भाषाको विकास त्यसरी पो हुनुपर्ने

विज्ञापन

  • मिलन बान्तवा, दार्जीलिङ

पारसमणि प्रधानहरूले लेखेका नेपाली भाषाका किताबहरू पढ़्दै आएपछि स्वाभाविक रूपले मैले मेरो राई लवज हराएको हुँ।


म जातले राई। राईहरूको अरिजिनल बोली आजभोलि म बोल्न सक्दिनँ। यहाँ मैले बोली भन्दा राई भाषाको कुरो गरेको होइन। मेरो राई भाषा त मेरा बाबुकै पालादेखि मासिएर आएको हो। मैले यहाँ राईहरूले बोल्ने नेपाली लवजको कुरो गरेको हुँ। पारसमणि प्रधानहरूले लेखेका नेपाली भाषाका किताबहरू पढ़्दै आएपछि स्वाभाविक रूपले मैले मेरो राई लवज हराएको हुँ। राईहरूले बोल्ने आदिम नेपाली भाषाको रूपदेखि आजका राईहरूले बोल्ने आधुनिक नेपाली भाषा बोल्न सिक्नको निम्ति हाम्रा पूर्वजहरूले कति पसिना चुहाए होलान्, कति रगत बगाए होलान्।

आजभोलि राई, लिम्बु, तामाङ, छेत्री, मगर, खस, बाहुन आदिजस्ता नेपाली भाषा बोल्ने जातहरूले आआफ्ना प्रकारका अरिजिनल नेपाली बोली बिर्सिसकेका छन्। यी सबै जातहरूले नेपाली नै बोले तापनि उनीहरूले बोल्ने नेपाली भाषाको प्रकृति र स्वभाव अलग-अलग थिए। अहिले यसो पछिल्तिर फर्केर हेर्दा हाम्रो बोलीमा धेरै सुधार आएको छ जस्तो लाग्छ। नेपाली जातिभित्र पर्ने सबै जातहरूले प्रायः समान लवजमा नै नेपाली भाषा बोल्छन्। हाम्रो नेपाली लवजमा जुन विविधता थियो, त्यो मासिएर गइसक्यो। हामी सबै जातहरूको बोलीमा एकरूपता आइसक्यो।

यसको मतलब, हामी भाषा प्रयोगको क्षेत्रमा धेरै अघि पुगिसक्यौँ।
मैले मेरो अरिजिनल बोली हराइपठाएँ भन्ने मलाई कुनै पश्चात्ताप छैन तर म विकासको मार्गमा निकै अघि हिँड़िसकेँ भन्ने गर्व छ। तर अझै पनि म नेपाली भाषा वैज्ञानिक ढङ्गमा बोल्न नसक्दोरहेछु। वर्णमालामा भएका सबै वर्णहरू सही ढङ्गले उच्चारण गर्न नसक्दोरहेछु। यस्तो स्थितिमा मैले वैज्ञानिक ढङ्गमा बनेका देवनागरी लिपिका वर्णहरूको सही उच्चारण सिक्नुपर्ने कि नेपाली भाषाको अरिजिन्यालिटी हराउँछ भनेर वर्णहरू हटाउनुपर्ने? वर्णहरू सही उच्चारण गर्न नसक्नु हाम्रो कमजोरी हो।

उच्चारण भएन भनेर ती उच्चारण गर्न नसकिएका वर्णहरूलाई हटाउनु वैज्ञानिकतालाई अपनाउन नसक्नु हो जस्तो मलाई लाग्छ। हाम्रो भाषाको समकक्षी हिन्दी भाषीहरूबाट हामीले उच्चारणज्ञान सिक्नुपर्ने हो। मैले यसो भन्दा साथीहरूले हाम्रो भाषाको अरिजिन्यालिटी हराउँछ भन्ने तर्क दिन्छन्। म त छक्क पर्छु। सही ढङ्गले उच्चारण गर्न नसक्नु असभ्यता हो। हाम्रो बोलीमा असभ्यपना देखिन्छ भने त्यसलाई परिमार्जन गर्न आवश्यक छ कि छैन? सही कुरो सबैबाट सिकेको असल। हिन्दीको सफ्टवेयर बनाइँदा सबै वर्णहरूलाई स्थान दिन सकिन्छ भने हामीले चाहिँ किन उनीहरूबाट सिक्न लाज मान्ने? हिन्दीमा पनि सबै वर्णहरूको उच्चारण हुँदैन भन्छन् भने हिन्दीमा जे-जति वर्णहरू चलाइरहेका छन् कमसेकम त्यतिसम्म त हामीले उनीहरूबाट सिक्दा केही नोक्सानी हुने छैन। नजानेको कुरो सिक्न लाज मान्नुहुँदैन। यसो गर्दा हाम्रो भाषाको अरिजिन्यालिटी हराउँछ भन्ने भावुकता छोड़्नुपर्छ। गलतदेखि सहीतिरको कदम सराइ नै वास्तवमा विकास हो। भाषाको विकास त्यसरी पो हुनुपर्ने।
अर्को कुरो, प्रयोगशालामा बोल्दा हामीले उच्चारण गर्ने वर्णहरू कम्प्युटरले देखाउँदैन भन्छन्। हामी त कम्प्युटर बनाउन सक्दैनौँ। कम्प्युटरमा नाना प्रकारका प्रोग्रामिङहरू गर्न हामीलाई आउँदैन। तकनिकीको क्षेत्रमा हामी धेरै पछि छौँ। यो त हामीले स्विकार्नैपर्छ। जसले कम्प्यूटरका प्रोग्रामिङहरू बनाउँछन्, उनीहरूले कम्प्युटरलाई मान्छेको सुविधाअनुसार काम गर्न लाउँछन्। हाम्रो यहाँचाहिँ ठीक उल्टो भइरहेको छ। कम्प्युटरको सुविधाअनुसार हामी पो बदली भइरहेका छौँ। यसैले भएकै वर्णहरू हटाइँदैछन्। हाम्रो वैज्ञानिकता यस्तै रहेछ।

(मिलन बान्तवाको फेसबुक वालबाट साभार)


 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया