बोर्डका प्रतिनिधिहरूसित तृणमूलको गोप्य बैठकः बोर्डलाई दिइयो जिताउने जिम्मा

विज्ञापन

  • डी.के. वाइबा, कालेबुङ/ 2 मई/2017

‘वैठकमा नगरपालिका चुनावमा विकास वोर्डहरूको भूमिका कस्तो हुनपर्ने भन्ने विवरण दिइएको छ’ गोप्य सुत्रले भने, ‘प्रत्येक वार्डका मतदाताहरूको सूची तयार गरिएको छ। कुन वार्डमा कुन जातका मतदाता धेर छन् त्यहाँ त्यसै जातका बोर्डलाई जिम्मेवारी सुम्पिएको छ।’


नगरपालिका चुनाउलाई लिएर तृणमूल कङ्ग्रेस निक्कै गम्भीर बनेको छ। पहाडको चारवटा नगरपालिका क्षेत्रमा विजय बन्न तृणमूल कङ्ग्रेसले विभिन्न उपाय खोजिरहेको छ। केही दिन अघि मात्रै लेप्चा विकास वोर्डका उपाध्यक्ष युसुफ सिमिकलाई पद्च्युत गर्ने तृणमूल कङ्ग्रेसले अहिलेघरी ‘प्रेसर ट्याक्टिस’-को राजनीति शुरु गरेको छ, जसको सोझो असर विकास बोर्डहरू माथि देखिने सम्भावना छ। बोर्डहरूलाई लिएर तृकंले चुनावी दबाव बनाउने रणनीति हातमा लिएको छ।

 एकपछि अर्को विकास वोर्ड गठन गर्ने तृणमूल सरकारले यसपल्ट नगरपालिका चुनावमा तृणमूललाई जिताउने ठेका विकास बोर्डहरू माथि खनाएको छ। नगरपालिकाको वार्डहरूमा कुन जातिको मतदाताहरू कति छन् भन्ने पूर्व विवरण बोकेको तृणमूल नेताहरूले अहिले विकास बोर्डका प्रतिनिधीहरूलाई सोसी विवरण हातमा थमाएर नगरपालिकाको वागडोरमा तृणमूललाई पुर्‍याउनुपर्ने ठेका दिएको छ।

यसैक्रममा आज कालेबुङमा 15 वटा विकास वोर्डका प्रतिनिधिहरूलाई लिएर तृणमूल कङ्ग्रेसले बन्द कोठामा गोप्य वैठक गरेको छ। कालेबुङमा विशेषरुपले दुई सप्ताहदेखि चुनावी अभियान चलाइरहेका तृणमूल कङ्ग्रेसका चुनाव परिदर्शक एवम् जलपाईगडी जिल्लाका जिल्लाधिपति मोहन शर्माले उक्त गोप्य वैठक गरेका हुन्।

वैठकमा सम्पूर्ण जातगत् विकास बोर्डका प्रतिनिधिसँगै तृणमूल सांसद दशरथ तिर्कीको समेत उपस्थित थियो।

‘वैठकमा नगरपालिका चुनावमा विकास वोर्डहरूको भूमिका कस्तो हुनपर्ने भन्ने विवरण दिइएको छ’ गोप्य सुत्रले भने, ‘प्रत्येक वार्डका मतदाताहरूको सूची तयार गरिएको छ। कुन वार्डमा कुन जातका मतदाता धेर छन् त्यहाँ त्यसै जातका बोर्डलाई जिम्मेवारी सुम्पिएको छ।’

यता वैठक पछि मोहन शर्माले भने उक्त वैठक विकास वोर्डका प्रतिनिधिवर्गसँग नबसेको स्पष्टिकरण दिएका छन्।

‘वैठकमा तृणमूल कर्मीहरू मात्र थिए। हामीले स्थानको अभावमा विकास बोर्डको कार्यालयमा वैठक बसेका मात्र थियौँ। यसमा विकास बोर्डका प्रतिनिधिहरू थिएनन्’, मोहन शर्माले स्पष्टिकरण दिँदै भने।

उनले उक्त स्पष्टिकरण दिए पनि प्रायः जम्मै विकास बोर्डका प्रतिनिधिहरू नै वैठक कक्षदेखि बाहिरिँदै गरेको देखियो। उनले चुनाव प्रचारमा तृणमूल कङ्ग्रेसले कार्य गरिरहेको बताउँदै चुनौति भने जटिल रहेको स्वीकार गरेका छन्।

 ‘पहाडमा तानाशाह गर्नेहरूको विरुद्ध शान्ति र विकासको निम्ति हामी चुनाव लड्दैछौँ। निश्चय नै हाम्रो निम्ति चुनौतिहरू छन्’ शर्माले भने, ‘यदि नगरपालिकामा जन आन्दोलन पार्टी अथवा गोजमुमोले बोर्ड बनाएको खण्डमा नगरपालिकाको विकास हुनेछैन। राज्यको सत्तामा तृणमूल कङ्ग्रेस छ। जाप अनि गोजमुमोले बोर्ड बनाए उनीहरूले पैसा कहाँबाट ल्याउँछ?’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया