वैश्विक पाठक तानिरहेको ‘द लामा हू नेवर वाज’-ले गऱ्यो होमटाउन संवाद

 गान्तोक/ 2 दिसम्बर2017


गाउँमा हल गोरू कसरी नारिन्छ। जोत्न सक्ने गोरू कसरी बनाइन्छ। दाम्लो बाट्ने, नाम्लो बुन्ने परम्परा। लामा हुन अघि र हुनुको पछिको बालापनको कथा, झ्याउँकिरी, जुनकिरी, स्वर र उजेलो । पाङ्ग्रे, पुत्ले, पुडे,झाले र माले नामहरूलाई फरक भाषामा उतार्ने काममा खप्पिस कथाकार परशु दाहालको डेब्यु कथा सङ्ग्रह “ द लामा हू नेवर वाज” आजदेखि होम टाउन गान्तोकमा सार्वजनिक भयो।

पेट्रिज इण्डियाले प्रकाशित गरेको कथा सङ्ग्रहको सार्वजनिक कार्यक्रम आज दिउँसो 12 बजीदेखि जीवन थिङ मार्गमा स्थित रचना बुक्समा साँझ 6 बजीसम्मै चल्यो। पुलिस अधिकारी कथाकार परशु दाहाल आफ्नी कान्छी छोरीसित रचना बुक्समा समयमै उपस्थित भएर पाहुनाको रूपमा आइरेहका पाठकहरूसित कथाकारिताबारे सबैसित केही न केही कुरा गरिरहन भ्याइरहेका थिए।

दिनभरि उनले आफूलाई भेट्दै खादा, पुष्पगुच्छा चडाउने सबै पाठकहरूलाई नजिकबाट कथाकारले भनोस् सोचेका कुराहरू भन्न भ्याए। रचना बुक्सको सौजन्यमा आयोजित सार्वजनकि कार्यक्रम साँझ 6 बजीसम्म चल्यो। दिनभरि सयौं पाठकहरू सोसियल मिडियामा छाडिएका निम्तोपत्र हेरेर रचना बुक्सको सिढी उक्लन पुगे। किताब किनेर कथाकारको हस्ताक्षरमा आफ्नो नाम र अटोग्राफसितै कथाकारिताबारे केही कुरा सुनेर फर्किने क्रम चलिरह्यो लगभग 6 घण्टा।

साँझमा भने कथावाचनको छुटटै कार्यक्रम आयोजन गरियो। जहाँ कथाकार दाहालले पश्चिम सिक्किमको दूर्गम गाउँ गेलिङले हुर्काउने क्रममा दिएको अनुभव र गाउँलेपनको निख्खर स्वादको बारेमा चर्चा पनि बीच बीचमा राखे। उनी दिउँसै आइपुगेका मिडिया कर्मीहरूलाई छोटो अन्तरवार्ता दिँदै भनिरहेका थिए, ‘पाठकहरूले हाम्रै सिक्किम-दार्जीलिङ पाहाड़ी भेकको ग्राम्य जनजवीनको स्वाद अङ्ग्रेजी भाषामा चाख्न पाउनेछन्। वर्तमान समयमा ग्रामीण स्वादका कुराहरू मिथ जस्तो भइरहेको अवस्थामा मैले मेरा कथाहरूमा अङ्ग्रेजीका पाठकहरूबीच पुऱ्याउने प्रयास गरेको छु।’

अङ्ग्रेजीको डेड मेट्टलको जरैसम्म पुगेका कथाकार परशुले नेपालीका फत्तेमान राजभण्डारी, बच्चु कैलाशदेखि अहिलेसम्मका गायक गायिका, सङ्गीतकार मात्र नभएर गीतकारसम्मको बेलिबिस्तार लगाएर गाउने गर्छन् भने आफ्नो कथामा लोक जनजीवनलाई नै टिपेर वैश्विक पाठकहरूसमक्ष सिक्किम दार्जीलिङे गाउँको स्वाद पस्किदिएका छन्। 105 पानाहरूमा जम्मा 8 वटा कथा समेटिएको सङ्ग्रह “द लामा हू नेवर वाज” को अनलाइन बिक्रीले दुइ महिना अघिदेखि नै चर्चा बटुल्न सक्षम भइसकेको किताब हो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया