रोहिणी बनाउन 100 करोड़ होइन, 24 करोड़ खर्चः गोजमुमो

विज्ञापन

11 मई गोजमुमोले दिनेछ तृणमूललाई जवाब


  • मोहन लामा, दार्जीलिङ,  5 मई/2017

रोहिणी रोड निर्माणको लागि 100 करोड़ होइन, केवल दुइ चरण गरेर 24 करोड़ रुपियाँ खर्च भएको छ, जुन राशि राज्यको उत्तर बङ्गाल विकास विभागले होइन, जीटीएले दिएको हो।


गोर्खा जनमुक्ति मोर्चाले तृणमूल कङ्ग्रेस पार्टीलाई पहाड़ अनि गोर्खाली आमाहरूका गर्भमा रहेका नानीहरुको भाग्य विरोधीको संज्ञा दिँदै यस पार्टीलाई आगामी 14 मईको चुनाउमा परास्त गरेर गतिलो जवाब दिने दार्जीलिङ पहाड़का जनतालाई आह्वान गरेको छ।

आज यहाँको मोटर स्ट्याण्डमा तृणमूल कङ्ग्रेसको चुनावी जनसभा समाप्त भएको केही समयपछिनै गोजमुमो महासचिव रोशन गिरी र सहसचिव विनय तामाङले एक पत्रकार सम्मेलनको आयोजना गरी तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष अभिषेक व्यानर्जीको बयानको तीव्र शब्दमा आलोचना गरे अनि तृणमूल कङ्ग्रेसको आजको सभालाई गोजमुमोले आगामी 11 मईको दिन दार्जीलिङका 32 वटा वार्डका जनता थुपारेर दिने पनि पनि बताए।

गिरीले भने-अभिषेक व्यानर्जीले गोजमुमोले झुट कुरा गरेर राजनीति गरिरहेको आरोप लगाएका थिए, तर स्वयं आजको जनसभाबाट उनले दार्जीलिङ जनताअघि झुटो बोलेर राजनीति गर्ने कार्य गरेका छन्। अभिषेक व्यानर्जीले रोहिणी रोड निर्माण गर्नको लागि राज्यको उत्तर बङ्गाल विकास विभागले 100 करोड़ रुपियाँ दिएको बताएका थिए भने दार्जीलिङ नगरपालिकालाई पानी व्यवस्थापनको लागि 12 करोड़,  मैला व्यवस्थापनको लागि 12 करोड़,  स्ट्रीट लाइटको लागि 4 करोड़ दिएको बताएका थिए।

यसको जवाबमा गिरीले भने- रोहिणी रोड निर्माणको लागि 100 करोड़ होइन, केवल दुइ चरण गरेर 24 करोड़ रुपियाँ खर्च भएको छ, जुन राशि राज्यको उत्तर बङ्गाल विकास विभागले होइन, जीटीएले दिएको हो। दार्जीलिङ नगरपालिकालाई पानीको लागि 12 करोड़ रुपियाँ होइन, केन्द्रको अम्रुत योजनाबाट 205 करोड़ रुपियाँ अनुमोदन भएको हो, जसमध्ये 195 करोड़ आइसकेको छ अनि यो पैसा ट्रेजरी विभागमा छ। यसको जाँच स्वयं अभिषेक व्यानर्जीले गर्दा हुन्छ। ठोस मैला व्यवस्थापनको लागि जुन 12 करोड़ रुपियाँ आएको छ, त्यसमाथि भइरहेको कामको देखरेख राज्यलेनै नियुक्त गरेका दार्जीलिङ नगरपालिकाका एड्मिनिस्ट्रेटर वा महकुमा अधिकारीले गरिरहेका छन्। स्ट्रीट लाइटको लागि नगरपालिकाले 6 करोड़को परियोजना तयार पारेर पठाएको थियो, जसको लागि केवल 4 करोड़ रुपियाँ आयो अनि यो पैसा पनि गोजमुमोको बोर्डको कार्यकाल समाप्त भएपछि मात्रै आएको छ। जसको पूर्ण देखरेख स्वयं महकुमा अधिकारीको अधीनमानै भइरहेको छ। तब अभिषेक व्यानर्जीले कसरी गोजमुमोको बोर्डको समय भ्रष्टाचार भयो भन्ने प्रश्न गर्छन्।

उनले भने-दार्जीलिङको बोर्ड रहेको समय दार्जीलिङ पहाड़का चारैवटा नगरपालिकामा एउटै पनि भ्रष्टाचार भएको छैन, गोजमुमोले भ्रष्टाचारविहीन नगरपालिका सञ्चालन गरेर देखाएको छ। यसैबीच, उनले तृणमूल कङ्ग्रेसको यस चुनावी जनसभामा समतलबाट आएका आदिवासी पुरूष अनि महिलाहरूद्वारा निकालिएको जुलूसमाथि कटाक्ष प्रहार गर्दै भने-तृणमूल कङ्ग्रेसको दार्जीलिङ पहाड़मा कुनै जनाधार छैन। यसैले जनसभामा मान्छे बेसी देखाउनको लागि तृणमूल कङ्ग्रेसले इस्लामपुर, चोपड़ा आदि क्षेत्रबाट मानिसहरु ल्याएर यहाँ जुलूस निकाल्न लगाएको थियो। तर आगामी 11 मईको दिन गोजमुमोले दार्जीलिङ नगरपालिका क्षेत्रकै 32 वटा वार्डबाट जनता थुपारेर तृणमूल कङ्ग्रेसलाई जवाब दिनेछ।

गोजमुमोलाई यस नगरपालिकाको चुनाउमा अन्य स्थानबाट जनता ल्याउने कुनै आवश्यकता छैन अनि आगामी 14 मईको दिन यी 32 वटा वार्डका गोर्खाल्यान्डप्रेमी जनताले गोर्खाल्यान्डको पक्षमा मतदान गरेर गोर्खा र गोर्खाल्यान्ड विरोधी समतलको पार्टीलाई  परास्त गरेर देखाउनेछन्। भ्रष्टाचारको सन्दर्भमानै कटाक्ष प्रहार गर्दै गोजमुमो सहसचिव विनय तामाङले भने-नारदा-शारदा घोटालामा पर्नेहरू गोजमुमोका नेता अनि नेत्रीहरू होइनन्। तृणमूल कङ्ग्रेसका नेताहरुनै नारदा र शारदा घोटालामा लिप्त रहेको कारण उनीहरु विरूद्ध सीबीआईले जाँच कार्य गरिरहेको छ। अब दार्जीलिङ पहाड़मा गोजमुमोलाई दुर्बिनले हेर्दा पनि नदेख्ने सपना देख्ने तृणमूल कङ्ग्रेसका शीर्ष नेता इन्द्रनील सेन, अभिषेक व्यानर्जी आदिले आगामी जुलाई महीनापछि बङ्गालमानै तृणमूल कङ्ग्रेसको अवस्था कस्तो हुनेछ, त्यसको परिणाम हेर्नुपर्ने पनि चेताउनी दिए।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया