हात जोड़्दै भोट माग्नेले, जनता भुल्नु हुँदैनः लक्ष्य

विज्ञापन

  • मोहन लामा, दार्जीलिङ, 4 मई/2017

चुनाउमा जीत हासिल गरेर नगरपार्षद बन्नेहरुले आफूलाई भोट दिने जनतालाई भुल्नु हुँदैन अनि यी जनताले चुनाउअघि पेश गरेका समस्याहरुलाई समाधान गर्ने ठोस पहल गर्नुपर्छ।


दार्जीलिङको एक सामाजिक संस्था लक्ष्यले दार्जीलिङ पहाड़को नगरपालिका चुनाउमा खड़ा भएका सम्पूर्ण पार्टीका उम्मेद्वारहरुलाई शुभकामना दिँदै चुनाउमा जीत हासिल गरेपछि आ-आफ्नो वार्डका जनतालाई नभुल्ने अनि आफ्नो वार्डको भ्रमण अहिले जस्तै जारी राख्ने अपील गरेको छ।

सङ्गठनले भनेको छ-अहिले दार्जीलिङ पहाड़का चारैवटा नगरपालिका क्षेत्रमा विभिन्न पार्टीका उम्मेद्वार अनि स्वतन्त्ररूपमा खड़ा भएका उम्मेद्वारहरुले हात जोड़्दै जनताअघि भोट माग्दै हिँड़िरहेका छन्। तर यस चुनाउमा जीत हासिल गरेर नगरपार्षद बन्नेहरुले आफूलाई भोट दिने जनतालाई भुल्नु हुँदैन अनि यी जनताले चुनाउअघि पेश गरेका समस्याहरुलाई समाधान गर्ने ठोस पहल गर्नुपर्छ।

यसबारे सङ्गठनका अध्यक्ष मिलन थापाले भने-दार्जीलिङ क्षेत्रमा सुधार ल्याउने अनि दार्जीलिङको लथालिङ्गै व्यवस्थामाथि औंला उठाउने उद्देश्यलेनै 2015-मा लक्ष्य सामाजिक संस्थाको गठन गरिएको हो, जसले दार्जीलिङका साँघुरो सड़क अनि बाटोहरुमा हातेमालो गरेर हिँड़्न नहुने, बाइक चालकहरुले आफ्नो बाइक धीमा गतिमा चलाउनुपर्ने जस्ता अपील गर्दै सचेतना कार्यक्रमको आयोजना गरेको थियो। यसका साथै सङ्गठनले दार्जीलिङ क्षेत्रका विभिन्न स्थानहरुमा अवस्थित सेल्टर होमहरुलाई पनि सहयोग पुऱ्याउँदै आएको पनि थापाले बताए।

यसरीनै सङ्गठनका सचिव राजेश गुरूङले पनि पत्रकारहरुलाई सम्बोधन गर्दै भने-अहिले दार्जीलिङ पहाड़मा चुनाउको माहौल छ। सबै पार्टीका उम्मेद्वारहरुको घुमाई तीव्र छ। सबै उम्मेद्वारहरु घर-घरमा आएर हात जोड़्दै भोट मागिरहेका छन्। तर दार्जीलिङ नगरपालिका क्षेत्रमा समस्या बग्रेल्तै छन्। दार्जीलिङमा पानी परेपछि समस्या सड़कभरि देखिन्छ। यसैले राजनीतिमा मेरो कुनै चासो छैन, मलाई राजनीति पटक्कै मन पर्दैन भन्नेहरुलाई पनि यी समस्याहरुले पीड़ित बनाइरहेको छ।

यसैले 5 वर्षमा एकपल्ट आउने यस चुनाउमा जनताले सचेत बनेर आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ। राजनैतिक पार्टीहरुले पनि एकर्कामाझ हिलो छेप्ने मात्रै कार्य गरेर दार्जीलिङ शहरी क्षेत्रका सम्पूर्ण समस्यालाई कसरी समाधान गर्न सकिन्छ, यसबारे गम्भीरता देखाउनुपर्छ। किनभने, राजनैतिक पार्टीहरुले एकर्कामाथि आरोप-प्रत्यारोप लगाएर दार्जीलिङको कदापि भलो हुनेछैन। यसैले लक्ष्य सामाजिक संस्थाले दार्जीलिङ नगरपालिकामा यसलाई असल ढङ्गले सञ्चालन गर्नसक्ने टीम आउनुपर्छ अनि यसैको लागि दार्जीलिङ नगरपालिका क्षेत्रका जनताले पनि सचेत बनेर आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ।

उनले भने-दार्जीलिङ नगरपालिकामा नगरपालिका ऐन पनि हुन्छ। तर यहाँ नगरपालिका ऐनअनुसार, कुनै कार्य भएको जस्तो लाग्दैन। यसैले दार्जीलिङ नगरपालिका चुनाउको लागि खड़ा भएका सम्पूर्ण उम्मेद्वारहरुले दार्जीलिङ क्षेत्रलाई असल बनाउन ठोस पहल गर्नुपर्छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया