तृणमूलको बोर्ड गठन भए दार्जीलिङलाई 1 वर्षमा कलकत्ताभन्दा राम्रो बनाउने वाचा

विज्ञापन

 

  • मोहन लामा, दार्जीलिङ, 5 मई/ 2017

नगरपालिका चुनाउको लागि प्रचार गर्ने समय अब केवल 7 दिन छ, यसपछि 14 मईको दिन मतदान हुनेछ। यसपछि दार्जीलिङ पहाड़मा गोजमुमोलाई दुर्बिनले हेर्दा पनि देखिनेछैन।


दार्जीलिङ नगरपालिका चुनाउमा जीत हासिल गरेर तृणमूल कङ्ग्रेस नगरपालिकामा बोर्ड गठन गर्न सफल बने दार्जीलिङलाई एक वर्षभित्र कलकत्ता जस्तै बनाउने आज तृणमूल कङ्ग्रेस सांसद एवं तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष अभिषेक व्यानर्जीले वचन दिए।

आज यहाँको मोटर स्ट्याण्डमा एक चुनावी जनसभालाई सम्बोधन गर्न मुख्य वक्ताका रूपमा उपस्थित भएका व्यानर्जीले विशेष गोजमुमो अध्यक्ष विमल गुरूङ,  महासचिव रोशन गिरी आदिमाथि कटाक्ष प्रहार गर्दै गोजमुमोले दार्जीलिङ पहाड़मा केवल झुटको राजनीति गरिरहेको आरोप लगाए।

चुनावी जनसभालाई सम्बोधन गर्दै अभिषेक व्यानर्जी।

उनले भने-तृणमूल कङ्ग्रेसले कहिले झुटको राजनीति गर्दैन अनि तृणमूल कङ्ग्रेसलाई झुटो कुरा गरेर राजनीति नगर्ने निर्देश छ। यसैले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङ पहाड़लाई जुन आश्वासन अनि वचन दिइन्,  ती सबै कामहरु गरेकी छन्। लामाहट्टालाई एक पर्यटन स्थलको रूपमा विकसित गर्ने कार्य भएको छ, 15 वटा विकास बोर्ड, दुइवटा टास्क फोर्स आदिको गठनसँगै दार्जीलिङ नगरपालिकालाई स्ट्रीट लाइट,  पानी,  मैला व्यवस्थापन आदिको लागि करोड़ौं रुपियाँ दिइसकेको छ। तर दार्जीलिङ नगरपालिकाले यी कुनै पनि कार्य गरेन।

यदि गोजमुमो अध्यक्ष विमल गुरूङ,  रोशन गिरी आदिले दिल्लीमा समय बिताउने समय पहाड़का नगरपालिकाहरुमाथि पनि ध्यान दिएको भए यहाँ धेरै विकासका कार्यहरु हुनसक्ने थियो। जब-जब चुनाउ आउँछ,  तब-तब गोजमुमोले ढाँट्ने गर्छ अनि यस नगरपालिका चुनाउमा ढाँटेर राजनीति गर्ने पार्टीको सम्पूर्ण मतदान केन्द्रबाट नामनिशान मेटाउनुपर्छ।

उनले राज्यका 7 वटा नगरपालिकामा आगामी 14 मईको दिन मतदान भइरहेको भए पनि आज उनले दार्जीलिङबाट प्रथम चुनाउ प्रचार गर्न शुरू गरेको पनि बताए। उनले मुख्यमन्त्री व्यानर्जीको गुणगान गर्दै अझै अघि भने-राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी राज्यकी मुख्यमन्त्री बनेपछि अहिलेसम्म लगभग 65-70 पल्ट उत्तर बङ्गाल अनि दार्जीलिङ पहाड़ आइसकेकी छन्। तृणमूल कङ्ग्रेस राजनीति गर्नको लागि मात्रै उत्तर बङ्गाल आउँदैन,  उनी यी स्थानहरुमा विकासका परियोजनाहरु ल्याएर आउने गरेकी छन्। तर दार्जीलिङ पहाड़मा गोर्खा जनमुक्ति मोर्चाले केवल धम्की, घर देखाउने राजनीति गरिरहेको छ, अब दार्जीलिङका जनताले यस धम्की अनि घरको जवाब मतदानमार्फत दिनुपर्छ।

यसैबीच, उनले दार्जीलिङ नगरपालिकाका 32 वटा वार्डमध्ये 20 वटा वार्डबाट खड़ा भएका सबै उम्मेद्वारहरुको पनि मञ्चबाट परिचय गराए। यी उम्मेद्वारहरु कलकत्ताबाट आएका होइनन्, यी उम्मेद्वारहरु दार्जीलिङकै बासिन्दाहरू हुन्। उनले यसो भनिरहेकै समय यसै चुनावी जनसभामा भाग लिने उद्देश्यले आएका समतल क्षेत्रका धेरै आदिवासी पुरूष अनि महिलाहरुले जनसभा स्थलको ठीक पछिल्तिर अवस्थित डा. येन सिंह रोड (युमा नर्सिङ होम रोड)-मा तृणमूल कङ्ग्रेसको झण्डा बोकेर जुलूस निकालिरहेका थिए।

जनसभा भइरहेको समय जुलूस निकालिरहेका समतलका तृणमूल समर्थकहरू।

उनले भने-नगरपालिका चुनाउको लागि प्रचार गर्ने समय अब केवल 7 दिन छ, यसपछि 14 मईको दिन मतदान हुनेछ। यसपछि दार्जीलिङ पहाड़मा गोजमुमोलाई दुर्बिनले हेर्दा पनि देखिनेछैन। यसरीनै उनले दार्जीलिङ पहाड़मा तृणमूल कङ्ग्रेस सरकारले गरेको विकासको हिसाब यस चुनाउमार्फत दिने पनि दार्जीलिङका जनतासमक्ष अपील गरे। यदि दार्जीलिङ नगरपालिकामा यसपालि तृणमूल कङ्ग्रेसको बोर्ड गठन भए तृणमूल कङ्ग्रेसले 1 वर्षभित्र दार्जीलिङलाई कलकत्ताभन्दा राम्रो बनाउनेछ।

वक्तव्यकै क्रममा आफ्नो सम्भाषण पेश गर्दै हिल तृणमूल कङ्ग्रेसका कार्यकारी अध्यक्ष, एनबी खवासले भने-दार्जीलिङको विकासनै गोर्खाको विकास हो। यसैले तृणमूल कङ्ग्रेस दार्जीलिङको विकास गर्न कटिवद्ध छ, जसको लागि राज्यकी मुख्यमन्त्रीले हिल तृणमूल कङ्ग्रेसलाई अवश्यै आशिर्वाद दिनेछिन्। यसरीनै तृणमूल कङ्ग्रेस अध्यक्ष राजेन मुखियाले पनि गोजमुमोमाथिनै तीव्र शब्द प्रहार गर्दै सन् 1850-मा स्थापना भएको राज्यकै एक धनी दार्जीलिङ नगरपालिकालाई पहाड़का भ्रष्टाचारी नेताहरुले कङ्गाल बनाएको आरोप लगाए।

उनले भने-गोजमुमोका नगरपालिका अध्यक्षका उम्मेद्वार डीके प्रधान विगतमा दार्जीलिङ नगरपालिकामा 10 वर्ष अध्यक्ष पदमा थिए। तर उनकै कार्यकालमा दार्जीलिङका नगरपालिका अधीनस्थ पाइखानाहरु बेच्ने काम भयो। यस विषयलाई दार्जीलिङका जनताले भुलेका छैनन्। आज यहाँको मोटर स्ट्याण्डमा चुनावी जनसभा हुनअघि तृणमूल कंग्रेस समर्थकहरुले यहाँको दार्जीलिङ सरकारी महाविद्यालयमुनि, रेलवे स्टेशन आदि क्षेत्रबाट जुलूस पनि निकालेका थिए। जसमा विभिन्न जातगत विकास बोर्डका सदस्य-सदस्याहरुले पनि भाग लिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया