सेप्टिक सिप्टिगुडी

विज्ञापन

सरोकार


  •   प्रकाश हाङ्खिम

रुखपातबिहीन गाउँमा टन्टलापुर घाममा पनि उनीहरु काम गर्दै गरेका हुन्छन्- कि त बगानमा कि त बगरमा। सरकारको नजरदेखि कोशौं टाढा, नागरिकलाई संविधानले दिएको अधिकारदेखि सयौं माईल टाढा छ सिप्टिगुडी। जहाँ सपना देख्न सख्त मनाही छ त्यसरी नै जसरी अधिकारका कुरा गर्न।


जिन्दगी जिउने तरिका अनेक छन्। धेरै मानिसहरुसित केही हुँदैनन् र पनि धेरै भएको भान गर्छन् अनि केही मानिसहरु जो संग धेरै हुन्छन् र पनि केही नभएको भान गर्छन्। यही केही नहुँदाको सन्तुष्टि अनि धेरै हुँदाको असन्तुष्टि माझ नै चलिरहेको हुन्छ जीवन।

सास फेर्नु मात्र पनि जीवित हुनु होइन वा पुगिसरी आउनु मात्र पनि धनी हुनु होइन भन्ने जटिल प्रश्नमाझ उभिएको छ सिप्टीगुडी गाउँ। शिक्षाको क्षेत्रमा बामे सर्दै गरेको, विकासका पुर्वाधारहरुले भर्खर गाउँ चियाउँदै गरेको। जहाँ अन्य गाउँ सरह विकासको सपना देख्न त सकिएला तर हासिल गर्न भने नसकिने गाउँ हो सिप्टिगुडी।

जहाँका मानिसहरूको जीवन चियाबारी वरिपरि घुम्छ। नत्र बालासन र रक्ति खोलाको बगरमा। यी बगरहरूले सिप्टिगुडीका मानिसहरुलाई जिउने बहाना दिएको छ। यी बगरहरु त्यहाँका आदिवासीहरुका निम्ति कति महत्वपुर्ण छन् भने अलिअलि देखिएका विकासका कार्यहरु यही बगरकै कारण हुन्। एउटा चियाबारीको मालिकले आफ्ना श्रमिकहरूका निम्ति के के कुराहरु नगर्दा पनि हुन्छ भनेर जान्नु हो भने सिप्टिगुडी जाँदा थाहा पाइन्छ। एउटा चियाबारीको मालिकले कसरी नागरिक अधिकार हनन गर्नुसक्छ भनेर जान्नु हो भने सिप्टिगुडी हेर्दा हुन्छ।

त्यहाँका मानिसहरू अलिकतिलाई पनि धेरै देख्छन् किनकि धेरै देख्नु उनीहरुको भाग्यमा नै जुरेको छैन। एक प्रकारले भन्नू हो भने त्यहाँका मानिसहरु दार्शनिक छन् जसले बिब्ल्याँटो परिस्थितिलाई पनि सकारात्मक तरिकाले हेर्छन्। र त जिउन सिकेका छन्, बाँच्न सकेका छन्। दुई गाउँमा विभाजित सिप्टिगुडीका सयप्रतिशत जनता नै आदिवासी छन्। दुइ हजार जनसङ्ख्याको निम्ति बगानले लगाइदिएको तीनवटा चापाकल वर्षौंदेखि बन्द छन् तर पनि गुनासो छैन। बरु पानी बोक्न हिँडेरै जान्छन् हात्ती लाग्ने जङ्गल। बिहानै, बेलुकी लामे ताँत टाउकोमा जुठो भाँडा नत्र जेरिकेनहरु बोकेर पानी लिन गइरहेका हुन्छन्। हात्ती…. त्यो त कुनै समय आउन सक्छ। तर हात्तीको डरले दिनर्चया बिगार्नु पनि भएन। आखिर, मर्नै लेखेको छ भने घरमै पनि मरिन्छ नि!

जहाँ समाप्त हुन्छ सिलगडी महकुमा परिषद्को अलकत्रे सडक त्यहीं बाट सुरु हुन्छ जिटिए अन्तर्गतका सुकुना पानीघट्टा समष्टिमा पर्ने सिप्टिगुडीको बगरे सडक। यहाँ बगरे सडक यसकारण कि बर्षौं पुराना सडकको छेउछाउ बगानले नयाँ बिरुवा रोपेको छ। गाडीको धुलोले बिरुवा मर्छन् भनेर काँडेतार लगाएर सडक बन्द गरिएको छ अनि खोलिएको छ रक्ति खोलाको बगरबाट ट्र्याक्टर हिँड्ने सडक। चियाको बिरुवा कसरी मानिसहरुको जिउने अधिकार भन्दा पनि महत्वपुर्ण हो भनेर जान्न सिप्टिगुडीका सडक हेर्दा थाहा हुन्छ।

यो यसकारण कि श्रमिकहरु मरे मर्छन् किनकि बगानमा काम गर्न उनीहरुका छोराछोरी हुँदछन् तर खर्च गरेर रोपेको चियाका बिरुवाहरु मरे मालिकलाई कति घाटा हुँदो हो।

हो, यहीं नै छ श्रमिकहरु भन्दा चियाका बिरुवाको मूल्य धेरै। त्यहाँको राजनीति दुइचार जनाको वरिपरि पृथ्वी घुम्छ सूर्यको वरिपरि त्यसरी नै घुम्छ त्यहाँ दुइचार जनाबीच श्रमिकहरुका हक र अधिकारका कुरा। पहाडमा पाइने पार्टीहरु जसले गोर्खाल्याण्ड माग्छ, जसले समानताको कुरा गर्छ अनि आमा माटो र मानिसको कुरा पनि गर्छ। तर आपस्तमा केही नमिले उनीहरु अलग हुन्छन् अनि मिले फेरि एक। यसैले श्रमिकहरु पहिले जहाँ थिए त्यहीं हुन्छन्, त्यहीं छन्। सडकै बन्द गरिँदा पनि चुईं बोल्न नसक्ने ट्रेड यूनियन लिडरहरु पनि छन्। सम्पूर्ण गाउँमा बगानले एउटै शौचालय नबनाउँदा पनि मानिलिने नेताहरु छन्। यो कम आश्चर्यजनक कुरा छैन कि दुई सय भन्दा धेरै घर भएको गाउँमा एउटा मात्र शौचालय छ। व्यक्तिगत खर्चले निर्मित सो शौचालय गाउँमा नमूना भएको छ। बगान यहाँ पनि चुकेको छ कर्तव्य पालन गर्न। उसले सोंचेको छ- गाउँको दुवैपट्टि नै छ प्रकृतिले दिएको विशाल बगर। आदिवासीहरुको लागि अरु के चाहियो!

एउटा प्राथमिक पाठशाला, एउटा आइसिडिएस सेन्टर। यतिले लिएको छ त्यहाँका मानिसहरुलाई साक्षर बनाउने जिम्मा। त्यहाँका अधिकांश शिशु स्कूल छुट्टी हुनासाथ खाताकिताब एकातिर थन्काएर कुनै गाडी नत्र ट्याक्टरमा झुण्डेर जान्छन् अनि रातीसम्म बगरमा काम गरेर सय डेड सय कमाउँछन्। अनि ड्रपआउट हुन्छन्। सानैमा पैसा खेलाउने बानी लागेका छात्रहरु मध्ये अधिकाशले ट्याक्टर चलाउन जान्दछन्।

उनीहरुले वास्तवमा आमा बाबाको भार हलुका पारिदिएका छन्। कमाएर आमा बाबुलाई नदिए पनि सानै उमेरदेखि आफ्नै खुट्टामा उभिने कोशिषमा पारङ्गत भइसकेका छन्। जीवनको दस- बाह्र वर्षमा नै चाख्नु पर्ने कुरा चाखेका छन् नचाख्नु पर्ने कुरा पनि। पढेर पनि अन्य स्कुलतिर जानलाई आमा बाबासित साईकल किन्ने पैसाको अभावको कारण पढाइ छोड्नु कुनै नौलो कुरा होइन। तर पनि बगानले विद्यार्थीहरुका लागि गाडीको प्रबन्ध समेत नगरिनु त्यहाँ अर्को तितो सत्य हो। सिप्टिगुडीमा केही छैन सिवाय मानिसहरुको सफा मन।

रुखपातबिहीन गाउँमा टन्टलापुर घाममा पनि उनीहरु काम गर्दै गरेका हुन्छन्- कि त बगानमा कि त बगरमा। सरकारको नजरदेखि कोशौं टाढा, नागरिकलाई संविधानले दिएको अधिकारदेखि सयौं माईल टाढा छ सिप्टिगुडी। जहाँ सपना देख्न सख्त मनाही छ त्यसरी नै जसरी अधिकारका कुरा गर्न। कहिलेकाहीं पुलिसका गाडी देख्दा मात्र लाग्छ- यो ठाउँमा पनि बङ्गालकै नियम कानून लागू हुँदो रहेछ।

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया