चौक हाटबजारको गरिमा यथावत राख्नुपर्छः गोरामुमो

दार्जीलिङ, 28 मार्च/ यदि दार्जीलिङ शहरको चौकबजार इलाकाको हाटबजारलाई भत्काएर नयाँ बनाइन्छ भने हाट बजारको गरिमालाई यथावत राख्नुपर्ने गोरामुमोले माग राखेको छ। आज गोरामुमो केन्द्रिय समिति कार्यालय प्रवक्ता वाई. लामाले यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरेर दार्जीलिङ बजारको चौक बजारको हाटघर इलाकालाई भत्काएर नयाँ बनाउने योजना भइरहेको जानकारी पाएको बताउँदै भने-यदि दार्जीलिङ दार्जीलिङ नगरपालिकाको अधीनमा पर्ने हाटघर तथा जीर्ण अवस्थामा पुगेका भवनहरूलाई भत्काएर नयाँ बनाइन्छ भने ती भवन वा दोकानहरूका वैध मालिकलाई पछिबाट घर वा भवन उपलब्ध गराउनुपर्छ।

तर हाट घर र भवन निर्माण गर्दा यहाँको सुन्दरता, सम्भावित भुइँचालोलाई पनि ध्यानमा राख्नुपर्छ। ताकि वर्तमानमा खतरा मानिएका जीर्ण भवनहरूले अट्टालिकाको रूप लिएर उल्टा झनै डरलाग्दो र दोब्बर खतरा नबनोस्। उनले भने-सन् 1994-मा यहाँको चौकबजारमा आगलागीको घट्ना भएपछि तत्कालीन दागोपाप अध्यक्ष सुवास घिसिङको निर्देशमा हाटबजारको गरिमालाई कायम राखेर एकतले हाटघर बनाइएको थियो।

जसको निर्माण हुँदा दोकानदारहरूले काँटी पनि किन्न परेन भने सम्बन्धित दोकानदारहरूलाईनै दोकान उपलब्ध गराइएको थियो। यसैले आगामी दिनमा दार्जीलिङ नगरपालिका वा क्षेत्रीय प्रशासनले कुनै पनि कोषबाट यस हाटघरलाई नयाँ बनाउँछ भने एकैतले मात्रै हाटघर बनाउनुपर्छ अनि सही दोकानदारहरूलाईनै आ-आफ्नो दोकान उपलब्ध गराउनुपर्छ।

तर यसको साटो नयाँ दोकान प्रदान गर्दा दोकान मालिकहरूबाट मोटो रकम लिने कार्य भए, गोरामुमोले कठोर विरोध गर्नेछ। यति मात्रै होइन, चौकबजारको हाटघर नयाँ बनाउने क्रममा दोकानदारहरूले जति क्षति बेहोर्नपर्छ, त्यसको क्षतिपूर्ति पनि पीड़ित दोकानदारहरूले पाउनुपर्छ। यहाँको पुरानो सुपर मार्केट, सी बिल्डिङ आदिलाई भत्काएर नयाँ बनाउनुपर्ने विषयमा विगतमा उठेका आवाजहरू सम्बन्धमा प्रश्‍न गर्दा लामाले भने-यी भवनहरू सबै दार्जीलिङ नगरपालिकाको अधीनमा पर्छन्।

यी भवनहरूलाई पुनः निर्माण गर्न आवश्यक छ, तर विशेषज्ञहरूद्वारा उचित जाँच गराइएपछि मात्रै। यसका साथै पुराना भवनहरू भत्काएर नयाँ बनाउनअघि यी दुवै भवनमा बस्ने तथा दोकान चलाएर जीवन धान्नेहरूसित सर-सल्लाह गर्न आवश्यक छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन