अभिसङ्गी कविको फरक बाटो

Girl in a jacket
  • खबरम्यागजिन संवाददाता

स्ल्याम शैलीमा अथवा एक्सनको रूपमा अनि सङ्गीतको संयोजनमा कविताको प्रस्तुति गर्दा कविताको सम्प्रेषण बढी मात्रामा भएको सत्य मैले यतिका दिनमा थाह पाएकी छु । जब जब मैले यसरी प्रस्तुति दिएँ, साहित्यको क, ख, ग पनि नबुझ्ने श्रोता, दर्शकहरूदेखि लिएर साहित्यलाई नै आफ्नो जीवन बनाइसकेका साधकहरू सबैको सराहना प्राप्त गरें ।


उडिस्साको भुवनेश्वरमा साहित्य र पर्फर्मिङ आर्टको महोत्सव थियो। एकवर्षदेखि दार्जिलिङमा कवितालाई पर्फर्मिङ आर्टकोरूपमा स्थापित गर्न निरन्तर जुटिरहेकी पवित्रा लामालाई त्यसैको निम्ता आयो। दार्जीलिङ, मिरिक, नागरी, सिलगढी, कालेबुङ, सुकिया पोखरी, मङपू, डुवर्सको नगरकट्टा, राजाभातखावा, सिक्किम बाहेक त्रिपुराको राजधानी अगरतलासम्म वाचनको फरक शैली लिएर पुगिसकेकी पवित्रालाई महोत्सवमा जान पाउनु ठूलै अवसर थियो।

पवित्राको वाचनशैली स्ल्याम जनरसित मिल्छ। तर स्ल्याम नै चाँहि होइन। पवित्रा आफै चाँहि उनको स्टाइललाई ‘अभिसङ्गी’ भन्छिन्। समालोचक जय क्याक्टसले जुराईदिएको तिनको वाचन भङ्गीको नाम हो यो।

कविताको कन्टेन्टमा सामाजिक सरोकार, वाचनमा भावुकता, पवित्राको लेखनखुबी हो।  पवित्राले कविता सुनाउन थालेपछि पार्श्वमा सङ्गीतको धुन बज्छ। श्रोताहरू कि त गहभरि आँशु पार्छन् कि त मुद्दाप्रति गम्भीर बन्छन्। वाचन र विषयलाई साङ्गीतिक फ्युजनले बाँधेर मञ्च चढ्ने पवित्रा वाहवाह लुटिरहेकी नयाँ हाँचका सेलिब्रेटी कवि हुन्।

शुरुमा स्थानीय सङ्गीत सर्जकहरूको सङ्गतमा बसिन् अनि कार्यक्रमहरूमा उनीहरूलाई लिएरै पुगिन्। अचेल सानातिना कार्यक्रमको निम्ति पेन्ड्राइभमा कविताको निम्ति बज्ने पार्श्व सङ्गीत बोकेरै हिँड्छन्। ठूलै कार्यक्रमतिर भने उनीसितै सङ्गीतकारहरू पनि देखिन्छन्।

भुवनेश्वर पनि धुन बजाउने मित्रहरूसितै पुगिन्।

कार्यक्रम सकेपछि दिल्लीको राइट् एण्ड बियोण्ड नामक ब्राण्डका सक्रिय संस्थापक तथा समाजशास्त्री किरण चतुर्वेदी मञ्चमा नै चढिन्। अङ्गालो मारिन् र भनिन्- ‘तपाईको कविताको विषय, भाषा अनि प्रस्तुतिले कार्यक्रममा नै एउटा लहर, एउटा तरङ्ग  उत्पन्न गऱ्यो। जो कविता प्रस्तुतिको यतिका क्षणपछि पनि मैले अनुभव गरिरहेकी छु।’

पवित्रालाई काव्य जीवनको यो वेस्ट कम्प्लिमेन्ट लाग्छ।

सिलगढीमा अघिल्लोवर्ष नेपाली साहित्य संस्थानले ‘कविता धमारी’ प्रतियोगिताको निम्ति उनलाई बोलायो। त्यो प्रतियोगितामा पहिलो बन्ने पवित्रा नै थिइन्। उनको अहिलेको ‘अभिसङ्गी’-तिरको डेव्यु यही कार्यक्रम थियो। त्यही कार्यक्रममा नौलो ढङ्गमा कविताको साङ्गितिक प्रस्तुति दिएपछि पवित्राभित्र रहेको कविताको मूल फुट्यो। त्यसयता पवित्रालाई ‘कविता धमारी’-को विकसितरूप भन्न सुहाउने ‘अभिसङ्गी’ अभियानकर्ताकोरूपमा चिनिन्छ। अभिसङ्गी भनेको अभिनय र सङ्गीतसितको वाचन हो।

उनको कविता सङ्ग्रह सभ्यताका पेन्डुलमहरू दोस्रो संस्करणको तयारीमा छ।


कवितवाचनको एल्बमसमेत निकालिसकेकी पवित्रासितको कविता संवाद

कविता कहिलेदेखि लेख्नुभएको हो ?

घरमा बाल्यकालदेखि नै साहित्य अनि सङ्गीतको वातावरण रहेकोले अनि टाढा टाढाबाट वरिष्ठ साहित्यकार, सङ्गीतकार, गायक, संस्कृति कर्मीहरूको निरन्तर भइरहने जमघट अनि  उनीहरूको सान्निध्यले कविता लेखन सानै उमेरदेखि नै शुरू गरेकी हुँ । श्रद्धेय डा. जीवन नामदुङ अनि डुवर्सका एक प्रख्यात कवि, समाज सेवी श्री सुखमन मोक्तानको कथनलाई मान्नु हो भने उनीहरूले मलाई ५ वर्षको उमेरमा स्वरचित कविता वाचन गरेको देखेका हुन् । मलाई पनि डुवर्सका अनेक स्थानमा अनेक प्रकारका साहित्यिक साङ्गितिक गोष्ठीहरूमा गीत, नृत्य सँगसँगै कविता पनि वाचन गरेको अनि पुरस्कार बोकेर रमाउँदै घर फर्केको झीनो सम्झना छ ।

समावेशी समूहले गरेको स्ल्यामदेखि अचानक दह्रोसित देखिनु भो है?

कविताप्रतिको झुकाउले नै मलाई नेपाली साहित्य संस्थान, सिलगढीले आयोजना गरेको कविता धमारीमा भाग लिन गएकी थिएँ। त्यो कार्यक्रम समावेशीको हो भन्ने मलाई थाह पनि थिएन। तर यदि त्यो कार्यक्रम हस्तक्षेपी समूहले नै गरेको भए अनि मलाई अवसर दिएको भए पनि म त्यतिकै उत्साहसँग सामेल हुनेथिएँ । यति चाहिँ म स्वीकार गर्दछु त्यस कार्यक्रममा आफूले नौलो ढङ्गमा कविताको साङ्गितिक प्रस्तुति दिएपछि मेरो हृदयमा कविताको मूल फुट्यो । मैले जताततै कवितै कविता देख्न थालें । यसरी नेपाली कविताको क्षेत्रमा यो नौलो प्रयोगलाई सबैले मन पराए, सराहना गरे अनि यस्ता कार्यक्रमहरूमा मेरो पनि सबल अनि निरन्तर सहभागिता देखिन थालेको हो ।

यताबाट स्ल्याम पोएट्रीलाई एक्टिभिज्मको रूपमा लिने कम छन्, तपाईं लागिपर्नुभएको छ, यो अभियान एक्लै किन ?

जुन कुराले मलाई छुन्छ, त्यसप्रति गहिरो अध्ययन गर्न मलाइ मन लाग्छ । अध्ययनको क्रममा म त्यसका विविध पक्षहरूसित जब परिचित हुन्छु, मेरो मन मस्तिष्कमा विस्तारै कविताको रूप लिन्छ अनि म त्यसलाई बाह्य रूपमा अभिव्यक्त गर्ने प्रयास गर्छु । समाजमा हजारौं वर्षदेखि उभिएर बसेको अनेकौं यस्ता समस्याहरू छन् जसको केही पक्षसँग मात्र हामी परिचित छौं , त्यसको सिँगो पक्षलाई अध्ययन गरेर लेख्ने परिपाटी धेरै कम कवि-लेखकहरूमा मात्र देखिन्छ । एउटै मुद्दा, एउटै समस्यालाई मात्र नहेरेर विश्वजनीन रूपमा मान्छेले भोग्नपरेको विविध समस्यालाई पनि लेखकले साहित्यमा भित्र्याए हाम्रो दृष्टिकोण अझ विस्तृत बन्दै जान्छ । साहित्य लेखनलाई जति हामी विस्तृत आयाम दिन्छौं, साहित्य पनि त्यति नै शक्तिशाली अनि स्तरीय बन्दै जान्छ भन्ने विचार मेरो हो । यसकारण मैले यतातिर पाइला चाल्ने कोशिश गरेकी हुँ । विस्तारै सामाजिक सञ्जालहरूतिर अनि दैनिक साप्ताहिक पत्रिकाहरूतिर यस्तो प्रवृत्तितिर आकर्षित हुने धेरै साहित्यिकहरू देखिँदैछन् ।

वास्तवमा कुनै एउटा प्रवृत्ति एउटै लेखक वा कविले भित्र्याएको भन्नु हठधर्मिता हुन्छ, यसको जरा कहीं न कहीं परम्पराभित्रै लुकेको हुन्छ । एउटै समयमा विभिन्न व्यक्तिहरूले विभिन्न प्रकारले यस्तैमा काम गरिरहेका हुन्छन्, ढिलो छिटो अनि तरीका फरक हुनसक्छ । स्ल्याम पोएट्री यसै त धेरैले प्रतियोगितात्मक रहेको कुरा स्वीकार गर्छन्, तर स्ल्याम शैलीमा अथवा एक्सनको रूपमा अनि सङ्गीतको संयोजनमा कविताको प्रस्तुति गर्दा कविताको सम्प्रेषण बढी मात्रामा भएको सत्य मैले यतिका दिनमा थाह पाएकी छु । जब जब मैले यसरी प्रस्तुति दिएँ, साहित्यको क, ख, ग पनि नबुझ्ने श्रोता, दर्शकहरूदेखि लिएर साहित्यलाई नै आफ्नो जीवन बनाइसकेका साधकहरू सबैको सराहना प्राप्त गरें । मेरो कविताको प्रस्तुतिले दिएको आनन्द उनीहरूले जनगणकै सामु अथवा धेरैचोटि मकहाँ आएर अभिव्यक्त गरेका छन् ।

हेर्दा स्ल्याम जस्तो देखिन्न, म्युजिकल पोएट्रीजस्तो लाग्छ । वास्तवमा तपाईँको वाचन शैलीलाई के भन्ने ?

केही फरक त अवश्य छ, अब यसलाई नामकरण दिने काम अनि वर्गीकृत गर्ने काम समालोचकहरूको हो । समालोचक जय क्याक्टसले अभिसङ्गी नाम दिएका छन्। यो सही लागेको छ।

किन सङ्गीतसित कविता वाचन गर्न अनिवार्य लागेको ?

भनिएको छ सङ्गीत संसारको सबैभन्दा कम कर्कश ध्वनि हो । त्यसैकारण सङ्गीतको ध्वनिले मान्छेलाई अरू सबै प्रकारको ध्वनिले भन्दा धेर आकर्षित गर्छ । सङ्गीतकै सहयोगमा नाटक र सिनेमाले मान्छेको हृदयमा स्थान बनाएको सत्यलाई नकार्न सकिन्न । विभिन्न कथा वाचनहरूमा पनि पार्श्व सङ्गीतले ठूलो भूमिका खेलेको देखिएको छ यसकारण मान्छेको यो आदिम आकर्षणको सहयोगमा कविताले  पनि आफ्नो गुमेको सम्मान अनि गौरव प्राप्त गर्छ कि भन्ने मलाई लागेको हो। सङ्गीत अनि साहित्यलाई सँगसँगै लिएर हिँड्ने परिवारको सदस्य भएको नाताले पनि यी दुवैको फ्युजनले प्रभावकारिता ल्याउँछ भन्ने मेरो विश्वास धेरै अघिदेखिकै हो । मलाई जुन प्रकारको प्रतिक्रिया प्राप्त भएको छ त्यसले मेरो विश्वासलाई दोब्बर बनाइदिएको छ ।

तपाईंको वाचन सुनेर आएको कसैको कुनै चाखलाग्दो टिप्पणी ?

हुन त मेरो कविता प्रस्तुतिको सम्बन्धमा अनेक विज्ञजनले आफ्नो आशीर्वचन दिएका छन् । किशोर किशोरीले आएर खुशीले अङ्कमाल गरेका छन् । यतिसम्म कि कार्यक्रममा उपस्थित साहित्येतर क्षेत्रका व्यक्तिहरूले पनि आफूलाई परेको मेरो कविताको प्रभावबारे खुलेर प्रशंसा गरेका छन् । कुनै एक व्यक्ति विशेषको कुरा गर्नु पर्दा भने म भारतमै सृजनात्मक  लेखन प्रवाह चलाउने अनि राइट् एण्ड बियोण्ड नामक ब्राण्डका सक्रिय संस्थापक तथा दिल्लीकी समाजशास्त्री किरण चतुर्वेदीका शब्दहरू उल्लेख गर्न चाहान्छु । उनले उत्कल साहित्य महोत्सवमा मेरो लगातार तीनवटा काव्यिक प्रस्तुतिपछि आलिङ्गन गर्दै भनिन्- तपाईको कविताको विषय, भाषा अनि प्रस्तुतिले कार्यक्रममा नै एउटा लहर, एउटा तरङ्ग  उत्पन्न गर्यो जो कविता प्रस्तुतिको यतिका क्षणपछि पनि मैले अनुभव गरिरहेकी छु ।

मुद्धाबारे कविता किन लेख्नुहुन्छ?

मुद्दाहरूप्रति संवेदनशील हुनु कुनै पनि सर्जक, कलाकारको निम्ति पहिलो शर्त हो । सर्जकलाई जब पनि कुनै आवेग वा संवेगले स्पर्श गर्छ, उ भित्र भएको संवेदनशील स्रष्टा जाग्दछ । धेरैजना यस संवेदनशील विषयलाई आफ्नो निजी स्वार्थको कसौटीमा जोख्छन् अनि त्यस अनुसार त्यसलाई अभिव्यक्त गर्छन् । मलाई लाग्छ, संवेदनशील विषयमा वा मुद्दामा आफ्नो अभिव्यक्ति दिनु भनेको त्यस मुद्दाप्रतिको आफ्नो समर्थन जनाउनु पनि हो । यसकारण मलाई भित्रैबाट हल्लाएका मुद्दाहरूलाई म काव्यिक रूप दिने प्रयास गर्छु ।

कुन मुद्धाले बेसी छोइएको छ ?

मलाई बढी छुने मुद्दा नै नारी शोषण हो । संसारका सम्पन्नतम् अनि प्रभावशाली नारीहरूदेखि लिएर निम्नतम आर्थिक अवस्थाका नारीहरू सबै कुनै न कुनै रूपमा शोषित छन् । यो शोषण समय, काल अनि स्थान अनुसार परिवर्तन भइरहन्छ । नारीहरूलाई यस्तो स्थितिमा ल्याउने विविध फ्याक्टरहरू बारे म घरि घरि घोरिरहन्छु । सीता, द्रौपदीदेखि लिएर निर्भयासम्मको नारीको जीवन यात्राका कठिनाइहरू उस्तै उस्तै छन् । उत्तर-आधुनिकतम समाजमा बस्ने पश्चिमका नारीहरू पनि कुनै न कुनै रूपमा आज पनि शोषित नै छन् । जबसम्म नारीलाई समान दृष्टिले हेरिने परम्पराको शुरूआत हुँदैन, तबसम्म यस्ता जटिल समस्यातर्फ संवेदनशील हृदयमा सहानुभुति पलाइरहनु स्वाभाविक पनि हो।

 दार्जीलिङे समाजला तपाईंको कविताले बोकेको छ कि छैन ?

मेरो कविताको सन्दर्भमा भन्नु हो भने स्थानीय समाजमा भइरहेको उतार-चढाउले आफूलाई नछुने कुरै आएन । तर यसलाई वस्तुगत रूप दिँदा विश्वजनीन समस्याहरू पनि सँगै आइहाल्छन्। यसकारण मेरो कवितामा स्थानीय स्वर सँग सँगै विश्वजनीन स्वर पनि उत्तिकै प्रखर रूपमा आएको हुनसक्छ ।

भारतीय नेपाली नारीहरूको अवस्था कस्तो छ ? उनीहरूको मुद्दालाई लेखनमा ल्याउन किन अनिवार्य छ ?

मैले देखे अनुसार भारतीय नेपाली नारीहरूका अवस्था भारतका अन्य जातिहरूका अनि नेपालकै पनि नारीहरूभन्दा केही भिन्न अवस्था रहेको छ । उनीहरू आर्थिक रूपले नभए पनि सामाजिक रूपले धेरै स्वतन्त्र छन् । तर उपभोक्तावादी संस्कृतिले भने उनीहरूलाई खर्लप्पै निलेको छ अनि यसैको आडमा निरन्तर प्रत्यक्ष अप्रत्यक्ष रूपमा शोषित हुने क्रम जारी छ ।

सामाजिक अनि शैक्षिक रूपमा पछाडिएको कारण नारीहरू आफ्नो दुई मुख जोर्नको निम्ति अनेक प्रकारका कामहरू गर्न बाध्य छन् , त्यहाँ पनि उनीहरूको शोषित बन्छन् । यतिसम्म कि रोजगारकै निम्ति उनीहरू खाडी लगायत अन्य मुलुकहरूमा पनि काम गर्न जान बाध्य छन् । हाम्रो समाजमा आज पनि पोलिग्यामी (बहु विवाह) को प्रचलन छँदैछ । आफ्नो अधिकारदेखि अनभिज्ञ रहेकाले यसलाई आफ्नो भाग्य ठानेर मौन सम्झौता गर्न बाध्य बनेका अनेकौं नारीहरूको दुःखलाई मैले नजीकबाट देखेकी छु ।

भारतीय नेपाली नारीहरू खासगरी दार्जीलिङ, तराई र डुवर्स भेकका नारीहरू बहुसङ्ख्यामा चिया अनि सिन्कोना बगानमा  काम गर्छन् । दिनभरि काम गरेर थाकेर आएपछि बेलुकीको घर –धन्धाको सम्पूर्ण जिम्मेवारी पनि उनीहरूकै हुन्छ । नानीहरूलाई हुर्काउने, बढाउने, स्कुल पठाउने अनि उनीहरूसित सम्बन्धित अन्य दायित्व पनि ती नारीहरूकै जिम्मामा हुन्छ ।  यति काम गरेपछि खेतबारी स्याहार्ने जिम्मा पनि उनीहरूकै हुन्छ । यतिका श्रममा व्यस्त रहने नारीहरूका सम्पत्तिमा हिस्सा भने शुन्य बराबर नै हुने गर्दछ । न उसको नाममा उसको घर हुन्छ, न खेतबारी, न लाल पुर्जा । आफूलाई आवश्यक परेका सबै कुराहरूमा पुरूषहरू माथि नै निर्भर रहनु बाहेक अरू कुनै विकल्प हुँदैन । साथै लिनपर्ने आवश्यक निर्णयहरूमा पनि उनीहरूको आवश्यकता अनुभव गरिँदैन । तर विस्तारै यो अन्धकार छाँटिदै गइरहेको छ।

उनीहरूको अधिकार अनि सामाजिक समानताप्रति जागरूक गराउनकै निम्ति साथै नारीप्रतिको पारम्परिक सामाजिक सोचमा परिवर्तन ल्याउनकै लागि पनि उनीहरूको मुद्दालाई लेखनमा ल्याउन आवश्यक ठान्छु ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया