चुनाउ प्रचारमा अशोक भट्टाचार्य पनि

विज्ञापन

  • मोहन लामा, दार्जीलिङ, 4 मई/2017 

दार्जीलिङ पहाड़का नगरपालिकाहरुमा सही प्रतिनिधि नभएकै कारण सही योजना लागू हुनसकेको छैन।


अब दार्जीलिङ नगरपालिका चुनाउको लागि स्टार प्रचारक ल्याउने पालो माकपाको। माकपा (मार्क्सवादी कम्युनिष्ट पार्टी)-ले दार्जीलिङ पहाड़का चारवटा नगरपालिका क्षेत्रमा केवल 13 जना मात्रै उम्मेद्वारलाई मैदानमा खड़ा गरे पनि यी उम्मेद्वारहरुका लागि भोट माग्न माकपाका एक वरिष्ठ नेता एवं सिलगढ़ी नगरनिगमका मेयर अशोक भट्टाचार्य, नगरपार्षद दिलीप सिंह आदि आगामी 8 र 9 मईका दिन दार्जीलिङ आउने भएका छन्।

जसले पार्टीबाट खड़ा भएका उम्मेद्वारहरुलाई लिएर रोड शो गर्नेछन्। यसैको जानकारी गराउँदै माकपा नेता एवं पूर्व सांसद समन पाठकले भने-माकपाले दार्जीलिङ नगरपालिकामा 4 जना मात्रै उम्मेद्वार खड़ा गरे पनि यहाँ 12 जना स्वतन्त्र उम्मेद्वारलाई पार्टीले सहयोग गर्ने तय गरेको छ। यद्यपि,  उनले कुन-कुन वार्डका स्वतन्त्र उम्मेद्वारलाई सहयोग प्रदान गर्ने हुन् भन्नेबारे स्पष्ट नपारे पनि पार्टीसित मन मिल्ने उम्मेद्वारहरुलाईनै सहयोग गर्ने भएको बताए। उनले भने-माकपाले तृणमूल कङ्ग्रेसलाई कुनै पनि स्थितिमा सहयोग गर्नेछैन।

उनले पनि दार्जीलिङ नगरपालिकालाई नगरनिगमको दर्जा दिनुपर्ने मागलाई पार्टीले प्रमुखता दिएको बताउँदै दार्जीलिङ नगरपालिकाले नगरनिगमको दर्जा पाए यहाँका स-साना समस्याहरु स्वतः समाधान भएर जाने पनि बताए। उनले भने-अहिले पनि दार्जीलिङ पहाड़मा विभिन्न राजनैतिक पार्टीहरूले झोड़ा, बाटो, पानी आदि विषय लिएरनै चुनाउ लड़्ने कुरा गरिरहेका छन्, यस्ता समस्याहरुबाट राजनैतिक पार्टीहरु माथि उठ्ननै सकेका छैनन्। यसैले दार्जीलिङ नगरपालिकालाई नगरनिगमको दर्जा दिलाउन सकिए यी सबै समस्याहरुलाई सहजै समाधान गर्न सकिन्छ।

यसैले माकपाले दार्जीलिङ नगरपालिकालाई नगरनिगमको दर्जा दिलाउने मागलाई प्राथमिकता दिएको छ। उनले भने-प्रत्येक चुनाउमा राज्यको क्षमता अनि गुण्डाहरुको बललाई प्रयोग गर्ने चलन छ। जसको फलस्वरूप जनताको गणतान्त्रिक अधिकार सचेतपूर्वक व्यक्त गर्ने अवस्था हुन सक्तैन। तर यस चुनाउमा जनताले आफ्नो गणतान्त्रिक अधिकार प्रयोग गर्ने अवसर पाउनुपर्छ। यसैबीच, एक प्रश्नको उत्तरमा उनले भने-दार्जीलिङ पहाड़का नगरपालिकाहरुमा सही प्रतिनिधि नभएकै कारण सही योजना लागू हुनसकेको छैन। यसैले दार्जीलिङलाई सही ढङ्गमा अघि बढ़ाउनको लागि सही उम्मेद्वारहरुलाईनै नगरपालिकामा ल्याउनुपर्ने माकपा नेता पाठकले आह्वान गरे।

 

 

 


सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया