तीन पुस्तक लोकार्पितः संसारमा क्रान्ति प्रथम कलमबाट हुन्छः सी. पी. ढकाल

गान्तोक, 15 नोभेम्बर


‘संसारमा जति पनि ठूला-साना क्रान्तिहरू भएका छन् तिनीहरूको आधार भनेको कलम हो अनि त्यो कलम सर्जकहरूले चलाउँछन् र समाजलाई नवीन दिशा दिँदछन्। संसारको विकास र सम्वृद्धि केवल साहित्यबाट मात्र सम्भव छ। विद्या आर्जन गर्ने व्यक्तिले समाजको हित र विकासको निम्ति सोच राखेर विद्या लिएको छ भने उसको समाज निश्चित रूपमा ज्ञानी गाउँ बन्नेछ,’  उक्त मन्तव्य वरिष्ठ समाज सेवी तथा सिक्किम सरकारका पर्यटन विभागका विशेष सचिव सी. पी. ढकालले व्यक्त गरेका हुन्।

उनी खाम्दोङस्थित सोनामति मेमोरियल उच्च माध्यमिक विद्यालयमा सम्पन्न बाल दिवसको दिन विशाल समारोहको अध्यक्षीय सम्बोधन गरिरहेका थिए। उक्त अवसरमा स्वाधीन भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको जन्म दिनलाई स्मरण गर्दै ढकालले सोनामति विद्यालय तथा समवर्ती क्षेत्रबाट पनि भारतलाई प्रतिनिधित्व गर्ने जशलाल प्रधान, भाइचुङ भोटियालगायत अब्दुल कलामजस्ता व्यक्तिहरू बनाउनुपर्ने आह्वान गरे।

यसरी नै उनले सिक्किममा सकारात्मक सोच राख्नेहरूका निम्ति संसाधनको कुनै कमी नरहेको मन्तव्य पोख्दै विद्यालयका कतिपय समस्याहरू छन् भने स्कूलको कार्यकारिणी समितिमा प्रस्तावहरू राखेर समाधान गर्नसकिने कुरा राख्दै सिक्किमले भारत सरकारबाट निर्मल राज्यको पुरस्कार प्राप्त गरेको उल्लेख गर्दै सिक्किम स्वच्छ राख्ने दायित्व केवल सरकारको मात्र नभएर आम मानिसहरूको पनि रहेको ढकालले स्पष्ट पारे।

सिक्किमको विकासको सन्दर्भमा ढकालले सरकारले जे-जे दिइरहेको छ त्यसको सुरक्षा गर्ने जिम्मेवारी सिक्किमे समाजको पनि रहेको स्पष्ट पारे। यसरी नै बाल दिवसको उपलक्ष्यमा विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा समारोहका प्रमुख अतिथि सिक्किम कलाकार संघका अध्यक्ष एवं नाटककार, अभिनेता चुनिलाल घिमिरेले मानिसको सर्वांगिन विकास यदि कुनै कुराले दिन्छ भने त्यो हो शिक्षा, भने।

असल व्यक्ति बन्न रहर होइन सोच रहन आवश्यक मन्तव्य व्यक्त गर्दै घिमिरेले साहित्य सौन्दर्यको अभिव्यक्ति मात्र नभएर साधारण मानिसहरूको जीवनलाई उठाउने मजबुत हतियार रहेको स्पष्ट पारे। यसरी नै उनले साहित्य सेवीहरू कतापट्टि उभिएका छन् र उनीहरूको उद्देश्य केवल नायक बन्नेमात्र हो कि समाजलाई सामूहिक रूपमा सम्याएर अघि लाने हो आफूहरू स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।

साम्यवादको सपना देख्नेहरूदेखि लिएर आज उत्ताराधुनिक युगसम्मका सर्जकहरूले साहित्य केवल समाज विकासको निम्ति लेख्दै आएका छन्। यस्तोमा कहिलेकहीँ के देखिन्छ भने केही कुराहरू राजनीति र व्यक्तिप्रेरित ेदेखिन्छ तर यस्ता कुराहरू धेरै दिन टिक्दैनन् भन्ने घिमिरिको मत देखियो। जबसम्म जनवादी विचारधारालाई आत्सात गरेर अघि बढिँदैन तबसम्म दिगो साहित्यको निर्माण हुँदैन।

यसै सन्दर्भमा विद्यार्थीहरूको बुद्धि विकासका निम्ति समारोहका प्रमुख अतिथि घिमिरेले विद्यालयको पुस्तकालयको निम्ति कम्तीमा दुई सयवटा पुस्तक दिने प्रतिबद्धता व्यक्त गरे। आजको कार्यक्रमको विशेष आकर्षण पुस्तकहरूको विमोचन र समाजसेवी धनमाया शर्मा (ढकाल) लाई बाल दर्पणको तर्फबाट विशेष अभिनन्दन कार्यक्रम रहेको थियो।

पुस्तक विमोचनमा विशेष गरेर 1996 मा पुकार नामक पुस्तकबाट साहित्याकाशमा पदार्पण भएका टाशी नामग्याल भोटिया ‘भुइँफुट्टा’ को ‘बहिष्कार’ (कविता संग्रह), सोनामति मेमोरियल उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल लोकनाथ शर्मा ‘ढुंगेल’ को ‘विद्यार्थीहरूलाई चिट्ठी’ तथा 17-18 वर्षदेखि लगातार रूपमा बाल दर्पण पत्रिकालाई निरन्तरता दिने भीम प्रधानद्वारा सम्पादित बाल दर्पण पत्रिकाको 93 औं अंक लोकार्पित भयो।

यसै क्रमममा विद्यार्थीहरूलाई चिट्ठी नामक पुस्तकको समीक्षा विकास भट्टराईद्वारा गरिएको थियो भने 93 औं अंक बाल दर्पणको समीक्षा प्रकाश सुवेदीद्वारा गरियो। यसै क्रममा बाल दर्पणको पक्षबाट सम्पादकीय सम्बोधनमा भीम प्रधानले बाल दर्पण एक सय अंकतर्फ अग्रसर हुनुमा विद्यार्थीवर्ग र शिक्षक एवं अभिभावकवर्गको विशेष योगदान रहेकोमा विशेष आभार प्रकट गरे।

उनले आफ्नो सम्बोधनमा पहाडी भेकबाट नेपाली भाषामा बालक-बालिकाहरूको पत्रिका एक सय अंक पुग्न लाग्दा सिक्किमको नाम उज्जवल बनिने कुरामा आफू विश्वस्त रहेको उनको आशय थियो। यसरी नै वरिष्ठ समाजसेवी धनमाया शमर्मा (ढकाल) लाई बाल दर्पणको पक्षबाट विशेष आभार प्रकट गर्दै अभिनन्दन गरियो।

उक्त अवसरमा आफ्नो सम्बोधनमा श्रीमती ढकालले साहित्य, समाजको हित र विकासको निम्ति सकारात्मक सोच राख्नुपर्ने मन्तव्य व्यक्त गर्दै विद्यालयको पुस्तकालयको श्रीवृद्धिको निम्ति विद्यालयका प्रिन्सिपलको हातमा 30 हजारको चेक प्रदान गरिन्। यस अवसरमा उनले विशेष गरेर नानीहरूलाई आजैदेखि आफ्ना उद्गारहरू लेख्ने आह्वान पनि गरिन्।

कार्यक्रमकै अविधिभित्र विद्यालयका विविध र प्राविधक पक्षहरूलाई सञ्चार माध्यमसम्म पुऱ्याउन तथा दस्तावेजलाई सुरक्षित राख्नका निम्ति वेबसाइट बनाउने विद्यार्थी सुशिल छेत्रीलाई पनि सम्मान गरियो। बाल दिवस समारोहमा कवि गोष्ठीको गरिएको थियो, जसमा राम शर्मा ‘फिर्के’, अंमित लेप्चा, बहिष्कार पुस्तकका रचयिता टाशी नामग्याल भोटिया आदिले कविता वाचन गरे।

विकास भट्टराई तथा एस. के. शर्माद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको कार्यक्रममा सांस्कृतिक रूपमा मनोरञ्जन दिँदै प्रविका अनि साथीहरू, नालमित अनि साथीहरू, छितेन अनि साथीहरू एवं दीक्षा तथा साथीहरूबाट नेपाली, लेप्चा, हिन्दी गीतहरूमा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्वागत सम्बोधन विद्यालयका प्रिन्सिपल एल. एन. ढुंगेलले गरेका थिए भने धन्यवाद ज्ञापन के. पी. ढकालले दिएको साहित्यकार अर्जुन पियूषले प्रेस बयान जारी गरेर बताएका छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया