8 वर्षपछि सउदीबाट फर्किइन् बेचिएकी रेश्मा

विज्ञापन

  • उमेश तामाङ, कालेबुङ, 4 मई/2017

भन्छिन् रेश्मा- “म अब कहिले विदेश जाँदिन, अरू कोही नारीहरू पनि नबुझी, नजानी विदेश नजावोस्। मैले धेरै समस्या भोगेर आएकी छु अरूले त्यस्तो स्थिति भोग्न नपरोस्”


रेश्मा कुजुर

सानो कुरामा आमासित ठुस्का-ठुस्कीपछि घर छोडेर हिँडेकी डुवर्सको चमर्ची चिया बगान निवासी रेश्मा कुजुर मानव तस्करको हातबाट बेचिएर सउदी अरब पुगेपछि ८ वर्षबाद कालेबुङ आइपुगेकी छन्। १३ वर्षको उमेरमा आमासित रिसाएर हिँडेकी रेसमा घर अनि आमालाई छोडेर कसैले पनि विदेश जान नहुने सिको लिएर फर्किएकी छन्।

“म अब कहिले विदेश जाँदिन, अरू कोही नारीहरू पनि नबुझी, नजानी विदेश नजावोस्। मैले धेरै समस्या भोगेर आएकी छु अरूले त्यस्तो स्थिति भोग्न नपरोस्”- उनी भन्छिन्। आफ्नो प्रयास अनि बाल सुरक्षाको सहयोगमा हिज राती मात्र कालेबुङस्थित बाल सुरक्षा कार्यालयमा आइपुगेकी रेश्मालाई सउदी अरबमा बिताएको ८ वर्ष नर्कभन्दा कम लाग्दैन। तस्करको हातबाट बेचिएर सउदी अरबमा पुगेदेखि यता कालेबुङ फर्केर आउन ९ महिनाअघिसम्म मालिकको कुटाइ खाँदै एक कञ्ची पनि नपाइ काम गर्न परेको जीवनभर नबिर्सने दुस्वप्न जस्तो यथार्थको अनुभव रेश्मासित रहेको छ।

“बुद्धि थिएन त्यसबेला। त्यहिँ कारण मलाई सजिलै तस्करले बेचेर विदेश पुऱ्यायो। त्यहाँ मालिकले कुटदै काम लगाउँथ्यो जबकी लगभग ७ वर्षसम्म काम गरेको मैले एक कञ्चि पनि पाइनँ।” जुन घरमा उनी काम गर्थिन त्यस घर मालिक्नीको भाइले आफूलाई धेरैचोटि यौन शोषण गर्न खोजेको पीडा पनि रेश्मासित छ। “मलाई त्यस युवकले हातपात गर्न खोज्थ्यो, अश्लिल कुराहरू गर्थ्यो, मालिकलाई पनि त्यसको बारेमा भन्थेँ तर त्यसले बारम्बार त्यस्तै नीच प्रयास गर्थ्यो।”

मालिकको कुटाइ, मालिकको सालोको नीच व्यवहार अनि काम गरेको एक कञ्ची नपाएपछि 2016 को अगस्ततिर उनी त्यहाँबाट भागेर अर्कै ठाउँमा काम गर्न थालिन्। जहाँबाट पाएको पैसाबाट ५० हजार एउटा व्यक्तिलाई दिएर फेरि नेपालकै जाली पासपोर्ट बनाएर रेश्मा नेपाल हुँदै हिजो मात्र कालेबुङ आइपुगेकी हुन्। सउदी अरबबाट नेपाल आएपछि पनि उनी सजिलै कालेबुङ आउन पाइनन्। जाली पासपोर्टमा नेपालमा केरकारको लागि रोकिएपछि एक हप्तापछि मात्र बाल सुरक्षा अभियानको सहयोगमा उनी कालेबुङ आउन सक्षम बनेकी छन्।

यत्तिका वर्षपछि छोरीसित भेट हुँदा रेश्माकी आमालाई पनि कम खुशी मिलेको छैन। अरूकै घरमा काम गरेर आफूलगायत वयोबृद्ध आमा, एउटी छोरी अनि छोराको जीवन धान्ने रेश्माकी आमालाई कसैको पनि घरमा आमा-छोरीबीच यस्तो ठुस्काठुस्कीले यस्तो स्थिति नहोस् भन्ने लाग्छ।

“आफ्नो नानी हराउँदा कस्तो पीडा हुन्छ त्यो अनुभव म जस्तो आमालाई मात्र थाहा हुन्छ”, आँखाभरि आसु लिएर रेश्माकी आमाले भनिन्, “सबभन्दा सानो नानी केवल छ महिनाको हुँदा रेश्माको बाबाले हामीलाई छोडेर गएको थियो। उसलाई म कहिले खोज्दिनँ तर १३ वर्ष पुगेकी छोरी पनि हराउँदा म दिनरात रून्थेँ। दिनरात ईश्वरसित छोरीको निम्ति प्रार्थना गर्थेँ जुन प्रार्थना ८ वर्षबाद ईश्वरले सुनिदिएछन् र मैले मेरो छोरी भेटेँ।”

आमासित ठुस्का-ठुस्की परेर गएकी रेश्मालाई पनि अब आमा, आफ्नो गाउँ, आफ्नो जिल्ला छोडेर कतै टाडो जाने मन छैन। उनी भन्छिन्- “काम त गर्नैपर्छ किनकी परिवार पाल्नलाई आमालाई मैले सघाउनुपर्छ। बाबाले छोडेर गएकाले आमालाई परिवार पाल्न सघाउनु मैले काम गर्नै पर्ने बाध्यता छ तर अब म टाडो काम गर्न जाँदिनँ। नजिकमै काम गर्छु ताकि कुनै समस्या आइपरेको खण्डमा आफन्तजनलाई पनि भन्न सकूँ अनि सहयोगको निम्ति कसैलाई पनि निवेदन गर्न सकूँ।”

रेश्मा अनि उनकी आमालाई अब सँगै गाउँ-घर पुग्ने हतार छ। विगतमा के भयो त्यो कुराहरू भुलेर फेरि साथमा जीवन सङ्घर्ष गर्ने ढृड सङ्कल्प छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया