नियुक्तिको आशामा शिक्षकहरू पसे तृणमूलमा

  • कालेबुङ खबरदाता, 4 मई/2017

अर्गनाइजेसनमा कूल १२७ जना शिक्षकहरू रहेको तथा आगामी केही दिनभित्रमा सबैले नै तृणमूलको झण्डा ग्रहण गर्ने


जीटीएसित बारम्बार स्थायीकरणको माग गरेको भए पनि आजसम्म आफूहरूको माग विषय लिएर कुनै पहल नभएपछि सेकेण्डेरी एड-हक टीचर अर्गनाइजेसनका पदाधिकारीगणसहित 70 जना शिक्षकहरूले कालेबुङको दश माईलस्थित पार्टी कार्यालयमा तृणमूल काङ्ग्रेसको झण्डा ग्रहण गरेका छन्। अर्गनाइजेसनका अध्यक्ष सञ्जय राई, सचिव कुशल छेत्री, सल्लाहकार अशोक सिञ्चिउरीको नेतृत्वमा आज सेकेण्डेरी एड-हक टीचर अर्गनाइजेसनका 70 जना शिक्षकहरूले तृणमूल काङ्ग्रेसका पार्टी चुनाउ पर्यवेक्षक मोहन शर्मा,  दार्जीलिङ जिल्ला हिल तृणमूल काङ्ग्रेस अध्यक्ष राजेन मुखिया, सतीस थिङ, छिरीङ शेर्पा, प्रवीण गुरूङ आदिको बाहुलीबाट तृणमूल काङ्ग्रेसको झण्डा ग्रहण गरेका छन्।

झण्डा ग्रहण गरेपछि अर्गनाइजेसनका अध्यक्ष सञ्जय राईले आफूहरूको मागलाई लिएर जीटीए तथा शिक्षा विभागीय सभासद रोशन गिरीलाई बारम्बार निवेदन चढाउँदा पनि कुनै पहल नगरेपछि तृणमूलको शरणमा जान परेको बताए। अर्गनाइजेसनमा कूल १२७ जना शिक्षकहरू रहेको तथा आगामी केही दिनभित्रमा सबैले नै तृणमूलको झण्डा ग्रहण गर्ने पनि उनले बताएका छन्।

दार्जीलिङ जिल्ला हिल तृणमूल काङ्ग्रेसका अध्यक्ष राजेन मुखियाले शिक्षकहरू यसरी तृणमूलमा सामेल बन्नु पार्टीको निम्ति ठूलो उपलब्धि रहेको बताएका छन्। विगतमा गोजमुमो अनि जीटीएको असफलता अनि कोल्टे नीतिको कारण नै अहिले आएर जनताले तृणमूललाई साथ दिन आइरहेको दाबी पनि उनले गरेका छन्।

सेकेण्डेरी एड-हक टीचर अर्गनाइजेसनका सल्लाहकार अशोक सिञ्चिउरीले तृणमूल काङ्ग्रेसले अवश्य नै आफूहरूको स्थायीकरणको मागलाई यथाशीघ्र पहल गरिदिनेछ भन्ने विश्वास व्यक्त गर्दै एड-हक शिक्षकहरूमा कतिपयले मरेवापत अनि रिटायर भए वापत पनि कुनै सहुलियत नपाउनुमा गोजमुमो अनि जीटीए जिम्मेवार रहेका बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया