स्वतन्त्रता सौन्दर्य

  • शैलीका छेत्री

धर्म, विज्ञान, भाषा, नैतिकता, आदर्श, जीवनदर्शन अनि आचरण मात्र नभएर स्वयंको अस्मिता अनि अस्तित्व पनि गम्भीर सङ्कटमा छ। हुनपनि राजनीतिक पक्षबाट हेर्दा मनुष्य कति हदसम्म स्वतन्त्र बन्न सक्छन् र?


दोरी र स्वतन्त्रता

दोरीले बाँधेको स्वतन्त्रता कस्तो हुन्छ? सायद अभिधामा यसको उत्तर हुँदैन। यसको उत्तर पछिल्तिर एउटा कलात्मक टेक्सचर छ। हरेक उत्तरपछि अर्को प्रश्न उभिएकै हुन्छ। मानौं, सोध्यौँ, ‘स्वतन्त्रता के हो? ’ यसको उत्तर न मैले,  न त अरू कसैले पनि  सही तौरमा बुझेको विषय हो। आधुनिकतम चित्रकलाको नमूना हेरेपछि जसरी प्रत्येकले आफ्ना-आफ्नै थरीका व्याख्या दिन्छन्‌,  यही हेर्ने, भोग्ने, बोध गर्ने वा भाइब्रेट गर्ने चरित्रभित्र कतै छ यो शब्द, -‘स्वतन्त्रता’-को समाजशास्त्रीय अर्थ।

वास्तवमा स्वतन्त्रताको अर्थ के हो?, सङ्कीर्णतावादी रूझानदेखि पर व्यक्ति बनाम समूह, अन्तर्मुखी बनाम सामाजिक चेतनाबीचको वाइनेरी अपोजिसन्समा केही उत्तर होला। तर, त्यतिखेर घरिघरि मनमा एउटा प्रश्न आउँछ, हामी जन्म र मृत्यु अनि सामाज र परम्पराबीचको सीमित घेरोमाझ बन्दी रहँदा,  हाम्रो स्वतन्त्रताको परिधि कति हदसम्म विस्तृत हुन्छ? आखिर, त्यो व्यक्तिगत सत्य हो। मनुष्यमा कत्तै न कत्तै त यस्ता सङ्कीर्णतावादी विचार निहित छ, जसको क्रुर प्रभावले जीवन जिउने स्वतन्त्रता तथा कलात्मक सौन्दर्यलाई भस्म गराउँछ। आखिर कति दोरीमुक्त छ स्वतन्त्रता?

प्राचीन सौन्दर्य

प्रगतिशील कवि तुलसीदासद्वारा रचित रामचरित्रमानस-मा उबेलाका सामाजिक सङ्कीर्णतावादी रूझानको बलियो उपस्थिति छ। कविले महाकाव्यमा आदर्श सामाजिक रूपरेखामा लोक, नीति, धर्म, ज्ञान, कर्मकाण्ड, भक्ति, वैराग्य, राजनीति तथा कूटनीतिको बयान गरेतापनि, त्यसबेलाको समाजमा सामाजिक, पारम्परिक, सांस्कृतिक, मनोवैज्ञानिक सङ्कुचन थियो। त्यो उनको काव्यिक संवेगभरि छ। डा. रामविलास भन्छन्‌, -‘तुलसीको रामचरित्रमानसले राम भक्ति, वर्ण, जाति, धर्म आदिको कारण कसैलाई बहिष्कार गर्दैन। तर तुलसीदासले मर्यादामा बाँधिएका पुरूष राम-बारे चर्चा गर्दा सायद रामद्वारा मुक्तिकामी शम्बूकको बध भएको कुरा भुले होलान्।‘

यहॉं निर्धक्क एउटा नबुझेको कठिन पहेली मनमा उभिन्छ, शम्बूक मुक्तिकामी भए तापनि उ स्वतन्त्र प्राणी थियो।  जीवनको प्रत्येक संवेदना उसमा पनि उत्तिकै उब्जिन्थ्यो होला। फेरि शम्बूकको बध किन हुनु? त्यो पनि सामाजिक मार्यादाको सिङ्गो परिचय दिन मात्र?

वास्तवमा त्यहाँ पनि प्राणीको जिउने अधिकार हनन् भएको हो। स्वतन्त्रताले नै स्वतन्त्रता गुमाउने विम्बको यो प्राचीन सौन्दर्यले पनि स्वतन्त्रताका कुरा गर्नेहरूलाई धेरै केही भनिराखिदिएको छ।

राजनीति र स्वतन्त्रता

आखिर, सबै राजनीति नै मानवद्रोही हुन्छ। राजनीतिक सङ्गठन या संस्थाले मनुष्यको आत्म-विवेकको हत्या गर्छ। त्यसैले आजको मानव जसरी अस्तित्व संकटको दौरबाट हिँडिरहेको छ, यो स्थिति अत्यन्त व्यापक अनि भयावह छ। धर्म, विज्ञान, भाषा, नैतिकता, आदर्श, जीवनदर्शन अनि आचरण मात्र नभएर स्वयंको अस्मिता अनि अस्तित्व पनि गम्भीर सङ्कटमा छ। हुनपनि राजनीतिक पक्षबाट हेर्दा मनुष्य कति हदसम्म स्वतन्त्र बन्न सक्छन् र?

हिन्दुस्तानमा प्रचण्ड ब्रिटिश साम्राज्यलाई सन्‌ सैतालीसमा महात्मा गान्धीको राजनैतिक उद्देश्य अनि विशुद्ध नैतिक अस्त्रको सफलतापूर्वक प्रयोगले, नैतिकतापूर्ण जनशक्तिको आधारमा, भारतबाट ब्रिटिश साम्राज्यलाई ध्वंश पार्दै, स्वाधिनताको मिठो स्वाद चखायो तर, यस स्वाधीनता-प्राप्ति पछि भारतमा चारैतिर लाल-झण्डा बाहेक केही देखिएन। त्यसको अर्थ स्वतन्त्रतापछि नै देश दबिएको समाज र उठेकोसमाजमा विभाजित बन्यो।

देशको अधिकांश जनताले कङ्ग्रेसी सत्ताको प्रभावले मानव-मूल्यलाई कुल्चिएको मात्रै भेटाए, तर पनि  यसैलाई प्राप्तिकोरूपमा सत्ताले सम्पूर्ण देशको विकास मान्न थाल्यो। सायद विभाजित राजनीतिले तिरङ्गालाई कफन बनाएर मनाव चेतनालाई बेर्ने कार्य गऱ्यो।  यसैकारण यसको शक्तिको दाउपेचले, स्वाधिनतापछि समाजमा त्यो अन्तर्विरोधी राजनीतिक चित्रमयताभित्र परस्पर-विरोधी प्रेरणा, आवेग अनि कुटनीतिको अराजकतावादी स्वरको विकास गऱ्यो अनि त्यसैको छिटा दार्जीलिङमा पऱ्यो। त्यो अन्तरविरोध हरियो झण्डाको शासनमा उग्रद्रष्ट बन्यो अनि जनतालाई बङ्गालको अधीनमा नाङ्गो-भोको तुल्याउँदै होमिदियो।

अहिले आइडेन्टिटी क्राइसिस भोगिरहेका छौं।

हुन पनि, कुनै राजनीतिक माग एक पक्षीय नरहेर सर्वतोमुखी क्रान्ति र विचारको रूपमा रुपान्तर भएपछि मात्रै त सफल बन्छ। यस राजनीतिक घर्षणबारे कवि पन्त बोल्छन्‌- ‘‘यस युगमा आर्थिक तथा राजनीतिक परिस्थितिको कारण शोषित प्रत्येक भू-भागमा बढ़ी सङ्ख्यामा नाङ्गो अनि भोको जनताको प्रश्न सबैभन्दा आवश्यक अनि महत्वपूर्ण प्रश्न बनेर उभिन्छ। कारण मान्यता, रूढ़ीवाद अनि परम्परा केवल कृत्रिम बोझ मात्र हुन्।  यसको अन्तर्यमा निहित राजनीतिले मानवीय विकास मार्ग अवरूद्ध गर्छ, यसलाई हटाएर उदार आधुनिक दृष्टिकोणमा केन्द्रित रहेर मात्रै मानववादी दृष्टि ‘स्वतन्त्र अभिव्यक्ति’ बन्छ।’

यस प्रकार, स्वाधीनताको मूल्यलाई केलाउँदै समकालीनतालाई एक दृष्टिबाट हेर्दा, झट्टै दिमागमा स्टीफेन स्पेडन्डरको स्ट्रगल अफ दी मर्डन-ले दवाब दिन्छ।  जस अनुसार समकालीन दुनियॉंमा सङ्घर्षबाट सम्पृक्त बनेर मानव मूल्य अनि शक्तिलाई स्वीकार गरेर हिँड्‌दा एकतर्फ जीवन प्रतिक्रियाशील बोध हुन्छ त अर्कोतर्फ अतीत अनि भविष्यबाट निरपेक्ष रहेर युगको स्थिति-विशेष वा क्षण-विशेषप्रति आत्मीयताको भाव झल्किन्छ।

यस परिप्रेक्ष्यमा वर्तमान जीवन, घटना अनि वास्तविक स्वरूप नव-विकसित मूल्यबाट फुत्किएर सङ्कुचित एवं सङ्कीर्ण आयामतर्फ ढलेको पाइन्छ।

सार रूपमा भन्दा, जीवन अव्यवस्थिति अनि स्वतन्त्रताहिनताले छट्‌पटिरहेको देखिन्छ।

हुन पनि, मानिस कुन क्षेत्रमा पो स्वतन्त्र छ र? अझ राजनीतिक दाउपेचभित्र मानव सोच बन्दी र अझ बाहुन्ने पो बन्छ।

सार्त्र र स्वतन्त्रता

सार्त्र अनुसार यस सृष्टिको निर्माणपछिल्तिर केही विशेष कारण या उद्देश्य छ। तर, सृष्टि रचिन अनिवार्य थिएन। अनिवार्य थियो भने निरूद्देश्यताको थियो, जसले जीवनलाई सार्थक बनाउँथ्यो। यही अनिश्चितता नै सृष्टिको मूल लक्षण। यस प्रकारको सोचबाट मानव वैयक्तिक अनुभूतिलाई खुलेर अभिव्यक्त गर्दै ,‘स्वतन्त्र’ बन्छ।

सार्त्रले मनुष्यको ईश्वर, समाज, आदर्श, संस्था वा सत्ता प्रतिष्ठानप्रति उत्तरदायित्वको भावनालाई स्वीकार गर्दैनन्‌ तर, मान्यता छ अपार स्वतन्त्रताले व्यक्तिलाई उशृङ्खल अनि उत्तरदायित्वहिन बनाउँछ।  समाजमा अराजकता र विध्वंशकारी शक्ति बढ़ेर जान्छ। तर, सार्त्रको समग्र दृष्टिबाट हेर्ने हो भने समाज स्वतन्त्र रहे, यहॉं प्रगतिशीलता, कर्मठता अनि आशावादिता बढ़ेर, यसको उत्तोक्तर विकास हुन पुग्छ।

स्वतन्त्रताको पक्षमा ताव अफ फिजिक्स

संसारमा वर्तमान केही छैन, प्रकाश यात्राको कारण दृष्यसित सम्बन्धित हुनाले समयले सबैलाई भूत बनाइदिन्छ। हामी जो देख्छौं त्यो त्यही क्षणको नभएर केही अघिको घटना हुन्छ। सुदूर तारामण्डलमा भएको विस्फोट अहिलेकै विस्फोट हो र?- त्यो घटना, प्रकाश यात्रा गर्दै पृथ्वीमा आइपुग्दा कति पुरानो घटना भइसकेको हुन्छ। त्यसरी नै भौतिक विज्ञानबाट चन्द्रशेखर लिमिटलाई राखेर हेर्दा पनि प्रत्येक कुराको सीमा भेटिन्छ। ताराहरू एकदेखि अनेकौं हुन्छन्‌- तर समयान्तरमा फेरि सबै एकत्र भएर एक रूपमा जम्मा हुन्छ र पुन: अघि झैं विस्फोट तयारी हुन्छ। भनेपछि यो सबै प्रतिक्रिया पूर्णरूपले स्वतन्त्र घटित हुन्छ। यसै क्रमलाई पुष्टी गर्दै फित्रोज काप्राले पनि ताव अफ फिजिक्समा बयान गरेको विराट चुम्बकीय आकर्षण शक्तिको अस्तित्व बारेमा गरेको बयानबाजीले दिमागलाई एकैक्षण झस्काउँछ, कारण समस्त ब्रह्माण्डमा चलिआएको हरेक प्रतिक्रिया स्वतन्त्र हुन्छ, त्यसलाई नियन्त्रण गर्ने केही शक्ति पनि हुँदैन, त्यसैले त ब्रह्माण्ड अहिले पनि स्वतन्त्र रूपमा विस्तृत हुँदैछ। नयॉं ग्रह- नक्षत्र यसमा जोडिँदैछ। नयॉं सिर्जना देखा पर्दैछ। ईश्वरले रचेको ब्रह्माण्डको क्रिया-प्रक्रिया-प्रतिक्रिया स्वतन्त्र छ भने यही ईश्वरले बनाएको मानव चाहिँ किन सङ्कुचनमा? किन नियममा? किन कठ्‌पुतली? किन स्वतन्त्रताहिन?

सार्त्र भन्छन्‌- ‘‘मानव पुरूषार्थी छ अनि आफ्नो नियति र भाग्यको निर्माता स्वयम्‌ हुन्छ। मनुष्य परिस्थितिको चुनाउ गर्नुमा स्वतन्त्र नरहे तापनि परिस्थिति-विशेषप्रति आफ्नो स्वतन्त्र बाटो चयन गर्नु स्वतन्त्र रहन्छ।

ओसोको स्वतन्त्रता सूत्र

“If society is allowed total freedom about joy nobody will be destructive. People who can love beautifully are never destructive. And people who can love beautifully and have the joy of life will not be competitive either.

तर यही स्वतन्त्रताले प्रेमिल अनि सुन्दर जीवन पाउने रहरमा, कतिपय मौका परस्त मनुष्यले प्रेमको जाली खेल रचेर अर्को कमजोर मनुष्यलाई कुरूप जीवन अनि बद्नामीको कालो दागसित समाजको बदनाम गल्लीतिर बॉंच्नु बाध्य बनाउँछ।

हो, मानव समाजमा प्रेमको नाममा यस्ता अप्रिय घटनाहरू दिन-प्रतिदिन घटि नै रहन्छन्, जहॉं प्रेमको मूल्यमा नारीले स्वयम्‌को अस्मिता अनि खुल्ला चिताएको जस्तो जीवन बिताउनुबाट बञ्चित बन्छन्। कतै धार्मिक मान्यता जस्तै ‘कृष्णदासी’ र ‘देवदासी’-झैँ चलिआएको लिँडे अनैतिक मान्यतामा बाँधिँदै सकेसम्म नारी सत्ताधारी पुरूषको हातबाट सेक्सुअल प्लेजरको प्रतीकरूपमा शोषण हुनसम्म हुन्छ। यसै कारण पुरूष समाज नारीप्रति रहेको हीन अनि उदात्त अर्न्तविरोधले सधैं पुरूषलाई देवता र नारीलाई दासी बनाउँछ। यस प्रकारको वर्गशोषणबाट समाज मुक्त नहुँदा नै मनुष्यको साधारण सम्भावना अनि क्षमताको विकास हुँदैन। नारीलाई समाजले भोग सामग्रीको स्तरमा राखेर वेश्याको विभत्स प्रतिक बनाएपछि, त्यस्तरी मान्यताको नाममा थुनिएको नारीभित्रको आत्मक्षयले समाजको आधा अनुहारको बयान गरिरहेको हुन्छ। आफैमा थुनिएको नारीको आवाज कस्तो हुन्छ? यतिखेर उसलाई स्वतन्त्रताको माने के हुन्छ?

त्यो संवेदनालाई नाप्ने संवेदना कहाँ छ? नारीलाई प्लेजरको बस्तु ठानेर समाजबाट नै निषेध गर्ने परपम्पराका मालिक को हुन्?  नारी हिंसा, हत्या, शोषणले तयार गर्ने मनोविज्ञान के हो? यतिखेर स्वतन्त्रताको अर्थ कसरी न्यायिक र निर्णायक बन्न सक्छ?

जस्तो गरी, व्यक्तिले प्रकृतिमा स्वतन्त्र उड़िहिँड्ने माइग्रेटरी पंक्षीको सुन्दरतामा लोभिएर शोकको नाममा त्यसलाई पिञ्जड़ामा कैदी बनाएर राख्छ।

एउटा वैज्ञानिक अनुसन्धान अनुसार त्यसरी माइग्रेटरी पंक्षीलाई कैदी बनाउँदा,  वर्ड माइग्रेशनले स्पेस पाउँछ। त्यससबेला स्वतस्फूर्त पंक्षीमा उड्ने उत्तेजना उत्पन्न गराउने विशेष प्रकारको हर्मोन विकसित हुन्छ। भनिन्छ, ज्वालामुखीले धरतीमा महानाड़ी इड़ा-पिंगला फड्‌काए झैं प्रभावशाली हुन्छ पंक्षीमा त्यस हर्मोनको प्रक्रिया। अनि जब हर्मोनको चरमप्रक्रिया पंक्षीमा हुन्छ तब पंक्षीको हुल प्रजननको निम्ति एकाठाउँबाट उडेर सुदूर ठाउँतिर स्थानान्तर गर्छ, त्यसबेला कैदमा रहेको माइग्रेटरी पंक्षी चाहिँ पिञ्जड़ाभित्रै हर्मोनको उत्तेजनामा उड्ने निरन्तर सङ्घर्षको कारण घाउते बन्छ। स्पष्ट छ, उड्ने सस्वतन्त्रता गुमाएपछि जो कोही पनि घाइते बन्छ।

प्रकृतिले स्वतन्त्र बॉंच्ने अधिकार दिएको प्राणीले परतन्त्र अधिनस्थ जिउनु वा स्वतन्त्रता गुमाउनुलाई संसारमा सभ्यता ठानिन्छ। समाज सोकल्ड स्वतन्त्रताले बनिएको छ।

पुरानो यान्त्रिक भौतिकवादी डार्विनको विचार अनुसार, ब्रह्मजगतलाई निषेध गरेर यसमा डार्विनको विकासवाद हालेर हेर्दा, स्वतन्त्रता कस्तो मोड़मा उभिन्छ होला?

कारण डार्विनले संसारलाई मशीन मान्छन्‌ र परिवेशलाई ज्ञान प्राप्तिको मूल स्रोत, यो हिसाबमा स्वतन्त्रता मनुष्यको नियति हो। दोरीले बाँधिएको स्वतन्त्रता अथवा स्वतन्त्रताको अर्थ नै बाँधिएको छ। त्यसरी नै सुफी कल्चर अनुरूप स्वतन्त्रता सायद ईश्वरत्व प्राप्तिपछि पाउने अलौकिक सुख होला? वा मृत्युपछिको रहस्यमय मुक्ति? जे होस्‌ मलाई त लाग्छ हामी पल-प्रतिपल स्वतन्त्रता हराउने खेलिरहेका छौँ। स्वतन्त्रता हराउने बाँचिरहेका छौँ। अथवा बाँधिएको स्वतन्त्रताको सुरक्षा गरिरहेका छौँ।  तपाईँ नै भन्नुस् न, कस्तो हुन्छ मुक्तिको बाटो, यो कैद स्वतन्त्रताको निम्ति?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया