जीटीए खारेज गरः युवा मोर्चा

विज्ञापन

राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मलाई पत्राचार


  • मोहन लामा, दार्जीलिङ, 4 मई/2017

हामीले चुनावी प्रक्रियामार्फत देखाउनुपर्ने भएकोले प्रत्येक चुनाउनै गोर्खाल्यान्डको लागि परीक्षाको घड़ी पनि हो। यसैले दार्जीलिङ पहाड़का गोर्खाल्यान्डप्रेमी जनताले यस चुनाउमा गोर्खाल्यान्डकै पक्षमा आफ्नो मत प्रदान गर्नुपर्छ।


गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-लाई खारेज गर्ने माग गर्दै आज गोर्खा जनमुक्ति युवा मोर्चाले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी, राज्यपाल केशरीनाथ त्रिपाठीका साथै जीटीएका मुख्य कार्यपाल विमल गुरूङलाई पत्राचार गऱ्यो।

गोर्खा जातिको सर्वाङ्गीण विकास जीटीएले गर्न सक्तैन अनि यसले गोर्खा जातिको आकांक्षा पनि पूर्ण हुँदैन, यसैले युवा मोर्चाले जीटीएमाथि त्रिपक्षीय सम्झौता हुँदानै यसमाथि विरोध पनि छैन अनि समर्थन पनि छैन भनेको थियो। यसै विषय लिएर आज युवा मोर्चाले एक सभाको आयोजना गरेर यस विषयमाथि एक प्रस्ताव ग्रहण गरेको छ।

यसबारे युवा मोर्चा सचिव अमृत योञ्जनले भने-यहाँ भोलिनै विपक्षी पार्टीका नेताहरुले राज्य सरकारले जीटीएलाई ठीकसित चल्न दिएको भए युवा मोर्चाले गोर्खाल्यान्डको आवाज उठाउने थिएन भन्ने प्रतिक्रिया दिनसक्छ। तर युवा मोर्चाले कहिले पनि जीटीएलाई समर्थन गरेको थिएन। युवा मोर्चा एकमात्र गोर्खाल्यान्डको लागि समर्पित अनि कटिवद्ध छ। यसै विषयमाथि जोड़ दिँदै युवा मोर्चा अध्यक्ष प्रकाश गुरूङले पनि भने-युवा मोर्चाको यो अड़ान अर्थपूर्ण छ अनि नगरपालिका चुनाउको समय मात्रै युवा मोर्चाले यस्तो निर्णय लिएको होइन। चुनाउ गणतान्त्रिक प्रक्रिया हो अनि गोजमुमोले गोर्खाल्यान्डको लागि आफ्नो जनसमर्थन देखाउनैपर्ने बाध्यता पनि हो।

गोर्खाल्यान्ड माग्नेहरुको समर्थन कति छ भन्ने प्रश्नको उत्तर माग्दा हामीले चुनावी प्रक्रियामार्फत देखाउनुपर्ने भएकोले प्रत्येक चुनाउनै गोर्खाल्यान्डको लागि परीक्षाको घड़ी पनि हो। यसैले दार्जीलिङ पहाड़का गोर्खाल्यान्डप्रेमी जनताले यस चुनाउमा गोर्खाल्यान्डकै पक्षमा आफ्नो मत प्रदान गर्नुपर्छ। यसका साथै अब भाजपा नेतृत्वावधीन केन्द्र सरकारले पनि गोर्खा जातिको लागि अलगै राज्यको व्यवस्था गर्नैपर्छ। केन्द्रमा भाजपाको सरकार रहेकै समय देशमा तीनवटा नयाँ राज्यको स्थापना भकिो थियो, अब भाजपाकै सरकारले बङ्गालबाट गोर्खाल्यान्डको पनि स्थापना गर्छ भन्ने विषयमा युवा मोर्चासँगै गोर्खा जनमुक्ति मोर्चा पनि आशावादी छ।

यसै उद्देश्य पूर्तिको लागिनै गोर्खा जनमुक्ति मोर्चाले सन् 2009-देखि लगातार भाजपालाई सहयोग प्रदान गर्दै आइरहेको छ। गोजमुमोले केवल गोर्खाल्यान्ड गठनको लागिनै सन् 2009 र 2014-का लोकसभा चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट भाजपाका उम्मेद्वारलाई सहयोग प्रदान गरेको हो अनि दुवैपल्ट बहुमतले विजय गराएर भाजपा उम्मेद्वारहरुलाई सांसद बनाएको हो। अब दार्जीलिङ पहाड़लाई जीटीए, दागोपाप, विकास बोर्डहरु जस्ता अस्थायी व्यवस्था दिएर यहाँका समस्याहरुको समाधान गर्ने पहल नहोस्, यहाँको समस्यालाई स्थायीरूपले समाधान गर्न अलग राज्य गोर्खाल्यान्ड नै दिनुपर्छ। यसको लागि दार्जीलिङ पहाड़का सबै गोर्खाल्यान्डपन्थी राजनैतिक पार्टी अनि जनता पनि अघि आउनुपर्छ।

हामी सबै जनता अनि पार्टीहरु एकत्रित हुन सक्यौं भने मात्रै हामी लक्ष्यमा पुग्न सक्नेछौँ। अहिलेसम्म हामी अलग-अलग भएको कारणनै हामी आफ्नो लक्ष्यमा पुग्न सकिरहेका छैनौँ। यसैले गोर्खाल्यान्डको माग लिएरनै अघि आएको क्रामाकपा (क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी) अनि अन्य पार्टीहरु पनि गोर्खाल्यान्डको लागि एकत्रित हुनपर्छ, युवा मोर्चा अध्यक्ष प्रकाश गुरूङले अपील गरे।

यसरीनै युवा मोर्चा सचिव अमृत योञ्जनले भने-गोर्खा जनमुक्ति युवा मोर्चाले अहिलेसम्म धेरै कलमको आन्दोलन गर्यो, आवश्यक परे युवा मोर्चा गोर्खाल्यान्डको लागि फलामको आन्दोलन गर्न पनि तयार छ।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया