सन्तबीर पुनर्खोज

खबरम्यागजिन प्रतिनिधि/सिक्किम


सञ्जीवनी साहित्यिक मञ्चले सिक्किमका पहिलो कवि सन्तबीर लिम्बुको 94 औं जयन्ती मनायो। कार्यक्रमको खास उद्देश्य थियो, नयाँ सन्तबीरहरू खोज्नु। यसैले मञ्चले दुइ नयाँ कविहरूलाई मञ्चमा बोलाए र प्रोत्साहन पत्र थमाए। पत्र थाप्ने एनबी घिमिरे र विजयता दर्नाल हुन्, जो छोटो समयमा राम्रा कविता लेखिरहेका छन्।1923 मा जन्मिएका सन्तबीरले राजाकालको साह्रोगाह्रोमा पनि कविता लेखे र बाँचे, अहिले राज्य सत्ताको साह्रोगाह्रोमा चाँही नलेख्ने त?

कार्यक्रमले सोधेको प्रश्न यही थियो। जो त्यस्तो साह्रोगाह्रोमा पनि लेखिरहेका छन्, उनीहरूलाई नै मञ्चले प्रोत्साहन दिएका सञ्जीवनी साहित्यिक मञ्चका संस्थापक आदर्श मिलन प्रधानले खबरम्यागजिनसित प्रस्टाए।

मुख्य अथिति कवि बीरभद्र कार्कीढोली कार्यक्रम नसकी गइदिए। निबन्धकार विजयकुमार सुब्बा  बिच्किए, ‘कार्यक्रमका अध्यक्ष र मुख्य अतिथिको भारै हो, अन्तसम्म बसिदिनु र हौसला दिनु, त्यसो गर्न नसक्ने हो भने किन त्यो भार थाप्नु?’

सुब्बालाई लाग्दोरहेछ, केटाहरूलाई त उस्तै हो तर तरूणीहरूले कविता लेख्न थाल्यो भने अनेकौं भाइरसहरूले आक्रमण गर्छ। उनले विजयता दर्नाललाई भन्ने वाहनामा सबै केटी सर्जकहरूलाई भने, ‘यस्ता भाइरसहरूबाट जो जो जोगिनसक्छ, उ सर्जक बन्छ, पारिजात बन्छ।’

प्रकाश शर्माले सन्तबीर लिम्बुको जीवनी बताइदिएपछि कवि चक्रपाणि भट्टराईले महानन्द पौड्याललाई सम्झिए। ‘पौड्याल सिक्किमका मोतीराम भट्ट हुन्,’ उनले भने, ‘भट्टले भानुभक्त खोजे, पौड्यालले सन्तबीर।’

उनले सिर्जनामा माटोको बासना आएन भने त्यो सिर्जनाको मूल्य उस्तो नरहने बताए। भने, ‘सिक्किममा अझै पनि कवितामा हिमाल, फूल, प्रेम नै अल्झिरहेको छ। त्यहीँ दार्जीलिङतिर भने माटोको बासना आउने कविताहरू लेखिन्छन्। सिक्किमले मन छुने कविता लेखेकै छैन।’

प्रज्ज्वल रेग्मी, मणिकुमार राई, स्तुति छेत्री, मित्रराज शर्मा, आरती शर्मा, अनमोल तामाङ, विजयता दर्नाल, एनबी घिमिरे, सञ्जय राई आदिले कविता सुनाए भने विद्यार्थीहरूले नृत्य पनि गरे।

यही माचोमा इन्द्रकुमार राईले मान्छेभित्रका चित्रहरू लोकार्पण गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन