सम्मान भत्ता बढ़ाइदेऊः आईसीडीएस कर्मचारीवर्ग

दार्जीलिङ, 13 नोभेम्बर।


दार्जीलिङ पहाड़का आईसीडीएस कर्मी-सहकर्मीहरूले आज जीटीए प्रमुख विनय तामाङसित भेट गरी 5 सूत्री माग पेश गरे। यसका साथै यी आईसीडीएस कर्मी-सहकर्मीहरूको संगठन जनमुक्ति आईसीडीएस युनियनको नाम पनि परिवर्तन गऱेर एकीकृत शिशु विकास आँगनबाड़ी  कर्मी-सहकर्मी संगठन राखियो। यसैको जानकारी गराउँदै संगठनकी कार्यकर्ता आशा हिङ्माङले भनिन्-अन्य स्थानको तुलनामा दार्जीलिङ पहाड़का आईसीडीएस कर्मी-सहकर्मीहरूले अतिनै कम्ति सम्मान भत्ता पाइरहेका छन्, यसैले उनीहरूको सम्मान भत्ता क्रमैले 12,000 र 8,000 रूपियाँ बनाइदिनुपर्छ।

यसो हुन नसके कर्मी-सहकर्मीहरूलाई प्रशिक्षित मजदूरको दर्जा दिनुपर्छ। हाल दार्जीलिङ पहाड़का आईसीडीएस कर्मी-सहकर्मीहरूले मासिक सम्मान भत्ता केवल 4,400 र 2,850 रूपियाँ पाइरहेका छन्। यसरीनै संगठनले केन्द्र र राज्य सरकारका कर्मचारीहरूलाई जस्तै कर्मी-सहकर्मीलाई पनि शीतकालीन र पार्वत्य भत्ता दिनुपर्ने, कर्मी-सहकर्मीहरूलाई अवकाशपछि र कार्यावधिको समय मृत्यु भएको खण्डमा भविष्यनिधि कोषस्वरूप 4 लाख र 2 लाख आर्थिक सहयोग प्रदान गर्नुपर्ने, कर्मीहरूलाई योग्यता र अनुभवको आधारमा निरीक्षक (सुपर भाइजर)-मा पदोन्नति गर्नुपर्ने साथै सहकर्मीहरूलाई कर्मीमा पदोन्नति गर्नको लागि चाँड़ो अन्तरवार्ता गर्नुपर्ने माग गरेको छ।

उनीहरूको भनाई छ-समतलका आईसीडीएस कर्मी-सहकर्मीहरुको तुलनामा दार्जीलिङ पहाड़का आईसीडीएस कर्मचारीहरुले दोब्बर काम गर्न परिरहेका छन्। समतलमा गत केही वर्षअघिनै एक गैर सरकारी संस्था आशामा कर्मचारीहरुको नियुक्ति भएको थियो अनि उनीहरुले आ-आफ्नो काम गरिरहेका छन्। तर दार्जीलिङ पहाड़मा आशामा कर्मचारी नियुक्ति नभएको कारण पहाड़का आईसीडीएस कर्मचारीहरूले उनीहरुको कामको बोझ पनि उठाउन परिरहेका छन्।

हाल दार्जीलिङ पहाड़का 2,148 वटा आईसीडीएस केन्द्रमा लगभग 4,000 जना कर्मी-सहकर्मीहरु कार्यरत छन्। उनले भनिन्-देशका अन्य राज्य जस्तै तेलंगाना, हैदरावाद साथै अन्य राज्यका आईसीडीएस केन्द्रहरुमा कार्यरत कर्मी-सहकर्मीहरुको सम्मान भत्ता अहिले 7,000 देखि 10,000 रुपियाँसम्म छ। यसरीनै ती राज्यहरुका आईसीडीएस कर्मी-सहकर्मीहरुलाई बिरामी भत्ता, गरम महीनाको छुट्टी 15 दिन साथै अन्य सहुलियतहरु पनि प्रदान गर्ने व्यवस्था छ। तर दार्जीलिङ पहाड़का आईसीडीएस कर्मी-सहकर्मीहरुलाई केवल 2,850 र 4,400 रूपियाँ मात्रै सम्मान भत्ता प्राप्त भइरहेको छ।

यसैले वर्तमान मूल्य वृद्धिका साथै अन्य विषयहरुलाई केन्द्र गरेर पनि पहाड़का आईसीडीएस कर्मी-सहकर्मीहरुको सम्मान भत्तामा बढ़ोत्तरी गर्नुपर्छ। आईसीडीएस कर्मचारीहरूका यी समस्या विषय लिएर जीटीए प्रमुख विनय तामाङले आगामी 21 नोभेम्बरको दिन हुने वार्तामा कुरा उठाउने आश्‍वासन दिएको संगठनका अध्यक्ष मणि राईले बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन