कुरा मुम्बईका/ ठाणेको दोसा

विज्ञापन

 

आज (5 नोभेम्बर) ड्युटी थिएन र आफु बसेको ठाउँ एन्टप हिलदेखि थाणे गएँ एक्लै। थाणेमा एडमिसन मेला लागेको विज्ञापन समाचारपत्रमा पढ़ेको थिएँ – मुम्बई मिररमा। कोठाबाट 1 बजी निस्केँ र गोटे गाड़ीमा 10 रु. मा चढ़ी सायन स्टेसन पुगेँ। सायनलाई मराठीहरू शिव भन्छन् स्टेसनको नाम। मराठीहरू पुराना नाम र अङ्ग्रेजी नामलाई मराठीकरण गर्नमा सिपालु छन्। भिक्टोरिया टर्मिनसलाई पनि क्षत्रपति शिवाजी महाराज टर्मिनस बनाएका छन्। ऐले पनि कतिपय पुराना अथवा अङ्ग्रेजकालीन नाउँहरूलाई भारतीयकरणको बहानामा मराठीकरण गर्ने परियोजनामा छन्। हाम्रातिर यस्तो हुँदैन, बरू उल्टो हुन्छ। बोक्सी खोला बाक्छी खोला बन्दछ। थाना डाँड़ा थानापाड़ा हुन्छ। तेन्जिङ सेर्पा तेनसिँह स्यार्पा हुन्छ। गामठामका नाम त झन् हामी नै बिगार्दछौँ – सुकिया, दुधिया, धोतरिया, पोखरियाबुङ, बतासिया इत्यादि।

सायन अथवा शिवबाट रेलमा चढ़ेर पुग्न महासमरमा होम्मिएजत्तिकै भयो। आइतबार भएर धेरैवटा रेलहरू नचल्दा रहेछन् र ती कम्ती चल्ने रेलमा दुनियाँभरिका यात्रीहरू खाँदिँदा रहेछन्। जसोतसो ठाणे पुगेर आफु पुग्नुपर्ने ठाउँ ठाणे क्लबसम्म यौटा रिक्सामा गएँ। यता टेम्पोलाई रिक्सा भन्छन्। टेम्पो भनेको चाहिँ सामान बोक्ने अलि ठुलो खालको भ्यान बुझ्नुपर्छ। स्कुल भर्ती मेलामा एक घन्टा जति घुमेँ, आफुलाई चाहिने सूचनाहरू सङ्ग्रह गरेँ। त्यहीँ यौटा सेमिनार पनि हुन लागेको सूचना पाएर हलभित्र पसेँ। मुम्बईकी एक शिक्षाविद् नारीले वक्तव्य दिने सुनेर खुसी लागेथ्यो तर हलमा 6 जना मात्रै श्रोता थिए। तिनीहरू पनि कार्यक्रम सुरू नभएको कारण फटाफट निस्कन थाले, आफु पनि बसेर समय मात्र नष्ट होला ठान्दै बाहिरिएँ।

त्यसपछि यौटा रिक्सा गरेर फेरि ठाणे स्टेसन आएँ। निक्कै भोक लागेको कारण यौटा शाकाहारी हुटेलमा पसेँ। यौटा सादा दोसा अनि एक गिलास लस्सी मगाएँ। पैला लस्सी ल्याइदियो, पिउँदै गर्दा दोसा आयो। तर यो खालको दोसा त मैले जीवनमा कहिल्यै पनि देखेको थिइनँ। यसलाई कसरी खानु, कताबाट खानु भयो….। माओवादीहरूले सड़कमा बिछ्याएको बम्बजस्तो पनि लाग्छ। भोकको झोँकमा हातैले मऱ्याकमुरुक पारेर खाइदिएँ। अरूहरूले मलाई राम्ररी हेर्दै थिएँ – मैले दोसालाई नै हेरिरहेको थिएँ।

त्यसपछि फेरि लोक्कलमा चढ़ेर सायन फर्कन स्टेसनमा आएँ। तर पैलो रेलमा चढ़्न सकिनँ। भिड़ अति नै थियो। अर्को रेल आउला भनेको दोब्बर भिड़ भएको पो आयो। बरू अघिल्लोमै गएको भए पनि हुनेथियो भन्ने सोचेर यसमा भित्रिन त भित्रिएँ तर ठाणेदेखि आफ्नु स्टेसन सायन आउनअघि भेटिने स्टेसनहरू मुलुण्ड, नेहुर, भान्डुप, कन्जुर मार्ग, भिक्रोली, घाटकोपर, विद्याविहार र कुर्लासम्म आइपुग्दा त यात्रीहरूको सङ्ख्या घट्न त हैन झन् बढ़्दैबढ़्दै गयो। आफुलाई बाहिर निस्कनुपर्दा नौरानदेखिको बल प्रयोग गर्नुपऱ्यो। जसोतसो 10 सेकेन्डभित्र निस्कन सफल भएँ। निस्कन नपाइएको भए कुन स्टेसन पुगिने थियो कुन्नि……।

यसरी आजको दिन एक्लै घुमेर बिताएँ…..। ऐले आफ्नो कोठामा आइपुग्दा तर त्यो दोसाकै याद आइरहेछ…… हाम्रोतिर यस्तो त बौद्ध धर्मावलम्बीहरूले प्रयोग गर्ने तोर्मा पो हुने गर्छ…..

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया