तीन वर्षपछि पनि जिरोगोलाईको सडक जीर्णः उठ्दैछ जीटीएमाथि प्रश्न

विज्ञापन

  • डुवर्स खबरदाता, 5 मई/2017

यो सडक धस्किएपछि यही मार्ग भएर जीटीए प्रमुख कार्यपाल धेरै चोटि हिँडे। क्षेत्रीय विधायक सरिता राईले कतिपटक ओहोरदोहोर गरिन्। क्षेत्रीय जीटीए सभासद् कल्याण देवानले यही बाटो भएर यात्रा गरे। प्रशासनिक अधिकारीहरूले यो सडकको बेहाल स्थिति देखिसके तर सडक समस्या भने जस्ताको त्यस्तै छ।


एक वर्षको समय काम गर्ने सरकार, प्रशासन वा निकायको लागि पर्याप्त समय मानिन्छ। तीव्र इच्छाशक्ति र प्रतिवद्धताका साथ गरिएका कारण कत्रा कत्रा योजनाहरू एकै वर्षको अवधिमा पूरा भएका उदाहरण देशमा बग्रेल्तै पाइन्छ। तर पछिल्लो तीन वर्षदेखि लगातार भोग्दैआएको यातायातको समस्याबाट कालेबुङ खण्ड-१ अन्तर्गत रहिआएको निम्बोङ- पाब्रिङटारवासीले आजसम्म राहत पाउन सकेका छैनन्।

हिउँदभरि जसोतसो यात्रा गर्दैआएका निम्बोङ पाब्रिङटारवासी वर्षाकाल शुरु नभई चिन्तित हुनथालेका छन्। जीटीएले राज्यसरकारले हस्तक्षेप गरे पनि पहाडको विकासमा थुप्रै काम गरेको दावी गर्ने गर्छ। गाउँगाउँमा सडक पुऱ्याएको र यातायातको सुविधाबाट ग्रामीण इलाकाका मानिसहरू लाभान्वित बनिरहेको समेत डङ्काको साथ दावी गर्छ तर पाँचसय मीटरको धस्किएको निम्बोङ पाब्रिङटारबीचको जिरोगोलाईको सडक समस्यालाई भने जीटीएको सम्बन्धित निकायले समाधान गर्न त परै जावोस् आजसम्म पत्यारिलो पहलधरि गर्नसकेको छैन।

यो सडक धस्किएपछि यही मार्ग भएर जीटीए प्रमुख कार्यपाल धेरै चोटि हिँडे। क्षेत्रीय विधायक सरिता राईले कतिपटक ओहोरदोहोर गरिन्। क्षेत्रीय जीटीए सभासद् कल्याण देवानले यही बाटो भएर यात्रा गरे। प्रशासनिक अधिकारीहरूले यो सडकको बेहाल स्थिति देखिसके तर सडक समस्या भने जस्ताको त्यस्तै छ। त्यसैले यस पटकको वर्षाकालमा पनि पछिल्ला वर्षहरूमा झैं चिन्तामा निम्बोङ पाब्रिङटारवासी डुब्नथालेका छन्। यसचोटि पनि पाब्रिङटारवासीलाई निम्बोङ बजार हुँदै कालेबुङ जानलाई असुविधा भोग्नै पर्ने देखिँदैछ।

उसै गरी यही समस्याको कारण निम्बोङवासीलाई पाब्रिङटार भएर डुवर्स सिलगढी झर्नलाई उस्तै समस्या हुने लगभग तय छ। सन् १९६८-१९७१ सालमा निर्माण गरिएको चुनाभट्टी लाभा फरेष्ट रोडले निम्बोङ र पाब्रिङटार जोड्ने काम गरेको छ भने कालेबुङ-१ लाई डुवर्ससित जोड्दछ। अधिकांश इलाकालाई कालेबुङ बजारसित जोड्दछ। त्यसले यो चुनाभट्टी लाभा फरेष्ट रोडलाई कालेबुङ-१ को निम्ति ‘लाइफ लाइन ‘ मानिन्छ। जुन लाइफ लाइनको निम्बोङ र पाब्रिङटार ग्रामपञ्चायत माझ अवस्थित जिरोगोलाईमा पहिरोले भत्काएयता यातायातमा वर्षाकालमा समस्या भइरहेको देखिन्छ। यो सडक मार्ग व्यवसायको दृष्टिकोणबाट पनि उत्तिकै महत्वपूर्ण रहेको छ।

सिञ्जी, समथार, चारखोला, पेम्लिङ , दोस्रो दलपचन्द, ग्यासोक, घण्टीडाँडा आदि इलाकामा उत्पादित कृषिजन्य उत्पादनहरू डुवर्सहुँदै सिलगढी लाने गरिन्छ। यो सडक मार्ग भएर कुच्चो, अदुवा, अलैंची आदि लाने गरिन्छ। त्यसमा पनि अदुवाको खेती यस इलाकाकाको प्रमुख आयस्रोत हो। जसको व्यवसाय मध्य वर्षाकालदेखि शुरु हुने गर्दछ। तर अदुवाको व्यवसायलाई जिरो गोलाइको सडक अवस्थाले बाधित गर्दछ। वर्षाको पानी पर्नथालेपछि यातायात पूरै बाधित हुन्छ। जसले गर्दा कृषकहरूले अदुवाको उचित दाम पाउन सक्दैनन्।

यतिको महत्वपूर्ण सडक समस्यालाई लिएर जीटीएले पनि आजसम्मन् यसको स्थायी समाधानतिर पत्यारिलो पहल गरेको देखिन्न। गत वर्ष यो सडक समस्याको विषय प्रिन्ट तथा इलेक्ट्रोनिक मीडियामा आएपछि जिरो गोलाईको विकल्पमा रोड खन्न आरम्भ गरिएको थियो। तर उक्त वैकल्पिक सडक निर्माण कार्य पनि आजसम्म पूरा भएको छैन। जसले गर्दा क्षेत्रवासीले जीटीएको काम गर्ने सिस्टम क्षेत्रीय निर्वाचित प्रतिनिधिहरूको प्रतिवद्धताप्रति प्रश्न गर्न थालेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया