नेवारले नेवारीमा नै आवेदन गर्नुपर्छ, जिल्ला शासकको निर्देशनमा हाम्रो आपत्ति छैन- नेवार युवा सङ्गठन

कालेबुङः साङ्मा चियाबारीका निश्चल प्रधान 18 नोभेम्बरको दिन जिल्ला शासकको कार्यालय पुगेका थिए। प्रधानलाई सेनामा भर्ति हुनुथियो, तर थिएन गोर्खा प्रमाणपत्र। त्यही बनाउन उनी  जिल्ला शासक कार्यालय पुगेका थिए। तर उनलाई गोर्खा प्रमाणपत्र दिइएन। जिल्ला शासक कार्यालयद्वारा प्रधानलाई  ‘नेवारी भाषामा आवेदन गर’- भनियो।

ललित प्रधानले यो घटना सार्वजनिक गर्दै भनेका थिए, ‘हामी जिल्ला शासक कार्यालयमा जातीय प्रमाणपत्र लिन गएका हुन्छौँ, जातजातको प्रमाणपत्र होइन।’

यो समाचार प्रकाशमा आएपछि भारतीय जनता पार्टी कालेबुङका संयोजिका अन्नापूर्णा चतुर्वेदीले पत्रकारसम्मेलन गरेर भनिन्, ‘यो त गोर्खा युवाहरूको भविष्य अन्धकार बनाउने षडयन्त्रको प्रमाण हो, सरकारी आवेदन त अङ्ग्रेजी, हिन्दी वा नेपालीमा गरिनुपर्ने हो।’

उनले नेवारी भाषामा नै आवेदन माग्नु-लाई गोर्खा जाति फुटाउने चलखेल-कोरूपमा व्याख्या गरेकी थिइन्। जिल्ला शासकलाई यसबारे स्पष्टिकरण माग्दै पत्र लेखेको पनि चतुर्वेदीले बताएकी थिइन्। यो कुरा केन्द्र सरकार, भाजपा राज्य समिति र राष्ट्रीय समितिलाई समेत अवगत गराउने बताएकी थिइन्।

तर नेवार युवा सङ्गठनले चतुर्वेदीको यसप्रकारको टिप्पणीप्रति ठाडो विरोध जनाएको छ। सङ्गठनका सचिव रबी प्रधानले एक पत्रकार सम्मेलन गर्दै आज भने, ‘निश्चल प्रधान नेवार हुन्, यसकारण उनले नेवारीमा नै आवेदन गर्नुपर्छ। नेवार बोर्ड संस्कृति, भाषा संरक्षणको लागि हो। हामीले हाम्रै भाषामा लेख्नुपर्छ। जसजसले नेवारीमा लेख्न जान्दैनन् उनीहरूले हामीलाई सम्पर्क गरुन्, हामी सहयोग गर्नेछौँ।’

संविधानमा नै भाषा प्रयोग गर्न पाउने कुरा उल्लेख भएकाले यस मामिलामा भाजपाका प्रतिनिधिहरू बाठो नभइदिने अनि भाजपाले नेपालीहरूको लागि केही पनि नगरेको पनि प्रधानले जनाए।

चतुर्वेदीले भनेका अङ्ग्रेजी, नेपाली र हिन्दीमा आवेदन गर्नुपर्ने कुराको विरोध गर्दै उनले नेवार जातिको सन्दर्भमा हस्तक्षेप नगरीदिने अनि आफूहरूलाई जिल्ला शासकबाट नेवारी भाषामा आवेदन गर्ने निर्देशसित कुनै आपत्ति नरहेको जनाए।

‘पहाडका स्कूलहरूमा नेवार भाषाको पठनपाठन पनि सरकारले शुरु गरोस्,’ उनले भने, ‘नेवारहरूले नेवारी भाषामा नै सरकारी आवेदन लेख्नुपर्छ, लेख्नु पाउनु हाम्रो अधिकार हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन