कफि कवितामा कथा र विमर्शः ‘समकालीन कथाको मूल स्वर इन्द्रेणी रङको छ’

खबरम्यागजिन प्रतिनिधि/सिक्किम


आयोजक थियो कफि कविता, कार्यक्रम थियो कथा शिविर। कार्यक्रम सूचीमा सरर हेर्दा लाग्थ्यो, यो युवा कथाकारहरूको कथाबोध आदानप्रदान गर्ने मञ्च हो।

अघिल्लो दिन सामसिङमा सञ्जीवनी साहित्यिक मञ्चले गरेको सन्तबीर लिम्बु स्मृति कार्यक्रममा चक्रपाणि भट्टराईले भने, ‘उता (दार्जीलिङ) का सिर्जनामा माटो गन्हाउँछ, उनीहरू आफ्नै समाजका सेरोफेरोमा लेख्छन्, पढ्दा लाग्छ दार्जीलिङें जीवन पढिरहेका छौँ, तर सिक्किमे सिर्जनामा त्यो पाइँदैन।’

भोलिपल्ट कवि रवि रोदनहरूले यता र उताका 10 जना कथाहरूलाई जोरथाङको ग्रीन पार्कको खुल्ला मैदानमा भेला गरेका थिए।

चक्रपाणि भट्टराईले भनेजस्तो उता (दार्जीलिङ)-का कथाकारहरूमा तर दार्जीलिङ साह्रै गन्हाएन, न त उता (सिक्किम) कै कथाकारहरूमा गन्हायो माटो।

सुरज धडकन बाहेक 10 जनाको कथा सुन्दै जाँदा थाहा पाइयो, यी कथाकारहरूले लेख्दैगरेको थोकमा माटोसाटो होइन पारिवारिक र सामाजिक सम्बन्धका जालोहरू छन्।

जातिक, सामाजिक, साँस्कृतिक, राजनैतिक अन्तरविरोधहरूभन्दा पहिले जीवन केलाउँ, दसैजनाको कथा सुन्दा यस्तो नै लाग्यो।

ग्रीन पार्कको खुल्ला चौर। कथाकारहरू छन्, निरज थापा, प्रकाश हाङ्खिम, इमानुएल गिफ्ट, एलबी बस्नेत, ऋतु साम्पाङ, दलमान डी. गुरूङ, एडना घले, छुदेन काविमो, नीरा सुब्बा, सरमान सुब्बा।

बर र पिपलको फेदमा उनीहरू कथा संसार खोतल्न तयार थिए।

यसै एकदिन कफि पिउन बस्दा कविहरूले कफि पिउँदै कविता सुनाउने खेलौं भने मतो गरेछन्। त्यसपछि चर्चित-अचर्चित धेरै कविहरूलाई रबि रोदनहरूले त्यही बरपिपलको फेदमा उभ्याएछन्। तर उनीहरू पहिलोपल्ट कविको साटो कथाकारहरू उभ्याइरहेका थिए।

‘खासमा हामी सिर्जना संसारले बोकेको समाज खोतलौं भनेर झुण्ड बनेका हौं। आज कथाहरूबाट समाजका अन्तरविरोधहरू हेरौं,’ कथाकारहरूलाई वाचनमा उतार्न अघि रबि रोदनले भने, ‘जीवनमा कथा कहाँ छ, कथामा जीवन कहाँ छ, कथा छ नै कहाँ? अब त्यो हेरौं।’

शुरुमा नै इमानुएल गिफ्टले जीवनमा इलेक्ट्रेनिक ग्याजेट पसेपछि त्यसले बिथोलेको परिवार देखाइदिए। प्रकाश हाङ्खिमले त्यही ग्याजेटिलो संसारका अर्थात पोष्टमोर्डन समाजका छोराले आमाको संवेदनामामाथि खेलेको खेल देखाइदिए। एडना घले, एलबी बस्नेत, नीरा सुब्बाहरूले पनि लोग्नेस्वास्नी, परिवारबीचको सम्बन्धमा आइरहेको फेरबदल देखाइदिए।

सरमान सुब्बाले सिक्किमका निम्नवर्गीय परिवारको लटरी लगाव केलाए।

छुदेन काविमो र निरज थापाले कथाको संसार देखाएर थर्काए। छुदेनले ग्रामीण मनोविज्ञानको विकासमा शिक्षाकै रोल हुने वकालत गरे। सुन्दा लाग्थ्यो, छुदेन सरल शब्दबाट गाउँका जटिल अन्तरविरोध केलाउन चाहान्छन्।

यता निरजले भने कहिल्यै हुँदै नभएको फेन्टासी तानेर ग्रीन पार्कमा झारे। पृथ्वीको अन्त भयो र एउटा परिवार मात्र बाँच्यो भने उनीहरू के खाएर बाँच्ला?

एक प्रकारले जीवन र समाजका फेन्साटीहरूले जीवनलाई पार्ने दखललाई स्वैरबान्कीले बुनेर निरजले जुन कथा सुनाए, त्यो कथाप्रयोगको नमूना नै थियो।

युवा आलोचक सपन प्रधानले त्यहीँबाट कुरा तानेर उत्तर धारणाहरूले गरेको घोषणामा आफ्नो विश्वास जोडे, ‘संसारको मृत्यु भइसकेको छ, विचारको, संवेदनाको, कलाको मृत्यु भइसकेको छ, त्यसो र कथाले त्यो विश्वासलाई प्रतिनिधित्व गरेकै हुनुपर्छ।’

सपन प्रधानले एकातिर कथामाथि आलोचना गरेर केन्द्र नै नरहेको बताउँदै युद्धकथा नलेखिएको, कथामा पर्याप्त प्रयोग नभएको र प्रयोगलाई कथाकारहरूले नसमातेको गुनासो पनि पोखे।

यद्धपि, आफ्नो विचारको निष्कर्षमा उनले यति भनिराखे, ‘समकालीन कथाको मूल स्वर इन्द्रेणी रङको छ।’

कार्यक्रममा भने एकातिर कथाकारहरूले सम्बन्धहरूको जालो केलाइरहेका थिए, अर्कोतिर सपन प्रधान आजको समय र मानिसको कथा नलेखिएको गुनासो गरिरहेका थिए।

पर्यवेक्षक थीरुप्रसाद नेपालको निचोड थियो, ‘आजकै अनुहारको भनेजस्तो कथा नै लेखिएको छैन। समाजमा नभएको कथा कसरी लेख्नु? जहाँ युद्ध नै छैन, त्यसको कथा कसरी लेख्नु?’

खासमा थीरुप्रसाद नेपालको एक वाक्यको अर्थको आयाम भने हजारौं थियो।

दस कथाकारको कथा सुन्दा अनि आलोचक र पर्यवेक्षकको विचार सुन्दा यस्तो लाग्थ्यो, कथा त लेखिँदैछ, तर उ अझ पनि मानिसहरूबाट परै छ। कथाबाट परै छ। जीवनबाट परै छ।

रबि रोदनहरू खोज्न चाहन्थे, कथामा जीवनमा कहाँ छ? जीवनमा कथा कहाँ छ?

कथाहरूले उत्तर दिए, कथामा जीवन किनारमा नै छ, जीवनमा कथा केन्द्रमा नै छ।

आलोचक सपन प्रधानले उत्तर दिए, कथामा जीवनै जीवन छ, जीवनमा कथैकथा छ, तर कथाकारमा त्यसलाई टिप्ने शैली भने पुरानै छ।

यही माचोमा विद्यार्थी रिया तामाङले रबि रोदनको कविता भाषाको भूगोलको वाचन यसरी गरेकी थिइन्, त्यसरी न त कथाकारहरूले वाचन गर्न सके न त अरू कविहरूले नै। रिया तामाङ आफू सानी थिइन्, तर पर्फमसेन्स त्यति अग्लो थियो कि दसैजना कथाकारहरूले त्यसको सिको नगर्ने हो भने उनीहरूले फेरि फेरि श्रोतालाई कथा नसुनाए पनि हुने हो।

यद्धपि, विपल घले लगायत अन्य विद्यार्थी कविहरूले पनि कविता सुनाएकै छाडे।

‘म पहिलोपल्ट यसरी उभिएकी हुँ, नर्भस भएँ’, भन्दै पनि दीपा गुरूङले नीरा सुब्बाका कथाखेल र कथा चरित्रलाई उतारेरै देखाए। दीपाले दाबी थियो, नीरा मानिसका संवेदनाहरूका कथा लेख्ने जातकी कथाकार हुन्।

कार्यक्रम सकेर आयोजकको पक्षबाट रबि रोदनले भने, ‘कार्यक्रम त सकियो तर कथाखोज सकिएको छैन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन