नेताजी सुभाषचन्द्र बोस : भन्थे- धर्म या अतिन्द्रिय विषयहरूद्वारा राजनीतिक सञ्चालन हुनुहुँदैन

Girl in a jacket

लिजेण्ड


एनबी घिमिरे


विद्यार्थी-युवा राजनीतिको सम्बन्धमा छात्राणाम् अध्ययनम् तप: भनेर विद्यार्थीवर्गलाई राजनीतिदेखि टाढा राख्नु भनेर प्रचारप्रसार गरिन्छ। यस प्रसङ्गमाथि नेताजीले भनेका थिए,  ‘अध्ययन नै विद्यार्थी जीवनको तपस्या हो। यही कुराको आडमा विद्यार्थीवर्गलाई देश सेवाको मौकाबाट अलग्ग राख्ने कोशिश गरिन्छ। अध्ययन कहिले पनि तपस्या हुन सक्दैन। अध्ययनको अर्थ हो केही किताब पढ्नु, केही परिक्षा पास गर्नु। यसबाट स्वर्ण पदक पाउन सकिन्छ, सायदै ठूलो ठूलो नोकरी पनि पाउन सकिन्छ, तर मानवता कहिले पाउन सकिन्न।’ (नयाँको खोजमा)

फेरि यसलाई कसरी पाउने भन्ने सन्दर्भमा पनि उनले भनेका थिए, ‘मानवता आर्जित गर्ने एकमात्र तरिका हो मनुष्यको विकासको बाटोमा अघि आउने हरेक अडचनलाई धरासयी बनाउनु। जहाँ पनि अन्याय र भ्रष्टाचार देखिन्छ, निर्भिकतासित शिर खडा गरेर त्यसको विरोध गर। त्यसलाई नष्ट गर्न जिउज्यान लगाउ।’ (नयाँको खोजमा)

देशको अवस्था अहिले कस्तो छ भने, तमाम राज्य र केन्द्र सरकार विद्यार्थी, युवावर्गको जोस्, हौसला र नैतिक बललाई नष्ट गर्न र उनीहरूमा कायरता र लालच भर्न दिन रात लागि परिरहेको छ। केही जमात विद्यार्थीवर्ग, अन्याय, अत्याचार, शोषण दमन र भ्रष्टाचार देखिरहेका हुन्छन् तर त्यसको विरोधमा खडा हुने साहस जुटाउन सक्दैनन्। यस्तो समय नेताजीले भनेका थिए,’ निरङ्कुशता देख्दादेख्दै पनि जो व्यक्ति त्यसलाई नष्ट गर्ने कोशिशसम्म गर्दैनन्, उसले आफ्नो साथसाथै त्यो शोषित व्यक्तिको पनि मानवतालाई अपमान गरिरहेको हुन्छ। अन्याय अत्याचारको विरुद्ध लड्दै गर्दा जो व्यक्ति घाइते हुन्छ, जेल जान्छ अथवा अपमानित हुन्छ, उसले आफ्नो त्यो त्याग र तिरस्कारबाट मानवताको गौरवशाली आसन प्राप्त गर्छ।’ (नयाँको खोजमा)

 

नारी मुक्ति आन्दोलनमा नेताजीको दृष्टिकोण

महिलावर्गको मुक्ति आन्दोलनमा नेताजीको अनमोल मन्तव्य आज पनि याद गर्न लायकको छ। नारी मुक्तिको प्रश्नमा उनले भनेका थिए, ‘स्त्रीलाई पूर्ण स्वतन्त्रता दिँदै राष्ट्रिय सामाजिक जीवनमा पुरुषवर्गसितै बराबर अधिकार र जिम्मेवारी दिनुपर्छ। आर्थिक बिषमता हटाउनुपर्छ र जात-धर्म-वर्णलाई नहेरिकन सबैलाई (महिला या पुरुष)  शिक्षा वा तरक्कीको निम्ति बराबर मौका मिलोस्, यस्तो व्यवस्था बनाउनुपर्छ।’

महिलावर्गको साहस, जोस र त्यागमाथि उनलाई कत्ति भरोसा थियो, त्यो कुरा त उनले महिलावर्गलाई लिएर आजाद हिन्द फौजको एक अलग रेजिमेन्ट तयार पारेबाट नै स्पष्ट हुन्छ।

मजदुरकृषक आन्दोलनको सम्बन्धमा नेताजीको दृष्टिकोण

मजदुर आन्दोलनको प्रश्नमा नेताजीले भनेका थिए ‘मालिक र मजदुरबिच विरोधको जन्म भयो भने राष्ट्रको सम्पूर्ण शक्ति मालिकको पक्षमा राखिन्छ र स्वधीनता आन्दोलनलाई कुल्चिनमा मालिक सरकारलाई सहयोग गर्छ। भविष्यमा राजनैतिक मात्रै होइन आर्थिक मुक्तिको सङ्घर्षमा पनि मजदुरवर्गले महत्त्वपूर्ण भुमिका निभाउने छन्।’ १९२८ मा खडगपुर रेल्वे श्रमिकको सभामा दिएको भाषण

मालिकवर्गको षडयन्त्रबाट मजदुरवर्गलाई सतर्क गराउँदै उनले भनेका थिए, ‘दुनियाँको व्यापारमा मन्दी छाएको छ। त्यसको असर यहाँ पनि छ। लगभग सबै कम्पनीहरू, यहाँसम्मकी टाटा र बर्मा ओयल कम्पनी पनि मजदुरवर्ग छाँट्ने काम गर्दैछ। यस्तो स्थितिमा तपाईंहरू आफ्नो युनियन मजबुत बनाउनुस्। मालिकवर्ग तपाईहरूलाई आश्वासन दिँदैछन् कि हामी तपाईहरूको मजदुर कार्यालय खोलिदिन्छौं, तपाईंहरूको हितको रक्षा गर्छौ, अतः तपाईं आफ्नो युनियन भङ्ग गरिदिनुस्। यो भुलमा नपर्नु होला।’ १९३७मा किसान सभामा पहिलोपटक भाषण

नेताजीले आफ्नो समयमा धेरै मजदुर आन्दोलन अथवा हडताललाई अगुवाई गरेका थिए। उनले धेरै समयसम्म एआईटीयूसी (त्यो समयको एकमात्र सङ्गठित मजदुर युनियन)-को नेतृत्व पनि गरेका थिए। कृषकहरूलाई पनि सतर्क गराउँदै उनले भनेका थिए, ‘तपाईंहरू सङ्गठित हुनुहोस्। अन्यथा, तपाईंहरूले आफ्नो हक पाउनुहुने छैन। यो कस्तो विडम्बना हो जसले हाम्रो निम्ति अन्न फलाउँछ उनीहरू नै भोकभोकै मर्दैछन्। यसबाट छुटकारा पाउनको निम्ति कृषकहरूले संयुक्त मोर्चा तयार गर्नुपर्छ।’ (१९३७..)

 स्वाधिनता आन्दोलनमा परस्पर विरोधी दुई धारा

स्वाधिनता आन्दोलनको समय वैचारिक क्षेत्रमा हामी दुई परस्पर विरोधी धारा पाउँछौ, एउटा त्यो जो साम्राज्यवाद र सामान्तवादसँग सम्झौतापरस्त रह्यो, जो आन्दोलनमा (Dominant) रह्यो। दोस्रो थियो सामान्तवाद र साम्राज्यवादको विरुद्ध जुन चाहिँ गैरसम्झौतावादी रह्यो। गान्धीजीलाई धेरैले समझौतापरस्त सुधारवादी राष्ट्रिय बुर्जुवाको प्रवक्ता मान्छन्।

यसको विपरित जुन गैरसम्झौतावादी क्रान्तिकारी धारा थियो यसैको सशक्त प्रतिनिधि नेताजी सुभाषचन्द्र बोस थिए। यसै समय हाम्रो देशमा सम्झौतावादी सुधारवादीलाई दक्षिणपन्थी र सम्झौता विरोधी लडाकु तब्कालाई वामपन्थी भन्न थालियो।

नेताजी आफैलाई वामपन्थी भन्ने गर्थे। स्वाधिनता आन्दोलनमा सम्झौतावादी र गैरसम्झौतावादी यी दुई धाराबीच लगातार वैचारिक सङ्घर्ष चलि नै रह्यो। अङ्ग्रेजकै अधिनमा नै डोमिनियन स्टेटस कि पूर्ण स्वराज, आवेदन-निवेदन कि सशस्त्र सङ्घर्ष, साम्राज्यवाद विरोधी लडाइँ कुन बाटो लैजाने, यस्तै तमाम प्रश्नहरूमाथि बारम्बार तीव्र मतभेद अघि आउने गर्थ्यो।

यो गान्धीजी र नेताजीको व्यक्तिगत योग्यताको द्वन्द्व कतै थिएन। फेरि यसको कारण के थियो त? नेताजीले आफै भने, ‘पार्टीभित्र लडाइँको हुनुपछाडिको मूल कारक वर्गसङ्घर्ष नै थियो।’ क्रसरोड

उनले भनेका थिए,  ‘धनवान् करोडपति पनि आफैलाई देशभक्त बताउँछन् किनकि उनीहरू आफैलाई गान्धीवादी भन्छन्। ….जमिन्दार, करोडपति, उद्योगपतिहरूले अनि अहिले कङ्ग्रेसलाई घेरेका छन्।’ क्रसरोड

फेरि खुलासा गर्दै भनेका छन्, ‘ सामाजिक तौरतरिकामा गान्धीवादी अमीरखुदगर्जीहरू सँग अभिन्न तरिकाले जोडिएको छ।’ (undamental Questions of Indian Revolution)

उनले शङ्का व्यक्त गरेका छन्, ‘गान्धीवादले आजाद हिन्दुस्तानलाई विनाशतिर धकेल्ने छ।’ (क्रसरोड) र पनि नेताजी व्यक्तिगत रूपमा गान्धीजीप्रति आपार श्रद्धा गर्दथे। गान्धीजी क्रान्ति विरोधी थिए र अङ्ग्रेजले त्यसलाई आफ्नो फाइदाको निम्ति प्रयोग गर्दथे। तर गान्धीजीले कहिले पनि सचेत रूपमा यो भूमिका निभाएका थिएनन्। उनी इमानदार व्यक्ति थिए। उनले अनजानमै भारतीय पुँजीपतिवर्गको हितमा काम गरिनै रहे।

उनी गरिबीको उत्थानकै निम्ति काम गर्ने कोशिशमा लागिरहे। तर उनी जहिल्यै पनि क्रान्ति विरोधी रहे। उनी मान्थे कि मनुष्यको चिन्तन ईश्वरीय चिन्तनद्वारा नियन्त्रित छ। अवैज्ञानिक र आध्यात्मिक विचारद्वारा प्रेरित भएर उनी सोच्ने गर्थे, ‘चिन्तन ईश्वरीय इच्छा हो।’ अतः कुनै पनि विषयको समाधानको निम्ति बाहिरको विज्ञानसम्मत तर्क-बहसको जग्गा inner voice ( अन्तरात्माको आवाज) को शरण लिन्थे।

उनी भन्थे, ‘सत्य नै ईश्वर हो, अहिंसा सत्य हो, अतः अहिंसा नै ईश्वर हो।’ अन्ध धार्मिकतासित जोडिएर राष्ट्रिय बुर्जुवाको सशस्त्र क्रान्ति विरोधी सोचले अन्जानमै उनको मानसिकता र उनको विचारलाई नियन्त्रित गरि नै रह्यो। नतिजा के भयो, देशको मङ्गल सम्झेर उनले जे सोचेर गरे त्यसले शोषित जनताको जग्गा राष्ट्रिय बुर्जुवावर्गलाई नै फाइदा पुग्यो। यहीँ कुरालाई सायद उनले सम्झेन्न। यहीँ गान्धीजीको त्रासदी हुनसक्छ।

नेताजी सोवियत सङ्घको समर्थक र फासीवादीको विरोधी थिए। तमाम कोशिश गर्दा पनि देशमै बसेर केही गर्न सफल नहुँदा युद्धको मौका छोपेर उनी विदेश लागे। विदेश गएर सर्वप्रथम उनले सोवियत सङ्घलाई सहायता मागे।

तर उसबखत सोवियतको लागि यो सम्भव थिएन। किनकि फासीवाद संसारमा सबैभन्दा ठूलो खतराको रूप लिएर उभिएको थियो। फ्रान्स र ब्रिटेन, सोवियत सङ्घलाई कुल्चिने सोचले फासिस्ट जर्मनी र इटलीलाई प्रयोग गर्ने षडयन्त्र रच्दै थियो। अर्को तर्फ सोवियत सङ्घ यो कोशिशमा लागेको थियो कि दुई साम्राज्यवादी गुटको बीच मौजुद द्वन्द्वको फाइदा उठाएर कसरी ब्रिटेन, फ्रान्स र अमेरिकालाई यी फासिस्टहरूको विरुद्ध प्रयोग गर्न सकिन्छ।

अन्तमा यसको परिणाम नै यी दुईबिच दोस्रो विश्वयुद्ध छेडियो।  सायद सोवियत सङ्घको यस भूमिकाको औचित्य नेताजीले बुझिसकेका थिए। यसैले उनले कहिले पनि कतै सोवियत सङ्घप्रति कुनै प्रकारको क्षोभ वा प्रतिक्रिया प्रकट गरेनन्।

जब कि उनले भारतमा अङ्ग्रेज साम्राज्यवाद विरुद्ध जर्मनी र जापानलाई प्रयोग गर्ने सोच बनाइसकेका थिए भने उनीहरूसित मित्रता कायम गरिसकेका थिए। तरै पनि जब जर्मनीले सोवियत सङ्घमा आक्रमण गऱ्यो तब उनले यस आक्रमणको विरोध गरेका थिए। रोममा जर्मनी विदेश विभागका अधिकारी बुअरमेनले यस सिलसिलामा आफ्नो रिपोर्टमा लेखे, ‘सुभाष बोसका यी कुराहरूबाट स्पष्ट हुन्छ कि उनी रूस-जर्मन युद्धको जन्मको सवालमा सोवियत वक्तव्यबाट धेरै प्रभावित छन्।’ Netaji Through German Lens – Nand Lal Mukherje)

यति मात्रै होइन, कता कता यो पनि सुनिन्छ कि जर्मनी छोड्ने समयमा उनले तत्कालीन एनआईएका सिपाहीहरूलाई सोवियत सङ्घमाथि कदापि आक्रमण नगर्ने निर्देश दिएका थिए। यहीँ निर्देशलाई पालन गर्दै सोवियत सङ्घमाथि हतियार उठाउन अस्वीकार गरेका धेरै सिपाहीहरू फासिस्ट जर्मनीको गोलीले मृत्युको घाटमा उत्रिनु परेको थियो।

जसरी विश्वकवि रविन्द्रनाथ ठाकुरले पनि शुरुमा इटलीका मुसोलिनीको चालकीको भ्रममा परेर उनको तारिफ गरेका थिए तर पछि यो भ्रम तोडिएपछि फासीवादी विरुद्ध दृढ़तापूर्वक खडा भएका थिए।

ठीक त्यसरी नै जर्मनीमा केन्द्रीयता, अनुशासन, उद्योगहरूको राष्ट्रियकरण आदि देखेर नेताजीले पनि शुरुमा भारतमा ‘समाजवाद र फासीवाद’ को समन्वयको कुरा आफ्नो पुस्तक ‘दि इन्डियन स्ट्रगल’ मा लेखेका थिए। तर पछि १९३८ मा आफ्नो गल्ती स्वीकार गरेका थिए।

‘ यो किताब लेखेको तीन सालपछि मेरो राजनैतिक विचारमा अरू पनि प्रौढता आएको छ। मैले जे भन्न खोजें, त्यो थियो- भारतमा हामी जुन राष्ट्रिय स्वाधिनता चहान्छौं, त्यसलाई प्राप्त गरेपछि समाजवादतिर अघि बढ्नुपर्छ। ‘साम्यवाद र फासीवादको समन्वय’ बाट मेरो अभिप्राय यही थियो, तर अभिव्यक्तिको तरिका गलत थियो। जब म यो किताब लेख्दै थिएँ, त्यस समय फासीवादले आफ्नो साम्राज्यवादी आन्दोलन छोडेकै थिएन। त्यो समय मैले महज राष्ट्रवादको आक्रामक तेवर मात्रै देखेको थिएँ।’

फासीवादको चरित्रलाई ध्यानमा राखेर नै अङ्ग्रेजी साम्राज्यवादको विरुद्ध त्यसलाई प्रयोग गर्ने सोचले नै उनले तिनीहरूसित सम्झौता गरेका थिए। र उनै नेताजीलाई कङ्ग्रेस र सीपीआईले ‘फासीवादको दलाल’ भनेका थिए। ‘सुभाष यदि स्वदेश फर्किन्छन् भने म उनलाई तलवारले स्वागत गर्नेछु’, नेहरूले भनेका थिए भन्ने पनि कता बता सुनिन्छ।

तत्कालीन सीपीआई नेता (पछि सीपीआई-एम नेता) बीटी रणदिवेले पार्टी मुखपत्रमा ‘जापानी साम्राज्यवादका दलाल सुभास बोसप्रति कम्युनिस्ट पार्टीको त्यही व्यवहार हुनेछ, जस्तो साँचो देशभक्तको गद्दार र देशको दुःशमनप्रति हुन्छ’ भनेर लेखेका थिए।

वस्तवमा सीपीआई कहिले पनि सही मार्क्सवादी पार्टी थिएन। उनीहरूले स्वाधिनता आन्दोलनमा र आज पनि मार्क्सवाद विरोधी क्रियाकलापको माध्यमबाट क्रान्तिकारी आन्दोलनलाई घोर क्षति पुर्‍याएको छ। तर देशमा मार्क्सवाद-साम्यवादको महान गरिमालाई निमिट्यान्न गरिदिएको छ।

अङ्ग्रेज साम्राज्यवादको विरोधमा १९४२ मा जुन सङ्घर्ष उठेको थियो (गान्धीवादीहरूले जसमा पानी छर्किदिएका थिए) त्यस समय पनि अगस्त आन्दोलनलाई सीपीआईले ‘फासिस्ट षडयन्त्र’ भन्दै त्यसको विरोध गरेर अङ्ग्रेजी साम्राज्यवादको युद्धमा सहयोग दिएर देशभक्तिको एउटा अचम्मको मिसाल पेश गरेको थियो।

देशमा एउटा भ्रम फैलिएको थियो अथवा अझ पनि छ, सीपीआईले यो सब सोवियतको निर्देशनमा गरेको थियो। तर हालैमा प्रकाशित सीपीआई नेता डा. रेनन सेनद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ, अङ्ग्रेज साम्राज्यवादको सहयोग गरेको देखेर सीपीआईको आलोचना गर्दै स्टालिनले भनेका थिए, ‘साम्राज्यवादको विरोध गर्न छोडेर एकप्रकारले तिमीहरूले अङ्ग्रेजहरूको सहायता गरेकको छौ।’

जस्तो गहिरो देश प्रेमको भावनाले नेताजीले ब्रिटिस साम्राज्यवादको बिरुद्ध जापानलाई प्रयोग गर्न चाहे, जसरी बर्माका राष्ट्रवादी नेता अयूङ्ग साग वा इन्डोनेसियाका डा. सुकर्णोले पनि गरेका थिए र पछि उनीहरू नै जसरी जापानको विरुद्ध खडा भएका थिए, आवश्यक परेको बेला नेताजी पनि जापानको विरुद्ध खडा हुने थिए।

यसमाथि प्रश्न उठ्न सक्छ, तर्क बहस हुन सक्छ तर के उनलाई यतिमै ‘जापानी दलाल’ भन्न मिल्छ? के उनले जिन्दगीभरि भारतमा जापानको साम्राज्यशाही खडा होस् भनेरै जीवनभर लडेका हुन्? नेताजीले जहिल्यै पनि कम्युनिज्मको मानवतावादी र साम्राज्यवादलाई ‘अमानवीय’ भनेका छन्। उनले भारतका तथाकथित कम्युनिस्ट पार्टीहरूको विरोध गरेका छन् तर सँधै मार्क्सवादको सत्कार गरेका छन्।

 

वैज्ञानिक दृष्टिकोणप्रति उनको आकर्षण

नेताजी सत्यको साधक थिए। उनको विचारहरूमा लगातार परिपक्वता आउँदै गयो। जीवनको सुरुमा उनी विवेकानन्दको वेदान्त दर्शन वा पछि हेगलको द्वन्द्वात्मक भौतिकवादबाट प्रभावित रहेर उनी सत्यको खोजमा लगातार वैज्ञानिक दृष्टिकोणतिर अग्रसर हुँदै थिए।

उनी भौतिकवादको सम्बन्धमा आफ्नो पुरानो र गलत धारणबाट विस्तारै मुक्त हुँदै थिए। आफ्नो प्रारम्भिक जीवनमा सन्यास, धर्म र ब्रह्मचार्यप्रति पूर्णरूपमा श्रद्धावान रहेको भए पनि पछिल्लोसमयर उनले यसलाई पूर्णरूपले सारहीन बताए।

उनले धर्मनिरपेक्ष मानवतावादको सम्बन्धमा भनेका छन्, ‘धर्मलाई सम्पूर्ण रूपमा राजनीतिबाट अलगै राखिनुपर्छ। यो कोही पनि व्यक्तिको व्यक्तिगत मामfला हुनुपर्छ। कोही पनि व्यक्तिलाई आफ्नो इच्छा अनुरुप कुनै पनि धर्म मान्ने स्वतन्त्रता हुनुपर्छ। तर धर्म या अतिन्द्रिय विषयहरूद्वारा राजनीतिक सञ्चालन हुनुहुँदैन। यसको सञ्चालन केवल राजनैतिक, आर्थिक, वैज्ञानिक समझको बाटोबाट नै हुनुपर्छ।’

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया