कुरा मुम्बईका/ रेमोलाई मेरो सुझाउ

विज्ञापन

बर्सोवास्थित सागर साथीको डेराबाट एयरपोर्ट धाउने काम सुरु भयो। बिहानै उठेर परिवारकाहरूले थाहै नपाई आफु निस्कनुपर्ने हुन्थ्यो। नयाँ ठाउँ र बाटाघाटा पनि नयाँ परेकाले आफ्नो कामधन्दा बिहान 8 बजीदेखि सुरू हुने भए तापनि समयको अन्दाज नहुनाले शीघ्र नै डेरा छोड़्नुपर्थ्यो। पहिला सागरको घरबाट अटोमा रु. 30 तिरेर मेट्रो स्टेसनसम्म पुग्नुपर्ने अनि मेट्रोबाट अँधेरीसम्म 30 रु. तिरेरै आइपुग्नुपर्ने। अँधेरीबाट फेरि अर्को अटो समातेर एयरपोर्ट भित्रिनुपर्ने।

मुम्बईको अन्तर्राष्ट्रिय विमानअड्डामा ऐलेसम्म पनि मेट्रो रेल पुग्नसकेको छैन। हालमा मेट्रो 2-को काम युद्धस्तरमा चलिरहेको छ। यसको सञ्चालनपछि भने यो विमानअड्डा मेट्रोसित पनि जोड़िनेछ। यसका लागि सन् 2019-को अन्त्यको लक्ष्य तोकिएको छ। ऐले त मेट्रो सेवामार्फत् हवाईअड्डा आउनुपऱ्यो भने अँधेरी अथवा एयरपोर्ट रोड स्टेसन वा मरोल नाका स्टेसनमा उत्रिनुपर्दछ। तर अँधेरीबाट चाहिँ अटो अनि बसहरू सहजै पाइने हुनाले हवाईपट्टीतिर जाने यात्रुहरू अधिकतर यहीँ ओर्लिने गर्दछन्।

मुम्बईको अन्तर्राष्ट्रिय हवाईअड्डाको पुरा नाउँ हो छत्रपति शिवाजी अन्तर्राष्ट्रिय हवाईअड्डा। अङ्ग्रेजीको छोटकरीमा यसलाई सीएसआईए भन्दछन्। विश्वस्तरका हवाईअड्डाहरूमा यसको गन्ती हुनेगर्दछ। पहिला यसलाई सहार एयरपोर्ट भनिन्थ्यो। दिल्लीपछि यो भारतको दोस्रो व्यस्ततम विमानस्थल हो। आधिकारिक मासिक बुलेटिनअनुसार गत अक्टुबर महिनामा मात्रै यहाँबाट लगभग 8 लाख देसी अनि विदेसी यात्रुहरूले आउजाउ गरेका थिए।

यद्यपि एसिया महादेशमा यो विमानस्थल व्यस्तताको दाँजामा 14 औँ स्थानमा आउँछ भने विश्वस्तरमा यसको स्थान 29-औँ रहेको छ। मुम्बई एयरपोर्ट जम्मा 1850 ऐकर भूभागमा फैलिएको छ भने यहाँबाट प्रत्येक दिन हरदर 900 -वटा हवाई जहाजहरू ओहोरदोहोर गर्दछन्। प्रतिघन्टा नभनेको पनि 48 -वटा हवाई जहाजहरू उतारचढ़ाउ गर्ने यो एयरपोर्ट विश्वको आधुनिकतम हवाई अड्डाहरूको गणनामा आउँछ।

यस हवाईअड्डाले एयरपोर्ट सर्भिस क्वालिटीमा सर्वश्रेष्ठ एयरपोर्टको पुरस्कार पनि हत्याइसकेको छ। यसरी नै यसले भारत अनि सेन्ट्रल एसियाको सर्वश्रेष्ठ हवाईअड्डाको पगरी पनि गुथिसकेको छ।

यो एयरपोर्टको सञ्चालन मुम्बई इन्टरनेसनल एयरपोर्ट लिमिटेड अथवा एमआईएएल-ले गर्दछ। यो एमआईएएल दुइवटा विराट संस्थानहरूको साझा सङ्गठन हो। ती संस्थानहरू हुन् एयरपोर्ट अथरिटी अफ इन्डिया अनि जीभीके इन्डस्ट्रिज लिमिटेड। यो जीभीके कम्पनीले पुरानो मुम्बई एयरपोर्टलाई नयाँ बनाउने शिरोभार ग्रहण गरेको थियो सन् 2006-मा। हालको अत्याधुनिक हवाईअड्डा तयार गर्दा पुरानो एयरपोर्टको कामकाजमा कुनै प्रकारको असर परेको थिएन अनि कुनै हानी भएको थिएन भनिन्छ।

सन् 2014-मा जीभीके-ले मुम्बई हवाईअड्डालाई आधुनिकीकरण गरिसकेपछि यसको उद्घाटन तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहको बाहुलीबाट गरिएको थियो अनि 12 फरवरीदेखि यो एयरपोर्टमा विधिवत् सञ्चालनमा आएको थियो। यो हवाईअड्डा सहार थानाअन्तर्गत पर्दछ भने यो अँधेरी, विले पार्ले अनि सान्ताक्रुजसम्म फैलिएको छ।

यो अन्तर्राष्ट्रिय हवाईअड्डामा जम्मा 108 वटा जहाज बिसाउने प्रावधान छ भने 5 हजारवटा गाड़ी अँटाउने बिसौनी पनि यहाँ रहेको छ। यात्रुहरूका लागि 192 वटा चेक इन काउन्टर रहेको यो हवाईअड्डामा सरकारी अनि गैर-सरकारी गरेर जम्मा 22 -वटा विभागहरू सेवारत छन्। यो हवाईपट्टीको निर्माण यस्तो प्रकारले गरिएको छ कि आकासमार्गबाट यसलाई हेर्दा भारतको राष्ट्रिय पन्छी मुजुर नाचेजस्तो देखिन्छ अनि यसको सिँगारमा पनि यसै पन्छीका प्वाँखको रङ्गलाई प्रधानता दिइएको छ। यति मात्रै हैन यस हवाईपट्टीमा कार्यरत कर्मचारीहरूको पहिरन पनि मुजुरकै आकारप्रकारको रहेको हुँदछ।

सर्कारी जागिरको सिलसिलामा आफुले पनि यस हवाईअड्डामा पाइला टेक्नुपर्ने भयो अनि 19 जूनका दिन यसभित्र प्रवेश गर्दा स्वर्गमा पुगेजस्तो अनुभव भयो। कता पुग्नुपर्ने, कताबाट छिर्नुपर्ने, कता हिँड़्नुपर्ने केही थाहा थिएन। घरिघरि यौटै दुलाबाट छिरेजस्तो पनि लाग्छ। घरि कुन कुना पुगिँदो रहेछ, घरि कुन दुलो।

यौटा अलग्गै दुनियाँ बसेको जस्तो ठाउँ। बाहिरबाहिर त यस्तो थियो भित्र कस्तो होला भनेर आफुमा कौतुहुलता पनि जागिरहेको हुन्थ्यो फेरि लघुताभासको कारण होला डरडर पनि लागिरहेको हुन्थ्यो। जतिपल्ट पनि बिहान एयरपोर्टमा प्रवेश गर्थेँ बाटै भुल्लिन्थेँ। अन्त्यमा मेरो पालो नोटबुकमा स्केच नै बनाएर लेखेँ – अटो रिक्सा जहाँ रोकिन्छ त्यहाँ यौटा सुरुङ छ। त्यो सुरुङबाट छिरेर पी-6 लेबलमा पुग्नुपर्छ। यहाँबाट गयो भने लिफ्टमा चढ़िरहनुपर्दैन।

थरिथरिका मानिसहरूको भीड़ लाग्दो रहेछ यहाँ। कोही आफन्तलाई छोड़्न आएका, कोही लिन आएका। सिने-कलाकारहरू पनि त्यत्तिकै देखिँदा रहेछन्।

दुइ दिनपछि एयरपोर्टको बिजिनेस क्लासमा जम्काभेट भयो बलिउडका प्रख्यात नृत्यकार रेमो डिसुजासित। रेमोको चलचित्र एबीसीडी अथवा एनी बडी कान डान्स निकै प्रसिद्ध फिल्म हो। यसका दुइवटा भाग तयार भएर चलेका हुन्। सबैजनाले रेमोलाई हेरिरहेका थिए तर मचाहिँ बातै गर्ने ध्येयले उनीकहाँ पुगेर भनेँ, ‘मेरो नाम फलाना हो। तपाईँको सिनेमा एबीसीडी हाम्रो गाउँ (मुम्बईमा आफ्नो मूलघरलाई गाउँ भन्छन्) -का सबैले मन पराए। विशेष युवाहरूले’ भनेपछि रेमो खुसी भए।

उनी त्यस दिन प्रस्थान (डिपार्चर)- कक्षमा थिए सायद कतै जाने तयारीमा। रेमोले खुसी भएर ‘थ्याङ्क यु, थ्याङ्क यु’ भनेपछि मैले भनेँ, ‘तर तपाईँको सिनेमा दुइवटा भागमा बनिसक्दा पनि नाम चाहिँ एबीसीडी वान र एबीसीडी टु गर्न अलिक सुहाएन।’

उनले मलाई छक्कै परेर हेरे अनि भने, ‘नामको अनिकाल छ हिन्दी सिनेमामा…। फेरि हाम्रो त फिल्म नै डान्सको हुनाले नाम डान्ससितै मिल्दोजुल्दो राख्नुपर्ने थियो।’

मैले भनेँ, ‘म यौटा सुझाउ दिऊँ?’

रेमोले भने, ‘अवश्य।’

मैले भनेँ, ‘आगामी फिल्मको नाउँ राख्नू डीसीबीए।’

रेमोले सोधे, ‘यसको अर्थ?’

मैले भनेँ, ‘डान्स कान बि एनीह्वेर (Dance Can Be Anywhere)’

‘ओह या या…. इट्स गुड…’ भनेर रेमोले आफ्नो बाटो तताए।

अब हेरूँ आगामी फिल्मको नाउँ के राख्ने हुन् एबीसीडी-का निर्देशक रेमो डिसुजाले?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया