मुख्य पर्यटन मौसममा होटल बन्द हुनसक्ने

विज्ञापन

वेतन सम्झौता लागू नगरिएको विरोध

  • मोहन लामा, दार्जीलिङ, 4 मई/2017

पर्यटन मौसममा दार्जीलिङका होटलहरु बन्द भएर सबै क्षेत्रमा दार्जीलिङको पर्यटनको नकारात्मक सन्देश गए, त्यसको जिम्मेवारी होटल मालिक सङ्गठन हुनपर्नेछ।


गत वर्षको अक्टोबर महीनामानै होटल मालिक र कर्मचारी सङ्गठनमाझ भएको सम्झौतालाई अहिलेसम्म पनि मालिकपक्षले लागू नगरेपछि जुस्लू (जनमुक्ति अन्अर्गनाइज्ड सेक्टर लेबर युनियन)-ले मुख्य पर्यटन मौसमानै होटलहरु बन्द गर्ने चेताउनी दिएको छ।

जुस्लूको होटल सेक्टरका सचिव शरण थामी अनि सरोज मङ्ग्रातीले आज यसै विषय लिएर भने-गत वर्षको अक्टोबर महीनामानै दार्जीलिङका होटलहरुमा कार्यरत कर्मचारीहरुको वेतन निर्धारित हुनपर्छ भनेर जुस्लूले होटल मालिक संगठनसित एक सम्झौता गरेको थियो अनि होटलहरुको स्तर हेरेर सबैले वेतन निर्धारित गर्ने वचन पनि दिएका थिए। तर 6 महीनाको अवधि बितिसक्दा पनि अहिलेसम्म दार्जीलिङका केवल दुइवटा होटलले मात्रै यो नियम लागू गरेको भेटिएको छ। रहल कुनै पनि होटलले यो सम्झौतालाई पालन गरेको छैन।

यसैले अब यो नियमलाई होटल मालिक संगठनले शीघ्र लागू गर्ने कार्य नगरे दार्जीलिङको शुरू हुने मुख्य पर्यटन मौसममा होटलहरु बन्द गर्ने अवस्था नआओस्। यस विषयलाई होटल मालिक सङ्गठनले गम्भीरतासित सोंच्नुपर्छ। नत्र, आगामी पर्यटन मौसममा दार्जीलिङका होटलहरु बन्द भएर सबै क्षेत्रमा दार्जीलिङको पर्यटनको नकारात्मक सन्देश गए, त्यसको जिम्मेवारी होटल मालिक सङ्गठन हुनपर्नेछ। यसरीनै उनीहरुले एकै स्वरमा भने-यो सम्झौता भएदेखि यता अझैसम्म पनि नियम लागू नगरेको फलस्वरूप अब सबै होटलहरुले आ-आफ्ना कर्मचारीहरुलाई निर्धारित वेतनका साथै अक्टोबरदेखि अहिलेसम्मको एरियर पनि दिनुपर्छ।

स्मरण गराइन्छ, गत वर्षको अक्टोबर महीनामा जुस्लू, सीटूको होटल कर्मचारी सङ्गठन अनि होटल मालिक सङ्गठनमाझ होटल कर्मचारीहरुको वेतनबारे सम्झौता भएको थियो, जसअनुसार, 1 नोभेम्बर 2016-देखि 31 अगस्त 2018-सम्मको लागि न्यूनत्तम 3,600 रुपियाँदेखि 6,200 रुपियाँसम्मको वेतन तय भएको थियो।

जुस्लूको भनाई थियो-न्यूनत्तम रोजीअनुसार, यदि दार्जीलिङका होटलहरुले आफ्ना कर्मचारीहरुलाई वेतन दिनपरे यहाँको होटल व्यवसायमाथिनै ठूलो प्रश्‍नचिन्ह उठ्ने सम्भावना थियो। यसैले जुस्लूले होटल मालिकहरुलाई पनि कुनै असुविधा हुन नदिने अनि होटल कर्मचारीहरुलाई पनि न्याय हुने विषयलाई ध्यानमा राखेर यो सम्झौता गरेको हो। यदि दार्जीलिङका होटलहरुले सरकारी नियमअनुसार, न्यूनत्तम रोजीअन्तर्गत वेतन भुक्तान गर्नपरे सबैभन्दा कम्ति वेतन 7,345 रुपियाँदेखि माथि छ। तर दार्जीलिङका धेरै होटलहरु यति वेतन दिने अवस्थामा छैनन्।

यसैले होटल मालिकहरुलाई पनि कुनै मर्का नपरोस् भनेर द्विपक्षीय सम्झौता गरिएको हो। जसअनुसार, 1 नोभेम्बर 2016-देखि लागू हुने वेतन यसप्रकारले निर्धारित भएको थियो, 1 देखि 5 जनासम्म कर्मचारी कार्यरत रहेका होटलले आफ्ना कर्मचारीहरुलाई न्यूनत्तम वेतन 3,600 रुपियाँ दिनुपर्छ भने स्कील्ड कर्मचारीलाई 4,200 अनि हाइली स्कील्डलाई 5,200 रुपियाँ वेतन दिनुपर्नेछ।

यसरीनै 6 देखि 10 जना कर्मचारी हुने होटलहरुले न्यूनत्तम 4100 रुपियाँ, स्कील्डलाई 4700 र हाइली स्कील्डलाई 5700 रुपियाँ दिनुपर्ने निर्धारित भएको छ। 11 देखि 15 जना कर्मचारी राख्ने होटलले क्रमैले 4600, 5200 र 6200 रुपियाँ दिनुपर्नेछ भने 16 देखि 19 जना कर्मचारी कार्यरत रहेका होटल कर्मचारीहरुको वेतन 5100, 5700 हुनेछ। यसबाहेक 20 जनाभन्दा अधिक कर्मचारी राख्ने होटलहरुले साधारण कर्मचारीलाई 5600 रुपियाँ र स्कील्डलाई 6200 वेतन दिनुपर्ने सहमत भएको थियो।

यति मात्रै होइन, यी कर्मचारीहरुको वेतनमा प्रत्येक वर्ष बेसिक वेतनको 15 प्रतिशतको दरले वृद्धि हुनपर्ने विषयमा पनि सम्झौता भएको थियो। तर अहिलेसम्म पनि यो सम्झौतालाई दार्जीलिङका अधिकांश होटलहरुले लागू नगरेपछि जुस्लू आक्रोसित बनेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया