहरूले बुझ्नुपर्छ। यत्तिबेला श्रवण मुकारूङको बिसे नगर्चीको बयान कविता सङ्कलनबाट म जनता भन्ने कविता उल्लेख गर्दै शासकको परिभाषामा एउटा डिस्कोर्स अघि सार्न मन लाग्छ।

श्रवण मुकारूङ लेख्छन्,

म जनता

म जनता-

मेरो शरीर मेरो देश हो

कुल्च मेरो छाती

थुन मेरो आवाज

भाँच मेरो हात-खुट्टा

यो स्वतन्त्रताको अन्तिम लडाँइबाट

म तिम्रो असली अनुहारको

अभिलेख राख्न चाहन्छु।

 

तिमी अलेक्जाण्डरहरूको पक्षमा उभिएर जीतको खुसीलाई मात्र उपभोग गर्न चाहन्छन्। हार्नुको दुःखहरूलाई तिमी अनुभव गर्न चाहँदैनौं। त्यसैले तिमी अपुर्ण छौं भनेर म यहाँ घोषणै गर्नसक्छु। किनभने तिमीले आफ्नो खुसी र विजयी जुलुसको जयगानमात्र सुन्ने बानी पारेपछि हारको पीडा र हारेर फेरि उठ्नुको निम्ति जगेरा गरिने सहासको बारेमा भने कहिले अनुभव गर्न सक्दैनौं।

तिम्रो जीतको दम्भ धेरै बलियो छ। अलेकजाण्डरको घोडाको टाप भन्दा फुर्तिलो आत्मभ्रम पालेर अलेकजाण्डरले भन्दा बलियो लगाम तानेर तिमी आवाजलाई नियन्त्रणमा राख्न चहान्छौं। तर तिमीले यो बुझ्नुपर्छ। तिम्रो महान अभिनय पार्श्वमा रहेको जनताको आवाज बिना सङ्गीत विहिन नाटक जस्तो मात्र लाग्नेछ।

तिम्रो सिकन्दर हुनुको भ्रम त्यत्तिबेला सम्ममात्रै जिउँदौ रहने छ। तबसम्म तिमी अलेकजाण्डर द ग्रेट नै रहनेछौं। तिम्रो महानताको गाथा यत्तिकै निरन्तर रहनेछ। तर त्यसबेला तिम्रो अलेकजाण्डर सिन्ड्रोम समाप्त हुनेछ जुन दिन तिम्रो दम्भ र राजापनको भ्रम मेट्न राजा पौरस (पुरू)सित सोझो झम्काभेट हुन्छ।

त्यत्तिबेला तिम्रो मनबाट निश्चय एउटा डरको आवाज मुखर भएर आउने छ। त्यो क्षण अलेकजाण्डरले जस्तै तिमी भन्ने छौं, श्रीमान पोरस मैले तपाईंको वीरता र सामर्थ्य स्वीकार गरें। मेरो सबै सैनिक अकालमा मरेको हेर्न चाहन्न। म यिनीहरूको अपराधी हुँ…

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन