कुरा मुम्बईका : बास खोज्दै उड़िहिँड़्ने….. घरौँदाको खास अर्थ

विज्ञापन


साथीभाइहरू धेरैजनाले भन्नथाले ‘उता (मुम्बई)- तिरका कुराहरू पनि सेयर गर्नुहोस् न हौ’ भनेर। सेयर गर्नुभन्दा पैला यहाँ केयर गर्नुपर्ने थुप्रै व्यक्तिगत, पारिवारिक अनि प्रशासनिक लन्ठाहरू रहेका र त्यसलाई थान्को लगाइहाल्नुपर्ने हुनाले समय निक्कै गयो।

ऐलेसम्म पनि सप्पै सिद्धिसकेको छैन र पनि कतिपय कुराहरू साझा गर्न मन लाग्यो र समय निकालेर गर्दैछु कोसिस। भारतको यो महानगरी मुम्बईमा सरकारी सेवकको रुपमा पाइलो टेकेको पनि अब 6 महिनाको लग लाग्यो।

जतिखेर आफुले कालेबुङ छोड़्नुपऱ्यो त्यतिखेरै हड़ताल सुरू भएको थियो अनिश्चितकालीन। निकै दिन बितेपछि कालेबुङका मेरा भाइसाथी लाक्पा सेर्पाले दाइसाथी आचु गिलेलाई भने अरे, ‘हीरा दाजु चै साँच्चै ज्ञानी मान्छे रैछ आ…म…..म… मानेँ मैले।’

गिले दाइले ‘किन?’ भनेर सोधेपछि ‘अन्त ठिक्क स्ट्राइक पनि सुरू हुनु अनि आफु चै बम्बई टाप दिनु। हेर त….. ’ भने अरे।

त्यसरी जोजन मिलेको थियो मेरो मुम्बई सरुवाको।

मुम्बई आइपुगेपछि पादरी एनोसदास प्रधानज्यूको सहयोगमा ग्रान्ट रोडस्थित एक गेस्ट हाउसमा हाम्रो बास भयो दुइचार दिन। हाम्रो भन्नाले मसित मेरा श्रीमती र छोरी पनि थिए। तर अतिथि गृहको भाड़ा अलिक पोसाएन र अन्यत्र जानुपर्ला जस्तो लाग्यो।

मेरा अभिभावक भने पनि, साथी भने पनि, दाजु भने पनि मुम्बईमा आँट र साहस हुन् – विकास दूतराज। विकास दूतराजलाई नचिन्ने यदि मुम्बईमा कोही गोर्खा छ भने उ गोर्खा हैन भन्नुपर्छ।

सामाजिक काममा सदैव तत्पर अनि जातिका लागि हमेसा मरिमेट्ने व्यक्ति हुन् विकास दूतराज। उनले अस्थायी रुपमा बस्नका लागि बन्दोबस्त गरिदिए बर्सोवा भन्ने ठाउँमा साथी सागर छेत्रीको घरमा।

सागर एक होनहार युवा हुन्, आँटिला छन्। विकास र म कुरा पनि गर्छौँ – ‘यो सागरको आँट हेर त आ…म…म….।’ हुन पनि हो खरसाङका सागर भाइ मुम्बईमा कुनै ठुलो काम त गर्दैनन् तर आफ्नो परिवारका सबै सदस्यहरूलाई साथमा लिएर बस्छन्। उनी आफै केही धारावाहिक र सिनेमा युनिटसित जोड़िएका छन्।

उनकी छोरी मुस्कान र छोरा रौनकलाई यतैका स्कुलमा पढ़ाइरहेका छन्। मैले आफुलाई मुम्बई आइपुग्दा धेरै समस्याग्रस्त पाएको थिएँ तर जब सागर भाइका समस्याहरू देखेँ आफ्नो त मलाई केही जस्तो पनि लागेन।

‘लोगों का गम देखा तो मैँ अपना गम भुल गया’ भन्ने गीत याद आयो। सङ्घर्षशील युवा सागर त्यतिखेर बर्सोवामा यौटा सानु र साँघुरो घरमा बस्थे। म पनि बर्सोवाको त्यही घरमा कोच्चारिन पुगेँ। मुम्बई महानगरमा सबैभन्दा ठुलो समस्या हुन्छ बासको। यो कुरो मुम्बईसित परिचित सबैलाई थाहा छ।

यो आर्थिक राजधानी मुम्बईमा बासको समस्याबारे धेरैवटा बलिउड चलचित्र तयार भइसकेका छन् जसमा ‘घरौँदा’ –लाई धेरैले याद गरेका छन्। सागरकहाँ म पुग्दा त्यहाँ उसै पनि उनी पारिवारिक समस्याहरू झेलिरहेका थिए। उनकी धर्मपत्नीको ढुङ्गाको अप्रेसन गर्नुपर्ने समय हुँदैथ्यो, उनी बर्सोवाको त्यो घर छोड़ेर चेम्बुरको अझ साँघुरो घरमा सर्नुपर्ने हुँदैथ्यो, आफ्ना छोराछोरीलाई भर्खरै खरसाङबाट मुम्बई ल्याएको कारण यता स्कुलमा भर्ना गराउनुपर्ने समय हुँदैथ्यो।

कसरी झेलिरहेका थिए यी सबै पारिवारिक झमेलाहरू…। तर उनको हौसला र आँटले मलाई पनि साहस दिइरहेथ्यो किनकि मलाई यतिन्जेल गाउँघरको यादले होला मनोरोग लाग्न थालिसकेको थियो। सागर साथीको घर जानअघि एकदिन विकासको घर घाटकोपरमा बस्नुपर्ने भयो अनि त्यसै दिन श्रीमती र छोरीलाई एलटीटी रेल स्टेसनबाट एनजेपी पठाउनुपर्ने भयो।

उनीहरू हिँड़ेपछि घाटकोपरस्थित विकास साथीको घर आएर एक रात बसेपछि भोलिपल्टदेखि सागरको घरमा सरेँ। सागरको घरदेखि मलाई ड्युटी भ्याउनुपर्ने हुन्थ्यो छत्रपति शिवाजी अन्तर्राष्ट्रिय हवाइपट्टी। संसारका सर्वश्रेष्ठ एयरपोर्टहरूमा एक।

महिनामा झन्नै आठ लाख देसी-विदेसी यात्रुहरू आउजाउ गर्ने सङ्गमस्थल। मुम्बई अन्तर्राष्ट्रिय हवाइपट्टीबारे पछि अलग्गै किस्सा सुनाऊँला। मलाई बर्सोवादेखि जानुपर्ने हुन्थ्यो अँधेरी पूर्वसम्म। त्यहाँसम्म पुग्नका लागि सवारी साधन थियो मुम्बई मेट्रो। मुम्बईमा यातायातका लागि विभिन्न साधनहरू उपलब्ध छन् – रेल, अटोरिक्सा, बस, ट्याक्सी, कुनै ठाउँमा जहाज, मेट्रो, मोनोरेल, घोड़ागाड़ी इत्यादि।

तर सबै ठाउँ सबै साधन उपलब्ध हुँदैनन्। कुनै ठाउँमा अटोरिक्सा दबाईको रुपमा पनि पाइँदैन जस्तै सायन, एन्टप हिल इत्यादि। रेलपथले पनि सबै ठाउँलाई जोड़िएको छैन। कति ठाउँ पुग्नका लागि त धेरै किसिमका सवारी साधनहरूको प्रयोग गर्नुपर्छ।

त्यस्तै मलाई हवाइपट्टी पुग्नलाई बर्सोवादेखि पहिला चाहिन्थ्यो अटोरिक्सा। कोठाबाट बिहान 6 बजी नै निस्कनुपर्थ्यो सुरूसुरूमा मलाई। बिहान 6 बजी मुम्बईमा लगभग अँधेरै हुन्छ। आफ्नो गाउँघरतिरजस्तो उजेलो राम्रोसित खसिसकेको हुँदैन। त्यतिखेर अटोरिक्सा गोटेमा पाउन गारै पर्छ र पुरा भाड़ा तिरेर मेट्रो स्टेसनसम्म पुग्नुपर्थ्यो।

रु. 30 तिरेर लागिन्थ्यो। मेट्रो रेल मुम्बईमा बर्सोवादेखि घाटकोपरसम्म नै चल्ने गर्छ। मेरालागि त स्टेसनको नाम याद गर्न सुरूमा गारै थियो र मैले आफै मेट्रोलाई बर्सोवा टु घाटकोपरको साटो नामकरण गरिदिएको थिएँ – सागर टु विकास।

यसरी सागरको कोठामा म केही दिन बसेपछि उनीहरू पनि चेम्बुरतिर सर्ने बेला भयो। मलाई पनि त्यहाँ बस्न आर्थिक रुपले र समयको कमीले साथ दिन छोड़्यो अनि म पुनः विकास साथीकै सौजन्यमा सरेँ कुर्लास्थित भारतीय गोर्खा एकता समाजको यौटा अतिथि गृहमा जहाँका संस्मरणहरू अलग्गै छन्।

अतिथि गृहदेखि गोरेगाउँ, गोरेगाउँदेखि एन्टप हिल, एन्टप हिलदेखि, जुहु, जुहुदेखि फेरि एन्टप हिल गर्दै घरिघरि घर सरिरहनुपर्दा खास अर्थ अरू के होला तर मेरालागि घरौँदाको अर्थ यो पो रैछ भन्ने लाग्यो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया