कालेबुङमा गोरामुमो केन्द्रिय समितिको बैठक: छैटौँ अनूसूचि मार्फत नै गोर्खाल्याण्ड हुन्छ भन्ने हाम्रो विश्वास हो-मन घिसिङ

 

प्रज्ज्वल छेत्री/ कालेबुङ:

‘छैटौँ अनुसूचि मार्फत नै गोर्खाल्याण्ड हुन्छ भन्ने हाम्रो विश्वास हो’-गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङले भने, ‘सिँधै गोर्खाल्याण्ड दिँदैन रहेछ भन्नेकुरा सबैले थाहा पाइसकेका छन्।’

कालेबुङमा आज गोरामुमोको केन्द्रिय कमिटीको बैठक सम्पन्न भएको थियो। बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले छैटौँ अनूसूचि मार्फत नै गोर्खाल्याण्डसम्म पुग्न सकिने विश्वास व्यक्त गर्दै गोरामुमोको मुद्दा छैटौँ अनुसूचि नै रहेको बताए। स्थानीय एउटा होटलमा गोरामुमो केन्द्रिय समितिको बैठक करीब साँडै तीन घण्टा लामो चलेको थियो। बैठकमा गोरामुमो केन्द्रिय महासचिव एनबी छेत्री, प्रवक्ता निरज जिम्बा लगायत पार्टीका केन्द्रिय सदस्य उपस्थित थिए।

 

’21 नोभेम्बरका दिन पिण्टेल भिलेजमा राज्य सरकारसित वार्ता हुँदैछ’-मन घिसिङले भने, ‘त्यो बैठकमा के-कस्तो प्रस्ताव राख्नुपर्ने भन्ने कुरा आजको बैठकमा छलफल भयो।’

उनले शुरूमा 21 को बैठकमा गोरामुमोले के-कस्तो प्रस्ताव राख्छ भन्नेकुरा स्पष्ट रूपमा खुलाउन नचाहे पनि एउटा प्रश्नको उत्तर दिँदै उनले द्वपक्षीय वार्तमा गोरामुमोले छैटौँ अनूसचिकै कुरा उठान गरेको बताए।

‘छैटौँ अनुसूचिको कुरा वार्तामा अवश्य नै चर्चा गरिनेछ, आजको बैठकमा पनि यसबारे चर्चा भयो’-मन घिसिङले भने, ‘दुईपक्षीय वार्तामा छैटौँ अनुसचिकै कुरा उठाउँछौँ, किनभने राज्य भनेको गोर्खाल्याण्डको मुद्दा उठाउने ठाउँ होइन।’

घिसिङले अझ भने अनुसार 105 दिने बन्दअवधि पहाडमा जन आन्दोलन जस्तो भएको थियो। यसैले उनी पनि सडकमा निस्किएका थिए। 15 दिन दिल्लीमा क्याम्प हालेर बसे। केन्द्रिय नेताहरूसित भेटघाट गर। तर केन्द्रले कहिले गोर्खाल्याण्ड सम्बन्धमा स्पष्ट अडान दिएन।

‘केन्द्रले गोर्खाल्याण्ड हुन्छ पनि भनेन, हुँदैन पनि भनेन, बीच बाटोको कुरा गरिरह्यो’-मन घिसिङले केन्द्रको मनोभाव स्पष्ट पार्दै भने, ‘यसैले केन्द्रको अडान बुझेपछि जनताले अब धेर दुःख पाउनु हुँदैन भनेर शान्ति र सामान्य स्थितिको निम्ति गोरामुमोले राज्यलाई पत्रचार गरेको हो।’

घिसिङले अहिले पहाडका जनताले छैटौँ अनुसूचिलाई समर्थन गरिरहेको दिशातर्फ सङ्केत गर्दै हाल धेरै मानिसहरूले गोरामुमोसित जोडिरहेको बताए।

‘पहिलेको परिस्थितिमा हामीले ठिकसित छैटौँ अनुसूचिको कुरा बुझाउन सकेनौँ’-मन घिसिङले भने, ‘छैटौँ अनूसूचि शक्तिशाली चिज हो, मानिसहरूले विस्तारै बुझ्दैछन्।’

घिसिङका अनुसार अब गोरामुमोले मानिसहरूलाई विभिन्न माध्यमहरूबाट छैटौँ अनुसूचि बुझाउनेछ। पर्चा, जनसभा आदिको माध्यमबाट गोरामुमोले छैटौँ अनुसचि बुझाउने कुरा आजको बैठकमा पनि चर्चा भएको छ। गोरामुमोले साङ्गठनिक विस्तार गर्दै दार्जीलिङ, खऱसाङ, कालेबुङमा पनि जनसभाहरूको आयोजना गर्ने सोच बनाएको छ। आगामी 6 दिसम्बर( छैटौँ अनुसूचि सम्झौता दिवस) का दिन दार्जीलिङमा विराट जनसभा गर्ने गोरामुमोको योजना रहेको घिसिङले बताए।

आज कालेबुङ आएका मन घिसिङले केन्द्रिय समितिको बैठकमा उपस्थिति दिएपछि आफ्ना समर्थकहरूका साथमा न्यायिक हिरासतअवधि मृत्यु भएका नगरपारषद् स्व. वरूण भुजेलको घरमा पुगेर उनका परिवारसित पनि भेट गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया